महोत्तरी । पाउदेखि कम्मरसम्म घाउ नै घाउ छ । घाउ पिलिएर सहिसक्नु छैन । उपचार गर्न मन छ तर खर्च छैन। यस्तै पीडाले छटपटाइरहेकी छन्, १६ वर्षीया मञ्जुकुमारी ठाकुर । लाउँलाउँ, खाउँखाउँ भन्ने उमेरमा मञ्जु तीन वर्षदेखि ओछ्यानमै थला परेर बसेकी छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - उनी कसरी यो हालतमा पुगिन् त ? घटना तीन वर्षअघिको हो । जलेश्वर नगरपालिका–१२ नैनहीकी मञ्जु १३ वर्षकी थिइन् । उनी मामाघर गइन् । दीपावलीको उल्लास थियो । घर लिप्ने माटो लिन मामासँगै बाहिर गएकी थिइन् । माटो खन्दाखन्दै ढिस्को खस्यो । कम्मरमुनिको भाग तल पुर्यो, ढिस्कोमाथि। मामासहितले मञ्जुलाई तानेर उद्धार गर्दा कम्मर खुस्कियो ।
मञ्जुको उपचार जनकपुरमा गरियो । उनका बुवाले सुरसण्ड लगेर थप उपचार गर्ने भनेर अस्पतालबाट ल्याए । ‘उपचार गराउने रुपैयाँ साथमा भएन । घरको खाटमा सुताएर राखेको पनि तीन वर्ष बित्यो’, आमा शैलकुमारी देवीले भनिन्, ‘दैयाँ गें दैयाँ–बेटीके डाँर कि सरकलै जिन्दगी जुलुम भगलै ।’
मञ्जु उभिन सक्दिनन् । पैताला, कुर्कुच्चा, गोडा, पिडँुला, घुँडा, तिघ्रा, कम्मर सुनिएर चल्दैनन् । यी अंगका रङ घाउको असरले कालो भएको छ । घाउमा पिप भरिएर गन्हाउँछ, झिंगा भन्किन्छ । उनका छेउ कोही पर्दैनन् । पीडा महसुस गर्नेको छाती भतभती पोल्छ, नबुझ्नेले छिःछिः दूरदूर गर्छन् ।
उनका बुवा शिवजी ठाकुर छोरीको उपचार गर्न लाग्नुको साटो उल्टै धारेहात लगाउँछन् । ‘तँ मरी जा, जिन्दगीभरिको बोझ भइस् । तँलाई कमाएर सुताई–सुताई कसले खुवाउँछ’ भनेर वचन लगाउँछन् । बुवाको बोलीले मञ्जुको मुटुमा सियो घोपेझैं हुन्छ । तब आफूले फेरिरहेको सास नै आफूलाई बोझ लाग्दो रहेछ ।
‘मेरा लागि कोही भगवान् हुनुहुन्छ भने मलाई उपचार गराइदिनुस् । कसैको बोझ बन्न पटक्कै मन छैन’, मञ्जुले दशऔंला जोड्दै भनिन्, ‘निको भएर आफैं कमाएर खाने मन छ ।’
मञ्जुकी एक मात्र सहारा भनकै आमा हुन् । तर, छोरीको पीडामा मलमपट्टी गर्न उनीसँग कुनै विकल्प छैन ।
मञ्जु ओछ्यानमै दिसापिसाब गर्छिन् । त्यसको व्यवस्थापन आमाले गर्छिन् । नुहाउन त झनै गाह्रो हुन्छ । महिनावारीका बेला असह्य पीडा हुन्छ । ‘गाउँमा भाडा माझेर छोरीलाई खुवाउँछु । धनदौलत कहींकतै छैन’, शैलकुमारीले भनिन्, ‘उपचार कहाँबाट गराउने ? छाक जुटाउनै धौधौ हुन्छ ।’
शैलकुमारीका श्रीमान् फर्निचरको काम गर्छन् । ‘दुई पैसा भएको कमाइ पनि आफ्नै पेटमा धोक्छन्’, उनले दुःखेसो पोखिन् । उल्टै प्रत्येक साँझ रक्सीको मातमा अबेर राति दैलो टेक्छन् । ‘भात दे’ भनेर श्रीमतीलाई थर्काउँदा रहेछन् । ‘घरमा चामल, दाल भए पो खाना पकाउने भन्दा छोरी र मलाई तथानाम गाली गर्छन्’, शैलकुमारीले पीडा पोखिन्, ‘किन गाली गरेको भन्दा ओछ्यानमा सुतेकी छोरी र मलाई कुट्न पनि पछि पर्दैनन् ।’
उनीहरूको घर महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरभन्दा ७–८ किलोमिटर पश्चिममा पर्छ । थरुवाहीभन्दा अलिक दक्षिण गएर नैनही गाउँ पुग्न सकिन्छ । मूल सडकबाट दुई सय मिटर भित्र गल्ली भएर उनीहरूको दैलोमा पुगिन्छ । फुसको छानो, अर्ध पक्की घर रहेछ । गाउँको सडक पक्की नै छ ।
‘शिवजी ठाकुरको घर कुन हो ? ’ प्रश्नमा नैनही गाउँका एक वृद्धले हातले मञ्जुको घर देखाउँदै भने, ‘ऊ त्यही घर हो, खपराले छाएको ।’ घरनजिकै पुग्दा मञ्जु झ्यालबाट बाहिर चिहाउँदै थिइन् । को होलान् भन्ने भावमा टोलीतिर नै नजर लगाइन् । उनको नजरमाथि हाम्रो क्यामेराको लेन्स फोकस भयो । मञ्जुको एक तस्बिर क्लिक गर्यौं ।
गाउँमा पुग्ने, हिँड्नेलाई झ्यालबाट हेरेर उनी चित्त बुझाउँछिन् । झ्यालबाट सडकतिर आँखा डुलाएर दिनमा व्यथा भुल्छिन् । तर, रात परेपछि घाउ दुखेर छटपटी हुन्छ । उनी सुत्न सक्दिनन् । आँखा रसाउँछ । अरूले गर्ने हेला र तिस्कारले मन पोल्छ । बुवाकै अर्घेल्याइँले उनी प्रताडित छिन् ।
प्रतिकृया लेख्नुहोस्: