रुपन्देही । कोरोनाको महामारीका कारण संसार घरभित्र थुनिएको थियो । तर रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका –२, केउटलियाका युवा फारुक खानाको दिमागमा एउटा योजना आयो ।
फारुक घरभित्र मोवाइलमा भिडियो हेरेर बसिरहेको बेला गँड्यौला मल उत्पादनको विधिबारे बुझ्न पाए र करिब ४ वर्ष अगाडि गँड्यौला मलको उत्पादन गर्न गाउँमै सुरु गरे । फारुकले सुरुवातमा करिब २ लाख ४० हजार लगानी गरेर मल उत्पादनका लागि आफ्नै जग्गामा फर्म सञ्चालन गरे । गँड्यौला ल्याए । मलको उत्पादन गर्न थाले बिस्तारै उनको मलले सफलता हासिल गर्दैगयो । फारुकले लगानी बढाएर ४० लाख पर्याए । अहिले फारुकले मल बेचेर मात्र मासिक करिब ९० हजार आम्दानी गर्दै आएका छन् ।
फारुकले आफूले उत्पादन गरेको मल आफ्नै दुई विघा जमिनमा छरेर खेती पनि गर्दै आएका छन् । अहिले गहुँ उत्पादन राम्रो गरेका छन् ।
फारुकले थपे, “अग्र्यानिक मलको उत्पादन गरेर आफ्नै खेतमा प्रयोग गर्दैआएको छु, गत वर्ष पनि यसरी नै प्रयोग गरेर राम्रो उत्पादन गरेको थिएँ ।” फारुकजस्तै अर्का किसान हुनुहुन्छ तिलोत्तमा नगरपालिका –६, कुन्जलापुर निवासी विष्णुप्रसाद भण्डारी । विष्णुले आजभन्दा करिब ६ वर्ष अगाडि रासायनिक मलको प्रयोग गरेर तरकारी खेती गर्दै आएका थिए ।
तर रासायनिक मलको प्रयोगले उनको स्वास्थ्यमा समस्या देखिएपछि उनले प्रयोग गर्नै छाडे । त्यसपछि विष्णुको दिमागमा अग्र्यानिक खेती गर्नुपर्छ भन्ने सोच आयो । अहिले विष्णुले करिब दुई विघा क्षेत्रफलमा गँड्यौला, झोल मललगायत अग्र्यानिक खेतीको विधि प्रयोग गरेर तरकारी खेती गर्दै आएका छन् । विष्णुले भैँसी पालेर गोवर र पिसाब सङ्कलन गरेर गँड्यौला, झोल मल उत्पादन गर्दै आएका छन् ।
विष्णु भन्छन्, “पहिला रासायनिक मल प्रयोग गर्दा र अहिले अग्र्यानिक मलको प्रयोग गर्दा कृषि उत्पादनमा पनि धेरै भिन्नता पाएको छु ।” विष्णुले थपे, “रासायनिक मल प्रयोग गर्दा स्वास्थ्यलाई पनि बेफाइदा हुने र उत्पादन पनि बिषादीयुक्त हुने तर अग्र्यानिक मलले भने उत्पादन पनि सुद्ध र स्वास्थ्य पनि राम्रो हुन्छ ।”
विष्णुले गरेको अग्र्यानिक तरकारी खेती जिल्लामै उदाहरणीय बन्दै जान थालेको छ । अहिले विष्णुले टमाटर, गोभीलगायतका तरकारी खेतमा उब्जाएका छन् ।
रुपन्देही जिल्लामा पछिल्लो समय किसानले अग्र्यानिक मलको उत्पादन र प्रयोग गर्नेक्रम बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीका अनुसार जिल्लाका करिब ५० किसानले अग्र्यानिक विधिबाट कृषि गर्नेगरेका छन् । कृषि अधिकृत अनिल बानिया भन्छन्, “अग्र्यानिक मलको प्रयोगले माटोको कणहरूलाई एकापसमा बाँधेर दानेदार संरचना बनाई माटोको संरचनामा सुधार ल्याउने र आवश्यक खाद्यतत्वहरु थपिने, जसलेगर्दा माटोको अवस्थालाई दिगो रूपमा उर्वरक तथा उत्पादनशील बनाएर राख्न सकिन्छ ।”
अग्र्यानिक मलको प्रयोगमा केही चुनौतीहरू पनि देखापरेको कृषि ज्ञान केन्द्र रुपन्देहीले जनाएको छ । कृषि अधिकृत अनिल बानियाका अनुसार मुख्यगरी गुणस्तरीय प्राङ्गारिक मलबारे जानकारीको कमी छ, कृषकहरूमा बजारमा उपलब्ध प्राङ्गारिक मलको गुणस्तरप्रति विश्वासमा कमी छ । बाली उत्पादन लागतमा वृद्धि हुने, असर देखिन अलि समय लाग्ने हुन्छ ।”
प्रतिकृया लेख्नुहोस्: