बुधवार संसदमा प्रचण्डको प्रस्तुतीले सत्ता र व्यवस्थाप्रति भरोसा जागेको, केही हुन्छ भने प्रचण्डकै कार्यकालमा हुन्छ भन्ने मनोविज्ञान निर्माण भएको छटपटी प्रतिपक्षमा देखियो । सदनमा प्रचण्ड बोल्दै जाँदा केपी ओलीको मुहारमा देखिएको छटपटी त्यसको उदाहरण हो ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले बजेटमा मन्त्रिपरिषद, राष्ट्रपति, उपराष्ट्रपति तथा योजना आयोगसँग सम्बन्धित विषयमा सांसदहरुले सोधेका प्रश्नहरुको उत्तर दिने कार्यसूचि थियो ।
प्रतिपक्षी नेकपा एमाले, रास्वपालगायतका दलहरुका लागि प्रचण्डलाई र्याखर्याख्ती पार्ने अवसर थियो । उनीहरुले सोही बमोजिम प्रश्न र प्रतिप्रश्नको तयारी समेत गरेका थिए ।
संसदलाई उत्तेजित पारेर, वातावरणलाई तरंगित बनाएर बजेट नै पास हुन नदिने रणनीतिमा प्रतिपक्षी दलहरु थिए ।
संसद संचालन सम्बन्धी कार्यव्यवस्था नियमावली अनुसार संसदमा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले जवाफ दिएपछि फेरी सांसदहरुले प्रतिप्रश्न गर्ने अवसर हुने भए पनि यसमा भने पहिले प्रश्न सोधेका सांसदहरुलाई एकपटक पुन प्रतिप्रश्न गर्न दिइने र त्यसमा दिइएको जवाफमा पुन प्रश्न गर्न पाइदैन । तर, सभामुखले नियमावलीको वेवास्ता गर्दै एमाले सांसद सूर्य थापालाई वजेटसँग असम्बन्धित राजनीतिक पूर्वाग्रहप्रेरित प्रतिप्रश्नका लागि मौका दिनु भयो ।
प्रतिपक्षि दलहरु सत्ता समीकरणको संख्यात्मक दाउमा मात्रै थिए । उनीहरुको दिमागमा दश लाख बढी नागरिकले नागरिकता पाउन सफल भएकोमा सरकारलाई ताली बजाउनुपर्छ भन्ने थिएन । न त घण्टौं लाइन बस्नुपर्ने सास्तीले थलिएका जनताले राहत पाएकोमा धन्यवाद भन्ने नैतिकता नै ।
उनीहरु बिरोधका लागि बिरोधको परम्परागत मानसिकता बोकेर संसद भवनमा ढुकेर बसेका थिए ।
प्रतिपक्षको यही मनोविज्ञानबीच प्रधानमन्त्री प्रचण्डले रोष्टमको माइक समाते ।
एकाएक प्रतिपक्षी दलहरु सशंकित भए । कारण थियो प्रधानमन्त्री प्रचण्ड सोझै प्रत्युत्तरमा गएनन् । उनले सांसदहरुको जवाफ दिनुभन्दा अघि केही राजनीतिक कुरा गर्न चाहे ।
सन्दर्भ थियो, सरकारले सम्पादन गरेका कामहरुको उपलब्धिका बारेमा । संसदमा प्रतिपक्षले सरकार निकम्मा बनेको, ६ महिनामा कुनै काम नगरेको भनेर जसरी एकोहोरो भ्रमपूर्ण प्रचार गरिरहेका थिए, त्यसलाई प्रधानमन्त्रीको बास्तविक डाटासहितको यथार्थ प्रस्तुतिले उनीहरु रन्थनिएका थिए ।
लिखित मन्तव्यमार्फत प्रधानमन्त्रीले एकपछि अर्को लाइन भन्दै जाँदा प्रतिपक्षी दलका सांसदहरुको अनुहार हेर्न लायक देखियो ।
कारण थियो, प्रधानमन्त्री प्रचण्डको प्रस्तुती । आत्मविश्वाससहित प्रस्तुत गरेको प्रगतिको रिपोर्ट ।
यस्तो रिपोर्ट, जसलाई खण्डन गर्ने कुनै तरिका थिएन ।
गफ दियो भन्ने कुनै ठाउँ थिएन ।
“हो त है ।” एक मनले प्रतिपक्षी सांसदहरु सोचिरहेका थिए ।
तर बिरोध गर्नैपर्छ, केही न केही त इस्यू भेटिएला ? यही मानसिकता उनीहरुको थियो ।
तर शुरुदेखि अन्त्यसम्म प्रचण्डले बोलेका हरेक शब्दहरु ढ्यांग्रोजस्तै मुटुमा ठोकिँदै गए । श्वास फेर्न समेत बिर्साउने किसिमले उनले एकपछि अर्को उपलब्धिको फेहरिस्त सुनाउन थाले ।
“नो अब्जेक्सन लेटर लिन मध्यरातीदेखि नै कम्बल बोकेर सानोठिमीको चौरमा लाइन लाग्नुपर्ने नियती अन्त्य भएको छ । अहिले मोबाइलमा नै उक्त सर्टिफिकेट पाइने भएको छ ।”
“राहदानी लिन विचौलियाहरुलाई हजारौं तिरेर निकै सास्तीपछि मात्रै पासपोर्ट पाउने अवस्था अन्त्य भएको छ ।”
“इतिहासमा पहिलोपटक भर्ना अगावै विद्यार्थीको हातमा पुस्तक पुगेका छन् । कलिला हातहरुमा भर्नाकै दिन किताब समातेर मुस्कुराएका तस्वीर हामीले देख्ने अवसर पायौं ।”
“रसायनिक मलको हाहाकार यो वर्ष हुनेछैन । सरकारले यति यति मेट्रिक टन मल ल्याएर वितरण गरिसकेको छ, यति भित्रिसकेको छ र यति अर्को वर्ष किन्न यति बजेट विनियोजन गरिएको छ ।”
“सीमा सुरक्षाका लागि यो अवधिमा २२ वटा बोर्डर आउट पोष्ट स्थापना गरिएका छन् ।”
“स्वदेशी उत्पादन प्रशयका लागि स्वदेशी बस्तु तथा उत्पादनलाई प्रश्रय गर्ने काम अघि बढिसकेको छ । १८ वटा अत्यावश्यक औषधी उत्पादनको पूर्व तयारी शुरु भएको छ ।”
“हाइ प्रोफाइलहरु कानूनभन्दा माथि भन्ने दिन गए । ललिता निवास र भूटानी शरणार्थी प्रकरणले कोही पनि कानुन भन्दा माथि छैन भन्ने प्रमाणित गरेको छ ।”
“इतिहासमा थुप्रिएको फोहोरको डुंगुर फाल्न कुनै कसर बाँकी राखिने छैन ।”
आदि इत्यादी
प्रचण्डका हरेक शब्दसँगै प्रतिपक्षी सांसदहरुको छटपटी कायमै थियो । प्रधानमन्त्रीले धाराप्रवाह बोलिरहँदा केही प्रतिपक्षी सांसदले समेत टेबल ठोकीरहेका रोचक दृश्य संसदमा देखिएको थियो ।
प्रचण्ड यतिमैं रोकिएनन् ।
उनले यो अभियानमा संसद र आम जनताको साथ खोजे ।
गणतन्त्रमाथि भइरहेको हमलामा समेत उनका शब्द वाणहरु वर्षि नै रहे ।
“हिजो सम्पादकको कोठामा सैनिक बुटहरु छिरेर यो समाचार छाप, त्यो लाइन काट भन्ने दिन अहिलेको पुस्ताले देखेन । यो पुस्तालाई के कति मूल्यमा अहिलेको स्वतन्त्रता र गणतन्त्र प्राप्ती भयो भन्ने अनुभूति छैन ।”
प्रचण्डले यही आशयले भन्ने बेला सिँगो सदन गुञ्जयमान बनेको दृश्य र टेबल ठोकेको ध्वनीले प्रतिपक्षीहरुलाई झनै आतंकित बनाउँदै लगेको क्यामेरामा उनीहरुको मुहारको भावले स्पष्ट देखाइरहेको थियो ।
कतिपय प्रतिपक्षीहरुले त जानेर हो वा नजानिकन नै लगातार टेबल ठोकेको दृश्य समेत देखिन्थ्यो ।
प्रचण्डको हुँकार, प्रचण्डका आत्मविश्वास र उनले प्रस्तुत गरेका हरेक तथ्यहरु काटन्, त्यसलाई झूटो सावित गर्ने कसैको हिम्मत थिएन । त्यसैले प्रचण्डको सम्बोधनपछि रोष्टममा उभिएका प्रखर वक्ता रवि लामिछानेले समेत प्रधानमन्त्रीको प्रतिवाद गर्न सकेनन् ।
“माइतीघर मण्डलाका आन्दोलनकारीले के पाए ? सरकारले यो त्यो उपलब्धि भनेपनि खासमा अहिले के पाए ?” आशयको उनको प्रश्नको प्रचण्डले खरो जवाफ दिए, सबै कुरा भइसक्यो भन्ने होइन, तर हुने दिशामा छ । आशा जागेको छ । केही हुँदैन, यस्तै हो भन्ने मनोविज्ञान भत्किन लागेको बताए र भने, वीर अस्पतालले ७ सय बेड निशुल्क गर्ने घोषणा जनताले केही नपाएको हो ? यसलाई अझै विस्तार गर्दै लगिनेछ । नभन्दै भाषण सकिएको आधा घण्टाभित्रै नेपाली मिडियामा बिभिन्न ७ अस्पतालले २०२८ बेड निशुल्क छुट्याएका समाचार सार्वजनिक भयो ।
नेपाली राजनीतिले अझै सहिष्णु संस्कृतिको अभ्यास गर्न सकेको छैन । गलत भए त्यो गलत नै हो र सही भए जसले गरेको भएपनि त्यो सही नै हो भन्ने बस्तुवादी संस्कृति नेपाली राजनीतिमा विकास भएको छैन् । यहाँ आफूलाई मन परेन भने तर्क, कुतर्कको सहारा दिएर पनि आफूलाई जस्टिफाई गर्ने प्रवृत्ति कायमै छ ।
यही मनोविज्ञानले सरकारलाई प्रतिपक्षले हेर्नु स्वभाविकै हो । हिजो सत्तामा छँदा रवि लामिछानेले हरेक पाइलामा प्रचण्डको समर्थन गरे । तर उनले गृहमन्त्री नपाउने बित्तिकै प्रचण्ड सरकारमाथि उनको निशाना शुरु भयो । यदि उनी अहिले सरकारमा भएको भए संसदमा उनको दल काम विहिन बेकम्मा बन्ने थिएन ? उनीहरुले के को आलोचना गर्थे ?
एमालेको त कुरै नगरौं । अहिले एमालेका सांसदहरु कुर्लेर सोधिरहेका छन् “प्रधानमन्त्री ज्यू कालापानीबाट भारतीय सेना कहिले फिर्ता जान्छ ?“ तर यही प्रश्न उनीहरुले भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामन्त गोयललाई मध्यराती बालुवाटार बोलाएर गोप्य मन्त्रणा गर्दा कहिल्यै सोधेनन् । २०५२ देखि २०७८ सम्म के नेकपा एमाले कहिल्यै सरकारमा गएन ? यदि गएको भए उनीहरुले किन कालापानीबाट भारतीय सेना फिर्ता गरेनन् ? दायाँ बसेको कुर्सी बायाँ सर्ने बित्तिकै किन राष्ट्रियता प्यारो हुन्छ एमालेलाई ?
बुधवार संसदमा प्रचण्डको प्रस्तुतीले सत्ता र व्यवस्थाप्रति भरोसा जागेको, केही हुन्छ भने प्रचण्डकै कार्यकालमा हुन्छ भन्ने मनोविज्ञान निर्माण भएको छटपटी प्रतिपक्षमा देखियो । सदनमा प्रचण्ड बोल्दै जाँदा केपी ओलीको मुहारमा देखिएको छटपटी त्यसको उदाहरण हो ।
तर सत्य के पनि हो भने सत्य सत्य नै हो । सत्यलाई जति सुकै ढाकछोप गर्न खोजेपनि, बोली र ओलीले जति यसलाई विद्रुप पार्न खोजेपनि सत्य सत्य हो ।
छटपटी स्वभाविकै हो, इष्र्या त्यसले मात्रै गर्छ जोभित्र आत्मग्लानी र आत्मश्लाघाले भरिएको हुन्छ । अहिले प्रतिपक्षको मनोविज्ञान पनि यही इष्याको परिणतीबाहेक अरु केही होइन ।
जबकि प्रचण्डले गल्तीको समिक्षा गर्छन्, आत्माआलोचना गर्ने र सच्चिने उनको प्रमुख विशेषता नै हो । मेरो गोरुको बारै टक्का उनले कहिले भन्दैनन् । उनले सहजै सही आलोचनालाई ग्रहण गर्छन् र भ्रमपूर्ण दुष्प्रचार र पूर्वाग्रहको कडा प्रतिवाद गर्छन् ।
बुधवारको सम्बोधनले नेपाली समाजमा सरकारले केही गर्दैन ? भन्ने निराशावादी भाष्यलाई चिरेको छ । आशा गरौं, अबको ६ महिनापछिको सम्बोधन पूर्वाग्रही प्रतिपक्षीहरुलाई बेहोस नै हुने गरी आउनेछ । जनताका लागि हर्ष र उल्लास मनाउने गरी आउनेछ ।
प्रतिकृया लेख्नुहोस्: