बैतडी । एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेर नेपाल फर्केकाहरु निकै खुशी भएका छन् । लामो समय भारतीय क्वारेन्टाइनमा बसेकाहरु स्वदेश फर्केपछि आफूहरुलाई सजिलो भएको उनीहरुले बताएका छन् । कोरोनाको त्रासका बीच जन्मभूमिमा आउन पाउँदा निकै खुशी लागेको बैतडीको पुर्चौंडी नगरपालिका–८ का उत्तम बोहराले बताए। “विदेशी भूमिको क्वारेन्टाइनमा बस्न निकै समस्या भएका बेला स्वदेश फर्कन पाउँदा हर्षित छौँ”, उनले भने, “विपत्तिका बेला स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको छ ।”
भारत र नेपाल दुवै देशमा लकडाउन भएपछि भारतीय सीमा क्षेत्रमा हजारौँ नेपाली भारतीय क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई बिहीबार मात्रै स्वदेश फर्काइएको हो । स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको डिलाशैनी गाउँपालिका–६ का रमेशराम ओडले बताए । मातृभूमिमा पाइला टेक्न पाउँदा निकै खुशी लागेको भन्दै आफूहरुलाई स्वदेश ल्याउन पहल गर्ने सबैलाई उहाँले धन्यवादसमेत व्यक्त गरेका छन् । भारतीय क्वारेन्टाइनबाट स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको बैतडीको पुर्चौैंडी नगरपालिका–८ का वीरेन्द्र पाठकले बताए । उनले भने, “विदेशी भूमिमा बस्नुभन्दा स्वदेशको क्वारेन्टाइनमा बस्नु धेरै राम्रो भएको छ ।”
झुलाघाट नाकाबाट र धारचुला नाकाबाट फर्केका नेपालीलाई सम्बन्धित स्थानीय तहहरुले क्वारेन्टाइनमा राखेका छन् । झुलाघाट नाकाबाट मात्रै बैतडीका ७९० जना फर्किएका थिए । झुलाघाट नाकापारि गत चैत १५ गतेदेखि नेपाली मजदुर बसेका थिए ।
आरडिटी कीटको अभाव
बैतडीमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किटको अभाव भएको छ । जिल्लामा भारतबाट फर्केका सबै नागरिकको आरडिटी गर्ने भनिए पनि किटको अभावमा सो कार्य अघि बढाउन नसकिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय भएको भए पनि किटको अभावमा सो कार्य अघि बढाउन नसकिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । डिलाशैनी र दोगडाकेदार गाउँपालिकामा मात्रै भारतबाट फर्केका नागरिकको आरडिटी गर्न किट पठाइएको छ । जिल्लामा हाल ६०० किट मात्रै मौज्दात रहेका उनले बताए।
जिल्लामा चैत महिनामा झण्डै पाँच हजार नागरिक भारतबाट फर्केका भए पनि ५४८ को आरडिटी गरिएको छ । यस्तै ४३० को स्वाब परीक्षण गरिएको थियो । अहिलेसम्म परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसका साथै गत बिहीबार मात्रै भारतबाट बैतडीका एक हजार बढी नागरिक भित्र्याइएको थियो ।
जिल्लामा आरडिटी किटको अभाव भएकाले प्रदेशमा माग गरिएको भए पनि प्रदेशमा समेत आरडिटी किटको अभाव रहेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण योजनाअन्तर्गत जिल्ला संयन्त्रको बैठकले भारतबाट फर्केका नागरिकको आरडिटी गर्ने निर्णय गरेको थियो तर किटको अभावमा सो निर्णय कार्यान्वयनमा समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: