Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

नेपाल र चीनले संयुक्त रुपमा जारी गरेकाे वक्तव्यमा के छ ?

खबरडबली संवाददाता

काठमाडाैं । नेपाल र चीनले दुवै देशबीच पारिस्परिक सहयोग र आपसी हितका विभिन्न विषयमा भएको सहमतिबारे संयुक्त वक्तव्य जारी गरेका छन् । चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र नेशनल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेट गरेका थिए । 

भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा दुई देशबीचको सम्बन्धलाई सुदृढ र गहिरो बनाउन, आपसी चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा छलफल भएको जनाइएको छ । त्यसअवसरमा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षलाई विशेष र ऐतिहासिक बनाउनेबारे छलफल भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

“दुई देशबीच भएका महत्वपूर्ण समझदारीको कार्यान्वयन गर्न, उच्चस्तरीय आदान–प्रदानलाई निरन्तरता दिन, राजनीतिक आपसी विश्वासलाई सुदृढ गर्न र पञ्चशीलका सिद्धान्तअनुरुप शान्तिपूर्ण सहअस्तित्व तथा सद्भावपूर्ण छिमेकी सम्बन्ध र मित्रताको सिद्धान्तका आधारमा आपसी लाभ हुने सहकार्यलाई अझ गहिरो र व्यापक बनाउन तयार भएका छन् । यसले दुवै देश र जनताको हितमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने छ”, संयुक्त वक्तव्यमा भनिएको छ । 

सो अवसरमा एक चीन नीतिप्रति नेपालले आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ भने आफ्नो भूमिमा चीनविरुद्धका कुनै पनि विखण्डनकारी गतिविधि हुन नदिने आश्वासन दिएको छ ।
दुवै पक्षले आफ्नो विकास रणनीतिहरूको समन्वयलाई मजबुत बनाउन तथा ‘बेल्ट एन्ड रोड’ सहकार्यलाई थप मजबुत बनाउन, जतिसक्दो चाँडो ‘हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण’का लागि पनि सहमत भएका छन् ।

“दुवै पक्षले बन्दरगाह, सडक, रेलमार्ग, हवाई यातायात, विद्युत् प्रसारण सञ्जाल र दूरसञ्चारजस्ता क्षेत्रमा सम्पर्क सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण, हिल्सा–सिमिकोट सडक परियोजना, र काठमाडौँ चक्रपथ सुधार परियोजनाको दोस्रो चरण संयुक्तरूपमा अघि बढाउने सहमति भएको छ”, संयुक्त वक्तव्यमा भनिएको छ । 

टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि चीनले सहयोग गर्ने विषयमा पनि सहमति जुटेको जनाइएको छ । त्यस्तै, स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग सुधारलाई तीव्रता दिई निर्माण चाँडो सक्न दुवै पक्ष सहमत भएका छन् । सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङको नेपालको राजकीय भ्रमण र सन् २०१८ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणका क्रममा उत्तर–दक्षिण तीन आर्थिक करिडोरहरू (कोशी आर्थिक करिडोर, गण्डकी आर्थिक करिडोर र कर्णाली आर्थिक करिडोर)को विकासमा सहकार्यका लागि भएको सहमति बमोजिम सम्भाव्यताको अध्ययन गर्ने र ती परियोजना निर्माणलाई तीव्रता दिने सहमति जनाइएको छ ।

बन्दरगाहहरूको विकासलाई सुदृढ बनाउने, भन्सार प्रक्रियामा सजिलो बनाउने, दुईतर्फी सहज बनाउने, द्विपक्षीय आर्थिक तथा व्यापारिक सहकार्यलाई प्रवद्र्धन गर्ने, र सीमा क्षेत्रको सामाजिक तथा आर्थिक विकासलाई बढावा दिनेबारे पनि सहमति भएको छ । “जिलोङ/केरुङ–रसुवागढी, झाङमु–कोदारी, पुलान–यारी, र लिजी–नेचुङ (कोरला, मुस्ताङ) बन्दरगाहको सहज तथा व्यवस्थित सञ्चालनको विषयमा पनि छलफल भएको थियो । दुई देशबीचका परम्परागत व्यापार नाकालाई सञ्चालनमा ल्याई व्यापार प्रवर्द्धन एवं दुवै देशका सीमा क्षेत्रमा बसोबास गर्ने जनताको जीवन सहज बनाउने सहमति भएको छ । 

दुवै देशबीचका द्विपक्षीय र अन्तर्राष्ट्रिय बन्दरगाह खोल्ने सम्भावनाबारे विचार गर्न पनि नेपाली पक्षले चिनियाँ पक्षलाई आग्रह गरेको छ । चिनियाँ पक्षले मुस्ताङको कोरलामा आन्तरिक भन्सार जाँचचौकी (आइसिडी) र एकीकृत जाँचचौकी (आइसिपी) निर्माणलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । 

दुवै पक्षले जिलोङ/केरुङ–काठमाडौँ सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनलाई क्रमशः अघि बढाउने इच्छा व्यक्त गरेका छन् भने चीन–नेपाल रेल्वे सहकार्यसम्बन्धी कार्यकारी समितिको बैठक आयोजना गर्ने सहमति भएको छ । चिनियाँ पक्षले रेल्वे क्षेत्रमा नेपाललाई आवश्यक प्राविधिक जनशक्ति तालिम जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

दुई देशबीच नागरिक उड्डयनका क्षेत्रमा सहकार्य गर्ने तथा पोखरा र लुम्बिनीजस्ता नेपाली सहर र चिनियाँ सहरबीच हवाई मार्ग र उडान खोल्नका लागि दुवै पक्षबीच सहमति भएको छ । यसले द्विपक्षीय आर्थिक र व्यापारिक सम्बन्ध एवं दुईतर्फी यात्रालाई थप सुलभ बनाउने अपेक्षा गरिएको छ । 

ऊर्जा क्षेत्रमा संयुक्त कार्यान्वयन संयन्त्रलाई थप प्रभावकारी बनाउने, ऊर्जा क्षेत्रमा सहकार्यलाई गहिरो बनाउने र ऊर्जाका नयाँ क्षेत्रमा सहकार्यका लागि सम्भावना खोज्ने सहमति भएको छ । दुवै पक्षले चीनद्वारा सहायता प्राप्त जिलोङ/केरुङ–रसुवागढी–चिलिमे २२० केभी सीमापार विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययनलाई तीव्रता दिन तयार रहेको वक्तव्यमा उल्लेख छ । दुवै पक्षले दुई देशका दूरसञ्चार अपरेटरबीचको सहकार्यलाई समर्थन जारी राख्ने र सीमापार भूमिगत केबलको मर्मत र विस्तार परियोजना अघि बढाउने सहमति गरेका छन् । 

दुवै पक्षले अर्थतन्त्र र व्यापार, सम्पर्क, पूर्वाधार, लगानी, कृषि, उद्योग, स्वास्थ्य, विपद् व्यवस्थापन, र गरिबी निवारणजस्ता क्षेत्रमा व्यावहारिक सहकार्यलाई अझ गहिरो बनाउने सहमति जनाएका छन्, जसले साझा विकासलाई प्रवद्र्धन गर्ने उल्लेख छ । चिनियाँ पक्षले चिनियाँ उद्यमहरूलाई बजार र व्यवसायिक सिद्धान्तका आधारमा नेपालमा लगानी गर्न र व्यापार गर्न समर्थन जारी राख्ने दोहोर्‍याएको थियो । नेपालले व्यापार वातावरण सुधार गर्न र चिनियाँ उद्यमहरूलाई नेपालमा लगानीका लागि समर्थन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । 

दुवै पक्षले स्वास्थ्य र चिकित्सा सहकार्यलाई निरन्तर सुदृढ गर्न र नेपालमा बीपी कोइराला स्मृति क्यान्सर अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट सेवा परियोजनालाई तीव्रता दिने सहमति जनाएका छन् । दुवै पक्षले नेपालमा चीनद्वारा सहायता प्राप्त अस्पतालको पूर्ण उपयोग गर्ने र काठमाडौँको निजामती अस्पतालमा नयाँ चिकित्सा सेवा केन्द्र स्थापना गर्न चिनियाँ चिकित्सा टोलीलाई समर्थन गर्ने निर्णय गरेका छन् । दुवै पक्षले क्यान्सर रोगीहरूको उपचारका लागि निजामती अस्पतालमा चिनियाँ सहयोगमा नयाँ प्रयोगशाला स्थापना गर्ने अध्ययन गर्ने सहमति जनाएका छन् ।

दुवै पक्षले चीन–नेपाल सीमा लामो समयदेखि सीमाङ्कित भएको, मित्रताको कडी र सहकार्यको पुलको रूपमा रहेको साझा धारणा व्यक्त गरेका छन् । दुवै पक्षले चीन–नेपाल सीमाको संयुक्त निरीक्षण गर्ने र सीमाव्यवस्थापन प्रणालीसम्बन्धी चीन र नेपालको बीचको सम्झौता शीघ्र कार्यान्वयनमा ल्याउन सहकार्य गर्ने सहमति जनाएका छन् ।

दुवै पक्षले युवा, शिक्षा, संस्कृति, पर्यटन, रेडियो र टेलिभिजन, अनलाइन श्रव्यदृश्य सामग्री र बौद्धिक साझेदारीजस्ता क्षेत्रमा आदानप्रदानलाई थप मजबुत बनाउन सहमति जनाएको वक्तव्यमा उल्लेख छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending