फाल्गुन ४ गते, २०७३ बुधवार 15th February, 2017 Wed०९:५२:२२ मा प्रकाशित
हास्यकलाकार हरिवंश आचार्यको नाम लिँदा उनले अभिनय गरेका अनेक पात्रको ‘इमेज’ पनि बनिहाल्छ । कलाकारितामा हरिवंशले निर्वाह गरेको पात्रबारे अहिले पनि चर्चा भइरहन्छ । दर्शकलाई पात्रका माध्यमबाट प्रभाव पारेका आचार्य आफैँलाई चाहिँ कुन–कुन पात्र चित्त बुझ्दा लाग्छन् त ?
हरिबहादुर
‘मदनबहादुर–हरिबहादुर’ टेलिफिल्ममा मैले हरिबहादुरको भूमिकामा अभिनय गरेको थिएँ । जसमा हरिबहादुर असाध्यै छुच्चो र मूर्ख पात्र हो । जुन मलाई निकै मनपर्ने र चर्चामा आएको पात्र पनि हो । यस्तो पात्र भएको फिल्म मैले कमै मात्रामा हेरेको छु । मलाई लाग्छ, हरिबहादुर भनेको नेपालमै उत्पादन भएको पात्र हो ।
ऊ आफूलाई बाठो ठान्ने, तर मूर्ख पात्र हो । यस्तो चरित्र भएका मानिस हाम्रो समाजमा पनि छन् । हरिबहादुरले हरेक पाइलामा अरूलाई दुःख दिएर आफू अघि बढ्न खोज्छ, तर असफल हुन्छ । गाउँका सोझा मान्छेका अघि मै हुँ भन्ठान्ने, अरूलाई मान्छे नगन्ने, आफ्नो कौडी खर्च नगर्ने, अरूको मात्र खान खोज्ने स्वभाव भएका मान्छेले समाजका अरू मान्छेलाई कस्तो व्यवहार गर्छन् भन्ने विषयलाई हरिबहादुर पात्रले यथार्थ चित्रण गरेको छ ।
वडाध्यक्ष
टेलिफिल्म ‘कान्तिपुर’मा मैले ‘वडाध्यक्ष’को भूमिकामा अभिनय गरेको थिएँ । त्यो पात्र मलाई एकदमै राम्रो र मन पर्ने पात्र हो । यो पात्र मन सफा भएको, सबैको काम गर्दिऊँ, सबैलाई सुख दिऊँ भन्ने भावना भएको मान्छे हो तर, ऊ कुनै ढंग नभएको छ । उसले गरौँ भन्दाभन्दै पनि समस्याको ताँतीले गर्दा ढंग पुर्याउन सक्दैन । उसले सबैबाट गाली मात्रै पाउँछ । त्यसैले त्यो अपजसे पात्र हो । त्यो समयमा वडाध्यक्षले केही काम गर्दैन, बजेट मात्र सक्छ भनेर गाउँका मान्छेले आरोप लगाउँथे । तर, मैले अभिनय गरेको वडाध्यक्षको भने काम गर्ने चाहना राख्ने तर समस्या धेरै भएकाले र ढंग नभएकाले उसले काम गर्न सक्दैन । अनि उसले अपजस मात्र पाउँछ ।
ध्रुवराम पण्डित
ध्रुवराम पण्डित ‘लालपुर्जा’को पात्र हो । यो निकै सोझो पात्र हो । ध्रुवराम भन्ने मान्छे गोरखापत्र संस्थानमा पु्रफ रिडरको भूमिकामा काम गथ्र्यो । उसमा धेरै चाहना र अपेक्षा थिएनन् । तर, भूकम्पले उसकोे घर भत्कियो । त्यसपछि घर बनाउन सक्ने आधार केही भएन । तर, उसको काँठमा जग्गा थियो । त्यो जग्गा पनि मोहियानी हकका कारण उसले उपभोग गर्न पाएन । एउटा काठमाडौंको मध्यमवर्गीय मान्छे, बाउबाजेले जोडिदिएको जमिन उपभोग गर्न नपाएको पीडित हो ध्रुवराम पण्डित । जुनवेला गाउँ र तराईका मोहीहरू श्रमिक हुन्थे । उनीहरूलाई जग्गाधनीले शोषण गरिरहेका हुन्छन्, जग्गाधनी सामन्ती हुन्छन् भन्ने सुनिन्थ्यो । तर, जग्गाधनी पनि शोषित हुन्छन्, सबै जग्गाधनी सामन्ती हुँदैनन् भन्ने कुरालाई लालपुर्जामा ध्रुवराम पण्डित पात्रले दर्शाउँछ ।
बद्री
फिल्म ‘तँ त साह्रै बिग्रिस नि बद्री’ चलचित्रमा मैले बद्री पात्रको भूमिकामा अभिनय गरेँ । बद्री निकै बरालिएको पात्र थियो । यो पनि मलाई मन पर्ने पात्रमध्येको एक हो । त्यसमा बद्री काँठमा जन्मेको मान्छे भएकाले उसँग थुप्रै जग्गाजमिन थियो । जब काठमाडौंमा जग्गाको भाउ एक्कासि बढ्न थाल्यो । त्यसपछि उसले अरू काम केही नगरेर बाउबाजेले जोडिदिएको जग्गाजमिन बेचेर मोजमस्ती गर्न थाल्यो । यसरी जग्गाको भाउ एक्कासि बढेपछि काँठका युवाहरू केही काम नगर्ने, बाउबाजेको सम्पत्ति बेचेर मोजमस्ती गर्न थाले । त्यही अवस्थालाई चित्रण गरेर मैले बद्रीको भूमिकामा अभिनय गरेको थिएँ ।
नवीन र रविन
‘जे भो राम्रै भो’ टेलिसिरियलमा मैले दोहोरो भूमिकामा अभिनय गरेको थिएँ । त्यसमा दाजुभाइको भूमिका थियो । जसमा दाइ नवीन थियो भने रवीन भाइ थियो । यो दुवै मलाई आफूले अभिनय गरेका मन पर्ने पात्र हुन् । यसमा दाइ एकदमै बदमास, नपढ्ने अरूको रिस गर्ने चरित्रको थियो भने भाइ निकै सोझो स्वाभावको थियो । दाइचाहिँको अमेरिका जाने रहर थियो, तर उसँग पढाइ थिएन । उसँग भाइको अनुहार मिल्ने हुनाले भाइको सर्टिफिकेट चोरेर ऊ अमेरिका छिर्न खोज्छ । तर, कसैले थाहा पाएर उसलाई रोकिदिन्छन् र जेल पर्छ । उसको सपना सबै चकनाचुर हुन्छ । ऊ जेल परेपछि जेलभित्र नै पढ्न थाल्छ । यसरी ऊ जेलबाट निस्किँदा सक्षम भएर निस्किन्छ । साथै, ऊ राजनीतिमा लाग्छ र उदाहरणीय नेता भएर आउँछ । मानिस एकपटक बिग्रिँदैमा सधैँका लागि बिग्रिँदैन भन्ने यो पात्रले सन्देश दिन्छ ।
साधुराम सुकुम्बासी
चलचित्र ‘वनपाले’मा मैले साधुराम सुकुम्बासी पात्रको अभिनय गरेको छु । यो खलनायकको भूमिकामा छ । नेपालमा वनजंगल धेरै फडानी भएको समयमा यो चलचित्र बनेको थियो । त्यतिवेला सरकारी तहबाटै वन तस्करलाई संरक्षण गरिन्थ्यो । साधुराम पनि जंगल फाँडेर सम्पत्ति कमाएको पात्र हो । नत्र त ऊ खासमा सुकुम्बासी थियो । उसले वनफडानी गरेर कमाएको पैसा गाउँको प्रशासन, राजनीतिक दलका नेतालगायतलाई पनि दिन्थ्यो । त्यसैले उसले सबैबाट संरक्षण पाउँथ्यो । त्यहाँ वनफडानी रोक्छु भनेर आएको मान्छेलाई काम गर्ने वातावरण नै भएन । जो वनफडानीमा संलग्न थियो, उही वनमन्त्री बन्यो । हाम्रै समस्याबाट जन्मिएको भएकाले यो पात्र मलाई मन पर्छ ।
दयाराम
टेलिफिल्म ‘लक्ष्मी’मा अभिनय गरेको दयाराम क्रूर र ठग पात्र हो । ऊ पैसाको लागि जस्तो काम पनि गर्न तयार हुन्छ । यही टेलिफिल्ममा अर्को पात्र छ, शाक्य । जो बैंकमा काम गर्छ । उसको बोल्न नसक्ने एउटी छोरी हुन्छे । त्यो छोरीलाई प्रेम गरेको नाटक गरेर दयाराम उसलाई बिहे गर्छु भन्छ र बार्गेनिङ गर्न थाल्छ । उसको कुरा शाक्यले पनि पत्याउँछ । पछि गएर त्यो सोझो शाक्यलाई उसले झुटो आश्वासन दिएर फसाउँछ । साथै, उसले जहाँ गए पनि अरूलाई दुःख दिने काम मात्र गर्छ । कहिले खोलाको सार्वजनिक जग्गा धितोमा राखेर ऋण निकाल्छ, कहिले मानिसहरूलाई फसाउँछ । यस्तो स्वभावका मानिस हाम्रोमा पनि छन् है ! भनेर यो टेलिफिल्म बनेको थियो । चेतना फैलाउने पात्र भएकाले यो मलाई निकै मन पर्ने पात्र हो ।
चिरञ्जीवी
टेलिफिल्म ‘चिरञ्जीवी’मा मैले बूढो मान्छेको पात्रका रूपमा अभिनय गरेको थिएँ । यो एक सय दुई वर्षको बूढो मान्छे हो । यो पनि सन्देशमूलक टेलिफिल्म हो । क्षयरोगबारे सन्देश दिन बनाइएको यो टेलिफिल्ममा यो बूढोलाई पनि क्षयरोग लाग्छ । तर, उपचार गरेपछि उसलाई ठीक हुन्छ । सन्देशमूलक पात्रको भूमिका भएकाले पनि मलाई यो पात्र मन पर्छ ।
बूढी आमा
‘आमा’ सिरियलमा मैले बूढी आमाको भूमिकामा अभिनय गरेको थिएँ । आमा भन्नेबित्तिक्कै केटी मान्छेको सिरियल भन्ने बुझिन्छ । यसमा मैले कुप्रो भएर अभिनय गर्नुपर्ने थियो । मेरो उचाइ धेरै भएकाले मलाई कुप्रो भएर अभिनय गर्दा धेरै गाह्रो भएको थियो । त्यसमा मैले स्वर त बूढीआमाकै निकालेको थिएँ । त्यतिवेला हाम्रो समाजमा महिलालाई अघि बढाउनुहुँदैन, महिलालाई चुलोचौकामा मात्र सीमित गराउनुपर्छ भन्ने मान्यता थियो । तर, महिलाले पनि केही गर्न सक्छन्, महिला पनि सशक्त हुन सक्छन् भन्ने सन्देश बूढी आमा पात्रले दिएको थियो । जुन बूढी आमा गाउँकी अगुवा थिइन् । त्यसैले उमेर जति भए पनि समाजको नेतृत्व गर्न महिलाले सक्छन् भन्ने सन्देश मेरो बूढी आमा पात्रले दियो ।
अर्जुन
‘बलिदान’ चलचित्रमा मैले अर्जुनको भूमिकामा अभिनय गरेको थिएँ । अर्जुन उक्त फिल्मको मुख्य हिरो हो । त्यसमा अभिनय गर्नु मेरा लागि नौलो कुरा थियो । किनकि, म हास्यव्यंग्य क्षेत्रमा काम गरेको मान्छेले त्यसमा क्रान्तिकारी सहिदको भूमिकामा अभिनय गर्नुपर्ने थियो । त्यो मेरो रोजाइको पात्र होइन, तर अभिनय गरेपछि यो पात्र पनि मलाई मन पर्यो ।
गाउँको लाउकेको भूमिका
‘धुवाँ’ भन्ने फिल्ममा मैले गाउँको एउटा ‘ठालू मान्छे’को भूमिकामा अभिनय गरेको थिएँ । यो पात्र पनि मलाई मन पर्ने पात्र हो । यो कथाको स्क्रिप्ट म आफैँले लेखेको हुँ । कथा लेख्दालेख्दै यसमा मैले कस्तो भूमिकामा अभिनय गर्दा राम्रो होला भन्ने सोचेँ । यो पात्र केही नजाने पनि जान्ने हुन खोज्थ्यो । मैले अभिनय गरेको पात्रले गाउँको हुनेखाने, गाउँको ठूलोबडो मै हुँ भन्ठान्नेजस्ता चरित्रको मान्छेले अरूलाई गर्ने व्यवहारमा केन्द्रित छ । यो मधेसकेन्द्रित फिल्म थियो । त्यसैले मैले मधेसको पात्रको रूपमा अभिनय गरेको छु । मदनकृष्ण दाइचाहिँ काठमाडौंको सोझो मान्छेको भूमिकामा हुनुहुन्छ ।
सुगाको भूमिका
‘धुवाँ’ चलचित्रमा नै मैले सुगा पात्रमा अभिनय गरेको छु । जुन चलचित्र वायुप्रदूषणको विषयमा सन्देश दिन बनाइएको थियो । त्यसमा वायुप्रदूषणको विषयमा सुगामार्फत सन्देश प्रवाह गरेका थियौँ । जसमा सुगाले बोल्थ्यो, तर हाम्रो स्वरमा । यसले फिल्म रोचक बन्छ भन्ने हाम्रो अनुमान थियो । नभन्दै त्यस्तै भयो ।
नयाँ पत्रिकाबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: