NTC Banar
Khabar Dabali १३ माघ २०७९ शुक्रबार | 27th January, 2023 Fri

अभावमा गुज्रिँदै साङ्केतिक विद्यालय

Golden Oak
खबरडबली संवाददाता

सुर्खेत ।सबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन् । जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ । १० कक्षासम्मको विद्यालयमा ९६ जना विद्यार्थी छन् । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई साङ्केतिक भाषामै पढाउनुपर्छ ।

त्यसैले पनि शिक्षकले हात र मुखको इसारा गरेर ती बालबालिकालाई अध्यापन गराउनुपर्छ । सुन्ने र बोल्ने क्षमता नभएका बालबालिकाको शैक्षिक केन्द्रका रूपमा रहेको विद्यालय हो, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित सिद्ध बहिरा बाल स्कुल । 

विद्यालयमा कार्यरत १० शिक्षकमध्ये छ जना विशेष शिक्षा परिषदबाट नियुक्त भएका छन् भने विद्यालयमा चार जना हेरचाहकर्ता र तीन जना कार्यालय सहयोगी रहेका छन् । कूल ९६ जना अध्ययनरत विद्यालयमा ८१ जना बालबालिकाले आवासीय सुविधासहितको शिक्षा लिइरहेका छन् । 

विद्यालयमा विषयगत सङ्केत सामग्रीको अभावका कारण सुन्ने र बोल्ने क्षमता नभएका विद्यार्थीको पठनपाठनमा समस्या भइरहेको छ । “साना कक्षामा साङ्केतिक सङ्केत अभावले खासै समस्या हुँदैन”, विद्यालयका प्रधानाध्यापक चिन्तामणि कँडेलले भन्छन्, “खासगरी पठनपाठनमा प्रयोग हुने साङ्केतिक सङ्केत अभावले माथिल्लो कक्षाका विद्यार्थीहरू भने प्रभावित बन्ने गरेका छन् ।” 

विद्यालयमा गणित, विज्ञान, वातावरण शिक्षालगायतका विषयमा शिक्षकलाई अध्यापनमा समस्या हुन्छ । कक्षा १० सम्म अध्यापन गराइरहेका शिक्षकहरूमा विषयगत सङ्केत अभाव देखिने प्रधानाध्यापक कँडेल बताउँछन् । उनी भन्छन्, “सङ्केत अभावले गर्दा शिक्षकले बुझाउन खोजेको शब्द विद्यार्थीले प्रष्ट बुझ्दैनन् अथवा बुझाइएको शब्दले अर्को अर्थ लगाउन सक्ने जोखिम हुन्छ । विषयगत सङ्केत अभावले विद्यार्थीलाई प्रष्ट अर्थ जनाउन शिक्षकलाई गाह्रो पर्छ ।” 
प्रअ कँडेलका अनुसार नेपालमा विषयगत सङ्केतका लागि कार्यक्रम सञ्चालन तथा अध्ययन अनुसन्धान सुरु नभएको मात्र होइन, विषयगत सङ्केतका विषयमा नेपालमा पुस्तकहरूको पनि अभाव रहेको छ । अन्य मुलुकहरूमा विषयगत सङ्केतहरुको व्यवस्था गरिएको भए पनि नेपालमा भने अन्य मुलुकको सङ्केतले काम गर्दैन ।

“पुराना शिक्षकलाई विज्ञान विषय अध्यापन गराउँदा समस्या उत्पन्न हुन्छ  । यस विषयमा हामी शिक्षकहरूले प्रयास पनि गरेका छौँ”, उनले भने, “साङ्केतिक भाषाका लागि तालिम सञ्चालन गरेका थियौँ । शिक्षकहरूलाई विषयगत सङ्केतका लागि थप तालिमको आवश्यक छ ।”

प्रअ कँडेल सुन्न र बोल्न नसक्ने बालबालिकाको शैक्षिक केन्द्रका रूपमा स्थापित विद्यालय आफैंले भने सधैँ अभाव खेप्नुपरेको बताउँछन् । विसं २०३७ मा स्थापना भएको यस विद्यालयको भवन जीर्ण छ । कक्षा कोठा पनि पर्याप्त छैन भने यहाँ खेल मैदान, पाठ्यपुस्तक, शैक्षिक सामग्री र शिक्षकको पनि अभाव छ । उचित स्रोतसाधन र अपर्याप्त शिक्षक दरबन्दीका कारण विद्यालयको शैक्षिकस्तर माथि उठाउन समस्या भएको प्रअ कँडेलले बताउँछन् ।

यस विद्यालयमा प्राथमिक तहमा एक, निम्न माध्यमिक तहमा चार र माध्यमिक तहमा एक जना गरी ६ जनाको दरबन्दी रहेको छ । विद्यालयमा कम्तीमा नौ जना शिक्षक आवश्यक रहेको प्रअ कँडेलको भनाइ छ । उनी अन्य विद्यालयका शिक्षक सरह यहाँका शिक्षकलाई सेवासुविधा नभएको बताउँछन् ।

वीरेन्द्रनगरमा रहेको यो विद्यालय अहिले सुन्ने र बोल्ने क्षमता नभएका बालबालिका अध्ययन गर्न एउटा मात्र विद्यालयका रूपमा छ । सुर्खेतका बड्डीचौर, मालारानी र गुमीमा रहेको यस्ता प्रकृतिका विद्यालयहरू गाभेर यही विद्यालयमा ल्याइएको हो । अहिले पनि यो विद्यालय सङ्घीय सरकारकै स्वामित्वमा रहेको छ । 

विद्यालयको नौ कोठे भवनभित्र एउटा कोठामा कार्यालय सञ्चालनमा छ भने बाँकी कोठामा पठनपाठन हुने गर्दछ । “पानी पर्दा सबै कक्षाहरू चुहिएर पोखरी बन्छन्, गर्मीमा सिधै सूर्यको प्रकाश कोठाभित्रै पर्छ”, प्रअ कँडेल भन्छन्, “शौचालय जीर्ण अवस्थामा छ भने खानेपानीको व्यवस्था नहुँदा विद्यार्थीलाई पसलबाट किनेर ल्याउनुपर्दछ ।” 

विशेष शिक्षामार्फत सञ्चालन भएको विद्यालयमा बहिरा विद्यार्थीलाई पढाउने शैक्षिक सामग्री नहुँदा अध्यापनमा समस्या परेको विद्यालयका अङ्ग्रेजी शिक्षक रमेशकुमार कार्कीले बताउँछन् । साङ्केतिक भाषाका लागि आवश्यक सामग्री नहुँदा पठनपाठनमा समस्या रहेको उनको भनाइ छ । उनका अनुसार नेपालीमा अनुवाद गरी फेरि साङ्केतिक रूपमा बुझाउन गाह्रो हुन्छ । सम्बन्धित विभागले नै पाठ्यक्रमअनुसार साङ्केतिक सङ्केत चिन्हको विकास तथा अनुसन्धानमा ध्यान दिनुपर्ने उनको धारणा छ । 

श्रवण शक्ति नभएका विद्यार्थीका लागि अध्ययन गर्ने प्रदेशकै एकमात्र विद्यालय भएकाले पनि यहाँ विद्यार्थी आउने क्रम बढ्दो छ । आर्थिक अवस्था र पूर्वाधार नहुँदा विद्यालयमा दिनहुँ समस्या हुने गरेको छ । प्रधानाध्यापक कँडेलका अनुसार वीरेन्द्रनगर नगरपालिकाले गत आर्थिक वर्षमा नयाँ भवनका लागि दिएको ५० लाख रूपैयाँले अहिले भवन बनिरहेको छ ।  

जीर्ण अवस्थामा रहेको प्रदेशकै एकमात्र बहिरा स्कुलको पूर्वाधार तथा शैक्षिक गुणस्तर विकासमा कुनै जनप्रतिनिधिको ध्यान नपुगेको अभिभावकहरूको गुनासो छ । साङ्केतिक भाषाको पठनपाठन हुने यस विद्यालयको पहिचान जोगाउन र विद्यालयको शैक्षिकस्तर सुधारका लागि राज्यले ध्यान दिनुपर्नेमा स्थानीय अभिभावक लक्ष्मी उपाध्याय जोड दिन्छिन् । उनले भनिन्– “राज्यले नै ध्यान नदिँदा बालबालिकाहरूको पठनपाठन प्रभावित भइरहेको छ ।” 

विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामग्री खरिद गर्न सरकारले प्रति विद्यार्थी मासिक ५०० रूपैयाँ उपलब्ध गराउँदै आएको छ । विद्यालयमा हाल सुर्खेत, दैलेख, कालिकोट, हुम्ला, डोल्पा, जाजरकोट, मुगु, सल्यान, बाँके, बर्दिया र कैलालीका विद्यार्थी अध्ययनरत छन् ।

कूल ९६ जना विद्यार्थी अध्ययनरत सिद्ध बहिरा बाल स्कुलमा ४६ छात्रा र ५० छात्र रहेका छन् । यहाँ पाँच छात्र र नौ छात्रा गरी १४ दलित विद्यार्थी रहेका छन् । विद्यालयमा ८१ जना आवासीय रुपमै अध्ययन गरिरहेका छन् भने १५ जना घरबाटै आवतजावत गर्दै आएका छन् ।

विद्यालयमा सबैभन्दा धेरै दैलेख जिल्लाका ३४ जना विद्यार्थी अध्ययनरत छन् भने सुर्खेतका २८, कालिकोटका १५, हुम्लाका १५, जाजरकोटका चार, कैलालीका तीन, अछामका तीन, डोल्पाका दुई तथा मुगु र डोटीका एक÷एक जना विद्यार्थी अध्ययनरत छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खर्च घटाउनु सुशासन र विकासको अनिवार्य सर्त : मुख्यमन्त्री अधिकारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनावश्यक चालु खर्च घटाइ पुँजीगततर्फ विनियोजित बजेट खर्च बढाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दि...

सिन्धुपाल्चोकको भोटसिपाका दुई किसानले गरे चालीस रोपनीमा अनार खेती

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन् ।  कृषक राजेन्द्र ...

सूचनाको हक उल्लङ्घन गर्ने अधिकृत यादव १५ हजार जरिवानासहित दण्डित

काठमाडौ । राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोगमा सिरहा नगरपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई रु १५ हज...

राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे प्रचण्डले मागे नेताहरूको धारणा

काठमाडौँ । प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे धारणा बनाउन स्थायी कमिटी सदस्...

प्रेमप्रसादले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध जाहेरी

काठमाडौ । आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्य घटनामा प्रहरीमा जाहेरी परेको छ।  बिहीबार जिल्ला प्रहरी परिसर टेकुमा पुगेर केही व्यक्तिहरूले जाहेरी...

गृहमन्त्रीसँग बालेनले मागे सुकुम्बासी बस्ती हटाउन सहयोग

गृहमन्त्री लामिछानेले दिए यस्तो जवाफ

आसिफ शेखले पाए आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड (खेल भावना अवार्ड) प्राप्त गरेका छन् । बिहीबार अन्तर्रा...

प्रेम आचार्यले उठाएका विषय छानबिन गर्न गृह सहसचिवको नेतृत्वमा बनाइयो समिति

काठमाडौं । आत्मदाहको प्रयास गरि उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृह...

निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न नीति बनाइएपछि निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको बताएको छन् । ...

राष्ट्रपति भण्डारी राजाजस्तै, उहाँको कारण धेरै दुःख पायाौ: पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजाजस्तै भएको बताएकि छन् । काठमाडौंमा बिहीबार प्रेस काउन्सिल नेपाल, नेप...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page