अदालतको फैसला आउने बेलासम्म पार्टी एक हुन्छ । यदि एक भएन भने ठूलो संकट आउँछ । पार्टी धरापमा पर्दैन तर केही व्यक्तिहरूको राजनीतिक जीवन समाप्त हुन सक्छ ।
लामो समयको अन्तरविरोधपछि एमालेभित्रको विवाद समाधानउन्मुख भएको छ । दुवै पक्ष सम्मिलित कार्यदलले समस्या समाधानका लागि मध्यमार्गी उपायको खोजिमा जुटिरहेका छन् । यसै विषयमा पार्टी अध्यक्ष केपी ओली र माधव नेपालबीच बुधबार होटल मेरियटमा साढे दुई घण्टा भेटवार्ता भए पनि कुनै सहमति हुन सकेको छैन ।
तर, यस भेटले एमाले विवाद समाधानमा 'आइस ब्रेक' हुन सक्ने अनुमान गरिएको छ । धेरै कुरामा सहमति जुटे पनि पछिल्लो समय संसद् विघटन, सर्वोच्चमा बुझाएको हस्ताक्षर र भागबण्डाको विषयमा कुरा नमिल्दा सयुक्त विज्ञप्ति जारी हुन सकेको छैन । यसै विषयमा खबरडबलीले नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितसँग कुराकनी गरिएको सम्पादिन अंश :
पछिल्लो समय पार्टीभित्र दुई शीर्ष नेताहरूको भेटवार्तालाई तपाईंले कसरी लिनु भएको छ ?
दुई शीर्ष नेताहरूबीच जुन भेटवार्ता भएको छ । यसलाई मैले सकारात्मक रुपमा लिएको छु । पार्टीभित्र जुन किसिमको आन्तरिक मतभेद थियो, त्यो कम भएर गएको छ । त्यसपछि राष्ट्रिय संकट पनि विस्तारै समाधानको दिशातिर जान्छ भन्ने मलाई विश्वास छ ।
तपाईं लामो समय माधव समूहमा रहनु भयो । पछिल्लो समय उनीहरूको गतिविधिलाई कसरी लिनुभएको छ ?
नेपालमा सत्ता पक्ष र विपक्ष दुवैतिर एउटै पार्टी देखा पर्ने एउटा विचित्रको स्थिति देखा पर्यो । एउटै पार्टीमा सत्तापक्ष र विरोधी गठबन्धन बनाउनु उपयुक्त थिएन । यस्तो गठबन्धन संसारमा कतै हुँदैन । कि त पार्टी विभाजन भएपछि विरोधी पार्टीसहितको गठबन्धन हुन्छ । तर एउटै पार्टीमा रहेर दुवै पक्षमा गठबन्धन हुन सक्दैन ।
आफ्नो पार्टीको सरकार छोडेर प्रतिपक्षको नेतृत्वमा सरकार बनाउन जानुभएको छ । त्यसको म विरोधी हुँ । अहिलेको अवस्थामा गठबन्धन आवश्यक छैन । एमालेलाई कमजोर बनाउन गठबन्धन भएकोले यो गठबन्धनको औचित्य छैन । गठबन्धनमा सत्तापक्षको हुन सक्दैन । यदि हुन्छ भने त्यो पार्टीमा रहन सक्दैन ।
पछिल्लो समय प्रधानमन्त्री पार्टीभित्र र बाहिर निकै कमजोर हुँदै गएको टिप्पणी हुन थालेको छ, माधव समूहसँगको वार्ता पनि त्यसकै कडिको रुपमा हेरिएको छ, वास्तवमा उहाँ कमजोर हुँदै जानुभएको हो ?
मैले त्यस्तो ठान्दिन । कुरा के हो भने मूल अविभावकले सबैको भावना बुझेर आफ्नो शक्तिलाई कमजोर हुन नदिने हो । कमिकमजोरी छ भने ती कमिकमजोरीलाई हटाएर अघि बढ्ने कुरा हुन्छ । हामी देखिराखेका छौं कि फलेको वृक्षमा झटारो लाग्छ । जसले जे पायो त्यसले हान्छ । हाने पनि त्यो फल प्राप्तिका निम्ति हो । तर त्यो झटारोले बोटै समाप्त हुँदैन ।
त्यसकारणले गर्दा फलेको बोट निहुरे जस्तै शक्ति वा नेतृत्वमा रहनुभएका व्यक्तिले समय र आवश्यकता अनुसार लचकता अपनाउनु पर्छ । जुन सरकार सञ्चालन, राष्ट्रिय संकट र पार्टी एकताका लागि प्रधानमन्त्रीले अहिलेको चाल्नु भएको छ । यसलाई अन्यथारुपमा बुझ्नु हुँदैन ।
होटल मेरियटमा बुधबार भएको दुई शीर्ष नेताबीचको वार्तामा समेत संसद् विघटन र सर्वोच्चमा बुझएको हस्ताक्षर मुख्य तगारो बनेको छ, यसलाई कसरी हल गर्न सकिन्छ ?
मेरो विचारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले असार १८ गतेको केन्द्रीय कमिटी बैठकमा स्पष्टरुपमा अदालतको फैसला अघि माधव समूह विपक्षी गठबन्धनबाट हट्नुपर्छ भन्नु भएको छ । होइन भने गठबन्धनमा पनि बसिराख्ने, पदमा पनि बस्ने एमालेका वरिष्ठ नेता पनि हुने भन्ने हुँदैन । आगो र पानी एकै ठाउँमा हुने स्थिति हुँदैन ।
माधव नेपालले त पार्टी भन्दा पनि लोकतन्त्र, संविधान र संसद जोगाउन हस्ताक्षर बुझाएको भनिरहनु भएको छ, उहाँहरू कसरी गलत हुनुभयो ? पार्टी भन्दा देश ठुलो होइन र ?
यो विचारलाई मान्ने हो भने पार्टी प्रणाली त्यागेको हुनु पर्यो । पार्टी प्रति मेरो विश्वास छैन । म मात्र देशको निम्ति लागेको हुँ । त्यसकारण पार्टी र पार्टीको संसदीय प्रणालीलाई तिलाञ्जली दिएँ भनेर प्रष्टरुपमा भन्नु पर्यो । अबदेखि म स्वतन्त्र भएँ । अब पार्टीमा रहदिन । नयाँ पार्टी बनाउँदिन । कुनै पार्टीमा पनि जाँदिन । म मात्र देशको नागरिक हुँ र देशको हित मात्रै चाहन्छु भनेर उहाँहरूले भन्न सक्नु हुन्छ ?
दुई पक्षीय सहमितका लागि विन-विन सिचुएसन वा पावर शेयरिङको कुरा भइरहेको छ । यो कत्तिको सम्भव छ ?
कतिपय अवस्थामा शक्ति सन्तुलन कायम गर्न समझदारीको विकास हुन्छ सक्छ । तर कुरो के हो भने हामीले द्वन्दवादलाई मान्ने, प्रतिस्पर्धालाई मान्ने, जित र हारलाई मान्ने हो भने सधैं कोही जितेको र कोही हारेको बराबर हुन्छ र ? बरावर त हुँदैन नि ? त्यसकारणले हाम्रो संवैधानिक व्यवस्था, कानूनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास पनि जसले जितेको हुन्छ उसले नेतृत्व गर्ने, जसले हारेको हुन्छ उसको मतको सम्मान गर्ने हो । त्यो मत यदि कुनै दिन बहुमतमा आयो भने त्यो मतले नेतृत्व गर्छ ।
अल्पमतमा रहुन् जेल त्यो मतको सम्मान हुन्छ । सम्मान हुने भनेको निर्णय हुने भनेको होइन । कतिपय अवस्थामा निर्णय हुन पनि सक्छ । त्यस कारण बहुमत जसको छ, त्यासको निर्णय मान्नु पर्छ । अल्पमतमा रहेर बहुमतको निर्णय म मान्दिन भन्न पाउँदैन । मेरै निर्णय मान्नु पर्छ भन्ने कुरामा जाने हो भने प्रतिस्पर्धा र बहुमतको अवस्था समाप्त हुन्छ । यसकारण जित र हारको अवस्थै रहदैन ।
यदि सर्वोच्चले संसद पुर्नस्थापना गरेको अवस्थामा माधव समूहले हस्ताक्षर फिर्ता लिएनन् भने त्यसबेला ओली नै प्रधानमन्त्री हुनुहुन्छ कि पार्टी एकतालाई जोगाउन माधव नेपाललाई प्रस्ताव गर्नुहुन्छ ?
राजनीति सम्भावनाहरूको खेल नै हो । त्यसकारण सम्भावनाहरू रहन्छन् । तर ती सम्भावनाहरू निष्कर्षमा नपुगुन्जेल सम्मावानामा मात्रै सीमित रहन्छ । यसबारेमा दुवै पक्षका कार्यदलका सदस्यहरूले छफल चलाईरहनु भएको छ । शीर्ष नेताहरूबीचमा पनि केही सहमति हुन्छ भने त्यो पार्टीमा आउँछ र पार्टीले निर्णय गर्छ ।
पार्टी एक हुन्छ भने माधव नेपाललाई प्रधानमन्त्री बनाउन किन आपत्ति ?
हाम्रोमा एउटा भनाइ छ कि माग्दैमा सबै कुरा पाइन्छ र ? त्यो एउटा गित थियो नि ? ‘नाई मलाई त्यही केटी चाहिन्छ’ भन्दैमा पाइन्छ र ? ‘वान साइड लभ’ले जीवन चल्छ ? चल्दैन नि । त्यसैकारणले दुई तर्फी भयो भने सबै कुरा हुन्छ । एक साइट भयो भने एकोरोमात्र हुन्छ । पार्टीमा जतिपनि समस्या आएको छ, त्यसको केन्द्रविन्दु पद हो नि । यी सबै पद प्राप्तिकै निम्ति नै हो । एउटा वैधानिकबाट प्राप्त भएकालाई रक्षा गर्ने कुरा हो । अर्को वैधानिकरुपमा प्राप्त गर्न सकिदैन भने विद्रोह गरेर भए पनि म प्राप्त गर्छु भन्ने हो ।
पद प्राप्तिकै लागि एकले अर्कालाई तल्लो स्तरको गालिगलौज गर्ने, एक अर्काको विरुद्ध सडकमा उत्रिने जस्ता विचित्रको खेल कम्युनिष्टमा मात्रै हुँदो रहेछ है ?
एउटा कुरा साधारण प्राकृतिकरुपमा बुझ्न जरुरी छ । बसन्त ऋतु आएपछि पालुवा पलाउँछ । त्यस अघि बुढा पात सबै झर्छन् । पालुवा पलाए जति सबै पात अडिएको हुन्छ र ? पालुवा पात पनि झरेका हुन्छन् नि ? फूल फूलेपछि सबै फूलहरू झरेका हुन्छन् । त्यस पछि चिचिला लाग्छ । ती सबै चिचिला बस्ने हो भने त्यो बोट मर्छ । त्यसले थेक्न सक्दैन ।
त्यसकारणले कम्युनिष्ट पार्टी, कम्युनिष्ट विचार वा कुनै विचारमा आउने जाने क्रम रहिरहन्छ । यसको अर्थ संख्यात्मकरुपमा वा गुणात्मकरुपमा प्रतिफल दिने गरी बढी भयो भने त्यो बढ्दै गएको हुन्छ । तर त्यहाँ कमि देखिन थाल्यो वा प्रतिफल कम आउन थाल्यो भने त्यो कमजोर हुँदै जान्छ । त्यसैले गर्दा सत्ताधारी पार्टी सँधै सत्ताधारी हुँदैन । प्रतिपक्षमा पनि जान्छन् ।
त्यसैले देशको संविधान पनि राजनीतिक शक्ति सन्तुलनको दस्तावेज हो भने शत्ता पनि शक्ति सन्तुलनको स्रोत हो । शक्तिमा जसरी सन्तुलन आउँछ त्यसैको प्रतिविम्भ सत्ता हो । सत्ता र शक्तिका लागि विभिन्न संघर्ष जारी रहन्छ । यो कम्युनिष्टमा मात्र होइन अन्य पार्टीमा पनि हुन्छ ।
तपाईंको विचारमा अहिलेको अवस्था सिर्जना हुनेमा सबैभन्दा दोषि को हो ?
नेपालको बिडम्बना के छ भने जहिले जहिले जनताले बहुमत दिन्छन् । त्यसबेला नेताहरू आपसमा लड्छन् । विचारका लागि लड्दैन् । पद र प्रतिष्ठाका निम्ति लड्छन् । त्यसबाट अरुलाई फाइदा पुर्याउँछन् र देशलाई घाटा बनाउँछन् ।
चाहे सत्र सालको काण्ड हेर्नोस चाहे ०४६ साल पछिको अवस्था हेर्नोस । सामूहिक प्राप्तिका निम्ति एक हुन्छन् । जब सत्तामा पुग्छन् अनि फुट्छन् । राणा काल यताको अवस्था हेर्ने हो भने कुनै पनि शासकले पुरा अवधि काम गर्न पाएका छैनन् ।
अहिले पनि हामी पाँच वर्ष पुर्यान पर्छ भनेर लागिरहेका छौं तर पार्टी भित्रकै नेताहरू, बाह्य शक्तिको दवाव र प्रभावले गर्दा पुरा अवधि सत्ता सञ्चालन भएको छैन । राजनीति स्थायीत्व नभए सम्म विकास र समृद्धि सम्भव छैन । बाह्य शक्ति, विपक्षी र सत्ताभित्रै शक्ति संघर्षले अहिलेको अवस्था सिर्जना भएको हो ।
पार्टीभित्र मूख्य दोषि को हो त ?
झगडा हुँदा दुवै तिर दोष हुन्छ । एक तिर मात्र दोषि हुँदैन । मात्रा फरक होला । हाम्रो सामान्य मान्यता के हुन्छ भने मोटर साइकल र साइकल वा गाडी र मोटर साइकल ठोकियो भने बढी दोष कसको हुन्छ ? दोष कम भए पनि दोषि तिनै व्यक्ति देखिने हो, जसले नेतृत्व गरेको हुन्छ । यसकारण सबैभन्दा बढी नेतृत्वले नै दोषिको भागिदार हुनु पर्छ । पछिल्लो समय प्रतिपक्षसंग गठबन्धन जानु माधव नेपालको ठुलो कमजोरी रहेको छ । त्यो आत्मघाति र ऐतिहासिक भुल हो ।
जहाँ समस्या हुन्छ, त्यहाँ समाधन पनि हुन्छ । तपाईंको विचारमा पार्टी एकताका लागि मिलन विन्दु के हुन सक्छ ?
विधि र प्रकृया सबै कुरा त्यागेर सबै भन्दा योग्य देख्ने जुन प्रवृत्ति नेतृत्वमा देखा परेको छ । यो नै सहमतिको बाधक हो । यसमा जबसम्म सामूहिकता आउँदैन तब सम्म प्रश्न उठिराख्ने र मनमुटाव भइराख्ने स्थिति हुन्छ । हामी अहिले के देख्छौं भने नेतृत्वमा म,मेरा र हाम्रा मात्र योग्छ छन् भन्ने दम्भ रहेको छ । जसले पार्टी र देशका लागि रगत, पसिना बगाए, जो पार्टी र देशका निम्ति योग्य, सक्षम, क्षमतावान छन् र पीडामा पनि छन् । उनीहरूलाई विर्सिएर आत्मकेन्द्रित स्वार्थकेन्द्रित, परिवार केन्द्रित, नातावाद, क्रिपावाद केन्द्रित नै अहिलेका मूख्य रोग हो । त्यासकारण सामूहिकतामा न्यायिक कार्य विभाजन पनि हुनु पर्छ । आवश्यक अनुसार शक्ति हस्तान्तरणमा पनि जानु पर्छ ।
पावर शेयरीङ त एउटा विषय होला यस बाहेक पछिल्लो समय शीर्ष तहबाट एकले अर्काको आत्मसम्मानमा ठेस पुर्याउने गरी निम्नस्तरका गालीगलौजमा उत्रिएका छन्, यसमा ध्यान दिनु पर्दैन ?
दुईटा मोर्चा बनाएर एक अर्कालाई सिध्याउने, एक अर्काले जित्ने र एउटै व्यक्ति दुईवटा मोर्चामा समेत रहने जुन स्थिति विकास भएको छ, त्यो गलत हो । अर्को कुरा नेपालका नेताहरूमा मन मिलेपछि आन्द्रादेखि नै जुम्लिया जन्मेको जसरी मिल्ने अनि मन नमिले पछि सात पुस्ता देखिको निकालेर यो सबै यसैको कारणले भएको भन्ने गलत संस्कार छ ।
शब्दकोषमा समेत नभएका नयाँ-नयाँ गाली गलौज गर्ने शैली छ, त्यो निन्दनीय छ । कहाँ बोल्न हुन्छ, कहाँ बोल्न हुँदैन, के बोल्न हुन्छ, के बोल्न हुँदैन भन्ने हेक्का समेत नराखी ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार गर्ने कुरा गलत छ ।
अदालतको फैसला अगावै पार्टी एक हुने सम्भावना कत्तिको देख्नु हुन्छ ?
अदालतको फैसला आउने बेला सम्म पार्टी एक हुन्छ । यदि एक भएन भने ठुलो संकट आउँछ । पार्टी धरापमा पर्दैन तर केही व्यक्तिहरूको राजनीतिक जीवन समाप्त हुन सक्छ ।
अन्त्यमा, तत्काल माओवादीसंग पार्टी एकता सम्भव छ कि छैन ?
राजनीतिमा सधैको निम्ति शत्रु र मित्र हुँदैन । पार्टी फुटेका पनि छन् । फेरी जुटेका पनि छन् । हाम्रो कमजोर होइन बलियो कम्युनिष्ट पार्टी बनाउन चाहन्छौं । त्यो सम्भावना छन् तर तत्कालै माओवादीसंग पार्टी एकताको सम्भावना अलि पर धकेलिएको छ । भविष्यको व्यवहारले कति नजिक र कति टाढा भन्ने छुट्टयाउँछ ।
प्रतिकृया लेख्नुहोस्: