काठमाडौं । विश्व बैंकले सहुलियत ब्याजदरमा नेपाललाई ४५ करोड अमेरिकी डलर ऋण दिने भएको छ । बिहीबारको विनिमय दरअनुसार यो ऋण करिब ५४ अर्ब २८ करोड रुपैयाँ हुनेछ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - विश्व बैंकले बुधबार गरेको निर्णयअनुसार सहयोग रकम रणनीतिक महत्वका सडक कालोपत्रे, स्तरोन्नति, सुधार र सडक सुरक्षा गरी मुख्य ४ योजनामा खर्च गरिने छ । पहिलो, देशभर कालोपत्रे गरेको ३० वर्ष नाघिसकेका १ हजार ८ सय किलोमिटर सडक ‘ओभर ले’ (कालोपत्रेमाथि कालोपत्रे) गरिनेछ । दोस्रो, पूर्व–पश्चिम राजमार्गअन्तर्गत १ सय ३० किलोमिटर लम्बाइको २ लेनको कमला–ढल्केबर–पथलैया खण्ड ४ लेनमा स्तरोन्नति गरिनेछ ।
तेस्रो, कुल ९५ किलोमिटर लम्बाइको नागढुंगा–नौबिसे–मुग्लिङ सडकलाई डेडिकेटेड २ लेनमा स्तरोन्नति र सुधार गरिनेछ । बजार क्षेत्रमा ४ लेन र करिब ३५ किलोमिटर ३ लेन बनाइने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।
यस सडकखण्डमा २२ नयाँ पुल थपेर सुधार गरिनेछ । चौथो, सडक सुरक्षामा खर्च गरिनेछ ।
नेपालमा ६ वर्षसम्म कार्यान्वयनमा रहने यस सहायताको ब्याजदर १ प्रतिशत रहेको छ । विश्व बैंकले सहायता दिने निर्णय गरे पनि अझै अर्थ मन्त्रालयले सम्झौतामा हस्ताक्षर गरिसकेको छैन । दुवै पक्षबीच सम्झौतामा हस्ताक्षर भएपछि आवश्यक कार्यान्वयनलाई अघि बढाउने सडक विभागको तयारी छ । आयोजनामा अपुग हुने रकम नेपाल सरकारले हाल्नेछ ।
विश्व बैंकको सहुलियत ऋण सहायताले कोभिड–१९ पछि अन्तरदेशीय व्यापार, रोजगारी सिर्जना र सुरक्षित सडकमार्फत आर्थिक पुनर्जागरण ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । ‘यस सहयोगले नेपालका सडक सुरक्षित बनाउन र धेरै नागरिकलाई यात्रा, सामान ढुवानी गर्न, रोजगारी सिर्जना गर्न र स्थानीय सेवा तथा वस्तुको बजारीकरणमा सहयोग पुग्नेछ,’ विश्व बैंकका नेपाल प्रतिनिधि फारिस हदाद जेर्भोसले भने ।
नागढुंगा–नौबिसे–मुग्लिङ र कमला–ढल्केबर–पथलैया खण्ड स्तरोन्नति र सुधारले क्षेत्रीय अन्तरआबद्धता वृद्धि गर्न र व्यापारमा सुधार ल्याउन सहयोग पुग्नेछ । यी सडकले विशेष गरी भारतसँगको व्यापारमा महत्वपूर्ण भूमिका खेल्ने छन् । कृषि उत्पादनको निर्यातमा सुधार ल्याउनेछ । आयोजना सम्पन्न भएपछि सामानको आयात–निर्यातलाई न्यूनतम समय र लागतमा सम्भव बनाउन सकिने विश्व बैंकका वरिष्ठ यातायातविज्ञ कुमार ताडिमल्लाको भनाइ छ ।
कमला–ढल्केबर–पथलैया खण्डलाई ४ लेनमा स्तरोन्नति
विश्व बैंकले गरेको ऋण सहायताको रकम पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–पथलैया खण्डको १ सय ३० किलोमिटर सडकलाई स्तरोन्नति गरिनेछ । अहिले २ लेनको सडकलाई स्तरोन्नति गरी ४ लेनको बनाइनेछ ।
विश्व बैंकले सम्भाव्यता अध्ययन सम्पन्न गरिसकेको छ । चार लेनमा स्तरोन्नति गर्ने विस्तृत अध्ययन गर्न बाँकी छ । यस सडकखण्डमा ७६ नयाँ पुल निर्माण गरिने छ । यसको लागत ४५ अर्ब रुपैयाँ छ ।
सडक विभागको प्रस्तावमा विश्व बैंकले कमला–ढल्केबर–पथलैया खण्डमा सहुलियत ऋण लगानी गर्ने निर्णय गरेको हो । ५० वर्षअघि निर्माण भएको पूर्व–पश्चिम राजमार्गको कुल लम्बाइ १ हजार २८ किलोमिटर छ । सुरुमा एक लेनको यो सडक सन् १९९८ देखि २००५ सम्मको अवधिमा २ लेनमा स्तरोन्नति गरिएको थियो । अहिले सबै खण्डलाई ४ लेनमा स्तरोन्नति गर्ने काम भइरहेको छ ।
नागढुंगा–नौबिसे–मुग्लिङ सडक २२ नयाँ पुल र डेडिकेटेड २ लेनमा स्तरोन्नति
विश्व बैंकको ऋण सहायताले त्रिभुवन राजपथअन्तर्गत नागढुंगादेखि–नौबिसेसम्मको १२ दशमलव ७ किलोमिटर र पृथ्वी राजमार्गअन्तर्गत नौबिसेदेखि–मुग्लिङसम्मको ८२ दशमलव ४ किलोमिटर गरी कुल ९५ किलोमिटर सडकखण्डलाई सुधार गर्नका लागि खर्च गरिनेछ ।
यसलाई नागढुंगा–नौबिसे–मुग्लिङ सडकखण्ड नाम दिइएको छ । यस आयोजनामा लाग्ने लागत अझै निश्चित भइसकेको छैन । तर, करिब १३ अर्ब रुपैयाँ खर्च हुने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट
२ लेन रहेको यस सडकखण्डलाई अब स्टान्डर्ड २ लेनमा रूपान्तरण गरिनेछ ।
त्यस्तै, मोडलाई सुधार गरिने, अहिले २५ वटा पुल रहेकामा २२ वटा पुल थपिनेछ । बाइपासको निर्माण गरी बजार क्षेत्रमा ४ लेनको सडक बनाउने तयारी छ । यसअघि समानान्तर नयाँ सडक निर्माण गर्ने योजनालाई भने अहिले स्थगित गरिएको सडक विभागको भनाइ छ ।
चालू आर्थिक वर्ष ०७६र७७ भित्र नै खरिद प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि अझै सुरु भएको छैन । अब प्रक्रिया अघि बढाउने तयारीमा रहेको विकास सहायता कार्यान्वयन महाशाखाका थापाले बताए ।
सडक सुरक्षा कार्यक्रम
विश्व बैंकले दिने ऋणमा सडक सुरक्षाका लागि पनि खर्च गरिनेछ । देशभरबाट छनोट गरेर कुनै एक सडकमा नमुना सडक सुरक्षासम्बन्धी कार्यक्रम कार्यान्वयन गरिनेछ । त्यस्तै, सडक सुधारअन्तर्गत सडक सुरक्षालाई प्राथमिकता दिइनेछ भने सडक सुरक्षासम्बन्धी संकेतका साथै गति सीमाका चिह्नहरूलाई जडान गरिनेछ ।
१ हजार ८ सय किलोमिटर सडक ’ओभर ले’
सडक विभागका अनुसार देशभर कालोपत्रे गरेको लामो समय बितेको र नयाँ कालोपत्रे गर्न आवश्यक भइसकेका १ हजार ८ सय किलोमिटर सडकमा ‘ओभर ले’ गरिनेछ । यसका लागि देशभरका ठाउँको पहिचान भइसकेको छ । यस आयोजनाअन्तर्गत १२ अर्ब रुपैयाँ खर्च गरिनेछ । यसले कालोपत्रे गरेको लामो समय भइसकेका सडकलाई पुनः बिग्रिनबाट बचाउनेछ ।
प्रतिकृया लेख्नुहोस्: