प्रदेशसभा सचिवालय हेटौंडाका अनुसार सोमबार ५ जना सांसदले इमेलमार्फत् राजीनामा पत्र दर्ता गराएका छन् भने एक जना सांसदले प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंलाई उपस्थित भएर राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र नेकपाका सांसदहरू रहेका छन् ।
राजीनामा दिने सांसदहरूमा कांग्रेसबाट एक जना, राप्रपाबाट एक जना तथा एमाले र नेकपाबाट २/२ जना छन् ।
प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री युवराज दुलाल ‘शरद’ले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिएका हुन् । २०७४ र २०७९ मा दुई पटक प्रदेशसभा सदस्य निर्वाचित दुलाललाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा उम्मेदवार बनाएको छ । आइतबार टिकट पाएका दुलालले कार्य व्यस्तताका कारण प्रदेशसभा सचिवालय पुग्न नसकेपछि इमेलमार्फत राजीनामा पठाएका हुन् । उनी २०७४ देखि २०७७ सम्म सामाजिक विकास मन्त्री तथा २०७९ देखि २०८१ सम्म भौतिक पूर्वाधार विकास मन्त्री रहेका थिए ।
यसैगरी, प्रदेशसभा सदस्य तथा पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले पनि पदबाट राजीनामा दिएका छन् । काठमाडौं–७ (२) बाट प्रदेशसभा निर्वाचित श्रेष्ठलाई एमालेले काठमाडौं–७ बाट प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार उनलाई सो क्षेत्रको टिकट दिएका हुन् । उनी २०८१ देखि २०८२ सम्म प्रदेश सरकारका मन्त्री थिए ।
एमालेकै तर्फबाट काठमाडौं–६ (२) बाट प्रदेशसभा निर्वाचित पूर्वमन्त्री अमनकुमार मास्केले पनि पदबाट राजीनामा दिएका छन् । उनले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन इमेलमार्फत राजीनामा दर्ता गराएका हुन् । मास्के आगामी निर्वाचनमा काठमाडौं–६ बाट एमालेको प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा छन् । उनी २०८० देखि २०८१ सम्म भौतिक पूर्वाधार विकास मन्त्री थिए ।
नेपाली कांग्रेसका सांसद तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख चापागाईंलाई प्रत्यक्ष रूपमा राजीनामा पत्र बुझाएका हुन् । दोलखा–१ (१) बाट प्रदेशसभा निर्वाचित काफ्ले आगामी निर्वाचनमा प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा रहे पनि उनको टिकट अझै टुंगो लागिसकेको छैन ।
२०७४ र २०७९ मा प्रदेशसभा सदस्य निर्वाचित बसन्त मानन्धरले पनि इमेलमार्फत पदबाट राजीनामा दिएका छन् । २०७४ मा एमाले र २०७९ मा नेकपा एकीकृत समाजवादीबाट काठमाडौं–७ (२) बाट निर्वाचित मानन्धर हाल नेकपामा आबद्ध छन् । उनलाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं–७ मा प्रतिनिधिसभा उम्मेदवारका रूपमा टिकट दिएका छन् । मानन्धर प्रदेशसभाको पहिलो कार्यकालमा २०७८ देखि २०७९ सम्म खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री रहेका थिए ।
राप्रपाबाट काठमाडौं–२ (१) बाट प्रदेशसभा निर्वाचित सुनिल केसीले पनि पदबाट राजीनामा दिएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं–२ मा प्रतिनिधिसभा उम्मेदवार बन्ने तय भएको छ । पूर्वमेयर बालेन्द्र शाह (बालेन)को टिमको समर्थनमा रास्वपाले केसीलाई टिकट दिएको हो । प्रदेशसभा सदस्यका रूपमा उनको उपस्थिति कमजोर रहेको भन्दै उनीमाथि यसअघि नै आलोचना हुँदै आएको थियो ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रदेश सांसदहरूको राजीनामाले बागमती प्रदेशको राजनीतिक गतिविधि थप तातेको छ ।
प्रतिकृया लेख्नुहोस्: