तनहुँ। आयातित अण्डाको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा तनहुँका कुखुरापालक कृषक चिन्तित भएका छन् । भारत र चितवन लगायतका विभिन्न स्थानबाट सस्तो मूल्यका अण्डा बजारमा भित्रिएपछि यहाँ उत्पादन हुने अण्डाको बिक्री हुन छाडेपछि उनीहरु चिन्तित भएका हुन् ।
जिल्लामा दैनिक रुपमा ८४ हजार अण्डा उत्पादन हुँदै आएको छ । आयातित अण्डासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा उत्पादनको झन्डै २० प्रतिशत मात्र बिक्री हुने गरेको तनहुँ अण्डा उत्पादक सङ्घका अध्यक्ष रविन भुजेलले बताए । “अण्डा बिक्री हुन छाडेपछि व्यावसायिक रुपमा कुखुरापालन गर्ने दुई÷तीनजना व्यवसायीले पेशा नै छाडेर पलायन भइसकेका छन्”, अध्यक्ष भुजेलले भने, “वैशाख महीनाभरि यस्तै तरिकाले अण्डा बिक्री हुँदै जाने हो भने तनहुँका कृषकले करौँडोको घाटा ब्योर्हनुका साथै अधिकांश कृषक यसबाट पलायन हुने अवस्थामा देखिएको छ ।”
जिल्लाको जनसङ्ख्याको तुलनामा चार गुणा बढी अण्डा यहाँ उत्पादन हुने गर्छ । “तनहुँलगायत छिमेकी जिल्ला गोरखा र लमजुङमा बिक्रीका लागि अण्डा लिएर जाँदासमेत बिक्री हुन छाडेको छ”, अध्यक्ष भुजेलले भने, “दश लाखको लगानीमा शुरु गरेको कुखुरा पाल्न व्यवसायमा अहिले रु नौ करोड लगानी भइसकेको छ तर अण्डा बिक्री नहुँदा बैकको ऋण तिर्न पनि धौ धौ भएको छ ।”
उनले २४ हजार कुखुरा राखेर पाल्दै आएका छन् । कुखुरापालनबाट दैनिक २३ हजार अण्डा उत्पादन भइरहेको छ । उक्त फार्ममा १४ जना जनशक्ति रहेको बताइएको छ ।
त्यसैगरी व्यास १ गल्बुबेँसी निवासी खेमराज अधिकारीले करीब रु डेढ लाखको लगानीमा १० रोपनी क्षेत्रफलमा खोर निर्माण गरी पाँच हजार लेर्यस जातका कुखुरा पालेर व्यवसाय शुरु गरेपनि यसबाट फाइदा लिन नसकिएको बताए । अघिल्ला वर्षमा आम्दानी खर्च बराबर जस्तो भए पनि यस वर्ष झनै नसोचेअनुरुप नोक्सान ब्योर्हनु परेको छ उनले भने । तनहुँमा ४४ वटा कुखुरा फार्म रहेकोमा ३३ वटा तनहुँ अण्डा उत्पादक कृषक सङ्घमा आबद्ध छन् ।
मुलुकका विभिन्न जिल्लाबाट अण्डा रातको समयमा आयत हुने गरेपछि अण्डा उत्पादक कृषक सङ्घले त्यसको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले भेटेरिनरी अस्पताल र क्वारेन्टाइनबाट सिफारिस नभई बजारमा बिक्री वितरण हुँदै आएका अण्डा तथा कुखुरालाई नियन्त्रणमा लिन परिपत्र गरिएको बताए ।
कुण्ड निर्माण
बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट नजिक मस्र्याङ्दी नदी किनारमा रहेको तातो पानीको मूल संरक्षण गर्दै कुण्ड निर्माण कार्य थालेको छ । वातावरणीय पर्यावरण संरक्षण गर्दै धार्मिक पर्यटकीय र वनभोजस्थलको रुपमा विकास गर्न कुण्ड निर्माण गर्न लागेको हो ।
उक्त क्षेत्रमा रहेको करीब १० रोपनी सार्वजनिक जग्गा छुट्टाएर डोजर लगाई सम्याउने कार्य सम्पन्न भएको वडाध्यक्ष धुव्रप्रसाद लामिछानेले जानकारी दिए । कुण्डको पानी जाडो समयमा उमालेको जस्तै तातो हुने उक्त कुण्डको पानीलाई पोखरी बनाएर संरक्षण गरिने योजना छ, उनले भने । गर्मी याममा भने पानीको तापक्रम सामान्य रहने गरेको पाइएको छ ।
उक्त क्षेत्रको प्रवद्र्धन गर्नका लागि गाउँपालिकाबाट रु दुई लाख विनियोजन गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए । गाउँपालिकाभित्रका प्रत्येक वडामा एउटा पार्क निर्माण गर्ने योजनाअनुरुप पार्क, मन्दिर, प्रतिक्षालय निर्माण गरिने योजना रहेको छ । उक्त क्षेत्रमा कुण्ड निर्माणपश्चात् यस क्षेत्रकै प्रमुख गन्तव्यस्थल बनाउन स्थानीयवासी लागि परेका छन् ।
बाँसखर्कमा घरबास निर्माण शुरु
भानुनगरपालिका–११ बासखर्कमा घरबास निर्माण कार्य शुरु गरेको छ । गण्डकी प्रदेशले होमस्टे निर्माणका लागि रु १० लाख विनियोजन गरेपछि होमस्टे निर्माण कार्य शुरु गरेको हो ।
गुरुङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा अहिले पाँच घरबाट होमस्टे शुरु गर्न लागेको बाँसखर्क सामुदायिक होमस्टेका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । स्थानीयवासी पर्यटकलाई आर्कषण गर्न यतिबेला बाटोमा ढुङ्गा छाप्ने काम गरिरहेका छन् अध्यक्ष गुरुङले भने । होमस्टे निर्माणमा स्थानीयवासीले चासो दिएर काम गर्न थालेका छन् ।
पाँच घरबाट शुरु गरिएको होमस्टेमा दश पाहुनालाई राख्न सकिन्छ उनले भने, “यस होमस्टेमा आउने पाहुनालाई अर्गानिक एवं स्थानीय गाउँ घरमा उत्पादित परिकारको व्यवस्था हुने छ । प्रत्येक कोठामा दुई वटा खाट राखिने र एउटा खाटमा एक जना मात्र पाहुनाको व्यवस्था मिलाइने अध्यक्ष गुरुङले बताए । उनका अनुसार पाँच घर होमस्टे निर्माणमा तीन वटा घर भूकम्प प्रतिरोधात्मक रहने र दुई वटा पुराना घरलाई रङरोगन गरेर बनाउन लागिएको हो ।
उक्त क्षेत्रबाट हिमशृङ्खलाको साथै मनोरम दृश्य सजिलै देख्न सकिने हुँदा एक पटक पुगेका जो कोही पाहुना पुनः दोहोराएर जान सक्ने सम्भावना रहेको वडाध्यक्ष तारानरेश पौडेलले बताए । स्थानीयवासीले स्वागत गेट निर्माणको साथै बाटोमा ढुङ्गा बिच्छाउने कार्यमा यतिबेला व्यस्त देखिन्छन् उनले भने । ५८ घरपरिवार रहेको उक्त क्षेत्रमा दमौली बजारबाट डुम्रे बजार हुँदै करीब दुई घण्टाको यातायात सेवाबाट पुग्न सकिन्छ ।
प्रतिकृया लेख्नुहोस्: