काठमाडौं । मतदाता नामावलीमा समावेश भएका नागरिकलाई मतदाता परिचयपत्र नभए पनि अन्य उपयुक्त सरकारी कागजातको आधारमा मतदानमा सहभागी गराउने निर्वाचन आयोगले जनाएको छ।
मतदाता परिचयपत्र नभए के चाहिन्छ?
अघिल्लो स्थानीय तह निर्वाचनमा आयोगले सरकारी निकायबाट जारी भएका फोटो सहितका कुनै पनि परिचयपत्रका आधारमा मतदान गर्न दिने व्यवस्था मिलाएको थियो।
अघिल्ला निर्वाचनहरुमा जस्तै आयोगले यो पटक पनि फोटो टाँसिएका सरकारी पहिचान खुल्ने कागजातका आधारमा मतदान गर्न सकिने व्यवस्था मिलाएको आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारि दिए।
"आयोगले मतदाता परिचयपत्र नभए पनि नागरिकता वा अन्य सरकारी पहिचान खुल्ने कागजात जसमा फोटो टाँसिएको हुन्छ, त्यस्ता कागजात वा प्रमाण देखाएर मतदान गर्न सक्ने निर्णय आयोगले गरेको छ" उनले बुधवार साँझ भने।
अर्यालले विसं २०७४ सालमा प्राप्त गरेको परिचयपत्र हराएर प्रतिलिपि लिनका लागि वडाको सिफारिसमा निवेदन दिएका मतदाताहरूको परिचयपत्र आयोगले मतदान केन्द्रमा पठाइसकेको समेत जानकारी दिएका छन्
आयोगले जारी गरेको सूचनामा मतदाता परिचयपत्रको विकल्पमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाइने उल्लेख छ।
वैकल्पिक कागजातहरूको विवरण "अन्तिम मतदाता नामावलीसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको" आयोगले जनाएको छ।
मतदानको व्यवस्था
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्गलवार पत्रकार सम्मेलनका क्रममा मतदाता नामावलीमा नाम समावेश भएका सबैले मतदान गर्न पाउने गरी व्यवस्था गरिएको जानकारी दिएका थिए।
थपलियाले भने, "स्थानीय तह मात्रै होइन, सबै तहका निर्वाचनको निम्ति पहिलो सर्त भनेको मतदाता नामावली हो। मतदाता नामावलीको पूर्वसर्त भनेको नागरिकता प्राप्ति [हो]।"
"त्यस कारण नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६,७४३ वडा भित्रका सबै (मतदाता भएका) नागरिकले मतदान गर्न पाउने गरी निर्वाचनको व्यवस्था गरिएको छ।"
मतदानस्थलमा कस्तो चेकजाँच?
स्थानीय तह निर्वाचन निर्देशिका अनुसार मतदान अधिकृतलाई दुई प्रति मतदाता नामावली आयोगले उपलब्ध गराउँछ।
मतदाताको तस्बिर समेत राखिएको यस्तो नामावली एक प्रति रङ्गिन र एक प्रति श्यामश्वेत उपलब्ध गराइएको हुन्छ।
निर्देशिका अनुसार "मतदान अधिकृतले निर्वाचनको मितिभन्दा अगावै आयोगबाट प्राप्त मतदाता परिचयपत्र सम्बन्धित मतदाता वा निजको परिवारका सदस्यलाई बुझाई बुझिलिनेको दस्तखत वा सहीछाप गराई राख्नु पर्नेछ।"
निर्देशिकाको दफा ३९ मा मतदान अधिकृत वा कर्मचारीले मतदाताको परिचयपत्र हेरेर मतदातामा नाम भए वा नभएको जाँच गर्नुपर्ने व्यवस्था गरेको छ।
मतदाता नामावलीमा समावेश भएको नाम र परिचयपत्रमा समावेश भएको नाम बाहेक कर्मचारीहरूले बुबा, आमाको नाम, उमेर र थरजस्ता विवरणहरूको पनि जाँच गर्नुपर्ने नियम छ।
"जाँच गर्दा मतदाता नामावलीमा लेखिएको व्यक्ति निज नै हो भन्ने कुरामा मतदान अधिकृत वा निजले खटाएको कर्मचारी विश्वस्त भएमा निजलाई मतपत्र दिनु पर्नेछ," निर्देशिकामा भनिएको छ।
परिचयपत्र कहाँ र कहिले पाइन्छ?
यसपालिको चुनावमा वैशाख २९ गते अर्थात् निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मत खसाल्न पाउने आयोगले जनाएको छ।
मतदानका लागि निर्वाचन आयोगले देशैभरि १०,७५६ वटा मतदान स्थल र २१,९५५ वटा मतदान केन्द्र तोकिसकेको छ।
नयाँ मतदाताहरूलाई सम्बन्धित मतदान केन्द्रबाट मतदान अधिकृतले वैशाख २८ र २९ अर्थात् बुधवार र बिहीवार मतदाता परिचयपत्र उपलब्ध गराउने अधिकारीहरूको भनाइ छ।
पुरानो मतदाता परिचयपत्र हराएको वा प्रयोग योग्य नभएकाले मतदाता परिचयपत्रको माग गर्दै निवेदन पेस गरेकाहरूलाई पनि बुधवार र बिहीवार नै मतदाता परिचयपत्र उपलब्ध गराइने आयोगको भनाइ छ।
नेपालमा ७५३ स्थानीय तहमा कुल ३५,२२१ जनप्रतिनिधि रहने व्यवस्था छ।
शुक्रवार सम्पन्न हुने मतदानअघि अहिलेसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।
१७० दलित महिला सदस्य पदमा भने उम्मेदवारी दर्ता हुन नसकेको अधिकारीहरूले जनाएका छन्।
आफैँ छाप लगाउन नसक्ने मतदाताले कसरी गर्न पाउँछन् मतदान
दृष्टिविहीन वा शारीरिक अशक्तता भएका वा अरू कुनै कारणले मतदाता आफैँले मतपत्रमा छाप हाल्न नसक्ने अवस्थामा भएका मतदाताले अरूको सहयोगमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार त्यस्ता व्यक्तिले आफ्नो साथमा आएका एकाघरको परिवारको सदस्यलाई मत सङ्केत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले अनुमति दिनुपर्ने प्रावधान छ।
दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाई सँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैँ मतदान गर्न असमर्थ व्यक्ति हो होइन निर्क्योल गरी अनुमति दिनुपर्ने, दृष्टिविहीन मतदाता वा मतपत्रमा मत सङ्केत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत सङ्केत गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।
कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणवश आफैँ मत सङ्केत गर्न नसक्ने भई सहयोग गरिदिन अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत सङ्केत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको आयोगले जनाएको छ।
सो व्यवस्थाअनुसार कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेललाई उद्धृत गर्दै निर्वाचन आयोगले जनाएको छ। बीबीसी
प्रतिकृया लेख्नुहोस्: