काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेको अवस्थामा सघन उपचार कक्ष (आईसीयू) मा बिरामीलाई राखेर गरिने उपचारका लागि कति चिकित्सक र नर्स खटाउनुपर्ला ? अनुमान गर्नुहोस्। संक्रमितलाई अस्पतालमा राखेर उपचार गराउनुपर्ने अवस्थामा अहिलेसम्म स्वास्थ्य मन्त्रालयले २८ जना चिकित्सक र ३० जना नर्सलाई मात्र तालिम दिएको छ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - अहिले कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा स्थिर अवस्थामा रहेको छ। यसको रोकथाम र उपचारका लागि खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीले आधारभूत सामग्री र उपकरणको अभाव भोगिरहेका बेला संक्रमण बढे परिचालनका जनशक्ति अभाव हुने देखिएको छ।
भविष्यमा संक्रमित बढी पाइएको अवस्थामा ती जिल्लामा तालिमप्राप्त चिकित्सक र नर्सलाई लैजाने योजना छ। यो जनशक्ति अपर्याप्त रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। प्रादेशिक अस्पतालमा यिनै तालिमप्राप्त स्वास्थ्यकर्मीलाई खटाइनेछ।
अहिले संघीय सरकारले सातवटै प्रदेशमा सहसचिवको नेतृत्वमा तीन ÷तीन जना कर्मचारी खटाएको छ। क्वारेन्टाइनको अवस्था अनुगमन गर्ने, प्रयोगशालाको अवस्था र थ्रोट स्वाबको परीक्षण हेर्ने, कर्मचारी व्यवस्थापनलगायत कार्यको समन्वयका लागि खटिएका छन्। प्रदेशमा खटिएका एक सहसचिवका अनुसार कर्मचारी व्यवस्थापनको अवस्था कमजोर छ। ‘यदि कोरोना भाइरसको संक्रमण बढेको अवस्थामा उपचारमा खटिने दक्ष चिकित्सक र नर्सको अभाव खड्किने देखिन्छ’, ती सहसचिवले भने।
स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले मुलुुकका ७७ वटै जिल्ला अस्पतालमा चिकित्सकसहित नर्स र पारामेडिक्सलाई तालिम दिनुपर्ने बताए। उनले भने, ‘लकडाउन समयमै नगर्दा नौ जना संक्रमित भेटिए। चिकित्सक र नर्सलाई समयमै तालिम दिएर तयारी अवस्थामा नराख्दा महामारीको अवस्थामा अप्ठ्यारो हुन्छ।’
कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलियो र महामारीको रूपमा लिएको अवस्थामा चिकित्सकलगायत स्वास्थ्यकर्मी अभाव खड्किने देखिएको छ। पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगायत स्वास्थ्य सामग्रीसमेत पर्याप्त व्यवस्था नभएको अवस्थामा महामारी भए जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएको हो। डा. प्याकुरेलले भने, ‘प्रदेश तहमा गएर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टसहित चिकित्सक, नर्स र अहेवहरूलाई तालिम दिनुपर्छ।’ प्रादेशिक अस्पताल र जिल्ला अस्पताललगायत हरेक अस्पतालमा कम्तीमा ३ देखि ५ जनालाई तालिम दिनुपर्ने आवश्यकता रहेको उनले बताए।
संक्रमण बढेको अवस्थामा परिचालनका लागि स्वास्थ्यकर्मीको रोस्टर बनाइएको र आवश्यकताअनुसार परिचालन गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले केही चिकित्सक र नर्सलाई तालिम दिइएको बताए। उनले भने, ‘क्रिटिकल केयरसम्बन्धी तालिम दिएर विभिन्न अस्पतालमा तयारी अवस्थामा राखिएको छ। भोलि जुन ठाउँमा आवश्यक पर्छ। त्यहीअनुसार परिचालन गर्छौं।’ स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको उपचारका लागि संक्रमितलाई राखिने सघन उपचार कक्ष (आईसीयू) सम्बन्धी तालिम दिइएको महानिर्देशक श्रेष्ठले जानकारी दिए।
सेवा निवृत्तलाई आह्वान
सरकारले कोरोना भाइरस परीक्षण दायरा बढाए पनि तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था गर्न सकेको छैन। कोरोना भाइरसको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि जनशक्ति व्यवस्थापन गर्ने उद्देश्यले हाल सेवा बाहिर रहनुभएका र सेवा निवृत्त चिकित्सक एवं स्वास्थ्यकर्मीलाई स्वैच्छिक रूपमा आबद्ध हुन आह्वान गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङ कार्यक्रममा सेवा निवृत्त चिकित्सक र स्वास्थ्यकर्मीलाई आह्वान गरे।
सरकारी छात्रवृत्तिमा पढेका मेडिकल अधिकृत, वरिष्ठ चिकित्सकका साथै एमडी ÷एमएस तथा एमबीबीएस अध्ययनरतलाई परिचालन गर्न गत साता मन्त्रीस्तरीय निर्णय गरिएको थियो। ‘छात्रवृत्तिमा अध्ययनरत चिकित्सक परिचालन गर्न पनि निर्णय भएको छ। यसले जनशक्ति व्यवस्थापनमा ठूलो मद्दत पुग्ने विश्वास लिएका छौं’, उनले भने।
प्रतिकृया लेख्नुहोस्: