काठमाण्डू । काठमाण्डूमा गुड्ने झण्डै १२ हजार ट्याक्सीमध्ये ईश्वरी थापाको समेत एउटा छ।नौ वर्षयता ट्याक्सी ड्राइभरका रूपमा रहेकी उनीजस्ता महिला भने यस व्यवसायमा काठमाण्डूमा औंलामा गन्न सकिने छन्।
नियमित चलाउने त सात/आठ जना मात्र उनले भनिन्।
किन त्यति कम त ?
थापा कारण सुनाउँछिन् महिलालाई मालिकहरूले भर परेर ट्याक्सी भाडामा दिनै चाहँदैनन्। काममा यात्रुदेखि ट्राफिकसम्मले दिने सास्तीले उस्तै सताउँछ। त्यो भन्दा नि मुख्य कुरा महिलाहरू आँटिला नहुनु हो।
कथा
थापाको आफ्नै कथामा महिलाहरूले पाइलैपिच्छे झेल्ने अनेकौँ सास्ती जोडिएका छन्। तर त्यसमै उनको साहस र गतिशीलता समेत जोडिएको छ।
तेह्र वर्षमा उनको विवाह भयो। त्यसको पाँच वर्षमा उनले छोरी जन्माइन्। श्रीमान्सँग मेल नभएपछि सोह्र वर्षदेखि छोरीलाई लिएर एक्लै बसिरहेकी छन् उनी।
त्यसपछि दुई छाक टार्न नै घरबाट निस्कनु पर्याे। मैले के के मात्र गरिनँ (नाङ्लो पसल थाप्नेदेखि ज्यामी काम समेत गरेँ)। आफ्नै सिलाइ पसल चलाएँ। पछि त्यो नि छाडेर मासु पसल खोलेँ।
जीवनमा एकपछि अर्को समस्या झेलिरहँदा त्यतिखेर उनलाई एउटा कुराले भने भित्रभित्रै आत्मबल दिँदोरहेछ।
चाहेमा सिक्न नसकिने सीप केही रहेनछ।
ट्याक्सीसँगको साइनो
१५ दिने तालिम लिएपछि पहिलो पटकमै उनको सवारी अनुमतिपत्र तयार भयो। तर गाडी पाउन मुस्किल भयो। उनी स्वयम्लाई पनि त्यतिखेर पर्याप्त आँट थिएन।
त्यतिखेर दिक्क मानेर कतै टोकरीमा फ्याँकिदिएको त्यो लाइसेन्स जब पछि चाहियो, उनीसँग थिएन।
सामान्य साक्षर उनीसँग यातायात कार्यालयमा लगत खोजिदिने भन्दै थुप्रैले पटक पटक गरेर ७० हजार रूपैयाँसम्म खाइदिएछन्।
जब मैले पहिलोपटक ट्याक्सी पाएँ, आत्मविश्वास बढाउनकै लागि थुप्रै पटक सडकमा भिड नभएको बेला छोपेर खाली कुदाएँ।
मासिक १७ हजार किस्ता तिर्ने गरी अहिले उनको आफ्नै ट्याक्सी छ।
अहिले उनी ट्याक्सी व्यवसायीहरूको संगठन उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजकी उपाध्यक्ष छिन्।
उनको संगठनले अहिले वैज्ञानिक भाडादर कायम हुनुपर्ने मागमा पैरवी गरिरहेको छ।
सडकमा ट्यास्सी तेर्स्याएर आन्दोलन नगरौँ बरु अरु उपायमा जाऔं भनेर आफ्ना मागहरू ट्याक्सीमा टाँसेर हिन्ने तरिका सुझाउनेहरुमध्ये आफू समेत रहेको उनी बताउँछिन्।
जुन व्यवसायमै पनि पुरुष(पुरुष वा महिला(महिला मात्रै भए भने त्यहाँ एकलकाटे सोच हुन्छ। ट्याक्सी व्यवसायमा पनि थुप्रै महिला आउनुपर्छ।
सुरक्षित छ?
यात्रुहरू मात्र नभइ काठमाण्डूमा ट्याक्सी ड्राइभरहरू समेत रातमा असुरक्षित महसुस गर्छन्।
दुई पटक ईश्वरी स्वयम् मध्यरातमा एकान्तमा लगेर लुटिएकी छन्।
एक पटक त दुईजना महिलाले नै स्वयम्भू लगेर मलाई लुटे।
उनी चलाउन कत्तिको पोख्त छिन् भनेर जाँच्न खोज्नेहरु पनि उत्तिकै भेटिँदा रहेछन्।
उनी सुनाउँछिन्, विना काम साँघुरा गल्लीमा छिर्न लगाएर अन्तिममा तिमी ट्रायल पास भनेर हिँड्नेहरू शुरूमा खुबै भेटिन्थे।
ट्राफिक प्रहरीको रुखो व्यवहारले पनि उनलाई थुप्रै पटक आफ्नो कामप्रति निराश बनाउँछ।
रातमा मदिराले मात्तिएका ग्राहकको असभ्य शैलीले उनलाई आजभोलि पनि बेलाबखत असुरक्षित महसुस गराउँछ।
कति त भाडा नै नदिइ उम्कन खोज्छन्। भाडा लिएर आउँछु भनेर कुनै घर छिरेर ननिस्कने जस्ता घटना नै खुबै झेलेकी छन् उनले।
धन्य आजभोलि धेरै ट्याक्सी ड्राइभरलाई चिनेकी छु। बाटोमा उनीहरुलाई देख्दा केही सुरक्षित महसुस हुन्छ। मेरो शुरूका वर्षमा कस्तो हालत भयो होला ?
भूकम्पपछि धेरै ट्यासी ड्राइभरहरू काममा नफर्कँदा उनी चाहिँ यात्रु बोक्दै उपत्यका बाहिरका प्रभावित जिल्लाहरूसम्मै पुगेकी थिइन्।
लामो दूरीको रामछाप, पोखरा र दाङ्सम्म पुगेकी छु।
आफूलाई कमजोर नठाने मनबाटै बलियो भइने उनको अनुभव छ। /बीबीसी
प्रतिकृया लेख्नुहोस्: