ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–६ लेलेपका धार्के शेर्पा अधिकांश समय ग्याब्लाछेउको गोठमा हुन्छन्। चौरी र याक स्याहार्नमै व्यस्त हुने उनको सेकाथुमस्थित होटल भने छोरीहरु पेमाडेमा र पेम्बाफुटीले चलाउँछन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - छोरीहरुले होटल धानेका कारण उनले गोठ हेर्न पाएका छन्। कञ्चनजंघा हिमाल जाने पदमार्गमा पर्ने यहाँ स्वदेशी÷विदेशी पर्यटकको बाक्लै चहलपहल हुन्छ। होटल सञ्चालन र व्यवस्थापनको सम्पुर्ण जिम्मा दिदीबहिनीको छ।
‘पहिले आमा हुँदा आमाले गर्नुहुन्थ्यो, १० वर्षजति भयो हामीले थालेको,’ पेमोडेमाले भनिन्, ‘बुबालाई होटल र घर व्यवहारको बारेमा थाहै हुँदैन सबै हामी नै गर्छौं।’
कञ्चनजंघा पदमार्गकै आम्जिलेजाकी फुपुफुटी शेर्पाको दैनिकी पनि पाहुनाको स्वागत सत्कारमै बित्छ। ‘छिरिङकिपा होटल’ की सञ्चालक उनले होटलकै आम्दानीले घर व्यवहार र दुई छोराछोरीलाई काठमाडौमा राखेर पढाइरहेको बताईन्।
कञ्चनजंघा पदमार्ग र ओलाङचुङगोला क्षेत्रमा छ दर्जन हाराहारी होटल तथा होमस्टे छन्। त्यसमध्ये ९५ प्रतिशत बढीको मूली महिला रहेको सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा लामो समय काम गरेका सुदिप श्रेष्ठ बताउँछन्।
‘हाम्रै देशको अन्य ठाउँमा अझै पनि महिलाहरु पछि परेको, हरेक कामका लागि पुरुषमा निर्भर हुनुपर्ने अवस्था छ,’ श्रेष्ठले भने, ‘तर यो ठाउँमा महिलाको निर्णय सर्वोपरि हुन्छ।’ यहाँका अधिकांश पुरुषहरु ट्रेकिङ पेशामा हिड्ने र घर महिलाले धानेका हुन्छन्। घरमा पुरुष महिला दुवै भए पनि महिलाको निर्णय लागु हुने उनले सुनाए।
यो शेर्पा र भोटे समुदायको बाहुल्य क्षेत्र हो। पुरुषले महिलालाई हिंसा गरेको, दुव्र्यवहार गरेको कहिल्यै नसुनेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पूर्व कार्यालय सचिव तेञ्जिङ शेर्पाले बताए।
‘पुरुष र महिला बराबरी भन्ने नाराले सार्थकता पाएको ठाउँ यहि हो जस्तो लाग्छ,’ शेर्पाले भने, ‘पर्यटकले खाएको बसेको पैसा पुरुषलाई बुझाए भने पनि त्यो महिलाकै हातमा पुग्छ, फिर्ता गर्नुपर्ने भए महिलाले नै गर्छन्।’
घरबाहिरको काम गर्ने भए पनि पुरुषले निर्णय लिनुअघि र कहीँकतै जानुपरे महिलालाई सोध्ने सस्कार छ। शेर्पा समुदायमा यस्तो संस्कार पहिल्यैबाट रहेको पदमार्गकै जापानटारकी इटेन शर्पाले बताइन्। ‘हजुरआमा, आमा, सासूबाट मैले सिकेकी हुँ, सन्ततिले म बाट सिक्दैछन्,’ उनले भनिन्।
महिलालाई निर्णय प्रक्रियामा ल्याउन कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पनि भूमिका खेलेको छ। ‘हरेक गाउँमा आमा समूह छन्, उनिहरुको निर्णय गाउँमा लागु हुन्छ,’ कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बोले भने, ‘आमा समूहले वन संरक्षण, डढेलो नियन्त्रण लगायतमा पनि सघाउ पु¥याएका छन्।’
उपभोक्ता समुह, सभा सम्मेलनमा समेत पुरुषको तुलनामा महिलाको सहभागिता बढी हुने फक्तालुङ गाउँपालिका ६ का वडाध्यक्ष छ्वाङ शेर्पाले बताए।
प्रतिकृया लेख्नुहोस्: