जाजरकोट । विगतमा झाडापखाला, स्वाइनफ्लुलगायतका रोगबाट झण्डै २५० भन्दा बढीको मृत्यु भएको जाजरकोटमा यो पटक भने जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा विभागको निर्देशनअनुसार काज वा बिदामा नबस्न परिपत्र गरिएको छ ।
यो समय महामारी फैलनसक्ने भएकाले अत्यावश्यक कामबाहेक बिदामा छाड्न नमिल्ने र बिदामा बस्नैपर्ने अवस्था आए वैकल्पिक व्यवस्था गरेर मात्र बिदा स्वीकृति गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । पटक–पटकका विभिन्न रोगका कारण थलिएको जाजरकोटमा अब यस्ता खालका घटना नहुन् भनेर समयमै सचेत भएको प्रजिअ बस्नेतले जानकारी दिए ।
विसं २०६६ मा जाजरकोटका केही दुर्गम गाउँमा देखिएको झाडापखालाका कारण ५० हजार मानिस प्रभावित भए भने १५३ को ज्यान गयो । विसं २०७१ चैत र २०७२ वैशाखमा पुनः जाजरकोटमै सिजनलफ्लु फैलियो । यसबाट २७ को मृत्यु भयो । यसमा पनि पुरानै नियति दोहोरियो । २०७४ माघमा जिल्लाको जुनीचाँदेमा फैलिएको रुघाखोकीबाट १२ को मृत्यु भयो । सयौँ बिरामी परे । समयमै उपचार गरिएका कारण थप क्षति हुन भने पाएन ।
मानिस अहिले पनि बिरामी हुँदा स्वास्थ्य संस्था जानुको साटो धामीझाँक्रीकहाँ झारफुक गर्न जाने गरेका छन् । जाजरकोटलाई विसं २०७१ मै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ । सरकारी तथ्याङ्कमा ८७ प्रतिशत जनताले शुद्ध खानेपानी उपभोग गर्छन् भन्ने छ । तर, दाउरा र पराल राख्न शौचालय प्रयोग गरिएको पाइएको छ । अधिकांश नागरिक अहिले पनि खुला शौच गर्छन् । यहाँका करीब ७५ प्रतिशत मानिसले असुरक्षित पानी पिउने गरेको एक अध्ययनले देखाएको छ । दूषित पानीकै कारण धेरैजसो सरुवा रोग फैलिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।
नौ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा एक एमडीजिपी चिकित्सक र अरू मेडिकल अधिकृत मात्र छन् । पहिलेको भन्दा अहिले अस्पतालको मुहार फेरिएको छ । जाजरकोटमा एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ स्वास्थ्य केन्द्र छन् । भौगोलिक रूपमा निकै विकट रहेको जाजरकोटमा ७७ वडा छन् । सरकारले एक वडा एक स्वास्थ्य संस्था बनाउने नीतिगत निर्णय गरिसकेको भए पनि यहाँ ३५ स्वास्थ्य संस्था छन् भने बाँकी ४२ वडा स्वास्थ्य संस्थाविहीन रहेका छन् । भएका स्वास्थ्य संस्थामा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएको वर्षौँ भएको स्थानीयवासीको गुनासो छ ।
महामारी फैलिन नदिन जिल्लाका विभिन्न स्थानमा बफर स्टक औषधि राख्नुपर्ने र जिल्लामा स्वास्थ्यकर्मीको टास्क फोर्स (घुम्ती टोली) राख्नुपर्नेमा त्यो हुनसकेको छैन । तर स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति कृष्णबहादुर खत्रीले कार्यालय तयारी अवस्थामै रहेको दाबी गरेका छन् । उनले त्यसो भनेपनि दुई हप्ताअघि पठाएको औषधि बाटोमै म्याद गुर्जेको पाइएपछि निकै आलोचना भएको थियो । स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रमदेखि पूर्वतयारीका लागि औषधिको कुनै व्यवस्था नगरेको पाइएको छ । सञ्चारमाध्यममा सूचना दिएर जनताको सूचना पाउने अधिकार कुण्ठित गर्दै फेसबुकमा सूचना सम्प्रेषण गरेर दिन कटाउने गरेका स्थानीय तहका कर्मचारीले विकासे योजनाको अनुगमनसमेत आफैँ गर्दै आएका छन् ।
प्रतिकृया लेख्नुहोस्: