काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील छ ।
सरकारले आफ्ना निकाय तथा सुरक्षाकर्मीको सहयोगमा सहज आपूर्तिका लागि भरमग्दूर प्रयत्न गरिरहेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग आपूर्तिको अवस्था र सरकारको तयारीका बारेमा कुराकानी गर्न आज बिहान रासस मन्त्रीनिवास पुल्चोक पुग्दा पनि उहाँ आपूर्ति व्यवस्थालाई थप सहज बनाउन खटिइरहेका थिए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले नेपाल–भारत सीमाक्षेत्र रक्सौलमा औषधि तथा औषधिजन्य सामग्री बोकेका १६ ट्रक रोकिएको सूचना कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन्। उपप्रधानमन्त्री पोखरेलले आपूर्तिमन्त्री भट्टलाई त्यसबारेमा जिज्ञासा राख्दै थिए ।
उपप्रधानमन्त्री पोखरेलले त्यसबारेमा तत्काल बुझेर जानकारी गराउन मन्त्री भट्टलाई आग्रह गरे । संयोजक पोखरेलको आग्रहलगत्तै मन्त्री भट्टले वाणिज्य सचिव डा बैकुण्ठ अर्याललाई औषधि रोकिएको विषयमा तत्काल बुझ्न निर्देशन दिए । एकैछिनमा सचिव डा अर्यालले बुझेर मन्त्री भट्टलाई भने, “मन्त्रीज्यू, ती औषधि बोकेका ट्रक रक्सौलबाट काठमाडौँ हिँडिसकेका छन् । केहीबेर मात्रै रोकिएका रहेछन् ।”
सचिव डा अर्यालको भनाइलगत्तै मन्त्री भट्टले पुनः उपप्रधानमन्त्री पोखरेललाई फोन गरेर भने, “मन्त्रीज्यू ती ट्रक काठमाडौँ हिँडिसकेका छन् । कुनै समस्या छैन । आजै काठमाडौँ आइपुग्छन् ।” कोरोनाका कारण पर्नसक्ने आपूर्ति प्रणालीको असरलाई कम गर्न सरकारले गरिरहेको प्रयासको यो सानो उदाहरण हो । मन्त्री, सचिव, सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय एवं निजी क्षेत्रसँग नियमित फोन संवाद गर्ने, आवश्यक सहयोग गर्ने र सहज तरिकाले अत्यावश्यक मालवस्तुको आयातमा सरकार २४ सै घण्टा परिचालित भइरहेको मन्त्री भट्टले राससलाई जानकारी दिए । उनले भने, “दैनिक उपभोग्य वस्तुदेखि औषधि तथा पेट्रोलिमय पदार्थको आयातका लागि सबै व्यवस्था मिलाइएको छ ।”
उपत्यकामा दुईदर्जन मिनीट्रक तयारी अवस्था
सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको उनले जानकारी दिए। काठमाडौँ उपत्यकाको हकमा अत्यावश्यक वस्तु पु¥याउन करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था गरिएको छ । काठमाडौँमा १५, ललितपुर र भक्तापुरमा सात÷सात मिनीट्रक तयारी अवस्था छन् । “ती मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु पु¥याइने छ”, मन्त्री भट्टले भने, “जहाँ त्यस्ता खाद्य वस्तुको अभाव हुन्छ, त्यहाँ पु¥याउँछौँ ।”
त्यसका लागि मन्त्रालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । “कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नुपर्छ”, उनले भने, “तत्कालै अत्यावश्यक वस्तुसहितको सरकारी टोली त्यहाँ पुग्छ । अहिले हामी त्यसको तयारीमा छौँ ।”
सोही मिनीट्रकमा राखेर घरघरमा खाद्यान्न पु¥याइने उनले बताए । कोरोनाको माहामारी फैलिएको अवस्थामा घरघरमा पु¥याउनुपर्ने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको उनको भनाइ थियो । “त्यो स्थितिको सामाना गर्न हामी तयार हुनुपर्छ”, मन्त्री भट्टले भने।
जनताको भान्छामा अत्यावश्यक वस्तुको अभाव हुन नदिन भाटभटेनी, बिगमार्ट, सेल्सवेरीलगायत ठूला व्यापारिक प्रतिष्ठानलाई आफ्ना ग्राहकलाई नियमित सामान पु¥याउने व्यवस्था गर्न भनिएको उनले बताए । “टेलिफोन तथा अनलाइनबाट ग्राहकसँग आफ्नो अर्डर लिने र घरघरमा पु¥याउन पनि सहजीकरण गरिरहेका छौँ”, उनले भने, “त्यस्ता कम्पनीको ‘मोबाइल टिम’ तथा ‘भ्यान’लाई लकडाउनको समयमा निर्वाध सञ्चालनमा ल्याउन दिनका लागि विशेष पासको व्यवस्था गर्दैछाँै ।”
सम्बन्धित जिल्ला प्रशासनले पास जारी गरिदिने उनको भनाइ छ । “सङ्कटको समयमा जसरी भए पनि सेवा दिने मनस्थिति बनाएर बस्न उनीहरुलाई आग्रह गरिएको छ”, उनले भने । काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोटलगायत जिल्लाबाट उपत्यकाका लागि तरकारी तथा दूध बोकेर आउने सवारी साधनलाई निर्वाध प्रवेशको व्यवस्था मिलाइएको छ ।
विपद्का समयमा अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै व्यवधान आउन नदिन सरकार प्रत्येक क्षण सचेत अवस्थामा रहेको भन्दै उनले ढुवानीका साधन नियमित सञ्चालन होउन् भनेर ट्रक व्यवसायी महासङ्घसँग छलफल गरेको बताए । “मैले ट्रक व्यवसायी महासङ्घको अध्यक्ष र महासचिवलाई मन्त्रालयमा बोलाएरै छलफल गरेको छु”, उनले भने “कुनै पनि हालतमा ढुवानीका साधन रोकिनु हुँदैन भनेर भनेको छु ।”
चालकलाई अप्ठ्यारो अवस्थामा काम गर्न प्रोत्साहित गर्न तथा विशेष भत्ताको व्यवस्था गर्न महासङ्घलाई आग्रह गरेको उनले बताए। “चालकलाई जो भत्ता दिँदै आउनुभएको छ, त्यसमा थप गरेर दिनुस् भनेको छु”, मन्त्री भट्टले भने, “ढुवानीको लागत पनि काम नगर्नुस्, अहिलेको बेलामा तपाईंहरुले योगदान गर्नुपर्छ भनिएको छ ।” ढुवानी व्यवसायीले पनि अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै व्यवधान आउन नदिने प्रतिबद्धता जनाइसकेको उनले जानकारी दिए।
मङ्गलबार रातिदेखि लागू हुने गरी भारतले २१ दिने ‘लकडाउन’को घोषणा गरेसँगै ग्यासको अभाव हुन नदिन सरकारले विशेष पहल गरिरहेको बताए । “यसले चुनौती थपेको छ, ग्यासको बुलेट भारतको मात्रै छ, मङ्गलबार २०/२२ बुलेट ग्यास आएको छ”, मन्त्री भट्टले भन्नुभयो, “नेपालमा ग्यास लिएर आउने भारतीय चालकले बुलेट चलाउन नमानेको अवस्थामा के गर्ने भन्ने विषयमा सरकार गम्भीर छ । हामीले त्यहाँको सम्बन्धित पक्षसँग कूटनीतिक पहलबाट छलफल गर्ने तयारी गरेका छौँ ।”
आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न नेपाल र भारतका वाणिज्य सचिवबीच नियमित कुराकानी हुने व्यवस्था मिलाइएको उनले बताए । अहिलेसम्म भारतबाट आयात हुने कुनै पनि वस्तुमा अवरोध नभएको उनको भनाइ छ ।
प्रतिकृया लेख्नुहोस्: