Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

अमेरिकी राष्ट्रपतीय चुनावमा निर्णायक हुन सक्ने यी सात राज्य

खबरडबली संवाददाता

काठमाडौं । लगभग २४ करोड अमेरिकीहरू यस पटकको राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न योग्य छन्। तर सम्भवत: तिनीहरूमध्ये तुलनात्मक रूपमा सानो सङ्ख्याले आउँदो राष्ट्रपति को बन्ने छ भन्ने प्रश्नको जबाफ निर्धारण गर्ने छ।

औँलामा गन्न सकिने राज्यहरूमा मात्रै डेमोक्र्याट् उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन्सका डोनल्ड ट्रम्पमध्ये जसले पनि जित हासिल गर्न सक्ने स्थिति रहेको विशेषज्ञहरूको विश्वास छ।

तीमध्ये एरिजोना, जोर्जा, मिशिगन, नभाडा, नर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिन त्यस्ता राज्य हुन् जसले ह्वाइट हाउसको चाबी आफूसँग राखेका हुन सक्छन्।

अब चुनावका अन्तिम महिनाहरूमा ती राज्यका अनिर्णीत मतदाताको मन जित्न दुवै पक्ष जोडतोडले लागिरहेका छन्।

एरिजोना

सन् २०२० मा डेमोक्र्याटसहरूले 'ग्र्यान्ड क्यान्यन स्टेट' भनिने यस राज्यको समर्थनबाट राष्ट्रपतिमा चुनाव जिते। यस राज्यले उक्त पार्टीको उम्मेदवारलाई सन् १९९० को चुनावपछि पहिलो पटक थोरै मतान्तरले जितायो।

यो राज्यको मेक्सिकोसँग सयौँ माइलसम्म सीमा जोडिएको छ र यो आप्रवासनसम्बन्धी राष्ट्रिय बहसको केन्द्रमा छ।

हालैका महिनामा सीमा पार गर्ने घटनाहरूमा अहिलेसम्मकै ठूलो गिरावट देखिएको छ र यो विषय मतदाताहरूको चासोको केन्द्रमा छ।

सीमा समस्या हल गर्ने प्रयत्नका निम्ति राष्ट्रपति जो बाइडनद्वारा एउटा भूमिका दिइएकी ह्यारिसलाई ट्रम्पले यस विषयमा हमला गरेको गर्‍यै छन्।

ट्रम्पले आफूले चुनाव जितेको खण्डमा इतिहासकै ठूलो 'डीपोर्टेशन अपरेशन' (आप्रवासीहरूलाई घर फर्काउने अभियान) चलाउने प्रतिबद्धता जनाएका छन्।

रिपब्लिकन्सले गर्भपतनमाथिको १६० वर्ष पुरानो प्रतिबन्धलाई पुन: लागु गर्ने कोसिस गरेपछि एरिजोनामा यस विषयक बहस पनि तात्यो। तर प्रतिबन्धको प्रयत्न रोकियो।

अमेरिकी सर्वोच्च अदालतले एउटा ऐतिहासिक फैसला गर्दै महिलाहरूलाई गर्भपतन गराउन पाउने संवैधानिक अधिकार दिएपछि सन् २०२० यता यो मुद्दाले देशभर विस्फोटक रूप लिएको छ।

जोर्जा

हामीले तयार पारेको "स्विङ स्टेटहरू"को सूची सन् २०२० को चुनावमा रिपब्लिकन अधिकारीहरूले बाइडनको जितलाई असफल गराउने कोसिस गरेका स्थानहरूसँग निकै मिल्दोजुल्दो छ।

ट्रम्पले चुनावमा हस्तक्षेप गरेको भनी लागेका चार मुद्दामध्येको एउटा जोर्जाको फुल्टन काउन्टीमा खेपिरहेका छन्। उनी एउटामा दोषी ठहरिसकेका छन् भने बाँकी टुङ्गिइसकेको छैन।

उनीसहितका १८ अन्यमाथि बाइडनसँगको झिनो हारलाई उल्ट्याउन षड्यन्त्र गरेको आरोप छ। तर ट्रम्पले आरोपहरू अस्वीकार गर्दै आएका छन् र चुनावअघि यस मुद्दाको सुनुवाइ हुने सम्भावना पनि देखिँदैन।

जोर्जाको एकतिहाइ जनसङ्ख्या अफ्रिकन–अमेरिकन मूलको छ भने अश्वेत बासिन्दाको देशकै ठूलो अनुपात पनि यहीँ छ। यही जनसङ्ख्याले यस राज्यमा सन् २०२० को चुनावलाई बाइडनको पक्षमा उल्ट्याइदिन मूल भूमिका खेलेको विश्‍वास गरिन्छ।

अमेरिकाका अश्वेत बासिन्दाहरू बाइडनप्रति निराश भएको विवरणहरू आएका भए पनि ह्यारिसको प्रचारमा लागेकाहरूले यस क्षेत्रमा स्थितिलाई सम्हाल्न सकिने आशा गरेका छन्।

मिशिगन

पछिल्ला दुई चुनावमा यो 'ग्रेट लेक्स स्टेट'ले विजेता उम्मेदवारलाई चुनेको छ। सन् २०२० मा बाइडनलाई समर्थन गरेको भए पनि अहिले भने यो राज्य गाजा युद्धमा बाइडनले इजरेललाई दिएको सहयोगबारे देशभर फैलिएको असन्तुष्टिको पर्याय बनेको छ।

फेब्रुअरीमा मिशिगनमा भएको डेमोक्र्याटिक पार्टीको 'प्राइमरी' प्रतिस्पर्धामा एक लाखभन्दा धेरै मतदाताले "अप्रतिबद्ध"को विकल्पमा मत दिए। उनीहरू अमेरिकाले इजरेललाई दिँदै आएको सहयोग रोकियोस् भन्ने चाहने अभियानकर्मीहरू थिए।

उल्लेख्य कुरा के हो भने देशकै ठूलो अरब–अमेरिकनहरूको हिस्सा मिशिगनमा बसोबास गर्छ। यो जनसङ्ख्याको बाइडनप्रतिको समर्थन खतरामा परेको थियो। तर ह्यारिसको इजरेलप्रतिको प्रस्तुति कडा देखिएका कारण गाजाका केही प्रदर्शनकारीहरूले उनीहरूको मुद्दामा ह्यारिसले अधिक सहानुभूति राख्ने अपेक्षा गरिएको बीबीसीसँग बताएका छन्।

ट्रम्पले उनको सम्भावित जिततर्फको यात्रामा यस राज्यको महत्त्वपूर्ण भूमिका हुने बताउँदै आएका छन्। मध्यपूर्वका घटनाक्रमबारे टिप्पणी गर्दै उनले इजरेललाई गाजामा सञ्चालित हमासविरुद्धको अभियान शीघ्र समाप्त गर्न आह्वान गरेका छन्।

नभाडा

यस राज्यले पछिल्ला केही चुनावमा डेमोक्र्याटलाई मत दिएको छ। तर रिपब्लिकनहरूले त्यसलाई उल्ट्याउन सक्ने सङ्केतहरू देखिएका छन्।

सर्वेक्षणहरूको अनुगमन गर्दै आएको 'फाइभ थ्री एट' नामक संस्थाले प्रकाशित गरेको हालैको औसत संश्लेषण प्रतिवेदनका अनुसार सर्वेक्षणहरूले एक पटक यस राज्यमा बाइडनभन्दा ट्रम्प निकै अघि रहेको सङ्केत गरे पनि ह्यारिसको उम्मेदवारीसँगै उक्त अग्रता घटेको छ।

डेमोक्र्याटहरूले युवा र विविधतायुक्त मतदातालाई आकर्षित गर्न सक्ने उम्मेदवारका कारण यो दूरी अझै घट्न सक्ने आशा गरेका छन्। दुवै उम्मेदवारले राम्रै सङ्ख्यामा रहेको ल्याटीनो जनसङ्ख्याको मन जित्ने कोसिस गरिराखेका छन्।

बाइडनले पद सम्हालेयता अमेरिकी अर्थतन्त्र र रोजगारीको सिर्जनामा व्यापक वृद्धि भएको देखिए पनि यस राज्यमा कोभिडपछिको सुधार भने अन्तभन्दा सुस्त छ।

नवीन सरकारी आँकडाका अनुसार क्यालिफोर्निया र डिस्ट्रिक्ट अफ कोलम्बिया (डीसी)पछि नभाडामा सबैभन्दा उच्च ५.१ प्रतिशतको बेरोजगारी दर छ।

ट्रम्पले पुन: शक्तिमा आएको खण्डमा कर तथा नियमन घटाउने कार्यसूचीमा फर्कने प्रतिबद्धता जनाएका छ्न्।

नोर्थ क्यारलाइना

सर्वेक्षणहरूले यस राज्यमा डेमोक्र्याटिक पार्टीका तर्फबाट ह्यारिस उम्मेदवार भएयता दुई उम्मेदवारबीचको दूरी निकै झिनो बनेको देखाएका छन्। केही विश्लेषकहरूले यहाँ दुवै उम्मेदवारको जितको सम्भावना बराबरी रहेको स्थितिका रूपमा व्याख्या गरेका छन्।

जुलाईमा भएको गोली प्रहारको घटनापछि ट्रम्पले पहिलो चुनावी कार्यक्रम यहाँ गर्ने निर्णय गरेकाले पनि सायद यसको महत्त्व दर्शाउँछ।

"जितका लागि यस राज्य निकै महत्त्वपूर्ण छ," भिडलाई सम्बोधन गर्दै उनले भनेका थिए। डेमोक्र्याटहरूले भने पार्टी 'कन्भेन्शन'को अन्तिम रातमा यस राज्यका गभर्नर रोय कूपरलाई मञ्च सुम्पने निर्णय गरेका थिए।

ट्रम्पले सन् २०२० को चुनावमा यस राज्यमा केवल ७० हजारभन्दा केही बढी मतले जित हासिल गरेका थिए। त्यसैले यस पटक जित्न सकिनेबारे डेमोक्र्याटहरूको आशा बढेको छ।

पेन्सिल्भेनिया

यस राज्यमा दुवै पक्षले जोडतोडका साथ आआफ्ना अभियान सञ्चालन गरिरहेका छन्। यो त्यही राज्य हो, जहाँ ट्रम्प हत्या प्रयासबाट बचेका थिए।

सन् २०२० मा बाइडनलाई समर्थन गरेर यो राज्यले आफू निर्णायक भएको प्रमाणित गरिसकेको छ। श्रमजीवीहरूको सहर स्क्रान्टनसँग बाइडनको गहिरो भावनात्मक सम्बन्ध थियो किनकि उनी त्यहीँ हुर्केबढेका थिए।

अन्य धेरै ठाउँजस्तै यहाँ पनि अर्थव्यवस्था मूल मुद्दाका रूपमा रहँदै आएको छ। बिस्तारैबिस्तारै घट्नुअघि बाइडन प्रशासनका क्रममा देशैभर मुद्रास्फीति बढेको थियो।

यहाँका मानिसहरू जीवनयापनका निम्ति महँगीको दबाव खेपिरहेका अन्य राज्यका अमेरिकीहरूभन्दा भिन्न छैनन्। तर पेन्सिल्भेनियामा दैनिक प्रयोग हुने किराना सामग्रीको मूल्य अन्य राज्यमा भन्दा तीव्र गतिमा बढेको बजारसम्बन्धी अध्ययन गर्दै आएको 'डेटासेम्ब्ली' नामक संस्थाले जनाएको छ।

बीबीसीले यसअघि नै पेन्सिल्भेनियाको महत्त्वपूर्ण काउन्टी ईअरीमा मानिसहरू खानाको निम्ति सङ्घर्ष गरिरहेको र आठमध्ये एक जनासँग पर्याप्त भोजन नरहेको प्रतिवेदन प्रकाशित गरेको थियो।

उच्च दरको मुद्रास्फीतिले ह्यारिसलाई देशैभर नोक्सान पुर्‍याउन सक्छ। सर्वेक्षणहरूले यसले मतदाताहरूलाई अर्थव्यवस्थालाई हेर्ने प्रतिकूल दृष्टिकोण दिइरहेको देखाएका छन्।

ट्रम्पले बाइडनको अर्थव्यवस्थाबारे ह्यारिसमाथि दोष थुपार्दै आक्रमण गरेका छन्।

विस्कन्सिन

सन् २०१६ र र २०२० का दुवै चुनावमा यस राज्यले पनि जित हासिल गर्ने उम्मेदवारलाई नै चयन गरेको थियो। दुवै पटक बीस बजारभन्दा केही अधिक मतको मात्रै अन्तर थियो।

जानकारहरूका अनुसार प्रमुख पार्टीका उम्मेदवारका नीतिहरूविरुद्ध अभियान चलाइरहेका तेस्रो पक्षका उम्मेदवारहरूले विस्कन्सिनजस्ता सीमान्त राज्यहरूमा प्रभाव पार्न सक्छन्।

सर्वेक्षणहरूले स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जूनिअरले मतदाताको राम्रै समर्थन प्राप्त गर्ने र त्यसले ह्यारिस वा ट्रम्पलाई नराम्रो असर पर्न सक्ने देखाएका छन्।

डेमोक्र्याटहरू राज्यको चुनावसम्बन्धी कानुन पालना नगरेको भन्दै ग्रीन पार्टीका उम्मेदवारलाई चुनावबाट बाहिर धकेल्न सङ्घर्ष गरिरहेका छन् भने वामपन्थी झुकाव राख्ने शैक्षिक पृष्ठभूमिका अर्का उम्मेद्वार कर्नेल वेस्टविरुद्ध पनि उजुरी गरेका छन्।

विस्कन्सिनको महत्त्व बताउँदै ट्रम्पले भनेका थिए, "वास्तवमै महत्त्वपूर्ण....यदि विस्कन्सिन जित्यौँ भने सबै कुरा जित्छौँ।" उनको पार्टीको ग्रीष्मकालीन 'न्याश्‍नल कन्भेन्शन' मिल्वाकीमा आयोजना गरिएको थियो।

डेमोक्र्याटिक पार्टीले 'लाइभ–फीड'का माध्यमबाट उनलाई राष्ट्रपति पदको उम्मेदवारका रूपमा औपचारिक मनोनयन गरिरहँदा ह्यारिस पनि सोही सहरमा चुनावी कार्यक्रम गर्दै थिइन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस

दाङ । बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस गरिएको छ । सो राष्ट्रिय निकुञ्जभित्र पर्ने ब...

नवलपरासी पूर्वमा तीन हजार सात सय छयालीस हेक्टर क्षेत्रमा तोरी खेती

नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन(तोरी) बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेत...

चुनावको मुखमा सिंगापुर उडे देउवा, भोट हाल्न नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर उडेका छन् । स्वास्थ्य उपचारका लागि बुधबार राति ११ः३० को सिंगापुर एयरलाइन्सको उडानबाट...

गगनले नेतृत्व हत्याएपछि देउवा चुनावमा नखुल्दा कांग्रेसलाई क्षति पुग्ने सम्भावना कति ?

चुनावमा कमजोर नतिजा आए विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठ्न सक्छ

बैतडीमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप

दुई जना घाइते, पाँच पक्राउ

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

दोधारा चाँदनी । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै आएको कुतियाकवर सुरक्षित बनेको छ । वर्षौंदेखि बाढीको समस्या झेल्दै आएको दोधार...

निर्वाचन सात दिन बाँकी: कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

सुर्खेत । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३५९ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । कर्णा...

‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’

बागलुङ । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन् । आगामी फागुन २१...

कैलाली–कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह

कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पाल...

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE