दाङ । दाङमा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्पर सञ्चालनका लागि निर्माणाधीन वैकल्पिक मार्गको करिव ७५ प्रतिशत काम सकिएको छ । वैकल्पिक मार्ग निर्माण सुरु भएको पाँच वर्षको अवधिमा करिव ७५ प्रतिशत ट्रयाक खन्ने काम सकिएको हो ।
घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको घोराही सिमेन्ट उद्योग लगायतका उद्योगका लागि सञ्चालन हुने टिप्पर सञ्चालनका लागि २०७६ सालदेखि बंगलाचुली गाउँपालिका–४ जुम्लेपानी–जौलेबाध–ओखलढुंगा–उर्जा–बाछी–सुकाखोला मार्गको ट्रयाक खोल्ने काम सुरु भएको थियो । सिमेन्ट उद्योगकालागि चुनढुगा बोक्ने टिप्परका कारण घोराही–कमिरेचौर–मुर्कुटी सडकखण्ड जीर्ण भएपछि लुम्बिनी प्रदेश सरकारको लगानीमा बैकल्पिक मार्ग निर्माणको काम सुरु भएको थियो ।
वैकल्पिक मार्गअन्तर्गत पाँच किलोमिटर सडकमध्ये हालसम्म करिव चार किलोमिटर सडकको ट्र्याक खन्ने काम भएको सडक पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी एवं इन्जिनियर लीलाधर गिरीले जानकारी दिए । वैकल्पिक सडकअन्तर्गत जुम्लेपानी–जौलेबाध–ओखलढुंगासम्मको सडकको ट्र्याक खन्ने काम सकिएको छ भने उर्जा–बाछी–सुकाखोला खण्डमा ट्याक खोल्ने काम बाँकी रहेको छ । बाँकी रहेको खण्डमा पनि ट्रयाक खन्ने काम सकिएपछि टिप्पर सञ्चालन गर्न सकिने सूचना अधिकारी गिरीले बताए ।
ट्रयाक खोल्नका लागि बजेट अभावसँगै पहाडी क्षेत्रमा ठुला–ठुला चट्टान भएका र चट्टान फोड्न समय लाग्दा सडक निर्माणमा ढिलाई भएको सूचना अधिकारी गिरीले बताए । सडकको ट्रयाक निर्माणसँगै जोखिमपूर्ण ठाउँमा वाल लगाउनुपर्ने, कल्र्भटसँगै नाला निर्माणको काम गर्नुपर्ने भएपनि बजेट अभावका कारण यो वर्ष काम हुन नसकेको बताए । गत वर्ष काम गरेको पैसा यो वर्ष भुक्तानी दिइएको र यो वर्ष काम हुन नसकेको उनले बताए ।
वैकल्पिक मार्गको ट्रयाक खोल्ने काम पाँच वर्षअघि सुरु भएपनि बजेट अभावका कारण नियमित काम हुन सकेको छैन सूचना अधिकारी गिरीले भने, ‘नियमित रुपमा काम भएको भए अहिलेसम्म करिव काम सकिन्थ्यो । बजेटको समस्याले गर्दा नियमित काम हुन सकेको छैन ।’ वैकल्पिक मार्गको ट्रयाक खन्नका लागि हालसम्म करिव दुई करोड ५० लाख बढी रुपियाँ खर्च भइसकेको र पूर्ण रुपमा सडक सञ्चालन गर्न थप ६ करोड बढी रुपियाँ लाग्ने सूचना अधिकारी गिरी बताउँछन् ।
सडकको ट्रयाक खन्ने काम लगभग ७०-७५ प्रतिशत भएपनि खोलामा कल्भर्ट, जोखिमपूर्ण ठाउँमा जाली, वाललगाउनेदेखि नाला निर्माणलगायते काम गर्नुपर्ने भएकाले ६ करोड बढी बजेट लाग्ने बताए । वैकल्पिक सडक निर्माण भएमा सिमेन्ट उद्योगका लागि चुनढुंगा बोक्ने टिप्परसँगै बंगलाचुली गाउँपालिका वडा नं. ३, ४, ६, र ८ नम्वर वडावासीलाई सेवा लिनका लागि करिमरेचौरमा रहेको गाउँपालिकाको कार्यालय पुग्न सहजता हुने बंगलाचुली गाउँपालिका–४ का अध्यक्ष डाँसबहादुर डाँगी बताउँछन् । गाडी हिँड्ने मोटरबाटो नहुँदा अहिले वडावासीलाई गाउँपालिका पुग्न हिड्नुपर्ने र गाडीमा जानका लागि घोराही बजार आएर कमिरेचौर पुग्नुपर्ने बाध्यता रहेको भन्दै वडा अध्यक्ष डाँगीले बैकल्पिक माग निर्माण भएमा धेरै सहजता हुनेछ ।
त्यससँगै बैकल्पिक मार्ग निर्माण भएमा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका लागि छोटो बाटो हुने र घोराही–कमिरेचौर–मुर्कुटी हुँदै प्युठान जाने सडकको अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ । टिप्पर सञ्चालनका लागि बैकल्पिक मार्ग नहुँदा बंगलाचुली गाउँपालिका हुँदै प्युठान जोड्ने सडक जीर्ण अवस्था रहेको छ ।
प्रतिकृया लेख्नुहोस्: