काठमाडौं । देशभर कोरोना संक्रमण भयावह रूपमा बढ्दै जाँदा सूचकहरू पनि खराब हुँदै गएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय संक्रमित र मृत्युदर बढेको छ भने संक्रमित निको हुने दर घट्दो छ । सरकारले परीक्षण भने बढाएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - गत १५ साउनमा संक्रमणबाट मुक्त हुने अर्थात् उपचारपछि निको हुने दर ७२.९ प्रतिशत थियो । त्यस दिन पिसिआर परीक्षण गरिएकामा संक्रमण देखिने दर ५.१ प्रतिशत थियो । त्यस्तै, संक्रमितमध्ये मृत्यु ०.३ प्रतिशत मात्र थियो । प्रतिदश लाख संक्रमितमा मृत्युदर १.८ मात्रै थियो ।
१५ साउनमा तीन हजार ६ सय चार नमुना परीक्षण गरिएका थिए । त्यसमध्ये दुई सय ७४ जनामा संक्रमण देखिएको थियो । त्यस दिन दुई सय २७ संक्रमित निको भएर घर फर्किएका थिए भने तीनजनाको मृत्यु भएको थियो ।
तर, अहिले ती सबै सूचक ओरालो लागेका छन् । मंगलबारसम्म देशभर देखिएका २८ हजार दुई सय ५७ संक्रमितमध्ये १७ हजार पाँच सय ८० निको भएका छन् । यो दर ६२.२ प्रतिशत हो । जुन, १५ साउनको भन्दा ११ प्रतिशतले कम हो ।
त्यस्तै, मंगलबारसम्म मृतकको संख्या एक सय १४ पुगेको छ, यो ०.४ प्रतिशत हो । मृत्युदर प्रतिदश लाखमा ३.९ पुगेको छ । जब कि १५ साउनमा यो दर १.८ मात्रै थियो । त्यस्तै, संक्रमण दर ५.२ प्रतिशत पुगेको छ । सक्रिय केसको संख्या १० हजार पाँच सय ६३ अर्थात् ३७.४ प्रतिशत छ ।
मंगलबारसम्म देखिएका १० हजार पाँच सय ६३ सक्रिय संक्रमितमध्ये दुई हजार आठ सय ८७ जना अस्पतालमा बेड नपाएपछि घरमै बसेका छन् । आइसियूमा बस्नेको संख्या एक सय २६ पुगेको छ । तीमध्ये आठजना भेन्टिलेटरमा छन् । सोमबारसम्म आइसियूमा उपचाररत संक्रमितको संख्या एक सय एक मात्रै थियो, भेन्टिलेटरमा ६ जना मात्रै थिए ।
पछिल्लो २४ घन्टामा सातजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरू काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र तनहुँका हुन् ।
टेकु अस्पतालका प्रमुख डा. सागर राजभण्डारीलाई ३ प्रश्न
मंगलबार एकै दिन एक हजार १६ संक्रमित पुष्टि भएका छन्, यो अहिलेसम्मको सबैभन्दा ठूलो तथ्यांक हो । यसले नेपालमा संक्रमण कुन अवस्थामा पुगेको छ भन्ने देखाउँछ ?
कोरोना भाइरसको संक्रमण नेपालमा अहिले समुदायस्तरमा पुगेको छ । स्थानीय संक्रमणभन्दा एक स्टेपमाथि सामुदायिक संक्रमणको चरणमा पुगेको बुझिन्छ । यति भन्दै गर्दा पनि हामी नियन्त्रण गर्न सकिने अवस्थाभन्दा बाहिर पुगिसकेको भन्न मिल्दैन । चौथो चरणमा पुग्न अझै बाँकी छ । सरकारले गम्भीरताका साथ लिएमा कोभिड नियन्त्रण गर्न सम्भव छ ।
तर, विगतमा जस्तो नाम मात्रैको लकडाउनले कोभिड नियन्त्रणमा अर्थ राख्दैन । कफ्र्यु लगाएर जमघटलाई रोक्नुपर्छ । अहिले जो मान्छे जहाँ छन्, १५ दिनसम्म त्यहाँबाट दायाँ–बायाँ गर्न नदिने हो भने कोभिड धेरै हदसम्म नियन्त्रणमा आउँछ । किनकि १५ दिनमा भाइरस स्वतः निष्क्रिय हुन्छ ।
जो संक्रमित छन् उनीहरूलाई १५ दिनसम्म हिँडडुल गर्न नदिने हो भने त्यसपछि उनीहरूबाट अरूलाई सर्दैन । यति ठूलो महामारी रोक्न १५ लिन पूर्ण बन्द गर्नु ठूलो विषय पनि होइन । त्यसरी आवागमन पूर्ण रूपमा बन्द गरिएको समयमा पुष्टि भएका केस पहिचान गरी कन्ट्र्याक्ट ट्रेसिङको कामलाई तीव्रता दिनुपर्छ । कसैलाई ज्वरो आए तत्काल पिसिआर गर्ने र आवश्यक परेमा भर्ना गर्न सकिन्छ । त्यसो गरेमा संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिन्छ ।
अहिले जुन गतिमा फैलिएको छ, जुन शैलीमा काम भइरहेको छ, त्यसले आगामी एक डेढ महिनाको तस्बिर कस्तो देखिन्छ ?
नियन्त्रण गर्न उपयुक्त उपाय अवलम्बन गर्न सकिएन भने हाम्रो गन्तव्य के हुन्छ, अनुमान गर्न सकिँदैन । केसहरू बढ्दै जाँदा एकबाट थुप्रैमा फैलने दर पनि बढ्दै जान्छ । जुन समय कल्पनाभन्दा बाहिरको हुन्छ । हामीले विगतदेखि नै भन्दै आएका छौँ, नेपालका लागि खराब अवस्था भनेको वृद्धवृद्धा र दीर्घरोगीमा समेत संक्रमण पुग्छ । अबको चरण भनेको त्यही हो । अहिले नै कोभिड अस्पताल भरिएका छन् ।
जुन वेला बढीभन्दा बढी व्यक्तिलाई अस्पताल आवश्यक पर्छ, त्यो समयमा व्यवस्थापन गर्न कठिन हुनेछ । सबै संक्रमितलाई घरमा बस भन्न सकिँदैन किनकि सहरमा धेरै मान्छेको आफ्नै घर छैन ।
दुुईवटा कोठा लिएर परिवारसँग बस्ने व्यक्तिलाई संक्रमण भयो भने लक्षण नदेखिए पनि घरमा बस भन्न मिल्दैन । त्यसो गरे त थप संक्रमण फैलाउने जोखिम हुन्छ । त्यसैले सरकारले समुदायमा आइसोलेसन सेन्टर बनाइहाल्नुपर्छ । यो काम संघीय सरकारले मात्र गरेर पुग्दैन, स्थानीय तहहरू सक्रिय हुनुपर्छ । तर, अहिले तीन तहका सरकारको समन्वय एकदमै भएको छैन ।
सरकारले निषेधाज्ञा घोषणा गरिसकेको छ, यसले कोभिड नियन्त्रणमा कति सहयोग गर्ला ?
निषेधाज्ञाको सही पालना भएमा यसले अवश्य काम गर्छ । स्वास्थ्यका दृष्टिकोणबाट हेर्दा यसले केसहरूलाई नियन्त्रण गर्न मद्दत गर्छ । भिडले थप जोखिम बढाइरहेकाले निषेधाज्ञाले ठूलो काम गर्ने अपेक्षा हामीले गरेका छौँ । योसँगै साबुनपानीले हात नियमित धुने, मास्क अनिवार्य प्रयोग गर्न जरुरी छ ।
अति विपन्न मान्छेहरू नियमित मास्क किनेर लगाउन नसक्ने अवस्थामा छन् । उनीहरूका लागि मास्कको व्यवस्था राज्यले गर्नुपर्छ । त्यस्तै योबीचमा पनि मान्छेहरू घरैमा विभिन्न कारणले बिरामी हुन सक्छन्, उनीहरूलाई कुनै पनि साधन प्रयोग गरेर अस्पतालसम्म पुग्न सक्ने वातावरण मिलाउनु पर्छ । स्वास्थ्यका विविध पक्षलाई राज्यले सहजीकरण गर्नुपर्छ ।
प्रतिकृया लेख्नुहोस्: