काठमाडौं । ग्यास बिक्री डिपोमा उपभोक्ताको भीड बढेको छ। ग्यास आयात घटेर वा अभाव सिर्जना भएर होइन, अनावश्यक अनुमान र हल्लाका कारण त्यस्तो भीड बढेको हो।
आजको नागरिक दैनिकमा खबर छ - नेपालमा मासिक करिब ३५ हजार टन ग्यास खपत हुन्छ। ‘मासिक ४० हजार टन ग्यास भारतबाट आयात भइरहेको छ,’ नेपाल आयल निगमले प्रस्ट रूपमा भनेको छ, ‘आयात रोकिएर अभाव हुने कुनै सम्भावना छैन।’
तर निगमको भनाइप्रति विश्वास गर्नुको सट्टा उपभोक्ता भारतबाट ग्यास आयात कम होला र चुलो बाल्न हम्मे पर्ला भन्दै घरमा सिलिन्डर थुपार्न थालेका छन्। यसले गर्दा ग्याँसमा कालोबजारी हुने सम्भावना बढेको छ।
अर्थशास्त्रको सिद्धान्तअनुसार माग र आपूर्तिमा आएको असन्तुलनले बजारमा प्रभाव पार्छ। तर कहिले व्यापारीको मिलेमतोको सिकार भएर त कहिले हल्लाको पछि लागेर उपभोक्ता दैनिक उपभोग्य सामग्री घरमा थुपार्न थाल्छन्।
त्यही बहानामा कालोबजारी मौलाउँछ। त्यस्तो अवस्थामा एकातिर उपभोक्ता ठगिन्छन् त अर्कातिर व्यापारीले फाइदा उठाउँछन्। ग्यास पछिल्लो उदाहरण मात्र हो।
विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अहिलेसम्म नेपालमा देखिएको छैन। तर पूर्वसतर्कता अपनाउन अनुरोध गर्दै चिकित्सकले मास्क लगाउन भनेका छन्।
सोही मौका छोपेर बिक्रेताले मास्क, सेनिटाइजर, पन्जाको मूल्यवृद्धि र कालोबजारी गरिरहेका छन्। १० रुपैयाँ मूल्य पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई चार सय ५० रुपैयाँसम्म लिने गरेको पाइएको छ।
शुक्रबार प्रिया ट्रेडर्सले एक सय १० रुपैयाँ पर्ने सेनिटाइजर तीन सय रुपैयाँमा बेचेको फेला पारेपछि महानगरीय प्रहरी वृत्त जनसेवा न्युरोडको टोलीले सञ्चालक अनिल गुप्तालाई नियन्त्रणमा लिएको छ।
खरिद महँगो भएपछि धेरै मूल्यमा बिक्री गर्नु स्वाभाविक भए पनि माग बढ्नासाथ व्यापारीहरू दोब्बर÷तेब्बर मूल्य लिएर सामान बिक्री गर्न थाल्छन्। कुनै वस्तुको बजार माग बढेपछि सामान अभाव भएको बहाना बनाएर उनीहरू चर्को मूल्य लिएर सामान बेच्न उद्यत हुन्छन्।
बजारमा अनावश्यक हल्ला चलाएर कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए। ‘व्यापारीले छिट्टै धेरै नाफा कमाउने बहाना खोजिरहेका हुन्छन्,’ उनले भने, ‘अहिले कोरोनाको बहानामा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने काम सुरु भएको छ।’
माग र आपूर्तिका आधारमा मूल्य घटबढ हुने भए पनि व्यापारीहरू अस्वाभाविक रूपमा वस्तुको भाउ बढाउँछन्। नेपालमा खुला बजारको सिद्धान्तविपरीत बजार सञ्चालन भएको छ। कतिपय वस्तुमा व्यापारीहरू मिलेमतोमा कार्टेलिङ गरेर सामानको मूल्य बढाउँछन्।
त्यसको उदाहरण अघिल्लो महिना कुखुराको मासुमा भएको अचाक्ली मूल्यवृद्धि हो। कुखुरा व्यापारीको मिलेमतोमा दुई सय ५० रुपैयाँ किलोको मासुको मूल्य चार सय २० रुपैयाँ पु¥याइएको थियो।
केही समयअघि चल्ला र अण्डा नष्ट पारी अभाव सिर्जना गरेर कुखुराको भाउ बढाइएको थियो। यस अर्थमा व्यापारीले आफैं बजार चक्र प्रभावित पारेर अभाव सिर्जना गरी कालोबजारी गर्दै आएका छन्।
चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनबाट लसुन आयात घट्नासाथ एक सय ३० रुपैयाँ किलोको लसुन मूल्य बढाएर सात सय ५० रुपैयाँसम्म पु¥याइयो। अहिले कुखुरा र लसुनको मूल्य घटेको छ।
प्रतिकृया लेख्नुहोस्: