काठमाडौं । कोरोना महामारीका कारण संसारभर सम्पर्क सञ्जाल विच्छेद भएपछि विमान कम्पनीहरू प्रत्यक्ष मारमा परेका छन् । धेरैजसो हवाई कम्पनी दुई महिनादेखि ठूलो घाटा व्यहोरिरहेका छन् । विमानस्थलको पार्किङ खर्च धान्न पनि उनीहरूलाई धौधौ छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - विश्वको एकचौथाइ जनसंख्या यति बेला लकडाउनमा छ । कोरोना महामारी साम्य भएर आममानिस विश्वस्त भई यात्रा गर्न अझै धेरै समय लाग्ने देखिन्छ। महामारीसँग जुझिरहेका मुलुकले बाह्य उडान मात्र होइन, आन्तरिकसमेत ठप्प बनाएका छन् ।
एयरलाइन्सहरूले सन् २०२० को जनवरीयता मात्रै २५२ अर्ब अमेरिकी डलर घाटा व्यहोरेको नयाँ प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात संघ ९आएटा० ले सार्वजनिक गरेको छ । आएटाले एयरलाइन्स कम्पनीको पुनःस्थापनामा लामो समय लाग्ने उल्लेख गरेको छ ।
आएटाका अनुसार मे महिनासम्म अहिलेकै अवस्था लम्बिरहेको खण्डमा विश्वका सबैजसो विमान कम्पनी टाट पल्टिने छन् । अमेरिकी हवाई सेवा कम्पनी अमेरिकन एयरलाइन्सले यसका कर्मचारीको रोजगारी संरक्षणका लागि भन्दै सरकारसँग १२ अर्ब डलर सहायता माग गरेको छ ।
संसारको सबैभन्दा ठूलो एयरलाइन्स कम्पनीले सरकारसँग सेप्टेम्बर ३० सम्म ६ अर्ब डलर अनुदान र बाँकी ६ अर्ब ऋणमा माग गरेको हो । अमेरिकी सरकारले २० खर्ब डलरको राहत प्याकेजमध्ये ५० अर्ब डलर एयरलाइन्स कम्पनीको उत्थानका लागि छुट्याएको छ । हवाई यातायातलाई प्राथमिकतामा राखेको अमेरिकाका सबै आन्तरिक विमान कम्पनीले कोरोना महामारी सुरु भएयता ठूलो घाटा व्यहोर्दै आएका छन् ।
त्यस्तै, ब्रिटिस एयरवेजले कर्मचारी निष्काशन गर्न बाध्य हुने बताएको छ । सीईओ एलेक्स कुर्जले ४५ हजार कामदारलाई ब्रिटिस एयरवेज बचाउन ठूलो दबाब उत्पन्न भएको उल्लेख गरेका छन् ।
त्यस्तै, जर्मनीको विमान कम्पनी लुफ्थान्साले दुईतिहाइभन्दा बढी उडान कटौती गरेको छ । यसका ८ सय विमान ग्राउन्डेड छन्। लुफ्थान्सा ग्रुपका कार्यकारी कास्र्तन स्पोरले अमेरिका, चीन, इजरायल, इरान तथा विभिन्न युरोपेली देशमा गरी ३० हजार उडान रद्द गरिएको बताएका छन् । अमेरिकामा मात्रै लुफ्थान्साका ७० दैनिक उडान थिए । त्यस्तै, एयर फ्रान्सले भर्खरै १।१ अर्ब पाउन्ड चक्रीय ऋणका रुपमा स्वीकार गरेको छ । यससँग अब जम्मा ५।५ अर्ब युरो मात्र कार्यशील पँुँजी छ ।
व्यावसायिक उडानमा ठूलो गिरावटका कारण पाकिस्तान इन्टरनेसनल एयरलाइन्स, स्पाइस जेट, नर्वे्जियन एयरलाइन्स, अमेरिकन एयरलाइन्स, स्काईवेस्ट, एयर एसिया, एसियन एयरलाइन्स, भर्जिन एसिस, कोरियन एयर, चाइना इस्टर्न र चाउन साउदर्नलगायतले सरकारबाट यथोचित सहयोग नपाए छिट्टै टाट उल्टेको घोषणा गर्न बाध्य हुने बताइएको छ ।
भारतमा २१ दिने लकडाउन सुरु भएयता उडान रद्द भएर धेरै एयरलाइन्स मारमा परेका छन्। भारतस्थित कापा–सेन्टर फर एभिएसनका अनुसार एयरलाइन्स उद्योग र यसमा आवद्ध सेवाले जुन ३० सम्म ३।३ अर्बदेखि ३।६ अर्ब डलर घाटा व्यहोर्ने अनुमान छ ।
ब्लुमबर्ग क्विन्टले उल्लेख गरेअनुसार स्पाइस जेट र इन्डिगोले मात्र क्रमशः १८ करोड ८० लाख डलर र ७३ करोड डलर घाटा खानेछन् । भारतीय विमान कम्पनीको उडानमा ५० प्रतिशतसम्म कमी आएको छ । जुन महिनासम्म यो अवस्था लम्बिए इन्डिगोलाई सेवा निरन्तरता दिन धेरै अप्ठेरो पर्नेछ ।
टाटा ग्रुपले सञ्चालनमा ल्याएका विस्तारा र एयर एसिया इन्डियालाई पनि गाभेर एउटै कम्पनी बनाउन सुझाइएको छ । भारतमा चालु आर्थिक वर्षभर सरकारको योजनाअनुसार सरकारी विमान सेवा कम्पनी एयर इन्डिया बेच्ने योजना थाती रहने भएको छ । यो अवधिमा एयर इन्डियाको सञ्चालनका लागि मात्र ३० करोड डलर आवश्यक पर्नेछ ।
प्रतिकृया लेख्नुहोस्: