पौष २८ गते, २०७३ बिहिवार 12th January, 2017 Thu०९:२६:३८ मा प्रकाशित
हास्यकलाकार जितु नेपाल मुन्द्रे औपचारिक–अनौपचारिक भेटमा पनि हाँसिरहेका हुन्छन् । कतिपयले त उनलाई कस्तो हँसमुख भएको मान्छे रहेछ भन्ने कमेन्ट पनि गर्छन् । त्यसो त व्यावसायिक रूपमा नै उनको काम दर्शक हँसाउनु हो । तर, व्यक्तिगत जीवनमा चाहिँ अरूलाई हँसाउने यी कलाकार बारम्बार रोएका छन् । उनी आफैँ भने ‘अलिक रुन्चे, पिन्चे मान्छे हुँ म’ भन्छन् । अरूलाई हँसाई हँसाई पनि रुवाउन सक्ने खुबी भएका यी कलाकारले आफू रोएका केही सन्दर्भ सम्झिएका छन् :जब घरको आँगनमा बुबाको शव देखेँ
यो ०६० सालको कुरा हो । म ‘दुई किनारा’ फिल्म सुटिङका लागि पोखरा पुगेको थिएँ । फिल्मको सुटिङ चलिरहेको थियो, घरबाट दाइले फोन गर्नुभयो, ‘बुवा बिरामी हुनुभयो, घर आउनुपर्ने भयो ।’ म पोखरा जानुअघि नै बुबा अलिक बिरामी हुनुहुन्थ्यो । त्यही बिमारीले अझ बढी सताएको होला भन्ने मैले सोचेँ । घरबाट दाइले जसरी पनि आउनु भनेर फोन गरेपछिचाहिँ फर्किनुको विकल्प थिएन । विडम्बना ! त्यो दिन मैले पोखराबाट फर्किन प्लेनको टिकट पाइनँ । मनमा अनेक कुरा खेलाउँदै म गाडीबाट फर्किएँ । जे होस्, गाडीमा मैले सोचेको थिएँ, बुबा सिकिस्त हुनुभएछ, त्यस्तो नराम्रोचाहिँ केही होइन होला ।
तर, थानकोट आइपुगेपछि फेरि दाइको फोन आयो । फोनमा दाइले भन्नुभयो, ‘होइन, कहाँ हो ? छिटो आउनुपर्ने भयो ।’ फोनमा दाइलाई म आउँदै छु मात्र भनेँ । तर, मेरो मन गलिसकेको थियो । थानकोट आइपुग्दा पनि दाइले आत्तिएर फोन गरेपछि सोचेँ– कतै केही भइसकेको त होइन ? चिसो मन लिएर म अघि बढिरहेको थिएँ ।
कलंकीबाट सार्वजनिक गाडीमा घर जाउँला भन्ने सोचेको थिएँ । त्यति वेला अहिलेको जस्तो ट्याक्सी चढिहाल्न पुग्ने पैसा पनि थिएन । तर, गाडीबाट कलंकीमा के उत्रिएको थिएँ, श्रीमतीको फोन आयो, ‘ट्याक्सी चढेरै आउनु ।’ अबचाहिँ मेरो मनले नराम्रो सोच्न थाल्यो । नत्र श्रीमतीले त्यसरी आत्तिएर फोन गर्दिनथिन् भन्ने पनि लाग्यो ।
उनले भनेजस्तै म ट्याक्सी लिएर घरमा पुगेँ । घरको गेटबाट भित्र मात्र के पसेको थिएँ, बुवाको शव बाहिर राखेको देखिहालेँ । पीताम्बर ओढाएकाले पनि म झसंग भएँ– बुवा परलोक भइसक्नुभएछ । मैले यस्तो होला भन्ने कल्पना पनि गरेको थिइनँ । त्यहाँ बुबाको पार्थिव शरीरलाई त्यसरी राखेको देख्दा मेरो शरीर पूरै गल्यो । मलाई मेरो संसार तथा ब्रह्माण्ड पूरै ढलेकोजस्तो लाग्यो । म त त्यहीँ ठाउँमा पछारिएँ । त्यति वेला म रोइरहेको थिएँ ।
बुबासँगका स्मृति त्यसपछि बारम्बार आउन थाले । बुबाले मलाई गर्ने स्नेह र उहाँसँग बिताएका पल रिल घुमेजस्तै फनफनी भए । त्यहाँबाट शव लिएर आर्यघाट पुग्दा होस् या फर्किएपछि होस्, मेरा आँखा ओभाएनन् ।
त्यसो त अहिले पनि जब म बुबालाई सम्झन्छु, जति वेला उहाँलाई मिस गर्छु, तब मेरा आँखा आफैँ रसाइहाल्छन् । बुबाको कुरा गर्दा नै पनि मलाई रुन मन लागिहाल्छ । बुबाको फोटो देख्दा होस् या बाहिर बाटोमा वृद्ध मानिसलाई देख्दा नै किन नहोस्, मेरा आँखामा आँसु टिलपिल गरिहाल्छन् । त्यसैले पनि होला, आजभोलि जुनसुकै काम गर्दा पनि म बुबालाई सम्झिहाल्छु । बुबा सँगै हुनुभएको भए यस्तो गर्नहुन्थ्यो भन्ने लागिरहन्छ ।
शवछेउमा बालक रोएको देख्दा
०६८–६९ सालतिर हुनुपर्छ, घरनजिकैको एकजना आमाको मृत्यु भयो । उहाँ निकै बुढी भइसक्नुभएको थियो । उहाँको मृत्युपछि दाहसंस्कारका लागि म पनि आर्यघाट गएँ ।
आर्यघाटमा विधिवत् रूपमा उहाँको अन्तिम संस्कार सम्पन्न गरियो । अनि म त्यहाँबाट निस्कनै लागेको थिएँ । त्यहाँ नजिकै अर्को एउटा शव पनि ल्याइएको रहेछ । तर, त्यो कफिनमा थियो । कफिनबाट लास निकाल्दै गर्दा छेउमा एकजना बालक थिए । उनी सानै थिए र रोइरहेका थिए । उनको त्यो रोदनले मेरो मनलाई पनि टुक्राटुक्रा पा¥यो । त्यो रुवाइ अत्यन्त हृदयविदारक थियो ।
एक्कासि मेरो मनमा अनेक कुरा खेल्न पनि थाले । मैले त्यो बालकबारे सम्झिएँ । उसका साथीभाइ होलान्, उनीहरूसँग उसले आफ्नो बाबुको कुरा गर्दो हो । उसले उनीहरूलाई भनेको पनि हुँदो हो– बुबाले मलाई विदेशबाट यस्तो कुरा ल्याइदिँदै हुनुहुन्छ । उसलाई कतिले त हेपेका थिए होलान् । ती हेप्नेहरूलाई उसले भनेको हुँदो हो– पख, मेरा बुबा आउन दे । आउन त उसका बुबा आए, तर भौतिक शरीर थिएन । अब त्यो बालकले ती साथीहरूलाई, ती हेप्नेहरूलाई के जवाफ दिँदो हो ? बुवाले केही ल्याइदिनुहुन्छ भनेर कसरी कुरा गर्दो हो ?
मलाई लाग्यो– त्यो बालकका अनगिन्ती सपना थिए होलान्, उसले बुबा आएपछि देखाउँछु भनेर केही राखेको थियो होला, उसले बुबा आएपछि यस्तो गर्छु, उस्तो गर्छु भन्ने लिस्ट पनि बनाएको थियो होला । उसकी आमाले पनि त उसलाई बुबा आएपछि हामी यस्तो गरौँला भनेकी थिइन् होला ।
जब यी सब कुरा मेरो मनमा खेल्न थाले, मैले आफूलाई मात्र होइन, यो देशको बाध्यतामाथि पनि धिक्कार गर्न मन लाग्यो । मैले आफूलाई सम्हाल्न सकिनँ । आँखाबाट बरर्र आँसु आयो । म आँसु पुछ्दै गाडी चढ्न गौशालासम्म पुगेँ । पछि पनि यो कुरा सम्झिँदा मेरो आँखामा आँसु आइहाल्थ्यो, म आफूलाई सम्हाल्न सक्दिनथेँ ।
अमेरिकाबाट फर्किंदा विमानस्थलमै रोएँ
यो केही वर्षअघिको कुरा हो । कार्यक्रमका लागि पहिलोपटक म अमेरिका जाने भएँ । अमेरिका त जाने भएँ, त्यसले मलाई खुसी नै दिएको थियो । तर, त्यहाँ पुगेपछि मलाई दुई महिना छिटो बितिदिए हुन्थ्यो जस्तो लाग्यो ।
कतिपय साथीहरूले मलाई ‘अमेरिकामा अलिक लामो समय बस्, ग्रिनकार्डका लागि निवेदन दे’ पनि भनेका थिए । तर, दसैँ आयो, तिहार आयो । म उतै बसेँ । स्मृतिमा घरपरिवार आइरहे । छोरी सम्झिएँ, नेपालको दसैँ सम्झिएँ । त्यसैले पनि मलाई त्यहाँ धेरै समय बस्नु थिएन ।
दुई महिनापछि म आउँदा पहिले नै घरमा खबर भइसकेको थियो । घरका सबैजना ‘एक्साइटेड’ थिए, छोरी खुसी भएकी थिई, श्रीमती पनि खुसी थिइन् । त्यही दुई महिना अमेरिका बसेर फर्किंदा पनि उनीहरू मलाई विमानस्थलमा लिन आउने भए । मैले पनि त्यसलाई नाइँनास्ती गर्न सकिनँ ।
विमानस्थल आएपछि मैले नेपालको मोबाइल अन गरेँ । मोबाइल अन गर्नेबित्तिकै छोरीको फोन आयो । उनीहरू बाहिर मलाई नै कुरेर बसिरहेका थिए । त्यति छोटो समय बाहिर बसेर फर्किंदा पनि परिवारमा छुट्टै उत्साह थियो ।
जब म इमिग्रेसन कटेर अगाडि आएँ । त्यहाँ अर्को एउटा दृश्य देखेँ । एउटा कफिनमा लास ल्याइएको थियो । त्यसको छेउमा एकजना रोइरहेका थिए । त्यति वेला पनि मैले ती मानिसबारे सोचेँ । उनको छेउमा रोइरहेका मानिसबारे पनि सोचेँ । कति अगाडि विदेश पुगेका थिए होलान् ती व्यक्ति रु उनी कति समयपछि फर्किंदै थिए होलान् रु उनी फर्किने दिन गनेर परिवारका सदस्य बसिरहेका थिए होलान् । तर, उनले कहिल्यै नफर्किने गरी आएका थिए । यो सोचले मात्र पनि मलाई भावुक बनायो । मैले मेरो परिवार र उनको परिवारलाई तुलना गरेँ ।
मनमा यस्ता कुरा सोच्दा मैले आफूलाई रोक्नै सकिनँ । आँखाबाट आँसु आइहाल्यो । मन पनि नरमाइलो मानिरहेको थियो । बाहिर पुग्दा पनि मेरा आँखा ओभाएका थिएनन् । मलाई रुँदै बाहिर आएको देखेर मेरो परिवार पनि जिल खायो ।
पहिलोपटक एकल प्रस्तुति दिँदा
यो कृति अवार्ड वितरणको कुरा हो । विज्ञापन एजेन्सीहरूले गरेको यो कार्यक्रम सोल्टी होटेलमा थियो । त्यति वेला नेपालमा पनि त्यस्तै ६–७ वटा मात्र टिभी थिए । त्यही कार्यक्रममा मैले पनि एकल प्रस्तुति दिने कुरा भयो । तर, कतिले त भने– जितुले सक्दैन, उसलाई समय नदिऊँ ।
अर्कातिर एक–दुईजना दाइहरूलाई मैले गर्न सक्छु भन्ने आत्मविश्वास रहेछ । त्यसैले उहाँहरूकै करकापमा त्यो कार्यक्रममा १० मिनेटका लागि मैले एकल प्रस्तुति दिन पाउने भएँ ।
जब म स्टेजमा गएँ, मलाई नै थाहा भएन, ममा त्यस्तो शक्ति कहाँबाट आयो । म फरर बोल्न थालेँ । दर्शकहरू हाँसिरहनुभएको थियो । यसले मेरो मनमा उत्साह पनि थपिरहेको थियो । दर्शकहरू हाँसेकाले पनि उत्साहित भएँ म । लगातार बोलिरहेको मैले समय कटेको पनि पत्तो पाएनछु । १० मिनेटका लागि छुट्याइएको समयमा मैले २०–२५ मिनेट लिइसकेको रहेछु ।
आफ्नो प्रस्तुति सकेर स्टेजपछाडि पुग्दाचाहिँ मेरो शरीर थरथरी कामिरहेको थियो । त्यति ठूला मानिसका अगाडि मैले कसरी त्यस्तो कार्यक्रम गर्न सकेँ भन्ने पनि लाग्यो । मैले आफूलाई कन्ट्रोल गर्नै सकिनँ । आँखाबाट आँसु आइसकेको थियो । १०–११ वर्षअघि रोएको त्यो दिन म कहिल्यै बिर्सन सक्दिनँ ।
नयाँ पत्रिकाबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: