भाद्र १ गते, २०७४ बिहिवार 17th August, 2017 Thu०९:२६:५९ मा प्रकाशित
सुनसरी ।एघार वर्षे निशान राई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र वर्षीया कमला एकोहोरो टोलाइरहन्छिन् । भाइ निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले इटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरू बेसहारा छन् ।
अाजको कान्तिपुरमा खबर छ– एक्कासि राति गाउँमा बाढी पसेपछि अरू बगे, निशान र कमला घर नजिकको रूख समातेर बच्न सफल भए । घर, बाआमा र भाइलाई बूढीखोलाबाट आएको बाढीले बगाएपछि उनीहरूको न बस्ने घर रह्यो, न अभिभावक नै । हाल उनीहरू सानीआमा सीतासन्ध्या राईको घर इटहरीमा छन् ।
बाढीले बेपत्ता निमेषको गत शनिबार जन्मदिन मनाउने तयारी थियो । त्यसका लागि बाबु राजकुमारले तयारी गरिसकेका थिए । तर बाढीले त्यो सबै चकनाचुर पारिदियो । ‘म र भाइ घर भत्केपछि रूख समाएर बाँच्यौं’, कमलाले भनिन्, ‘तर बाबा, आमा र भाइलाई बगाएर लग्यो ।’ दुवै बालबालिका अन्योलमा छन् । ‘घर पनि छैन, बाआमा नि छैनन्, कसरी त्यो ठाउँमा जानु ?’ कमलाले भक्कानिँदै भनिन् ।
कमला र निशान राति सुत्न सक्दैनन् । निशान राति ‘बाआमा, भाइ देखेँ, बाआमालाई घाउ लागेको छ’, भन्दै बर्बराउने गरेको सानीआमा सीतासन्ध्याले सुनाइन् । ‘यी दुई दिदीभाइलाई सम्हाल्न गाह्रो भइरहेको छ,’ उनले भनिन् । आमा आशाको शव सोमबार मोरङको सुन्दरहरैंचामा बूढीखोलामा फेला परेको थियो । उनको सद्गत गरे पनि काजकिरिया सुरु भएको छैन । राजकुमार र निमेष अझै बेपत्ता छन् । ‘भिनाजु राजकुमार र भतिज निमेषलाई बाढीले बेपत्ता पारेकाले काजकिरिया भएको छैन,’ सीतासन्ध्याले कान्तिपुरसँग भनिन् । हालसम्म राई परिवारलाई इटहरी उपमहानगरपालिकाले किरिया खर्च १० हजार रुपैयाँ दिएको छ । अरू संघसंस्थाले सामान्य सहयोग गरेका छन् । ‘बाआमा र घर नै नरहेपछि यी दुवैको भविष्य अन्योलमा परेको छ, यिनीहरूलाई कसरी शिक्षा दिनेबारे चिन्ता लागेको छ,’ उनले भनिन्, ‘उनीहरूको पढ्नेलगायत व्यवस्था नभएसम्म मसँगै बस्नेछन् ।’ बालबालिकाकी अर्की सानीआमा सानुमाया राई शुक्रबार बेलुका भिनाजु (हाल बेपत्ता) को घरमा गएकी थिइन् । दिदीका छोरा निमेष (हाल बेपत्ता) को जन्मदिन मनाउन उनी इटहरी गैरीगाउँ गएकी थिइन् । राति बाढी आएपछि बूढीखोलामा बगिन् । ‘अन्तिम समयसम्म बाँच्ने आस गर्नुपर्छ’ भन्ने सुनेकी सानुमायाले बगेर खोलामा पुगे पनि आस मारिनन् । बाढीले बगाउँदै ल्याएका रूख, मुढा समातेर उनी करिब १३ किलोमिटर तलसम्म बग्दै गइन् । रूख समातेर बसेकै अवस्थामा शनिबार उनलाई स्थानीयले उद्धार गरे ।
‘एक्कासि भिनाजुको घरमा बाढी पसेपछि भत्कियो, सबैलाई बगाएर खोलामा पुर्यायो, मैले बगेकै रूख समातेँ,’ उनले भनिन्, ‘कहिले घुमाउँदै, कहिले भित्तामा पुर्याउँदै दुहबी लगेछ, त्यहाँ अलि ठूलो रूख समातेर अडिएँ, शनिबार बिहान मलाई स्थानीयले बाहिर निकालेर अस्पताल पुर्याए ।’
‘मलाई खोलाबाट बाहिर निकाल्दासम्म होस थियो, अस्पताल लग्नेबेला बेहोस भएछु,’ उनले सुनाइन्, ‘भाग्य र आँटले बाँचेँ ।’ उनले पानीमा डुब्दा हातखुट्टा चलाउनुपर्ने सुनेकाले त्यसै गरेको बताइन् । हाल उनी बिरामी अवस्थामा दिदी सीतासन्ध्याका घरमा बसेकी छन् ।
सुनसरी दुहबी इलाका प्रहरी कार्यालयका निरीक्षक शैलेश न्यौपानेका अनुसार इटहरीको गैरीगाउँबाट बग्दै आएकी सानुमाया दुहबी ४ को पारिपट्टि मोरङको निमुवाबाट स्थानीयले उद्धार गरी दुहबीको सामुदायिक अस्पतालमा उपचारका लागि ल्याएका थिए । ‘प्रहरीलाई खबर भएपछि हामीले सानुमायाबाटै उनका मामाको फोन नम्बर लिएर जिम्मा लगायौं, त्यसपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हो,’ उनले भने । भाग्यले बाँचेकी अर्की महिला हुन् पवित्रा लिम्बू । उनी माइतीघर मोरङ पथरी नगएको भए ज्यान खतरामा पर्न सक्थ्यो ।
इटहरी गैरीगाउँमा रहेको उनको घरमा भाडामा बस्नेमध्ये दुई जनाको ज्यान गइसकेको छ । एक जनाको घरको टिनको छानो खोलेर जीवितै उद्धार गरिएको थियो । ‘म माइतीघर गएकाले भाग्यले बाँचेको हो,’ उनले भनिन्, ‘श्रीमान् विदेश र बच्चा सानो भएकाले केही दिनअघि माइती गएकी थिएँ । बाढीले घर बगाएको मैले राति दुई बजे थाहा पाएँ ।’
इटहरी १० शिवनगर टोलकी धनकुमारी राई टिनको घरको तासीमा झुन्डिएर बाँच्न सफल भइन् । ‘तीन वर्षको नानीलाई घरको सिलिङमाथि राखेर पानी नघटेसम्म तासीमा भुन्डिएर बाँचेँ,’ उनले सुनाइन् । गर्भवती धनकुमारी बाढीले सामान बर्बाद गरे पनि ज्यान बाँचेकामा खुसी छिन् ।
शिवनगर टोलकै बूढीखोला किनारमा रहेको घरमा शुक्रबार राति बाढी पसेपछि धनबहादुर राई र उनकी श्रीमती शान्ति, एक छोरा, एक छोरी लिएर ज्यान बचाउन घरको टिनको छानामाथि चढे । भुईंमा पाँच फिटभन्दा माथि बाढी पसिसकेको थियो । दुई नातिसहित टिनको छानामा चढेका उनीहरू त्यहाँ पनि सुरक्षित रहन सकेनन् । बाढीले घरको पिलर भाँचियो । छानासहित उनीहरू फेरि बाढीमा खसे । घरभन्दा २५ मिटर तल इपिलको रूखमा दुवै दम्पती अडकए । ज्यान बचाउने उनीहरूको सहारा त्यही इपिलको रूख भयो । रातभर त्यही रूख समाएर बसिरहें । सँगै रहेका छोराछोरी र नातिहरू कता पुगे, पत्तो भएन । त्यही स्थानमा रत्नबहादुर तामाङ मस्त सुतिरहेका थिए । उनलाई बाढी आएको कुनै जानकारी थिएन । वृद्ध आमाले ढोका हानेपछि उनी ब्यँ‘झिए । घरभित्र कम्मरभन्दा माथि पानी आइसकेको थियो । हतारहतार अग्लो ठाउँतिर भागे । ‘आमाले बेलैमा नब्युँझाएको भए डुबेर मरिन्थ्यो’, उनले भने ।
इटहरी मुख्य सडकको पूर्वतर्फ पुलपारि सुन्दरहरैंचा लक्ष्मीनारायण मन्दिरको आश्रममा बस्ने तीन वृद्धालाई बूढीखोलाको बाढीले बेपत्ता बनायो । त्यसको छेउमा बस्ने ७२ वर्षीय हरिनारायण आचार्य भाग्यले बाँचे । आश्रमको उनी बस्ने कोठाको टिनको छानो छिमेकीले फुटाएर निकालेकाले उनी बाँच्न सफल भए । ‘छेउमा रहेका तीन वृद्धालाई बेपत्ता बनायो,’ उनले थपे, ‘बाँच्न लेखेको रहेछ, छिमेकी भाइले टिनको छानो खोलेर निकाले । अहिले त्यो सम्भँmदा रिंगटा लाग्छ ।’ बाढीले सबभन्दा बढी क्षति पुर्याएको इटहरी गैरीगाउँ र शिवनगरमा भाग्यले बाँचेकाहरू बाढीले भत्काएको भग्नावशेषमा सामान खोजिरहेका छन् । उनीहरूसँग भएको गरगहना, पैसा, कागजात बाढीले बगाएको छ । सुनसरीका डीएसपी नरेशराज सुवेदीका अनुसार सबभन्दा बढी प्रभावित इटहरी ४ गैरीगाउँका २ सय ५० घर क्षतिग्रस्त छन् । करिब ५ सय विस्थापित छन् । शिवनगरटोलमा १०८ घरमा क्षति भएको छ । तीन सयभन्दा बढी विस्थापित छन् । उनीहरूलाई इटहरीको एक मन्दिरमा राखिएको छ ।
चामल पाए नि पकाउने ठाउँ छैन
देवानगन्ज गाउँपालिकाका जगधर यादवका अनुसार ७ वटा वडामा डुबानबाट नौ सय परिवार विस्थापित छन् । उनीहरूलाई विद्यालय र सामुदायिक भवनमा राखेर भुजा र च्युरा वितरण गरिएको छ ।
भुजा र च्युराकै भरमा ५ दिनदेखि उनीहरू बसेका छन् । पानी घट्न थालेकाले केही घर भए पनि पकाएर खाने ठाउँ नभएको उनले बताए । सरकारले पठाएको राहत पूरै गाउँपालिकाका लागि ३७ पोका मात्र आएको जानकारी आफूले पाएको उनले बताए । सरकारले हेलिकप्टरमार्फत राहत दिने बताएको तर अहिलेसम्म नआएकामा आक्रोशित उनले भने, ‘नौ सय विस्थापितलाई ३७ पोका राहतले के हुन्छ ?’ विस्थापितको स्वास्थ्य परीक्षण र औषधि वितरण इलाका हेल्थपोस्टले गरिरहेको छ । गढी गाउँपालिकामा पनि स्थानीयको पहल र नेपाल कृषि कम्पनीले वितरण गरेको राहतबाहेक सरकारले केही दिएको छैन । विस्थापितले भुजा, च्युरा, चाउचाउ, चामल र दाल पाएका छन् । तर पकाएर खाने ठाउँ नभएकाले दाल, चामल त्यतिकै छ, सुक्खा भुजा र च्युराका भरमा गुजारा चलाइरहेको रामप्रवेश साहले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयले जो पायो, त्यहीलाई राहत वितरणमा रोक लगाएकाले पनि अहिले विस्थापितलाई राहत अभाव भएको उनीहरूको गुनासो छ । छिटाहाका भुवनेश्वर यादवले छिटाहा उच्च माविमा आश्रय लिइरहेका ३ सय परिवार पनि च्युरा र मुरहीका भरमा बसिरहेको बताए । कोही कोहीले नजिकै छिमेकी र आफन्तका घरमा गएर खाना खाए पनि अधिकांश सुक्खा च्युराका भरमा छन् । माछा, हाँस, कुखुरा मरेका छन्, तिनको उचित व्यवस्थापन हुन नसक्दा दुर्गन्धले रोग फैलने जोखिम छ । ट्युबवेलको धमिलो पानी खान विस्थापित बाध्य छन् । सेना र जिल्ला प्रशासन कार्यालयले हरिनगर गाउँपालिकाका विस्थापितलाई बुधबार राहत वितरण गरेको छ । तीन सय ६ परिवारलाई चामल, दाल, चाउचाउ, भुजा, बिस्कुट, खानेतेल र नुन वितरणका लागि गाउँपालिका अध्यक्ष गफार अन्सारीलाई बुझाइएको हो ।
कोसी गाउँपालिकाका अध्यक्ष अयूव अन्सारीका अनुसार १५ घर डुबानमा परे, विस्थापित बिस्तारै घर फर्कंदै छन् । तर राहत गाउँमा पुगेको छैन । घर फर्किए पनि पकाएर खान सक्ने अवस्था छैन । घरमा चोरी लाग्ने डरले कति घर रुङ्न पनि फर्किएका हुन् । पीडितहरू औषधि उपचार र राहतको पर्खाइमा रहेको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत मुकुन्दराज गौतमले जिल्लाका सबै बाढी प्रभावित शिविरमा गरी ३ सय ५० स्वास्थ्यकर्मी औषधिसहित परिचालन गरिएको बताए । फैलन सक्ने रोगबारे सर्वसाधारणलाई सचेत गराइएको उनले जनाए । जिल्ला प्रशासनका अनुसार सुनसरीमा बाढीले १२ को मृत्यु, तीन बेपत्ता र तीन घाइते छन् । २ हजार नौ सय ३ घर पूर्ण रूपमा क्षति भएका छन् । त्यस्तै, ४० हजार घरमा आंशिक क्षति पुगेको छ । १३ हजार घर डुबानमा परेका थिए । घर डुबानमा परेपछि १५ हजार विस्थापित भएका थिए । विस्थापितमध्ये ८० प्रतिशत शिविरमा थिए । पानी रोकिएपछि धेरै घर फर्किएका छन् । सहायक प्रजिअ मुनका न्यौपानेले साल्ट ट्रेडिङ, खाद्य संस्थानसँग समन्वय गर्दा केही ढिला भए पनि अन्य निकायबाट प्राप्त राहत प्याकेज पठाउने काम भइरहेको बताइन् । धरानबाहेकका ११ स्थानीय तहमा ५/५ सय त्रिपाल, सय/सय कार्टुन बिस्कुट, पानी शुद्ध पार्ने अक्वा चक्की र १० हजार केजीका दरले चामलको कुपन वितरण गरिएको उनले बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: