महोत्तरी । साउन महिनामा श्रद्धालु भक्तजनको भीड छिचोल्न हम्मेहम्मे पर्ने महोत्तरीका शिवालय यसपालि सुनसान छन् । कोभिड–१९ सङ्क्रमणको जोखिम कायम नै रहेको हुँदा यसपालि शिवालय सुनसान बनेका हुन् ।
चन्द्रमास वा सौर्यमासले साउन सुरु हुनासाथ शिवालय सुरु हुने दर्शनार्थीको चाप यसपालि यहाँका शिवालयमा देखिएको छैन । “चन्द्रमासको गणनाले त एकपक्ष (साउन कृष्णपक्ष) सकिनै लाग्दासम्म यहाँ मान्छेको खासै चालचोल नै छैन”, बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्री टुटेश्वरनाथ महादेव मन्दिर नजीककै बस्तीका बुद्धि काफ्लेले भने, “सार्वजनिक यातायात खुलेका छैनन्, प्रशासनले पनि साउने मेला नलगाउन र भीडभाड नगर्न आदेश नै जारी गरेपछि यसपालि साउने मेलाको चहलपहल नभएको हो ।”
जिल्लाका टुटेश्वरसहित जलेश्वरस्थित श्री जलेश्वरनाथ, भङ्गाहा–५ सिद्धपुरस्थित सिद्धनाथ र सोनमाको मगरथानास्थित श्री मङ्गलनाथ महादेव मन्दिर साउने मेलाको ठूलो जमघट हुँदै आएका धार्मिकस्थल मानिन्छन् । यसपालि भने चन्द्रमासले साउन लाग्न एक दिनपूर्व नै गत असार २१ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीले साउने मेला लाग्न नहुने र कतै भीडभाड गर्न नपाइने आदेश नै जारी गरेको थियो ।
यहाँका शिवालयहरुमा भारतीय दर्शनार्थीको चाप निकै हुने विगतको परम्परा रही आएको थियो । भीड हुनसक्ने अनुमान गरेर चन्द्रमासले साउन लाग्न एक दिनपूर्व नै सार्वजनिक महत्वको आदेश जारी गरेर मेला र भीडभाड लाग्न नदिन सतर्कता अपनाइएको प्रशासनले जनाएको छ । “यहाँ विगतदेखि साउने मेलाको निकै ठूलो चहलपहल हुँदै आएको रहेछ”, प्रजिअ कृष्णबहादुर कटुवालले बताए, “अहिले कोभिड–१९ सङ्क्रमणको जोखिम छ, त्यसैले भीडभाड हुन नदिन मेला आयोजन नगर्न आदेश जारी गरिएको हो ।”
चन्द्रमासले एकपक्ष सकिनै लागेको र सौरमासले पनि साउन सुरु भइसकेको छ । मिथिलामा साउनको पनि सोमबार शिवजीको अति प्रिय दिन भएको विश्वास गरिन्छ । प्रदेश–२ का आठवटै जिल्लाको दक्षिणी सीमा भारतसँग खुला भएको हुँदा दुवै तर्फका शिवालयहरुमा भक्तजनको दोहोरो बाक्लो ओहोर–दोहोर हुँदै आएको छ । तर यसपालि दक्षिण तर्फको भारतको विहारमा लकडाउन जारी रहेको र यता पनि सार्वजनिक यातायात सबै खुली नसकेका हुँदा शिवालयहरुमा भीड नहुन स्थानीय प्रशासनको आदेश पालनामा सहज भएको देखिन्छ ।
हिन्दू धर्म परम्पराको साउने मेलामात्र नभएर इस्लाम धर्मावलम्बीले पनि यसपालि कोभिड–१९ का कारणले गत वैशाखमा मुख्य पर्व रमजान महिनाभरिको रोजा र इद–उल–फित्र घरघरै नमाज (प्रार्थना)गरेर मनाएका थिए ।
प्रतिकृया लेख्नुहोस्: