पौष १४ गते, २०७३ बिहिवार 29th December, 2016 Thu१२:०६:४३ मा प्रकाशित
काठमाडौं, १४ पुस । गणतन्त्रका लागि पञ्चायतकालमा नै सिंहदरबारमा बम पड्काउने नायकका रुपमा रामराजाप्रसाद सिंह र खेमराज भट्ट ‘मायालु’ थिए । भारतमा निर्वासित जीवन विताएका सिंह र मायालुले बम काण्डको जिम्मेवारी लिएका थिए ।
गणतन्त्र प्राप्तिका लागि पहिलो सशस्त्र युद्धको योजनाकार रामराजाप्रसाद जीवनको अन्तिम कालसम्म पनि विचलित भएनन् तर मायालु भने नेपाली कांग्रेसबाट सांसद हुँदै मन्त्रीसमेत भए । पछिल्लो समयमा नेकपा माओवादी केन्द्रको सल्लाहकार मायालु राजनीतिमा त्यति सक्रिय छैनन् ।
वि.सं. २०२२ सालदेखि जनताको मुक्ति चाहेका मायालु दरबारियाको व्यवहार देखेर आजित थिए । त्यसैले कलेजमा पढ्दै गर्दा अधिकारका कुरा उठाउँथे । कलेजमा न्यायका पक्षमा बोल्दा उनी प्रहरीको कठ्ठादेखि लामो समय जेल परे । जेल पर्दा नै गणतन्त्रका लागि लड्ने साहसी सिंहसँग मायालुको भेट भएको थियो । ०४२ सालमा देशभर बम पड्काएर चर्चित रहेका नेपाल जनवादी मोर्चाका उपाध्यक्ष थिए मायालु ।
काठमाडौंका सिंहदरबारमा बम पड्काएर उनीहरुले सशस्त्र क्रान्तिको शुरुवात गरेका थिए । गणतन्त्रका लागि उक्त बमकाण्ड सशस्त्र क्रान्तिकै शुरुवात भएको भट्टको दाबी छ । राजाले सर्वस्वसहित मृत्युदण्ड सुनाएका मायालु ८ वर्ष जेल र १४ वर्ष निर्वासित जीवन विताए । गणतन्त्र ल्याउनका निम्ति स्व. रामराजाप्रसाद सिंहसँगै नख्खु जेलमा रहँदा सिंह र मायालुले सशस्त्र क्रान्तिको खाका कोरेका थिए ।
राजनीतिको ‘र’ थाहा नहुँदै गिरफ्तार
२०२२ सालमा नेपालगन्जको महेन्द्र डिग्री कलेजमा पढ्दै थिए । एक दिन विद्यार्थीको समस्या र माग बारेमा कुरा उठाउँदा एक हुल प्रहरी आए अनि समातेर कठ्ठामा हाले । उनले भने ‘पहिलो पटक म नेपालगञ्जबाट पक्राउ परें, मलाई कांग्रेसको मान्छे भनेर पक्राउ गरेका रहेछन् ।
त्यतिबेलासम्म मैले राजनीतिको ‘र’ पनि बुझेको थिइन । के हो पार्टी, के हो दल मेरा लागि सम्मै थिए, मायालु भन्छन् ‘त्यहि इखले बिद्रोही भावना जन्मियोे ।’ त्यसबेलादेखि राजालाई हटाउनुपर्छ भन्ने सोच्न थालेको मायालु बताउँछन् ।
प्रयागराजसिंहमाथि बम पड्काउँदा
२०३१ सालमा प्रयागराज सिंहलाई बम हानेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । जैसीदेवलबाट आउँदै गरेका प्रयागसिंहमाथि बम हान्दा गाडीको पछिल्लो भागमा केहि क्षति भयो तर मानवीय क्षति भने भएको थिएन । त्यसबेला फेरि सुरक्षा सम्बन्धि मुद्धामा मायालु गिरफ्तार भए ।
मायालुसँगै कांग्रेस नेताहरु शेरबहादुर देउवा (हाल कांग्रेस सभापति), रामचन्द्र पौडेल, मार्सल जुलुम शाक्य, रामशरण महतहरु पक्राउ परेका थिए । उनीहरुलाई करिब २० दिन हनुमान ढोकामा राखिएको थियो । त्यतिबेला कांग्रेसको संग्लनतामा बम हानिएको थियो ।
रामराजाप्रसाद सिंहसँग मायालुको नख्खु जेलमा भेट भयो । जतिबेला निर्मल लामा, मोहनचन्द्र अधिकारी, केपी ओली, आरके मैनाली, महेन्द्रनारायण निधि, विमलेन्न्द्र निधि नख्खु जेलमै थिए । सिंह र मायालुको चिनजान २०२८ सालदेखि नै हो ।
मायालु भन्छन् ‘जेलमा नै नेपाल जनवादी मोर्चा जन्माउने निष्कर्ष निकाल्यौं ।’ सिंह २०२८ सालमा उनले मेनिफेष्टो जितेर आएका हुनाले उनी उनी पञ्चायत विरोधी देखिए । त्यसैले सिंहमाथि राजकाजको मुद्दामा पक्राउ गरिएको थियो ।
त्यहीबेला ०३१ सालमा नख्खु जेलमा नै सशस्त्र क्रान्ति गर्ने निश्कर्षमा सिंह र मायालु पुगे । उनीहरुबीच ‘गुरिल्ला’ तयार गर्ने कुरा भयो । कांग्रेसबाट बिद्रोह गर्ने र भूमिगत ढंगले नयाँ पार्टी गठन गर्ने भन्ने निष्कर्ष निकालेको मायालु सम्झन्छन् । ‘हाम्रो मुख्य लक्ष्यगोरिल्ला युद्ध गरी नेपालमा जसरी पनि राजतन्त्र हटाएर गणतन्त्र ल्याउने, पञ्चायती ब्यवस्था समाप्त गर्ने तथा माक्र्सवादी अर्थतन्त्र थियो’ मायालुले भने ।
०३२ पुस २९ गते जेलबाट मायालुलाई रिहा गरियो । त्यसको हप्ता दिनपछि रामराजा पनि छुटे ।केहि वर्ष उनीहरुले छलफलमै बिताए ।अनि ०३६ सालमा उनीहरु मिलेर नेपाल बहुदलीय जनवादी मोर्चा स्थापना गरे । जब जनमत संग्रह घोषणा भयो उनीहरुले बहुदलको पक्षमा देशब्यापी आमसभा गरे । जनमत संग्रहकै आवरणमा उनीहरुले गोरिल्ला युद्धको निम्ति युवालाई संगठित गरे । उनीहरुको मुख्य उद्देश्य नै बहुृदलको खोल ओढेर सशस्त्र क्रान्तिका लागि मोर्चामा आबद्ध गराउने नै थियो ।मोर्चामा रामराजा अध्यक्ष र मायालु उपाध्यक्ष थिए ।
वर्तमान सरकारका सञ्चारमन्त्री तथा माओवादी केन्द्रका नेता राम कार्कीसहित अनारसिंह कार्की, दिनेश बिष्ट, रामप्रसाद गिरीलगायत १७/१८ जनाको कमिटी थियो । जनमत संग्रह हुनु एक साताअघि उनी नेपालगन्जमा आमसभा गर्ने क्रममा पक्राउ परेका थिए । त्यतिबेला रामराज र मायालुसँगै पक्राउ परे । जनमत संग्रहमा उनी भोट हाल्नबाट बञ्चित भए । त्यहाँ उनले ७ महिना जेल जीवन विताए । त्यतिबेलासम्म उनीहरुले करिब ५० जना युवालाई क्रान्तिको निम्ति लड्न तयार गरिसकेका थिए ।
त्यतिबेला माओवादीको जनयुद्धमा जस्तो देशभित्रबाट सशस्त्र क्रान्ति गर्न सम्भव नभएको मायालु बताउँछन् । सकिन्छ भने नेपालमै बसेर सशस्त्र क्रान्ति गर्ने नसकिए निर्वासनमा बसेर युद्धको तयारी गर्ने सल्लाह गरे । क्रान्तिमा होमिने युवाहरु जेलबाटै तयार गरेको मायालु बताउँछन् । पञ्चायतको आंतकका कारण नेपालमै बसेर क्रान्तिको तयारी गर्न सम्भव थिए ।
अनि जेलबाट छुटेपछि ०३७ सालमा सिंह र मायालु भारत निर्वासित भए । मायालु भन्छन् ‘त्यतिबेला नेपालमा भूमिगत भएर कुनै बैठक गर्न सक्ने परिस्थिति पनि थिएन् ।’ ‘मैले लखनउ बेस बनाएँ, रामराजाले पटना बेस बनाए’ मायालु भन्छन् । भारतमा नै उनीहरुले गुरिल्ल तालिम सञ्चालन गरे । भारतमा नै त्यतिञ्जेल करिब २ सय नेपाली गुरिल्ल तयार गरी सकिएको मायालु सम्झिन्छन् ।
०४२ सालको बम काण्ड
०४२ साल असार ६ गतेको कुरा हो । दरबारको दुई वटा गेट तथा राष्ट्रिय पञ्चायतको भवन अगाडि बम पड्कियो । सोही बम विस्फोटमा ५ जना राष्ट्रिय पञ्चायतका कर्मचारीको पनि मृत्यु भयो । तर त्यतिबेला आफूहरुको लक्ष्य मान्छे मार्ने नभएको मायालुले बताए । सांकेतिक आक्रमण मात्र गर्न खोजिएको थियो, केही मानवीय क्षति भएको उनी बताउँछन् ।
०४२ सालमा दरबारमा मात्र होइन देशभर उनीहरु बम बिस्फोट गराइएको मायालु बताउँछन् । सोही बमकाण्डका कारण उनीहरुलाई राजाको आदेशमा सर्वश्वसहित मत्युदण्डको सजाय सुनाइयो । बमकाण्डको समयमा रामराजा र मायालु भने भारतमै थिए । भारतबाट मायालु, रामराजा र लक्ष्मणको संयुक्त हस्ताक्षर गरेर बक्तव्य निकालेको उनले बताए । सो बक्तव्य बीबीसीबाट सार्वजनिक गरेका थिए ।
०४८ सालको गिरिजाप्रसाद कोइरालाको पहिलो क्याविनेटले उनीहरुलाई सजायँ मिनाहा गरेका थिए । तर पनि नेपाल आउन डर भएकाले उनीहरु ०५१ सालमा मात्रै नेपाल आए । सिंह र मायालु ५१ सालमा स्वदेश फर्किएपछि जनवादी मोर्चाले काठमाडौंको खुलामञ्चमा आमसभा नै गरेको थियो । जतिबेला उनीहरुले बहुदलले मात्र नहुने राजतन्त्र फालेर गणतन्त्र आउनुपर्ने भाषणबाजी गरे । २५ हजार भन्दा बढी जनता आमसभामा उपस्थित रहेको मायालु सम्झिन्छन् ।
०५१ सालको संसदको मध्यवधी चुनावमा मायालु जनवादी मोर्चाबाटै उम्मेदवारी दिए, त्यो पनि शेरबहादुर देउवाको क्षेत्र डडेल्धुराबाट । तर देउवाको निकटतम प्रतिद्वन्द्वीका रुपमा झण्डै दश हजार मत ल्याएर पराजित भए ।
रामराजा नभएपछि पार्टी चलाउन सकेनन्
०५३ सालमा मुटुमा समस्या भएकाले उपचारका लागि रामराजा भारत गए । यता पार्टीमा मायालु एक्लै जस्तै भए । पार्टी चलाउन समस्या भएको कुरा बारम्बार रामराजालाई टेलिफोनमार्फत बताउँथे । पटक पटक फोन गरेर रामराजा आउने भए आफू कतै नजाने बताएको मायालु बताउँछन् । मायालुलाई त्यतिबेला गिरिजाले कांग्रेसमा आउन आग्रह गरेका थिए ।
‘गिरिजाले कुरा गर्न सासंदको टोली पठाएका थिए तर उनीहरुलाई केही महिना पार्टीका साथीहरुसँग सल्लाह गर्छु भन्दै फर्काएँ,’ मायालुले कांग्रेस प्रवेश गर्नुको रहस्य खोले, ‘गिरिजाको धेरै आग्रहपछि रामराजाकै सल्लाहमा ०५३ सालमा कांग्रेसमा गएको हुँ ।’ कांग्रेसमा गएपछि गिरिजाले सार्वजनिक कार्यक्रममै आफ्नो दाहिने हात बलियो भएको घोषणा गरेको उनी सम्झिन्छन् ।
माओवादीलाई अरु आतंककारी भन्थे म क्रान्तिकारी
माओवादीले जनयुद्ध शुरु गरेपछि राज्यपक्षले आतंककारी भन्थ्यो । माओवादीले आतंक मात्रै मच्चाउँछ भन्ने सबैको सोँच थियो । तर मायालु भन्छन्– ‘अरुले आतंककारी भन्दा रिस उठ्थ्यो म चाँही माओवादीलाई सच्चा क्रान्तिकारी भन्थें ।
राज्यको ज्यादतीबिरुद्ध उनीहरु युद्धमा होमिएका थिए । उनीहरुको सोँच पनि जनताको छोराछोरी राष्ट्रध्यक्ष हुनुुपर्छ भन्ने थियो र हाम्रा पनि त्यहि सोच रहेको थियो ।’
कांग्रेसबाट जित्ने बित्तिकै मन्त्री भएँ
०५६ सालको चुनावमा उनलाई कांग्रेसले बर्दियाबाट टिकट दियो । उनले १६ हजार भोट ल्याएर जिते पनि । जन्मभूमी डडेल्धुराबाट चुनाव लड्छु भन्दा गिरिजाले शेरबहादुर उठ्छु भनेको छ अर्कै ठाउँ रोज्नु भनेका थिए । त्यसैले उनले बर्दिया रोजेका थिए । उनी कांग्रेसबाट सामान्य प्रशासन मन्त्री पनि भए ।
रामराजाको घरमा प्रचण्ड र बाबुराम भेटे
पुष्पकमल दाहाल ‘प्रचण्ड’ (हालका प्रधानमन्त्री) सँग युद्धकालमा कहिल्यै भेट भएन । जब माओवादी शान्ति प्रक्रियामा आयो ।
सशस्त्र क्रान्तिबाट मात्रै राजतन्त्र हटाउन सकिन्छ भन्ने मानसिकता बोकेका मायालुले १० वर्षे जनयुद्धबाट आएका प्रचण्ड र डा.बाबुराम भट्टराई (हालका नयाँ शक्ति पार्टी संयोजक)लाई रामराजाकै निवासमा भेटेका थिए ।
रामराजाले नै प्रचण्ड र बाबुरामसँग मायालुको परिचय गराईदिए ।
मायालु– रामराजा सम्बन्ध
०२८ सालतिर जेल जीवन विताउने क्रममा मायालु र रामराजाको भेट भएको हो । जेलबाट बारिएपछि के गर्ने भन्ने बिषयमा उनीहरु जेलभित्रै योजना बुन्थे । मायालु भन्छन् ‘रामराजाको र मेरो घनिष्ठ सम्बन्ध जेलबाटै शुरु भयो ।’
जेलबाटै उनीहरुले सशस्त्र क्रान्तिका लागि गुरिल्ला तयार गरेका थिए । निर्वासनमा भएका बेला भारतमा पनि उनीहरुको परिवार आउजाउ हुन्थ्यो । परिवार–परिवारबीच पनि राम्रै सम्बन्ध रहेको मायालु बताउँछन् ।
‘कहिले काँही परिवारसहित महिनौं दिन मायालुको डेरामा त कहिले रामराजाको डेरामा बस्थ्यौं,’ उनी भन्छन् ‘हाम्रो सम्बन्ध निकै गाढा थियो, सम्बन्ध अन्तिम समयसम्म रहिरह्यो ।’ रामराजाले आफ्नो बिश्वासको पात्रको रुपमा मायालुलाई लिन्थे ।
यसकारण चिढिए कांग्रेससंँग
भट्ट मन्त्री भइसकेको थिएँ कांग्रेसबाट । उनी कांग्रेस केन्द्रीय सदस्यका साथै संगठन विभागको सदस्य पनि थिए । २०५१ सालमा कांग्रेसमै फर्किए पनि उनले संवैधानिक राजतन्त्र स्वीकार गर्न नसक्ने तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग स्पष्ट गरेका थिए ।
गिरिजाले पनि उनको विचारमाथि अवरोध गरेनन् । कांग्रेसबाट सांसददेखि मन्त्री भए पनि उनको मन भने रामराजाप्रसादसँगै थियो । खबरडबलीसँगको कुराकानीमा पनि रामराजाको नाम लिँदा मायालुको अाँखा रसाउँथ्याे । उनले कांग्रेसमा राजनीति स्पष्टता कहिल्यै देखेनन् । उनलाई कांग्रेसको राजनीतिप्रति उकुसमुकस भयो ।
‘क्रान्तिबाटै गणतन्त्र ल्याउन तयार भएका हामी र माओवादीको लाइन एउटै थियो’, उनी भन्छन्, ‘उनीहरु (माओवादी) पनि गणतन्त्र चाहन्थे हामी पनि । उनीहरु पनि जनताको छोरा छोरा राष्ट्रध्यक्ष चाहन्थे हामी पनि । यसरी बिचार मिल्थ्यो हाम्रो ।’ कांग्रेसको राजनीतिदेखि उजाड बनेका उनी जीवनको उत्तराद्र्धतिर माओवादीमा आएमा छन् ।
जनयुद्धमा नलाग्नुको यस्तो छ कुरा
निर्वासन र जेल जीवन बिताउने बेलादेखि गुरिल्ल तयार गरेका मायालु किन माओवादीको १० वर्षे जनयुद्धमा लागेनन् भन्ने कुरा सायद कमैलाई थाहा होला ।
‘म क्रान्तिकारी पृष्ठभूमीको मान्छे प्रशासनले युद्धमा संलग्नता छ भनेर निगरानी गर्थे ।’ ‘क्रान्तिप्रति सुभेक्षा भए पनि माओवादी नेतृत्वसँग युद्धमा होमिने माध्यम पनि थिएन ।’ उनी थप्छन् ‘मैले गिरिजासँग बाचा गरेकाले युद्धमा होमिन पाइन ।’
अनि स्वास्थ्यले साथ दिएन
शान्ति प्रक्रियापछि संविधानसभाको पहिलो चुनाव हुँदै थियो । चुनावी माहौलले देश तातिरहेको थियो । त्यतिबेला सबै भन्दा खुशी त रामराजा र उनी थिए । तर उनलाई स्वास्थ्यले पनि साथ दिएन । काठमाण्डौं धेरै अस्पताल धाए । उनलाई ‘ब्रेन ट्युमर’ भएको रहेछ ।
नेपालबाट दिल्ली रेफर गरे तर त्यहाँ पनि सम्भव नभएपछि उनी नेपाल फर्किए । नेपालमा सम्भव नभएपछि उनी बेलायतको लण्डनमा उपचारको लागि गए । उनलाई डा. उपेन्द्र देवकोटाले लण्डन जान सुझाएका थिए । यदि उपचार नगरे जतिबेला पनि ज्यान जान सक्ने खतरा भएको डाक्टरले बताएका थिए ।
लण्डनको ‘साउथ टिस’ अस्पतालमा नै २०६४ सालमा उनको ‘ब्रेन ट्युमर’को अप्रेसन भयो । पहिलो संविधानसभा चुनावमा स्वाथ्यका कारण उनी बोल्नै नसक्ने अवस्थमा थिए ।
विचार मिलेकैले माओवादी
दोस्रो संविधासभा चुनावअघि एमाओवादी माओवादीमा प्रवेश गरेका थिए । माओवादी पार्टी कार्यालय पेरिसडाँडाबाट औपचारिक रुपमा पार्टी प्रवेश गरेका उनको स्वास्थकै कारण चुनावी प्रचारप्रसारमा दिलोज्यानले होमिन सकेनन् । तर पनि सकेकोबेला चुनावी अभियानमा पनि हिडे ।
उनले भने ‘मेचीकाली अभियानमा धेरै गएँ । स्वास्थ्यको कारण चुनाव लड्न सक्ने स्थिति थिएन ।’ राष्ट्रिय ख्याति प्राप्त ब्यक्तित्वबाट मनोनित सांसद बनाउने प्रचण्डले उनलाई आश्वासन दिएका थिए । तर माओवादीको कम सिट आएको कोटा पुगेन ।
माओवादीको भागमा जम्मा चार सिट मात्र आएपछि आरक्षणमा पनि उनी परेनन् । क्षेत्री ब्राम्हण धेरै भएकाले बनाउन नसकेको कुरा प्रचण्डले गरेका थिए । उनी अहिले माओवादी केन्द्रको सल्लाहकार समितिमा छन् । भन्छन् ‘बुद्धि बिबेकले भ्याएसम्मको सल्लाह पनि दिँदै आएको छु ।’
विद्यार्थी जीवनदेखि मायालु
पढ्ने बेलादेखि नै मायालु उपनाम राखेको उनी बताउँछन् । मायालु उपनाम साहित्यिक पनि क्रान्तिकारी पनि भएको उनको भनाई छ । सबैलाई र सबैले माया गर्ने भएकाले उपनाम राखेको बताउँछन् ।
सर्वश्वहरणसहित मत्युदण्ड सुनाएका उनलाई उपनामले निर्वासनको बेला ठूलो सहयोग गरेको बताउँछन् । क्रान्तिको दौरानमा पनि उपनामले सघाएको बताउँछन् ।
सानैदेखि बिद्रोही स्वभाव
००७ मंसिर ७ गते डडेल्धुरामा जन्मिएका उनी स्कूले जीवनदेखि बिद्रोही स्वभावका थिए । कसैको थिचोमिचोमा बस्न नचाहने थिए । तराईमा उनको प्रशस्त जमिन थियो ।
खान लाउन गाह्रो थिएन । बर्दियामा राईस मिल, ट्रयाक्टर थियो । तर पञ्चहरुले उनको सम्पत्ति सबै सिध्याइदिए ।
पञ्चायतले राइस मिलदेखि आफ्नो ट्रयाक्टरसमेत जफत गरेको उनी बताउँछन् ।
जेलबाटै बीए र एमए
उनले डडेल्धुराकै भुवनेश्वरी मिडिल स्कूलमा कक्षा ६ उत्तिर्ण गरे । त्यसपछि उनले ७ र ८ कक्षा भने महेन्द्र हाइस्कुलमा पढे, कक्षा ९ भने बैतडीको पाटनमा गएर पढे ।
कक्षा १० र आइए भने नेपालगन्जको महेन्द्र डिग्री कलेजबाट उत्तिर्ण गरेका उनले त्रिचन्द्र कलेजबाट स्नातक अध्ययन गरे । तर स्नातकको परीक्षा उनले सेन्टर जेलबाटै दिएका थिए ।
जेल पर्दा परीक्षा आएकाले निकै कष्टका साथ उत्तीर्ण गरेको उनी सम्झन्छन् । त्यसो त उनले नख्खु जेलबाटै ०३१ सालमा एमएको परीक्षा तयारी गरेका थिए । तर संयोग उनी जेलबाट छुटेको तीनपछि परीक्षा शुरु भयो ।
गणतन्त्र आउँदै जिन्दगीकै खुशी भएँ
आधा जसो जीवन नै जेल र निर्वासनमा बिताएका मायालु सबै भन्दा खुशी गणतन्त्र आउँदा भएको बताउँछन् । ‘हुनत अरु बेला पनि खुशी भएँ होला’ उनले भने ‘तर गणतन्त्र आउँदा सबै भन्दा बढी छुट्टै उमंगको खुशी भएँ ।’
गणतन्त्र घोषणा हँुदा आफ्नो खुशीको सीमा नरहेको उनले बताए । गणतन्त्र आउनु जीवनकै एक महत्वपूर्ण भाग भएको उनले बताए । ‘यो मेरो जीवनकै खुशीको कुरा हो (बेस्ट पार्ट अफ द लाइफ)’ उनले भने, ‘गणतन्त्र घोषणा गरिँदा आइएम टु मच सेटिस्फाइड’ ।
गणतन्त्र आउँदा आफु राजनीतिबाट सफल भएको भान भयो’ उनले खबरडबलीसँग भने । अहिले गणतन्त्रलाई अपहरण गर्ने चारैतिरबाट घेरा हालेका छन् । यसबाट सबै चनाखो हुन जरुरी छ । जे भएपनि नेपालमा अब गणतन्त्र हट्न नसक्ने उनको दावी छ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...
सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...
काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...
काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...
काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...
प्रतिकृया लेख्नुहोस्: