महोत्तरी । बर्दिबासमा आदिवासी जनजातिको चौथो महोत्सव जारी छ । गत बिहीबारदेखि सुरु भएको १२ दिने महोत्सवमा आफ्नो जातीय पहिचान र संस्कृतिको जगेर्ना नै मुख्य रुपमा यहाँका जनजातिले उठाएका छन् ।
आगामी चैत ५ गतेसम्म रहने नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा भएको महोत्सवमा यहाँका नौ जनजाति समुदाय सरिक छन् । त्यसमा मधेसका रैथाने दनुवार, थारू, धानुक तथा पर्वते मूलका भए पनि यहाँ पुस्तौँदेखि बसोबास गर्दै आएका मगर, तामाङ, घर्ती, नेवार, राई किरात र माझी सम्मिलित छन् ।
पाका उमेरका दनुवारको अहिले पनि कम्मरमा ‘डेली’ (माछा समातेर राखिने बाँसको चोयाले बनेको ढुङ्ग्रो) भिरेर छिपछिपे पानी देख्नासाथ ‘खौकी’ (माछा मार्ने सानो जाल) डुबाउनु दैनिकी छ । मधेसका आदिवासी दनुवारको विवाहमा अहिले पनि दुलहा (बेहुला) ले काँधमा तरबार भिरेर विधि सम्पन्न गर्ने चलन छ ।
दनुवार महाभारतकालका कौरव, पाण्डवका सशस्त्र शिक्षाका गुरु द्रोणाचार्यसँग पुख्र्यौली साइनो जोडछन् । द्रोणसँगको साइनोले ‘द्रोणवार’ भनिँदै पछि आफ्नो जाति ‘दनुवार’ भनिन लागेको बताउने यिनीहरु आफ्नो जातीय संस्कृति झल्काउने पहिरन र सामग्रीका साथ महोत्सवमा सरिक छन् ।
कृषि मुख्य पेसाका दनुवार, थारूले परम्परागत हलोजुवा, कोदालोसहितका कृषि ज्यावलको प्रदर्शनी र फरकफरक चाडपर्वको झलक दिने परिकार महोत्सवमा पस्कँदै छन् । महोत्सवमा जाडोयाममा खाइने चामलको पीठो बफ्याँएर पकाइने बगिया, तिलासक्रायतलाई र छठ पर्वका ठकुवाभुसुवा तथा दीपावली पर्वका विशिष्ट परिकार घुरियालो (सेलजस्तै) सहितका मिष्टान्न परिकार छन् । वेशभूषा, बोलीचाली, चाडबाड र परम्परागत व्यवसाय उस्तैउस्तै रहेका थारू, दनुवार जनजातिमात्र नभएर यहाँका मूल रैथाने आदिवासी मानिन्छन् ।
महोत्सवको मुख्य पक्ष नै जातीय परम्परा, संस्कृति परम्परा र रीतिथिति देखाउनु, बुझाउनु र सम्झाउनु रहेको दनुवार जागरण समाज महोत्तरीका सदस्य गौशाला–९ बिसरपुरका बासिन्दा पविसिंह दनुवार बताउँछन् । महोत्सवमा थारूले ‘घुँगी’ (शङ्खे कीराजस्तै सानो आकारको जीव) का परिकार, सिद्रा र कोदोका रोटीको स्वाद अवलोकनकर्तालाई चखाएका छन् ।
यसैगरी, हातमा माछा मार्ने खौकी (जालजस्तै) र कम्मरमा ‘डेली’ (खौकीमा परेका माछा राख्ने बाँसको चोयाले बनेको एक प्रकारको भाँडो) भिरेर थारू र दनुवार युवाले महोत्सवमा सांस्कृतिक कार्यक्रम पस्कँदैछन् । यसैगरी, जातीय पहिरनमा सजिएका तामाङ, मगर, राई किरात, घर्ती, नेवार र माझी युवायुवती सबैको आँखामा पर्ने गरेका महोत्सव अवलोकनकर्ताको प्रतिक्रिया हुने गरेको छ । महोत्सवमा नेवारले १३ परिकार रहने नेवारी खाजा पस्कँदै छन् ।
महोत्सवले पर्यटन र कृषि प्रवद्र्धनमा जोड दिएको छ । “हाम्रो समृद्धिको आधार नै पर्यटन प्रवद्र्धन र आधुनिक कृषि प्रणालीको विकास हो”, आयोजक संस्थामा आबद्ध दनुवार जागरण समाजका सुखासिंह दनुवार भन्छन्, “यो महोत्सवलाई यसै कुरामा केन्द्रित गर्दैछौँ ।”
महोत्सवमा विभिन्न जातीय परम्परा र संस्कृति झल्काउने कार्यक्रमसँगै स्थानीय कृषि उत्पादन तथा लघुउद्यममा निर्मित सामग्री प्रदर्शनीमा राखिएका छन् । महोत्सवले स्थानीय उद्यम र कृषिबारे चासो बढाउने तथा राज्यका निकायलाई यिनको प्रवद्र्धनमा झकझक्याउने अपेक्षा राखिएको महासङ्घले जनाएको छ ।
महोत्सवमा स्थानीय कृषि उत्पादन, स्थानीय सीपबाट उत्पादित सामग्री र परम्परागत घरपरिवार प्रयोजनका सामग्रीको प्रदर्शनी तथा बेचबिखनका कक्षबारे दर्शकले चासोपूर्वक अवलोकन गरेका छन् । यी सामग्रीका एक सयभन्दा बढी प्रदर्शनी र बिक्री कक्ष सञ्चालन गरिएको छ । महोत्सवको १२ दिने अवधिमा पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
मुलुकमा विभिन्न समयका राजनीतिक अधिकारका आन्दोलनले सफलता पाउँदै गए पनि पहिचानको आन्दोलन भने अझै निर्णायक बन्न नसकेको आदिवासी जनजातिको बुझाइ छ । महोत्सवमार्फत पहिचानसँग जोडिएका मुद्दाबारे थप बहसको वातावरण तयार गर्दै पछिल्लो पुस्तालाई आ–आफ्ना संस्कृति, परम्परा पछ्याउन (अनुसरण गर्न) प्रेरित गर्नु मुख्य ध्येय भएको आयोजक संस्थाका अध्यक्ष धननारायण श्रेष्ठको भनाइ छ ।
प्रतिकृया लेख्नुहोस्: