गुल्मी । गुल्मीमा कोरोना भाइरस उपचारको लागि आवश्यक सामग्री नहुँदा स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर परेको छ । प्रत्येक स्वास्थ्यकर्मीलाई एकरएक वटाका दरले आवश्यक पर्ने पिपिई नहुँदा स्वास्थ्यकर्मीलाई मनोवैज्ञानिक असर पुगेको हो । रेसुङ्गा नगरपालिकाको मातहतमा ३० जना स्वास्थ्यकर्मी छन् । तर, हालसम्म एकसेट पनि पिपिई छैन । सदरमुकाम समेत रहेको रेसुङ्गा नगरपालिका कोरोनाको जोखिममा छ ।
महेन्द्र नमुना माविमा १६ शैयाको क्वारेन्टाइन कक्ष छ भने उपल्लो तम्घासमा २० शैयाको आइशोलेशन बन्दैछ । “पिपिई नहुनु भनेको हतियारबिना युद्धमा जानुजस्तै हो”, रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले भने, “हामीजस्ता धेरै स्वास्थ्यकर्मी जोखिममा रहेका छौँ ।” त्यसका साथै उनले पिपिइका सँगसँगै माक्स र सेनेटाइजरको समेत अभाव भएको बताए । “सुरक्षित खालका माक्स छैनन्, भएका पनि धेरै महङ्गो पर्न थालेको छ”, अर्यालले भने, “जति रकम तिरेपनि माक्ससम्म पर्याप्त हुन सकेको छैन ।”
मालिका गाउँपालिकामा १५र१५ शैयाका आइशोलेशन र क्वारेन्टाइन बनाउने तयारी भइरहेको छ । हालसम्म कुल ३९ जना स्वास्थ्यकर्मी छन् । तर, ५० सेट पिपिई माग गरिएकोमा जम्मा आठ सेट मात्र उपलब्ध छ । त्यसैमाथि मालिका गाउँपालिकामा ज्वरो नाप्ने आधुनिक मेसिन समेत छैन । जसले गर्दा स्वास्थ्यकर्मीहरुलाई नै कोरोनाको जोखिम बढ्दै गएको गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्तराज भुसालले बताए । “निरन्तर कोरोना विरुद्धको लडाईँमा छौँ, तर पर्याप्त सामग्री समस्या परेको छ”, उनले भने, “अहिले जिल्लाका धेरै स्थानीय तहमा पिपिई छैन । जसले गर्दा आम नागरिक, स्वास्थ्यकर्मी र सबैमा त्रास फैलिएको छ ।”
जिल्लाकै प्रमुख नाका रिडीमा संचालन गरिएको ‘हेल्प डेक्स’ समेत व्यवस्थित नहुनु, सदरमुकाममा सञ्चालित क्वारेन्टाइन कक्षमा सबै स्थानीय तहको सहयोग नहुनु, उपचारमा आवश्यक सामग्री नहुनु जस्ता कारणले समस्या परेको छ ।
स्वास्थ्यकर्मीबाट नागरिक तर्कन खोज्छन्
रोजगारीका लागि देशका विभिन्न ठाउँ तथा देश बाहिर गएका धेरै नागरिक अहिले घर आएका छन् । सदरमुकाम तम्घासमा कोठा भाडामा बस्नेहरु पनि अधिकांश गाउँ गएका छन् । बजारमा भन्दा गाउँमा मानिसहरुले कम सतर्कता अपनाउने गर्दछन् । एकातर्फ मानिसहरुको चाप बढी छ भने अर्कोतर्फ पर्याप्त स्वास्थ्य सामग्री छैनन । जसले गर्दा आम नागरिकहरु स्वास्थ्यकर्मीसँग नै तर्कन खोजेको मदाने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थ पन्थीले गुनासो गरे । “हामीबाट सतर्क रहन खोजेजस्तो व्यवहार पाइएको छ”, उनले भने, “हामी आफै पनि मनोवैज्ञानिक असरमा परेका छौँ ।”
सतर्कताभन्दा त्रास बढी
‘बनको बाघले खाओस् कि नखाओस्, मनको बाघले खाओस् ।’ यो नेपाली उखान यतिबेला सत्य सावित भएको छ । गाउँदेखि शहरसम्म आम नागरिकमा कोरोनाको विषयमा त्रास बढी छ । सामाजिक सञलको बढ्दो प्रयोग, सञ्चार माध्यमका कोरोनाविशेष समाचार र कार्यक्रम, स्थानीय तह वा स्वास्थ्य संस्थाका जनचेतनामुलक सामग्री लगायतका कारणले अहिले कोरोनाबारे घरभित्रै पनि धेरै बहस हुने गरेको छ । “नागरिकमा आवश्यक तयारीभन्दा बढी त्रास फैलिएको छ”, धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित खहरे स्वास्थ्य क्लिनिकका प्रमुख अर्जुन भण्डारीले भने, “मानिसमा सचेतनाको अझै अभाव छ ।”
प्रतिकृया लेख्नुहोस्: