सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये ७ क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी ५ क्षेत्रमा भने आकांक्षीहरूको भीड र आन्तरिक शक्ति संघर्षका कारण टिकट टुंग्याउन पार्टीलाई हम्मे–हम्मे परेको छ ।
१० जिल्ला र १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा सुर्खेत र दैलेखमा दुई–दुई निर्वाचन क्षेत्र छन् । नेकपाका नेता तथा साविक माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार रुकुम पश्चिम, जुम्ला, दैलेख–१, दैलेख–२, सुर्खेत–१, सुर्खेत–२ र डोल्पामा उम्मेदवार टुंगिसकेको छ ।
टुंगिएका उम्मेदवारहरूमा रुकुम पश्चिमबाट गोपाल शर्मा, जुम्लाबाट नरेश भण्डारी, दैलेख–१ बाट अम्बरबहादुर थापा, दैलेख–२ बाट योगेन्द्रबहादुर शाही, सुर्खेत–१ बाट जीतबहादुर राना, सुर्खेत–२ बाट झकबहादुर मल्ल ‘सुदीप’ र डोल्पाबाट धनबहादुर बुढा रहेका छन् ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यीमध्ये केही उम्मेदवारलाई टिकटसमेत वितरण गरिसकेको नेताहरू बताउँछन् । तर हुम्ला, कालिकोट, जाजरकोट, सल्यान र मुगुमा उम्मेदवार छनोट अझै टुंगिन सकेको छैन ।
नेता मल्लका अनुसार ती जिल्लामा आकांक्षी धेरै भएकाले सहमति जुटाउन समय लागेको हो । ‘छलफल जारी छ, भोलिसम्म टुंगिन सक्छ,’ उनले भने ।
सल्यानमा साविक समाजवादीका प्रभावशाली नेता प्रकाश ज्वाला र लामो समय प्रचण्डका स्वकीय रहेका रमेश मल्लबीच टिकटका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचन जितेका ज्वाला सल्यानमा बलिया दाबेदार मानिन्छन् ।
जाजरकोटमा शक्ति बस्नेतसहित अन्य नेताहरूको नाम सिफारिसमा परेको छ । लगातार प्रतिनिधिसभा चुनाव लड्दै आएका बस्नेतलाई यसपटक आफ्नै दलभित्रबाट कडा चुनौती देखिएको छ ।
कालिकोटमा सुरुवातमा प्रचण्ड स्वयं चुनाव लड्ने भन्दै एकल सिफारिस गरिएको थियो । तर उनी रुकुम पूर्वतर्फ जाने भएपछि यहाँ ११ जना आकांक्षी मैदानमा उत्रिएका छन् । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कालिकोटमा सहमति जुटाउन सबैभन्दा सकस परिरहेको बताइन्छ ।
उम्मेदवार टुंगिएका ७ क्षेत्रमा दुई जना साविक नेकपा (एकीकृत समाजवादी) पृष्ठभूमिका नेता छन् भने बाँकी माओवादी पृष्ठभूमिका हुन् । दैलेख–१ का उम्मेदवार अम्बरबहादुर थापा र डोल्पाका धनबहादुर बुढा दुवै २०७९ को चुनावमा एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन् । प्रभावशाली क्षेत्रीय नेताका रूपमा स्थापित उनीहरूलाई नेकपाले पुनः उम्मेदवार बनाएको हो ।
सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा पहिलो पटक प्रतिनिधिसभा चुनाव लड्न लागेका उम्मेदवारहरू छन् । दुवै क्षेत्रमा पूर्वजनमुक्ति सेनाका लडाकुहरूलाई अघि सारिएको छ । उल्लेखनीय कुरा के छ भने २०७४ र २०७९ सालको चुनावमा सुर्खेतमा माओवादी केन्द्रका उम्मेदवार थिएनन् ।
रुकुम पश्चिमका गोपाल शर्मा २०७४ मा प्रदेशसभा सांसद बनेका थिए र कर्णाली प्रदेशको अर्थमन्त्रीसमेत भइसकेका नेता हुन् । यसपटक उनी आफ्नै राजनीतिक गुरु जनार्दन शर्मा ‘प्रभाकर’ सँगै प्रतिनिधिसभा चुनावी मैदानमा उत्रिन लागेका छन् ।
दैलेख–२ का उम्मेदवार योगेन्द्र शाही २०७९ को प्रदेशसभा चुनावमा झिनो मतान्तरले पराजित भएका थिए । बौद्धिक वर्गमा परिचित शाहीलाई संगठन कमजोर मानिएको क्षेत्रमा पनि पुनः उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको हो ।
जुम्लाका नरेश भण्डारी २०६४ सालमा निर्वाचित सांसद हुन् । २०७४ मा प्रदेशसभा जितेर कर्णालीको कानुनमन्त्री बनेका भण्डारी २०७९ मा टिकट नपाउँदा माओवादीले जुम्लामा पराजय बेहोरेको थियो । यसपटक भने पार्टीले उनलाई पुनः भरोसा गरेको छ ।
कर्णालीमा नेकपाको उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पुगे पनि बाँकी जिल्लामा देखिएको आन्तरिक रस्साकस्सीले पार्टीभित्रको शक्ति सन्तुलन र आगामी चुनावी रणनीति झल्काइरहेको छ ।
प्रतिकृया लेख्नुहोस्: