काठमाडौं । कर्णालीका नागरिकका लागि अहिले बिरामी हुनु नै जोखिम बनेको छ । सडक असुरक्षित छ, हवाई सेवा भरपर्दो छैन । उपचारका लागि समयमै जिल्ला बाहिर जान नपाउँदा बिरामीले ज्यान गुमाउने र परिवारले अपूरणीय क्षति बेहोर्नुपर्ने अवस्था बढ्दो छ ।
हिमा गाउँपालिका–६ का ७१ वर्षीय कलबहादुर अधिकारी अहिले पनि त्यो दिन सम्झेर भावुक हुन्छन् । कडा मधुमेह र प्रोस्टेट समस्याका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले उनलाई नेपालगन्ज रिफर गर्यो । चिकित्सकले तत्काल ‘युरो सर्जरी’ गर्नुपर्ने बताएका थिए ।
परिवारले दिनभर जहाज कुर्यो । तर उडान भएन । अन्ततः एम्बुलेन्समार्फत नेपालगन्ज लैजाने निर्णय भयो । तर उपचारको यात्रा नै दुर्घटनामा बदलियो ।
कालीकोटको खाडाचक्र नगरपालिका–२ मेयरखोलानजिक एम्बुलेन्स दुर्घटना हुँदा उनका छोरा ३२ वर्षीय भीमबहादुर अधिकारी र चालक २६ वर्षीय शक्तिबहादुर शाहीको मृत्यु भयो । कलबहादुर स्वयं घाइते भए ।
“त्यो दिन जहाज आएको भए मेरो उपचार सहज हुन्थ्यो, छोराको ज्यान जाँदैनथ्यो,” उनले गहभरि आँसु पार्दै भने ।
यो घटना कर्णालीको स्वास्थ्य र यातायात संकटको प्रतिनिधि उदाहरण बनेको छ । जुम्ला, मुगु, हुम्ला, डोल्पाजस्ता हिमाली जिल्लामा बिरामीका लागि हवाई सेवा जीवन–मृत्युको विषय बन्ने गरेको छ । तर नियमित उडान नहुँदा सर्वसाधारण जोखिमपूर्ण सडक यात्रामा बाध्य छन् ।
चन्दननाथ नगरपालिका–८ की २१ वर्षीया सवि कामी मुटु, छाती र फोक्सोको समस्याबाट पीडित छिन् । चिकित्सकले अक्सिजनसहित जहाजमार्फत नेपालगन्ज लैजान सुझाव दिए । तर उडान रद्द भयो ।
“बुधबार टिकट थियो, मौसम भन्दै जहाज आएन,” उनका भाइ विनोद कामीले भने, “फेरि अस्पतालमै फर्किनुपर्यो ।”
तिला गाउँपालिका–८ की दुर्गा रावत पनि दुई दिन विमानस्थल धाउँदा–धाउँदै उपचारका लागि जान नपाएर घर फर्किइन् ।
“गाडीको यात्रा सहनै सकिँदैन,” उनले भनिन्, “जहाज कुर्दाकुर्दै टिकट रद्द गर्नुपर्यो ।”
स्थानीयका अनुसार पर्यटकीय मौसम सुरु भएपछि निजी एयरलाइन्सले जहाज पूर्वी र पर्यटकीय रुटमा केन्द्रित गर्दा कर्णालीका उडान झन् प्रभावित बनेका छन् । नेपाल एयरलाइन्सको उडान पनि मौसम र प्राविधिक कारण देखाउँदै पटक–पटक रद्द हुने गरेको छ ।
गत साता नेपाल एयरलाइन्सले नेपालगन्ज–जुम्ला रुटमा चार उडान तालिका सार्वजनिक गरे पनि अधिकांश उडान हुन सकेनन् । स्थानीय चन्द्रलाल न्यौपाने भन्छन्, “उडान रद्द हुँदा बिरामीको ज्यान नै जोखिममा पर्छ, तर कसैले गम्भीर रूपमा लिँदैन ।”
सडक अवस्था पनि त्यत्तिकै भयावह छ । २ सय ३२ किलोमिटर लामो कर्णाली राजमार्ग अझै साँघुरो ‘सिंगल लेन’मै सीमित छ । सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुन्छ । कालोपत्र उप्किएको सडकमा यात्रा गर्दा दुर्घटनाको डर सधैं रहन्छ ।
नेपाल एयरलाइन्स जुम्ला स्टेसन इन्चार्ज उमाकान्त अधिकारीले मौसम खराबीका कारण उडान प्रभावित भइरहेको दाबी गर्छन् । “सेड्युल अनुसार यात्रु बोलाउँछौँ, तर जहाज नआएपछि फर्काउनुपर्ने अवस्था हुन्छ,” उनले भने ।
हाल जुम्लामा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान गरिरहेका छन् । तर स्थानीयको आरोप छ । यात्रु कम देखाएर निजी एयरलाइन्सले अन्तिम समयमा उडान रद्द गर्ने गरेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. कमल थानीका अनुसार नियमित उडान नहुँदा रिफर गरिएका बिरामीलाई समेत फेरि अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था छ ।
जुम्लामा टिकट वितरण पारदर्शी बनाउने, बिरामीका लागि सिट छुट्याउने र नियमित उडान सुनिश्चित गर्ने निर्णय यसअघि पटक–पटक भएका थिए । तर ती निर्णय कागजमै सीमित छन् ।
परिणामतः कर्णालीका बिरामी अझै जहाजको प्रतीक्षामै छन् । जबकि उनीहरूका लागि सडक यात्रा उपचारको बाटो होइन, ज्यानकै जोखिम बनेको छ ।
प्रतिकृया लेख्नुहोस्: