सिन्धुली । सिन्धुलीकाे कमलामाई नगरपालिका –९ बतासे निवासी किसान ठाकुरदास श्रेष्ठको घरमुनिको खेतमा रोपेको धान हरियो फिरेर हुर्किदै थियो । उनले उक्त खेतमा साउनको पहिलो सातामा रोपाइँ गरेका थिए ।
अहिले सो खेत बगरमा परिणत भएको देख्दा उनी निकै चिन्तित भएका छन् । ‘बेलुका सुत्ने बेलासम्म रहेको झण्डै १६ कठ्ठाको धानखेत बिहान उठेर हेर्दा त बगर पो बनेछ,’ उनले भने, ‘सपनाजस्तै लागेको छ । रातभरि परेको पानीले पत्याउनै नसक्ने गरी खेत बगाएर सुकुम्बासी बनायो ।’
साउन २२ गते राति परेको पानीका कारण कमला नदीमा आएको बाढीले खेत कटान गरी बगरमा परिणत गराएको उनले गुनासाे गरे । त्यसो त किसान श्रेष्ठको ऐलानी र नम्बरी गरी उक्त ठाउँमा करिब दुई बिघा जति खेत थियो । बाढीले खोलाछेउमा रहेको नम्बरी जति खेत कटान गरेको र अब आफूसँग त्यही जमिनसँग जोडिएको ऐलानी खेत मात्रै रहेको उनको दुःखेसो छ ।
‘अब हातमा लालपुर्जा छ, जग्गा छैन’ उनले भक्कानिदै भने, ‘मेरो मात्र हैन, गाउँका अरुको खेत पनि कमलाले कटान गरी बगर बनाएको छ’ उनले भने । कमला नदीको कटानबाट आफ्नो घर समेत जोखिममा परेको उहाँको गुनासो छ । त्यसो त सिन्धुलीमा कमलाखुँज, मरिण र तीनपाटन क्षेत्रका किसान बर्सेनी नदी कटानको चपेटामा पर्दैआएको छ ।
कमलाखुँज क्षेत्रमा कमला नदी, मरिण क्षेत्रमा मरिण खोला र तीनपाटन क्षेत्रमा चँदाहा खोलाको बाढीले बर्सेनी उर्बर जमिन कटान गरी बगरमा परिणत गर्दैआएको स्थानीय किसानको भनाइ छ । तीनपाटन गाउँपालिका –१ का वडा अध्यक्ष गोविन्द राउतले पनि चँदाहा खोलामा बर्सेनी आउने बाढीको कटानबाट सिन्धुलीको पूर्वी पहाडी क्षेत्रको मुख्य अन्नभण्डार तीनपाटन क्षेत्र मासिँदैगएको बताए । उनका अनुसार उक्त खोलाको कटानबाट धान र मकै खेतीका लागि निकै उर्बर भूमिको रुपमा परिचित तीनपाटन फाँट बर्सेनी बगरमा परिणत बन्दैगएको छ ।
चँदाहाखोलाको कटानबाट तीनपाटन गाउँपालिका –१ र २ अवस्थित तीनपाटन फाँटको एक हजार बिघाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भइसकेको र यो वर्ष पनि सात जना किसानको एक बिघाजति खेत बगाइसकेको उनले जानकारी दिए ।
उनका अनुसार चँदाहा खोलाले तीनपाटन क्षेत्रमा २०२२ देखि कटान गर्न सुरु गरेको थियो । २०४१ सालमा सेती पहिरोले हाडी खोला थुनेपछि फुटेको ड्यामले तीनपाटन क्षेत्रमा सबैभन्दा बढी क्षति गराएको हो । उक्त ड्याम फुटेपछि बाढीसँगै बगेर आएको ढुङगामाटोले खोलाको सतह माथि ल्यायो र जथाभावी कटान सुरु गरेको छ ।
‘त्यसपछि चँदाहा खोला कटानको क्षतिले बर्सेनी निरन्तरता पाइरहेको छ’ वडा अध्यक्ष राउतले भने, ‘चँदाहाखोलाको कटानकै कारण ३८ वर्षको अवधिमा सुकुम्बासी बनेर अढाइ सयभन्दा बढी किसान विस्थापित भएका छन् । खोलाले धार परिवर्तन गरी एक–दुई वर्ष वल्लो कुनाबाट र अर्को एक दुई वर्ष पल्लो कुनाबाट बग्दै आएको छ ।’
कमला नदीले १४ बिघा खेत बगाएर सुकुम्बासी बनाएको र अहिले आफूसँग लालपुर्जा मात्रै बाँकी रहेको दुधौली नगरपालिका –११ टाँडी निवासी किसान धर्म कुँवरले बताए । त्यस क्षेत्रमा कमला नदीमा २०४१ साल र २०५० सालमा आएको बाढीले बढी क्षति गरेको उनको भनाइ छ ।
किसान कुँवरले भने, ‘कमला नदीमा पटक–पटक आएको बाढीले भएको खेत सबै कमला नदीले बगायो, अहिले बनिबुतो गरेर आफ्नो २५ जनाको परिबार पालिरहेका छौं ।’ स्थानीय किसानका अनुसार टाँडीमा मात्रै कमला नदीको कटानबाट १८५ घर परिवारको खेत असुरक्षित छ ।
कमला नदीले कमलाखुँज क्षेत्रमा सयौँ किसानलाई सुकुम्बासी बनाएको छ । कमला नदी नियन्त्रणका लागि दुधौली नगरपालिकाले सो नदीको दुबै किनारमा करिडोर निर्माण सुरु गरे पनि पर्याप्त बजेटको अभावमा काम प्रभावकारी हुन नसकेको दुधौली नगरपालिका –२ का अध्यक्ष रितेस राउतले बताए ।
प्रतिकृया लेख्नुहोस्: