काठमाडौं । जनता समाजवादी पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले एक अर्कालाई स्पष्टिकरण सोधेको म्याद आज समाप्त हुँदैछ ।
योसँगै जसपामा औपचारिक फूट हुने करिब निश्चितजस्तै देखिएहो हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनको अध्यादेश ल्याएपछि रातारात एकीकरण भएका जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी बनेको थियो । तर पछिल्लो घटनाक्रममा जसपाको पूर्व जनता पार्टी समूहले केपी ओलीलाई समर्थन गरेपछि पार्टी फूट नजिक पुगेको हो ।
यसअघि दुबै अध्यक्षले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न जेठ ११ गते एक–अर्कालाई पत्र पठाएका थिए । दुबै पक्षले कसैलाई जवाफ नदिएपछि शनिबार फेरि एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेपछि अब कार्वाही गर्ने बिन्दुमा उनीहरु पुगेका छन् ।
अध्यक्ष ठाकुरले पत्र प्राप्त गरेको म्यादभित्र चित्त बुझ्दो र सन्तोषजनक प्राप्त नभएमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ र जसपा नेपालको अन्तरिम विधान २०७७ बमोजिम निष्काशन समेतको कारवाही हुने चेतावनी यादवलाई दिएका थिए ।
यादवका तर्फबाट पनि ठाकुर लगायतका नेतालाई सोही व्यहोराको पत्र पठाइएको थियो । यादवले ठाकुर पक्षलाई सोधेको स्पष्टीकरणको २४ घण्टे म्याद आज दिउँसो १ एक बजे सकिँदैछ । त्यसपछि उनीहरुमाथि कारवाही हुने जसपा पार्टी कार्यालयका सचिव प्रकाश अधिकारीले बताएका छन् । यादवका तर्फबाट अध्यक्ष ठाकुरलगायत वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण पठाइएको थियो ।
स्पष्टिकरण र कार्वाहीपछि पार्टीको आधिकारिकताका लागि दावी गर्ने भएपनि ठाकुर पक्षलाई भने निर्वाचन आयोगमा आफ्नो पक्षको दावी पुष्टि गर्न अप्ठ्यारो पर्ने देखिन्छ । राजनीतिक दलसम्बन्धी ऐन अनुसार केन्द्रीय समितिको बहुमतका आधारमा पार्टीको आधिकारिकता निर्धारण हुने हुन्छ । यो अवस्थामा कार्यसमिति र कार्यकारिणी समितिमा यादव पक्षको बहुमत रहेको छ । जबकि संसदीय दलमा भने महन्थ ठाकुर पक्षको बहुमत रहेको छ ।
संसदीय दलमा बहुमत भएर मात्रै पार्टी विभाजन गर्न नसकिने कानुनी व्यवस्था भएकाले ठाकुर पक्षले केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउन नसके उनलाई दलको आधिकारिता दावी गर्न कठीन हुने देखिन्छ ।
सम्भवतः आज स्पष्टिकरणको मिति कुरेपछि दुबै पक्षको बैठकले ठोस निर्णय गर्नसक्ने देखिन्छ । यो अवस्थामा जसपामा औपचारिक फूट हुने कुरा निश्चित जस्तै बनेको हो ।
प्रतिकृया लेख्नुहोस्: