पौष २३ गते, २०७३ शनिवार 7th January, 2017 Sat०७:३७:३५ मा प्रकाशित
जीवन र रंगमञ्च दुवैमा इन्द्रावतीजस्तै बाङ्गो–टिङ्गो संघर्षका छालहरू बेहोरेका कला साधक विष्णुभक्त फुयाँल ‘याज्ञवल्क्य’ नाटकमा राजा जनक बन्दाबन्दै दिवंगत भए।
‘गम्भीरे माझी’
गाउँबाट कलेज पढ्न काठमाडौं आए पनि यो नामसित जोडिएको हुलियालाई लामो समय भुल्न सकिनँ। च्यात्तिएको कपडा, फाटेको टोपी र मैली धोती अनि दुस्खका थुप्रै धर्सो पोतिएको अनुहार। यही हुलिया बोकेर गम्भीरे माझी इन्द्रावतीछेउ उभिएको झुपडीको दलानमा बसेर एकसुरले बिँडी तान्थ्यो र इन्द्रावतीको छालहरू हेर्दै टोलाउँथ्यो । हाम्रो गाउँमा भर्खरै श्यामश्वेत टीभी भित्रिएको थियो, आठ बजेको समाचारपछि रमेश विकलको उपन्यास आधारित बद्रि अधिकारीको टेलिशृंखला ‘अविरल बग्दछ इन्द्रावती’ पर्खिबस्थ्यौं हामी।
सदियौंदेखि उत्पीडन खेप्न बाध्य सिन्धुपाल्चोक इन्द्रावती किनारका माझीहरूको कथाव्यथाले मन त त्यसै छोइहाल्थ्यो । गम्भीरे माझीको जीवन्त चरित्र त्योभन्दा माथिको लाग्थ्यो। यही चरित्रसित भावनात्मक निकटता महसुसु हुनुको अर्को एउटा कारण पनि थियो। इन्द्रावतीबाट पूर्वतिर काभ्रेमा पर्ने हाम्रो डहुन्हान गाउँमा गम्भीरेजस्तै एक वृद्ध हुनुहुन्थ्यो– फतङ काका। हामी बच्चाहरू उहाँसित तिहारमा मारुनी नाच्थ्यौं।
पछि थाहा भयो गम्भीरे माझीको भूमिका गर्ने कलाकार हुनुहुँदोरहेछ– विष्णुभक्त फुयाँल। एक दिन संस्कृतिविद् सत्यमोहन जोशीको कीर्तिपुर उत्पत्तिबारेको मिथकमा आधारित नाटक ‘बाघ भैरव’ हेर्न जाँदा पुरानो बानेश्वरस्थित गुरुकुलमा उहाँसित भेट भयो। फेरि गाउँकै फतङ काका सम्झें, तर उहाँ दमको उपचार गर्न नसकेर बितिसक्नुभएको थियो । त्यो एक दुस्खद संयोग थियो। तर, त्यसको झन्डै एघार वर्षपछि मंगलबार साँझ गम्भीरे माझीको भूमिका गर्नुहुने वरिष्ठ रंगकर्मी विष्णभक्त फुयाँल दिवंगत हुनुभएको समाचार लेख्नुपर्योम। सत्यमोहन जोशीकै नाटकको क्रममा भेटिनुभएका उहाँ जोशीकै अर्को नाटक ‘याज्ञवल्क्य’ मा अभिनय गर्दागर्दै बित्नुभएको थियो । अर्को संयोग के भने बद्री अधिकारीकै टेलिफिल्म ‘अविरल बग्दछ इन्द्रावती’ बाट बढी चर्चामा आउनुभएका उहाँ अधिकारीले नै निर्देशन गरेको नाटक खेल्दाखेल्दै दिवंगत हुनुभयो।
त्यो बेला रंगकर्मका लागि ख्याति कमाएको पुरानो बानेश्वरको त्यो सानो थुम्कोमा सम र रिमाल नाटकघर थिए। नर्वेली नाटककार हेनरिक इब्सेनको ‘मास्टर विल्डर’, ग्रिसेली वियोगान्त नाटककार सोफोक्लेसको ‘इडिपस रेक्स’ र डा। संजीव उप्रेतीको ‘घनचक्कर’ मञ्चन क्रममा पनि गुरुकुलको त्यही डाँडोमा विष्णुभक्त फुयाँलको अभिनय हेर्ने मौका जुर्योज। उमेरकै लेखाजोखा गरेर होला धेरै जनाले उहाँलाई ‘बुवा’ सम्बोधन गर्थे। मचाहिँ दाइ भन्थें। नाटकपछि थिएटरबाहिर काठको कुर्सीमा बसिरहने एउटा वृद्ध र उदास अनुहार उहाँकै हुन्थ्यो। लाग्थ्यो कि– अभिनयमा मात्रै हैन, विष्णुभक्त दाइको वास्तविक अनुहारमै दुस्खका थुप्रै किरिङमिरिङ धर्साहरू छन्।
ती धर्साहरूले मलाई लामो समय तानिरहे । एक दिन मैले नै फोन गरेर उहाँसित भेटें, सानो प्रोफाइल स्टोरी गर्ने गरी। बानेश्वरको एउटा चियापसलमा भेट भएको थियो हाम्रो। उहाँलाई मैले गम्भीरे माझी र फतङ काकाको संयोग सुनाएँ । उहाँ फिस्स हाँस्नुभयो । त्यसरी हाँस्दा पनि उहाँका अनुहारमा संघर्षका धर्साहरू देखिन्थे । कुराकानी क्रममा थाहा भयो— उहाँको जिन्दगी इन्द्रावतीको बगाइजस्तै रहेछ। कहिले ठूलठूला ढुंगाहरूबीच च्यापिएर छहरा झर्नुपर्ने, कहिले समथर मैदान त कहिले नागबेली घुम्तीहरूमा मोडिनुपर्ने।
फ्लासब्याक इन्टरभ्यु
भक्तपुरको बागेश्वरीमा ७९ वर्षअघि जन्मिनुभएको थियो उहाँ। सानैमा कलाप्रतिको उत्कण्ठा। तर, त्यति बेला नेपाली रंगमञ्च सर्वसाधरणको पहुँचमा थिएन। तैपनि उहाँ देहातजस्तै लाग्ने त्यो बेलाको बागेश्वरीबाट काठमाडौं सहर आउनुभयो अवसर खोज्न। उहाँका अनुसार अहिलेको निर्वाचन आयोग रहेको बहादुर भवनमा त्यो बेला होटल रोयल थियो। त्यहीँ वेटरको जागिर पाउनुभयो। नाटकको तिर्खा त छँदै थियो। तिनताक पब्लिक थिएटरको रूपमा डबली रंगमञ्च अभ्यासमा थियो उपत्यकामा। खासगरी नेवारी सांस्कृतिक प्रदर्शनीको यो थलोमा परम्परागत नाटकहरू मञ्चन हुन्थे। २०१९ मा पहिलो पटक गाईजात्राको बेला नेवारी नाटक ‘कर्मया भोग’ खेल्नुभयो उहाँले।
‘नेवार भाषा जानेको फाइदा भयो नि’ कुराकानी क्रममा चिया पिउँदै उहाँले भन्नुभएको थियो, ‘यो नाटक हामीले काठमाडौं र ललितपुरमा गरेर २० सो देखाएका थियौं। हरेक सोबाट ४० रुपैंयाँ आम्दानी हुन्थ्यो। त्यति बेला केटीको भूमिका पनि केटाले नै गर्नुपथ्र्यो। मेरो दोहोरो रोल थियो। नेवार केटी र पुरेत बाजेको।’
यसपछिको लामो समय उहाँ हराउनुभयो। पारिवारिक जिम्मेवारी, जागिरजस्ता अप्ठ्याराहरू आइपरे। ‘यही क्रममा ल्होत्से होटलको हेडकुक बनें म’ उहाँले भन्नुभएको थियो, ‘होटलकै फ्रन्ट अफिसर मुकुन्दकिशोर भट्टराईसित संगत बढ्यो। नाटकको योजना बनायौं।’ यो समूहले केही डबली नाटक गर्योर। पछि २०३१ को गाईजात्रामै मुकुन्दकिशोरको लेखन र निर्देशनमा एउटा प्रतियोगी प्रहसन तयार भयो– ‘सुकुलगुन्डा’ । राष्ट्रिय सभागृहमा देखाइएको यो प्रहसनमा विष्णुभक्त दाइ दोस्रो हुनुभयो।
यसको दुई वर्षपछि नेपाल प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय नाटक महोत्सवमा ‘भत्केको सपना’ मा देखापर्नुभयो उहाँ। राजाको उपस्थितिमा राष्ट्रिय नाचघर र प्रज्ञा प्रतिष्ठानमा नियमित नाटक र कलाजन्य गतिविधि बाक्लै हुने त्यो समय विष्णुभक्त भने भूमिगत जस्तै बनेर श्रमजीवी जनताको पक्षमा उभिनुभयो। प्रजातन्त्रको पक्षमा उभिने विद्यार्थीहरूसहित सहरका विभिन्न कलेजमा चेतनामूलक नाटक लिएर पुग्नुभयो।
यही क्रममा २०४२ मा अग्निशिखाको नाटक ‘इज्जत’ उहाँले नै निर्देशन गर्नुभयो त्रिवि कीर्तिपुरमा। यो निकै क्रान्तिकारी नाटक थियो। दरबारियाको आडमा प्रधानपञ्चहरूले गरेका मूर्ति चोरी र चेलीबेटी बेचबिखनको कथा बोकेको। ‘पछि गलैंचा मजदुर संगठनमा काम गर्दा मजदुरहरूको कथा–व्यथामा थुप्रै नाटक लेखेर निर्देशन र अभिनय गरें’ चियाको चुस्कीसँगै उहाँले भन्नुभएको थियो।
चालीसको मध्यदशकपछि भने उहाँ आरोहण समूहसँग जोडिनुभयो । सुनील पोखरेलको निर्देशन रहेको ‘श्रद्धालु बेश्या’ ‘न्यायप्रेमी’ खेल्नुभयो। गुरुकुल डाँडामा उहाँसितको भेट यही आरोहणसितकै सम्बन्धको निरन्तरता थियो। ‘घनचक्कर’ को टोलीसित दिल्ली र ‘मास्टर विल्डर’ को टोलीसित बंगलादेशको यात्रासमेत गर्नुभएका उहाँ पछिल्लो समय कुसुम थिएटर समूहको अध्यक्ष हुनुहुँदोरहेछ । त्यो दिन उहाँले आरोहणसँगै कुसुम थिएटरसँग जोडिएर थुप्रै चेतनामूलक सडक एवं कचहरी नाटकमा गरेको अनुभव पनि सुनाउन भ्याउनुभयो।
हास्य छवि
गम्भीरे माझीको गम्भीर चरित्रका रूपमा चिन्नेहरूका लागि विष्णुभक्त दाइको पछिल्लो टेलिसिरियल छवि ‘इन्टरल्युड’ जस्तै बन्यो। उहाँ एकाएक ‘यु आर माई लभ’ भन्दै छाउनुभयो बालबालिकादेखि तन्नेरी दर्शकसम्म। दीपकराज गिरी र दीपाश्री निरौलाको ‘तीतो सत्य’ टेलिसिरियलमा उहाँको हास्य चरित्र साँच्चिकै रोचकरघोचक थियो। मोर्डन गेटअप र डान्स स्टेपसहित ‘यु आर माई लभ’ भन्दै टीभी स्क्रिनमा प्रस्तुत हुँदा थुप्रै नयाँ पुस्ते फ्यान बढे। स्कुलका वार्षिक उत्सवहरूमा पनि उहाँको माग बढ्न थाल्यो। उहाँ अब पछाडितिर क्याप फर्काएर स्कुलका स्टेजहरू पनि नाच्न थाल्नुभयो। उमेरले भने मध्य सत्तरी पार गर्दै थियो।
यस्तैमा २०७१ को भुइँचालो गयो। सहरदेखि गाउँसम्म भय र निराशा फैलिरहेका बेला उहाँ उल्टो क्याप भिरेरै बच्चाहरूको माझ पुग्नुभयो हँसाउन। एक दिन इन्द्रावतीकै आसपासको एउटा भूकम्प पीडित बस्तीबाट कुसुम थिएटरका वैकुष्ठ भण्डारीले फोन गरे– ‘हामी कला थेरापीको क्रममा काभ्रे र सिन्धुपाल्चोकको गाउँबस्ती डुल्दैछौं, ‘माई लभ’ बुबा पनि सँगै हुनुहुन्छ।’
वैकुण्ठजीले फोन ‘माई लभ’ दाइलाई दिए।
‘काठमान्डुमा भेट्नु छ है समय मिलाउनुस्’ उताबाट विष्णुभक्त दाइ बोल्नुभयो। लामो समयदेखि उहाँ मलाई भेट्न खोज्दै हुनुहुन्थ्यो। सायद, मिडियामार्फत केही भन्न चाहिरहनुभएको थियो।
कला र राजनीति
फोन राखेपछि केही वर्ष अघिको क्षण सम्झें। एक दिन सेलो थिएटरले भक्तपुर कमलविनायकमा गरेको ‘रंग–कार्यशाला’ मा उहाँसित भेट भएको थियो। प्रशिक्षकका रूपमा हुनुहुन्थ्यो उहाँ। त्योबेला उहाँले संगीत नाट्य प्रज्ञा प्रतिष्ठानबारे ठूलै गुनासो गर्नुभएको थियो। त्यतिबेला उहाँ पनि प्रज्ञासभाको सदस्य हुनुहुन्थ्यो सायद।
‘सरकारले मान्छे नै चिन्दैनन्’ उहाँले भन्नुभएको थियो– ‘यहाँ राम्रो कामभन्दा पनि नेताको चाकडी गर्नुपर्दोरहेछ।’
त्यतिबेला ठीकै भन्दै हुनुहुन्थ्यो उहाँ। चाकडी पनि पार्टीको हैन, नेता विशेषको। पार्टीभित्र पनि कुन गुटको कुनचाहिँ नेता संस्कृति मन्त्री छ, त्यही अनुरूपको सम्बन्धहरू पहिल्याएर, नाता जोडेर घरमै पुग्नुपर्ने। छिपछिपे ज्ञान नै नभएकाहरू प्राज्ञ बने, लामो योगदान भएकाहरूचाहिँ पाखामा। पाइहाले पनि थुम्थुम्याउन प्राज्ञसभाको सदस्य मात्र। २०५४ को स्थानीय चुनावमा व्यवस्था गरिएको जस्तो ‘पानी सदस्य’ ।
विष्णुभक्त दाइको यसैमा गुनासो थियो। साढे पाँच दशक उमेर नेपाली रंगमञ्चलाई सुम्पिनुभएका उहाँको खास मूल्यांकन हुन सकेको थिएन। कुनै बेला काठमाडौं महानगरपालिका ६ बाट वडा सदस्यसमेत जित्नुभएका उहाँको सामाजिक–राजनीतिक योगदान पनि उत्तिकै थियो। तर, उहाँ प्रयोग मात्रै हुनुभयो। सायद नेपाली राजनीतिले कलाको गम्भीर दर्शन हैन, ग्ल्यामर चाहन्छ।
काभ्रे–सिन्धुको यात्राबाट फर्केपछि लामो समय उहाँसित भेट हुन सकेन। निकैपछि शिल्पी थिएटरको एउटा कार्यक्रममा जम्काभेट भयो। नेपाली कला, साहित्य र रंगमञ्चमा भइरहेको राजनीतिक बेथितिप्रति उहाँ केही बोल्न चाहनुहुन्थ्यो। समय अभावले त्यो दिन कुरा हुन सकेन। पछि कुनै दिन भेट्ने गरी छुट्टियौं। बीचमा एकाधपटक वैकुण्ठजीले फोन पनि गर्नुभयो– ‘बुबाले भेट्न खोज्दै हुनुहुन्छ।’ तर ‘हतारको साहित्य’ ले उहाँको घरमै पुगेर बात मार्ने फुर्सद दिलाएन।
यस्तैमा राष्ट्रिय पुरस्कार घोषणा भयो। रंगमञ्चबाट उहाँ छानिनुभएछ, उमेरले असी छुनै लाग्दा। पत्रिकाहरूमा फोटोबिनाको समाचार मात्रै आएकोप्रति भोलिपल्ट बिहानै उहाँले फोन गरेर भन्नुभयो– ‘यो उमेरमा पुरस्कार पाएँ, तर कसैले फोटो छापिदिएनन् बाबु।’
‘तपाईंको त इन्टरभ्यु नै गर्नुपर्छ, समय मिलाएर म घरमै आउँछु’
मैले भनें।
दुर्भाग्य । त्यो समय नआउँदै उहाँको चोला उठ्यो। जीवन र रंगमञ्च दुवैमा इन्द्रावती जस्तै बाङ्गो टिङ्गो संघर्षका छालहरू बेहोर्नुभएका वरिष्ठ कला साधक विष्णुभक्त दाइ ‘याज्ञवल्क्य’ नाटकमा राजा जनक बन्दाबन्दै दिवंगत हुनुभयो। राजा जनकको भूमिका र नेपाली रंगमञ्चमा उहाँको आदर्श र इमानदारिताको सायद कहीँकतै तादाम्यता रहनेछ।
दिवंगत हुनुभएकै साँझ सामाजिक सञ्जालहरूमा नेताहरूले पनि लेख्न भ्याए–
‘नेपाली रंगमञ्चले आदर्श अभिभावक गुमायो’
‘उहाँ इमानदार रंगकर्मी हुनुहुन्थ्यो’
रमेश विकलको इन्द्रावती अविरल बगी नै रहेको छ। तर, गम्भीरे माझीहरूको जुनी फेरिएको छैन। ‘चेपाङमाथि दाताहरूले नै चौपट’ गरेजस्तै कलामाथिको यो राजनीतिक विडम्बना कहिलेसम्म ? विष्णुभक्त दाइ दिवंगत नहुनुभएको भए, अन्तर्वार्तामा सायद उहाँले उल्टै यो प्रश्न सोध्नुहुन्थ्यो होला।
कान्तिपुरबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: