काठमाडौं । राजधानी काठमाडौंमा बिहीबार सम्झाँझै एक युवतीमाथि एसिड प्रहार भएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - होटेल हायातको क्यासिनोमा काम गर्ने ओलखढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि सोल्टी दोबाटोस्थित दिदीको कोठानजिकै एसिड प्रहार भएको हो । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
पवित्रा साँझ ६ बजेतिर दही किन्न दिदीको कोठाबाट निस्केकी थिइन् । सीतापाइलास्थित सेल्सबेरीबाट दही किनेर फर्किंदै गर्दा पौने सात बजेतिर कोठानजिक उभिएको अपरिचित व्यक्तिले उनीमाथि एसिड छ्यापेको हो । एसिडले पोलेपछि उनी चिच्याउँदै दौडेर कोठा पुगेकी थिइन् । पवित्राको दायाँ भागको कपाल, गाला र घाँटीको केही भागमा एसिड परेको छ ।
बहिनीमाथि एसिड आक्रमण भएको थाहा पाएपछि दिदी सुनिताले छिमेकीलाई गुहारेर पवित्रालाई तत्काल मनमोहन मेमोरियल अस्पताल लिएर गइन् । मनमोहनले कीर्तिपुर अस्पताल रेफर गर्यो । त्यहाँ पुग्दा साढे ९ बजिसकेको थियो ।
‘दही ल्याउन गएकी बहिनी चिच्याउँदै दौडेर फर्किइन् । एसिडबाट दायाँ साइड डढेको थियो । उसको अवस्था देखेर मसमेत चिच्याएँ, छिमेकीलाई गुहारेर अस्पताल पुर्याएँ,’ कीर्तिपुर अस्पतालमा सुनिताले भनिन् ।
सुनिताका अनुसार सेल्सबेरीबाट दही किनेर फर्किंदै गर्दा पवित्रालाई आधा बाटोसम्म चिनेकै एक व्यक्तिले मोटरसाइकलमा पुर्याई दिएको थियो । ‘त्यसपछि हिंडेर आउँदै गर्दा कोठा नजिकै बाटो छेउमा उभिएको मान्छेले अचानक एसिड हान्यो,’ पवित्राको भनाइ उद्धृत गर्दै सुनिताले भनिन् । पवित्राले सुनिता र प्रहरीलाई बताएअनुसार एसिड हान्ने व्यक्तिलाई उनले यसअघि कहिल्यै देखेकी थिइनन् ।
पवित्राले एसिड प्रहार गर्ने व्यक्तिले मास्क लगाएको र आफूले नचिनेको जानकारी प्रहरीलाई दिएकी छिन् । आक्रमणकारी युवक सिसी क्यामेरामा देखिएको र उसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ओखलढुंगाको चम्पादेवी गाउँपालिका घर भएकी २२ वर्षीया पवित्रा बानेश्वरमा दाइ–भाउजूसँग बस्थिन् । लकडाउनमा दाइ–भाउजू गाउँ गएपछि कोठामा एक्लै भएकाले उनी एक महिनादेखि दिदीको कोठामा बस्दै आएकी थिइन् ।
बहिनीलाई अस्पताल ल्याए पनि सुनितासँग उपचारका लागि पैसा छैन । ‘१० हजार डिपोजिट गर्न भनेको छ,’ साना दुई सन्तानलाई छिमेकीको भरमा छाडेर बहिनीको उपचारमा रहेकी सुनिताले भनिन्, ‘मसँग जम्मा एक हजार रुपैयाँ छ । कसरी उपचार गर्ने हो ?’
उनलाई एकातिर बहिनीको चिन्ता छ भने अर्कोतिर नाबालक छोराछोरीको । ‘१३ वर्षकी छोरी छ । अपराधीहरूले उसलाई पनि यस्तै गर्छन् कि ?’ सुनिताको मनमा चिसो पसेको छ, ‘म पनि एक्लै छुँ । श्रीमान् बाहिर हुनुहुन्छ । हामीलाई पनि केही हुने हो कि ?’
छोरीमाथि एसिड आक्रमण भएको सुनेपछि गाउँमा रहेका आमा, बुबा र दाजु–भाउजू पनि चिन्तामा परेका छन् । ‘गाउँबाट बा, आमाले फोन गरिरहनु भएको छ । आमा त झन् बिरामी हुनुहुन्छ । अब कसरी सम्झाउने मैले ?’ सुनिताले भनिन् ।
एसिड आक्रमण गर्ने व्यक्ति अपरिचित भएकाले परिचित व्यक्तिले नै आक्रमण गर्न लगाएको हुन सक्ने आशंका सुनिताको छ । ‘एसिड हान्ने मान्छे नचिनेको थियो भनेपछि चिनेकै मान्छेले हान्न लगाएको हुनुपर्छ,’ उनले भनिन् ।
उपचार गर्न पैसा पनि छैन : सुनिता थापा, पवित्राकी दिदी
सिमसिम पानी परिरहेको थियो । म खाना बनाउने तयारी गर्दै थिएँ । बहिनीले दिदी दही खाने भनेर सोधी । मैले पनि हुन्छ भनेँ । त्यसपछि ६ बजेतिर ऊ ‘जुजुधौ किनेर ल्याउँछु’ भन्दै कोठाबाट बाहिर निस्की । म खाना पकाउँदै थिएँ, ७ बज्नै लाग्दा त बहिनी चिच्याउँदै दौडिएर कोठमा आई ।
कोठानजिकै पुग्दा उसमाथि नचिनेको व्यक्तिले एसिड छ्यापेको रहेछ । जसले उसको दायाँ साइडको कपाल, गाला र घाँटी जलेको थियो । मैले त हेर्न पनि सकिनँ । बहिनीको अवस्था देखेर म नै चिच्याएँ छु, होसै उड्यो । तत्काल छिमेकी र तल्लो–माथिल्लो फ्ल्याटमा बस्नेहरूलाई बोलाएर मोटरसाइकलमा राखेर बहिनीलाई मनमोहन अस्पताल लिएर गयौं ।
मनमोहनले कीर्तिपुर अस्पताल रेफर गर्यो । एम्बुलेन्समा राखेर बहिनीलाई कीर्तिपुर ल्यायौँ । बहिनीका अनुसार सेल्सबेरीबाट दही किनेर फर्किंदै गर्दा एक जना चिनेको दाइले आधाबाटोसम्म मोटरसाइकलमा पुर्याई दियो । मोटरसाइकलबाट झरेर थोरै हिँडेपछि बाटो किनारमा अनुहार नदेखिने गरी एउटा मान्छे उभिएको देखी । त्यसैले एसिड छ्यापेको बहिनीले बताएकी छ । त्यो मान्छेलाई बहिनीले चिनेकी छैन । चिनेकै मान्छेले एसिड हान्न लगाएको हुनुपर्छ ।
यहाँ अस्पतालले १० हजार रुपैयाँ जम्मा गर्न भनेको छ । आफूसँग एक हजार रुपैयाँ मात्र थियो, त्यही लिएर आएँ । ५–६ सय रुपैयाँ त सकिइसक्यो । खाना पनि खाएकी छैन । भोलिपर्सि फेरि पैसा लाग्ने होला, कसरी तिर्ने हो थाहा छैन । म ब्युटिपार्लरमा काम गर्थें । लकडाउन भएदेखि काम नभएर तलब पनि पाएको छैन ।
बहिनी हायात होटेलको क्यासिनोमा काम गर्थी । अहिले बन्द भएर उसले पनि तलब पाएकी छैन । उता गाउँमा बुबाआमा पनि चिन्तामा पर्नुभएको छ । आमा त झन् बिरामी हुनुहुन्छ । उहाँहरू फोन गरेको गर्यै हुनुुहुन्छ अब मैले के भन्नु ?
बहिनी अत्तालिँदै आएपछि पकाइरहेको खाना छाडेर म अस्पताल दौडिएँ । एउटा छोरा र १३ वर्षकी छोरीलाई छिमेकीको कोठामा छाडेर आएकी छु । हामी चार दिदी–बहिनी छौँ । हामी र हाम्रो छोरीलाई पनि केही हुन्छ कि भन्ने डर लाग्न थालेको छ । म त एक्लै बस्छु, श्रीमान् पनि बाहिर हुनुहुन्छ । प्रहरीले त्यो एसिड हान्नेलाई छिटो समात्नु पर्छ ।
प्रतिकृया लेख्नुहोस्: