इलाम । जडीबुटीबाट बनेका औषधिले एलोपेथिक औषधिको जस्तो साइडइफेक्ट नरहने र रोग निको भई शारीरिक दुर्वलता पनि कम हुने भएपछि पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतितर्फ सर्वसाधारणको आकर्षण बढेको छ ।
आयुर्वेद विधिबाट रोग लाग्न नदिने र रोग लागेपछि पनि सस्तोमा उपचार हुने तथा साइडइफेक्टको सम्भावना न्यून रहेकाले आकर्षण बढेको हो । कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि पनि आयुर्वेदिक औषधि सेवन गर्नुपर्ने आयुर्वेदिक चिकित्सकको सुझाव छ । जडीबुटीबाट बनेका औषधिको सेवनले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले यसको उपभोग गर्नुपर्ने उनीहरुको सुझाव छ ।
जण्डिसका ‘जडी’ वालकृष्ण
दुई दशकदेखि जण्डिसको उपचार गर्दै आएका इलाम सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका बालकृष्ण सापकोटाले घरायसी जडीबुटी मिलाएर नै औषधि बनाउछन् र बिरामीलाई वितरण गर्छन । जिल्लाका मात्र नभइ अरू जिल्लाका जण्डिसका बिरामीलाई समेत निको पार्ने बालकृष्णलाई २०५१ सालतिर आफ्नै बहिनीको जण्डिस लागेर यहाँ उपचार सम्भव नभएपछि भारतका धेरै अस्पताल धाउनुपर्यो ।
रोग निको नहुने र यही रोगले मृत्युसमेत हुनसक्ने चिकित्सकले बताएपछि बालकृष्णलाई अत्यन्तै पीडा भयो । आफू बसेको ठाउँको नजिकका व्यक्तिले बहिनीको उपचार आयुर्वेदिक विधिबाट गर्न उनलाई सल्लाह दियो । उनकै सल्लाहले बालकृष्ण बहिनीलाई लिएर भारतको वङ्गालका एक गुरु कहाँ गए । ती गुरुले दिएको औषधिले बहिनीको शरीरमा सुधार आउन थाल्यो । त्यसपछि बालकृष्णले गुरु समक्ष आफूले पनि जण्डिसको औषधि सिक्न चाहेको बताए । गुरुसँग १५ दिन जडीबुटी बटुल्न र त्यसपछि औषधि बनाउन सिकेको शिक्षाले नै अहिले बालकृष्ण जण्डिसका नाम चलेका वैद्य भएका छन् ।
“आजसम्म एक÷दुई जना बाहेक धेरैको जण्डिस रोग निको पारेको छु । घरमा नै उपचार गर्छु” बालकृष्णले भने, “अहिलेसम्म कतिलाई उपचार गरे एकिन तथ्याङ्क त आफूसँग छैन तर दश हजारभन्दा बढी बिरामीलाई निको पारेको छु ।” उनले गाउँकै जङ्गली असोगन्धा, पथ्थरजट्टा, विनाजरी, वन घिरौलालगायतका जडीबुटी मिसाएर औषधि बनाउने गरेको बताए ।
भारतको सीप नेपालमै खन्याउँदै गरेका वैद्यराज
सूर्योदय नगरपालिकास्थित पशुपतिनगरका कुलबहादुर राईले २०१३ सालमा भारतको कलकत्तामा आयुर्वेदिक शिक्षा शुरु गरे । शुरुमा जटिल लागेको यो विषय सात वर्ष अध्ययन गरेपछि मात्र केही उर्जा थपियो । विशेष गरी महिलामा बाँझोपन, पाठेघरको समस्या, प्रसूति तथा यौन रोगको उपचार गर्ने राईले आफ्नो उपचारबाट अहिलेसम्म धेरै जनालाई निको भएको बताए ।
आफै जडीबुटी सङ्कलन गरेर औषधि बनाउने गरेका राईले औषधि तयार पार्न धेरै दुःख झेल्नु परिरहेको बताए । आफूले बनाउने औषधिमा दुर्लभ किसिमको जडीबुटी पर्ने भएकाले यसका लागि कर तिर्नुपर्ने, नापी गर्नुपर्ने र सम्बन्धित कार्यालयबाट स्वीकृति लिएपछि मात्र ल्याउनु पर्नेजस्ता झन्झट बेहोर्नु परिरहेको उनको भनाइ छ । “जटामसी, लेमन ग्रास, खैरको बोक्रा, पाँचऔलेलगायतका जडीबुटी मिसाएर औषधि तयार गर्नुपर्छ । यी औषधि किन्न वन कार्यालयको स्वीकृत चाहिन्छ”, उनले भने, “वन कार्यालयको स्वीकृति लिएर पहिलै निश्चित जग्गा खरीद गर्नुपर्छ र त्यसबाट उत्पादित औषधि लिँदा पनि कर बुझाउनु पर्छ । साहै्र सकस छ ।”
घरेलु तथा साना उद्योग विकास शाखाबाट आफूले प्रशिक्षकका रुपमा विभिन्न ठाउँमा आयुर्वेदिक उपचार पद्धति सिकाए पनि पछिल्लो पुस्ताले यसप्रति खासै चासो नदेखाएको राईको भनाइ छ ।
हड्डी रोग निको पार्ने गाउँले गुरु
सूर्योदय नगरपालिकाकै लोकश सुब्बाले पनि लामो समयदेखि आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गर्दै आएका छन् । आफ्नै घर छेउमा औषधालय खोलेर हड्डी खिएको र मर्किएको बिरामीलाई उनले उपचार गर्दै आएका छन् । “जडीबुटीबाट बनेको मात्र औषधि चलाउँछु । अहिले सम्म ठिक भएन भन्दै कोही आएका छैन”, उनले भने, “२०६१ सालदेखि पेसागत रूपमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्न थालिएको र यसका लागि ‘सुब्बा आयुर्वेदिक उपचार केन्द्र’ नामक औषाधालय समेत खोलेको छु ।”
प्रतिकृया लेख्नुहोस्: