काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन अब पूर्णरुपमा बहिर्गमन भएको हो ।
एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेश र कोशी प्रदेशबाट पनि अब बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो ।
यसअघि असोज २० गते सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ गते कर्णाली, लुम्बिनी, गण्डकी र काठमाडौं उपत्यकाबाट पूर्णरुपमा र बागमती र मधेशमा आंशिकरुपमा मनसुन बाहिरिएको थियो । आज भने मधेश र बागमतीका बाँकी भाग र कोशीबाट समेत मनसुन बाहिरिएको हो ।
यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन शुरू भएकोमा ६ दिनपछि पूर्णरूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो वर्ष मनसुन नेपालमा चार महिनासम्म सक्रिय भएर बाहिरिएको छ ।
प्रतिकृया लेख्नुहोस्: