यदि माधव नेपाल र माओवादीले सहष्णिुतापूर्वक फरक मतको सम्मान गर्ने अवस्था सिर्जना गरेमा या भीम रावल र पूर्व माओवादीलाई ससम्मान स्थान दिने परिस्थिति सिर्जना गरेको खण्डमा यो विद्रोहले ठूलो पराकम्प ल्याउने निश्चित देखिन्छ
काठमाडौं । डाँकुहरुको संसारमा एउटा मुख्य डाँकु हुन्छ । उसले जे गरेपनि बाँकी डाँकुहरुले त्यसको पालना गर्छन् ।
यो कुरा डाँकुहरुको संसारमा मात्रै लागु हुँदैन । पछिल्लो चरणमा उदय भएको अन्डरवल्र्डको संसारमा पनि डन भनेको देवता जस्तै हुन्छ ।
डनको आदेश सर्वोपरि हुन्छ । डनले जे भन्यो बाँकी सबैले मान्नुपर्ने हुन्छ ।
डनले आफुखसी आफूमुन्तिरका प्यादाहरुलाई प्रयोग गर्छ । उसको स्तुतीगानका लागि सबै तयार देखिन्छन् । डनका कतिपय कुरा मन नपरेपनि, डनका बाहिर त्यसको आलोचना गरेपनि उसको सामु भने कसैले बिरोध गर्ने हिम्मत गर्दैनन् ।
यो डनको संसारको कथा हो ।
र, कहिलेकाहिँ राजनीतिमा पनि यस्ता डनहरुको उदय हुन्छ, उनीहरु शीर्ष स्थानमा देखिन्छन् । उनीहरुको भजनमण्डली तयार हुन्छ । डनलाई खुसी पार्न जेसम्म पनि गर्न तयार हुन्छन् उनका भक्तजनहरु ।
डनलाई खुसी पार्न सकियो भने आफ्नो राजनीतिक अभिष्ट पुरा हुने आसामा उनका कैयन गलत कुरालाई पनि उनका भक्तहरु चुपचाप सहन गर्छन् ।
आफैले विगतमा भनेको कुरा समेत डनले उल्लंघन गर्दा यस्ता भक्तहरु चुप लाग्छन् । नबोल्ने कसम खान्छन् ।
उदाहरणका लागि कुनै बेला संविधानसभाका अध्यक्ष रहेका सुभास नेम्वांगले त्यही संविधानको चीरहरण हुँदा मौनता साँधे । प्रतिनिधि सभा विघटनको प्रकरणमा उनको मौनता रहस्यमयी थियो ।
तर उनी अन्धभक्त थिए एमालेभित्र उदय भएका डनको अर्थात् केपी ओलीको ।
सुभास नेम्वांग मात्रै होइन, विष्णु पौडेलदेखि शंकर पोखरेलसम्म आफ्नो भविष्यको लेखाजोखा गरेर चुप लागे । कारण ओलीलाई रिझाउनु थियो । ओलीलाई खुसी पार्ने शर्तमा उनीहरुले ओलीका हरेक कदमको साथ थिए । ती कदमहरु देश र जनताको प्रतिकूल छन् भन्न थाहा हुँदाहुँदै पनि उनीहरु चुप लागे ।
तर एमालेमा डनवादको यो अवस्था धेरै टिक्ने देखिन्न ।
राजनीतिक जोडघटाउ नै गरेर भएपनि माधव नेपालको साथ छोडेर एमाले बनेका भीम रावल, घनश्याम भुसालहरु अहिले विलखबन्दमा परेका छन् । उनीहरुका अगाडि कि त डनको साम्राज्य अगाडि शीर झुकाउनुपर्ने बाध्यता छ, कि विद्रोह गर्ने ।
विद्रोह गर्ने साहस उनीहरुले अहिले पनि बटुल्न सकेका छैनन् ।
१० बुँदेको त्यान्द्रोको आसमा एमालेमा टिकेका उनीहरु अहिले भने झस्केका छन् । ओलीले दश बुँदेको राग आवश्यक छैन भनेर डनको आदेश सुनाएपछि उनीहरु झस्किएका मात्रै होइनन, ठूलै संकटमा परेका छन् ।
लाज जोगाउन भीम रावलले १० बुँदे सहमतिको कार्यदलबाट राजीनामा दिएका छन् । तर यो राजनीतिक भाषामा फेस सेभिंगबाहेक अन्य केही होइन ।
तर यो सबै प्रकरणले एमालेमा एउटा ठूलो विद्रोहको संकेत भने अवश्य गरेको छ । यो विद्रोह थाम्न ओलीलाई समेत हम्मेहम्मे पर्ने देखिन्छ ।
अन्डरवल्र्डमा पनि कहिलेकाहिँ यस्ता घटना देखिन्छन् । यस्तो बेला कि त ती विद्रोह गर्नेहरु मारिन्छन् या उनीहरुले अर्को साम्राज्य स्थापना गर्न सफल हुन्छन् ।
यहाँ भीम रावलहरु एमालेभित्रै बसेर अर्को साम्राज्य स्थापना गर्ने अवस्थामा भने देखिँदैनन् । उनीहरुको झिनो स्वरले साम्राज्यको सम्भावना देखाउँदैन । या त उनीहरुको राजनीति समाप्त हुन्छ या उनीहरुले विद्रोह गर्नैपर्ने बिन्दुमा आफूलाई उभ्याउँछन् ।
अहिले त्यस्तै देखिएको छ ।
एमालेभित्र एउटा भयंकर विद्रोहको सम्भावना देखिएको छ ।
यदि माधव नेपाल र माओवादीले सहष्णिुतापूर्वक फरक मतको सम्मान गर्ने अवस्था सिर्जना गरेमा या भीम रावल र पूर्व माओवादीलाई ससम्मान स्थान दिने परिस्थिति सिर्जना गरेको खण्डमा यो विद्रोहले ठूलो पराकम्प ल्याउने निश्चित देखिन्छ ।
भीम रावलहरुले आफ्नो राजनीतिक इतिहासलाई बलि चढाउँछन् या विद्रोह गर्छन् यो केही दिनमा प्रष्ट हुने नै छ । कम्तिमा उनीहरुले सम्मेलनको सामना त पक्कै गर्ने देखिन्छ तर त्यहाँ गएर उनीहरु जसरी बलिको बोका बन्नेछन् त्यसपछि उनीहरु राजनीतिबाट किनारा लाग्ने या ठूलो विद्रोह गर्ने भन्ने विकल्प उनीहरु सामु देखिने छ ।
प्रतिकृया लेख्नुहोस्: