काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन।
नेपालको पूर्वी पहाडमा भट्टराई कुलको थाकथलोका रूपमा चिनिने ओखलढुंगाको गाम्नाङ्गटार त्यो गाउँ जहाँ भट्टराईहरूले विर्ता पाएको इतिहास छ, जहाँका हावा, ढल, पोखरी र बाटोहरूमा हाम्रा पूर्वजोका कथा गुन्जिन्छन्। यहीँबाट पूर्वी भेगका विभिन्न ठाउँमा भट्टराईहरू फैलिएका छन्। हामीले यस इतिहासलाई गर्वका साथ सुनाउँदै हुर्कियौँ । हाम्रो कुलको नाम र प्रतिष्ठा हाम्रो पहिचान थियो।
त्यही गाम्नाङ्गटारमा जन्मिएका एक जना भट्टराई, तीर्थराज भट्टराई, नेपाल सरकारको उपसचिव बनेका थिए। त्यो दिन हामी सबैले छाती फुलाएर भनेका थियौँ: "हाम्रो कुलको छोरा राज्यको जिम्मेवार ठाउँमा पुगेको छ।" तर आज, त्यही कुलका एक सदस्य भ्रष्टाचार र काण्डसँग जोडिएको खबर पढ्दा र सुन्दा हामी सबै लाजले टाउको झुकाउन बाध्य भएका छौँ।
साथी, छिमेकी, पुस्तापूर्वजहरूले भट्टराई कुलको नाम सुनाउदा गर्व गर्ने दिनहरु सम्झदा मन भारी हुन्छ । तर आजको समाचारले हामीलाई स्मरण गरायो । नाम र पदले मान्छेलाई ठूलो बनाउँदैन; इमानदारी र सधैं न्यायको पक्षमा उभिनु नै साँचो ठूलो कुरा हो।
भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनलाई पक्राउ गरी अदालतमा पेश गर्दै मुद्दा दायर गरेको थियो। बिहीबार राति हिरासतमा बसेका भट्टराई, शुक्रबार बयानपछि थुनछेक बहसमा उपस्थित भए।
थुनछेक आदेशमा न्यायाधीशहरूबीच मत विभाजन भयो। विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र नारायणप्रसाद पौडेलले २५ लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय दिए भने अर्का न्यायाधीश डिल्लीरत्न श्रेष्ठले पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने मत व्यक्त गरे। अन्ततः बहुमतका आधारमा धरौटीमा रिहा गर्ने आदेश आयो। तर अदालतको निर्णयभन्दा ठूलो कुरा हाम्रो आत्मग्लानी हो।
अध्यागमन प्रमुख रहँदा भिजिट भिसाको नाममा अवैध सेटिङमार्फत आर्थिक लाभ लिएको गम्भीर आरोपले केवल एक व्यक्तिलाई होइन, उसको परिवार, आफन्त र पूरै कुललाई प्रश्नको घेरामा ल्याइदिएको छ।
हामीले सधैं आफ्ना सन्तानलाई "इमानदारी नै सबैभन्दा ठूलो धन हो" भनेर सिकायौँ । तर आज त्यो उपदेश आफैँमाथि भारी परिरहेको छ। २५ लाख धरौटीमा छुट्नु कानुनी प्रक्रिया हुन सक्छ, तर कुलले भोग्नुपरेको नैतिक सजाय धरौटीले छुट्ने विषय होइन। यो प्रकरणले हामीलाई एउटा कठोर सत्य सम्झाइदिएको छ । पद ठूलो हुँदैमा मान्छे ठूलो हुँदैन। इमानदारी गुमेपछि नाम, हैसियत र कुल सबै बोझ बन्छन्।
आज तीर्थराज भट्टराईको नाम अदालतमा बहसको विषय बनेको छ। तर हाम्रो घरभित्र चुपचाप फैलिएको लाज, पीडा र आत्मसम्मानको चोट शब्दमा व्यक्त गर्न गाह्रो छ। हामी पूरै कुलका हौं, र आजको दिनले देखायो कि एउटै नाम, एउटै इतिहास र एउटै कुलमा जन्मेका मानिसहरूले गरिबी, कष्ट, इमानदारी, र नैतिकताको सन्तुलन गुमाउँदा, केवल उनी मात्र होइन, पूरा कुल प्रश्नको घेरामा पर्छ।
कानुनी फैसला जे आउला, त्यो समयले देखाउनेछ । तर अहिलेका लागि यत्ति मात्र भन्न सकिन्छ । यो घटनाले एउटा व्यक्ति मात्र होइन, पूरै कुलको आत्मसम्मानलाई कठघरामा उभ्याइदिएको छ।
प्रतिकृया लेख्नुहोस्: