बझाङ । जयपृथ्वी नगरपालिका–५ का धनबहादुर बुढाथापा बाजेको पालादेखिनै मौरीपालन व्यवसायमा लागिरहेका छन् । सानै छँदाको उनलाई अहिले पनि सम्झना छ । बाजेको पालामा आफ्नो घरमा २५ घार मौरी रहेको बताउने उनी अहिले पाँच घार मात्रै रहेको बताए ।
लामो समयदेखि मौरीपालन व्यवसायमा रहेका धनबहादुरले आफ्नो धन भनेकै मौरी भएको बताए । तर पछिल्लो समयमा मौरीको घार पनि कम हुँदै गएको र भएका मौरी पनि मर्न थालेपछि उनी चिन्तित भएका छन् । उनले भने, “मौरी के कारणले मरे भन्नेबारे त्यति जानकार नभए पनि भएका घारमा पनि मह निकाल्दा मह पनि हुँदैन । चैत, वैशाख मौरीको मह उत्पादनका लागि उत्तम समय भए पनि मह निकाल्दा मह नभएका रित्ता पोतलाहरु मात्र लागेका हुन्छन् ।”
उनका अनुसार धेरै वर्षअगाडि मौरीलाई चर्नका लागि जङ्गल हुन्थ्यो । मान्छेहरु खेतबारीमा तोरी प्रशस्त गर्थे । चिउरीको बोटहरु हुन्थे । अहिले गाउँघरमा केही छैन । वनमा फुल्ने लालीगुराँससमेत पानी नपरेकाले नफुलेरै सुकेका छन् । वन विनाश, अतिक्रमण, जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नुलगायत कारण मह उत्पादन बर्सेनि घटिरहेको उनको दाबी छ ।
मौरीका लागि चिउरीको फूल उत्तम आहारा मानिन्छ । मौरीलाई चरन क्षेत्रको अभाव भएपछि उत्पादनमा गिरावट आएको धनबहादुरको भनाइ छ । “यहाँका मौरीका लागि चिउरीको फूलको विकल्प छैन”, उनले भने, “चिउरी नफुल्दै झुसिलकिराले नष्ट पारेपछि चरन क्षेत्रको अभाव भयो ।” त्यसैले यस वर्ष उत्पादन घटेको उनको भनाइ छ ।
धेरै वर्षदेखि मौरीपालनमा लागेका जयपृथ्वी नगरपालिका–२ घर भएका जनक खड्काले समेत विगत केही वर्षभन्दा अहिले मह उत्पादनमा ह्रास आएको बताए । मह उत्पादन नहुँदा बाहिरी जिल्लाबाट यहाँ मह बेच्ने आउनेहरु बढ्न थालेका छन् । दाङ जिल्ला घर भएका लालबहादुर चौधरीलगायत टोली मह बोकेर जिल्लाका विभिन्न ठाउँमा बिक्रीका लागि पुग्ने गरेका छन् । हाल जिल्लामा मह प्रतिकिलो रु ५०० मा बिक्री भइरहेको छ ।
कृषिज्ञान केन्द्र बझाङका अनुसार जिल्लामा हाल मौरी व्यवसायीको सङ्ख्या ४३ जना रहेका छन् । जिल्लामा वार्षिक दुई हजार ५०० किलोग्राम मह उत्पादन हुने गरेको छ । जिल्लामा ७४७ मुडेघार र ६५ आधुनिक घार गरी जम्मा ८१२ घार छन् भने मौरीका लागि खप्तडछान्ना, थलारा, सुर्मा, केदारस्यु गाउँपालिका र बुङ्गल नगरपालिका उत्तम क्षेत्र मानिन्छ ।
अर्गानिक महको माग काठमाडौं, नेपालगञ्ज, सुर्खेतलगायत शहरमा बढी छ । विभिन्न कारणले मौरी जोगाउनै समस्या भएको किसानले बताए । यहाँका अर्गानिक मह किन्न व्यापारी किसानको घरघर पुग्ने गरेका छन् । वन विनाश, अतिक्रमण, जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नुलगायत कारण मह उत्पादन बर्सेनि घटिरहेको कृषि ज्ञान केन्द्र बझाङले जनाएको छ । “उत्पादन घटे पनि माग र भाउ भने बढिरहेको छ”, केन्द्रका प्रमुख टेकबहादुर विष्टले भने, “उत्पादन घट्न थालेपछि किसान पलायन हुन थालेका छन् ।”
सुलसुले किराले सतायो
यहाँका सामुदायिक र राष्ट्रिय वनमा सुलसुलेकिराको प्रकोप बढेपछि आसपासका क्षेत्रमा मह उत्पादन घटेको केन्द्रले जनाएको छ । चिउरीका फूल फुल्न नपाउँदै किराले नष्ट गरेको केन्द्र प्रमुख विष्टले बताए । उनका अनुसार मौरीपालनका लागि राम्रो मानिएको खप्तडछान्नामा मह उत्पादन झन्डै आधा घटेको छ । मौरी पालनका लागि फापर, सुन्तला जात, तोरीजस्ता बोटबिरुवा रोप्नुपर्ने किसानको भनाइ छ । मौरी पालन किसानका लागि ढुवानी, अनुदान, परामर्शलगायत तालीमको व्यवस्था गर्नुपर्ने किसानको माग छ । केन्द्र प्रमुख विष्टले बच्चादेखि बुढासम्म आयुर्वेदिक औषधिमात्र नभएर यसको सांस्कृर्तिक, धार्मिक र जन्मदेखि मृत्युसम्म बहुउपयोगी हुने भएकाले मह उत्पादन लाग्न किसानलाई आग्रह गरे ।
प्रतिकृया लेख्नुहोस्: