काठमाडौं । कानुनद्वारा प्रतिबन्धित नेटवर्किङ व्यवसायलाई जीवन बिमा कम्पनीहरूले भने संस्थागत गरेका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐन २०७४ अनुसार नेपालमा कसैले पनि नेटवर्किङ शैलीमा व्यवसाय गर्न पाउँदैन । तर, जीवन बिमा कम्पनीहरूले एजेन्ट (अभिकर्ता) लाई कमिसन दिन पिरामिड शैलीको नेटवर्किङ शैलीलाई स्थापित गरेका हुन् ।
एक एजेन्टले आफूभन्दा तल विभिन्न तहमा अन्य एजेन्ट थप्दै उनीहरूका माध्यमबाट व्यवसाय बढाउने र तहअनुसार कमिसन दिने काम जीवन बिमा कम्पनीहरूले गरेका छन् । यसमा तल्लो तहका अभिकर्ताले गरेको व्यवसाय माथिल्लो तहका सबै अभिकर्ताले बाँडफाँड गर्छन् ।
नेपालमा सञ्चालित जीवन बिमा कम्पनीहरूले दुई वटादेखि चारवटासम्म तह निर्माण गरेको पाइएको छ । बिमा नियमावलीअनुसार अभिकर्ताले कमिसन र इन्सेन्टिभ पाउँछन् । तर, कम्पनीहरूले कमिसन र इन्सेन्टिभभन्दा पनि बढी आम्दानी हुने गरी अभिकर्ताहरूको नेटवर्क बनाइरहेका छन् ।
वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐन २०७४ को दफा ११ मा पिरामिडमा आधारित व्यवसाय कसैले पनि गर्न पाइँदैन भन्ने उल्लेख छ । उक्त ऐनले आकर्षक उपहार दिई वा कमिसनको प्रलोभन देखाई सदस्य बनाउने वा महँगो वस्तु खरिद गर्न सञ्जाल बनाउन नपाइने भनेर स्पष्ट व्याख्या समेत गरेको छ ।
ऐनअनुसार दफा ११ बमोजिमको कसुर गरेमा ५ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षदेखि ५ वर्षसम्म कैद वा दुवै सजायसमेत हुन सक्ने व्यवस्था गरिएको छ । तर, जीवन बिमा कम्पनीका अभिकर्ताहरूको नेटवर्कमा विभिन्न प्रलोभन देखाई अभिकर्ताहरूलाई टार्गेट दिइने गरिन्छ ।
कम्पनीले व्यवसायको र नयाँ अभिकर्ताको समेत टार्गेट दिने गरेका छन् । टार्गेट पूरा गरेका अभिकर्ताहरूले बिमा समितिले निर्धारण गरेको कमिसनबाहेकको थप कमिसन, इन्सेन्टिभ र उपहार प्राप्त गर्दै आएका छन् ।
बिमा ऐनअनुसार एसएलसी उत्तीणर् गरेको र समितिले सञ्चालन गरेको अभिकर्ता तालिममा सहभागी भएको प्रमाणपत्र भएपछि कुनै पनि व्यक्ति अभिकर्ता बन्न योग्य हुन्छ ।
कम्पनीअनुसार जीवन बिमा अभिकर्ताहरूले चारवटासम्मको तह अभिकर्ता, एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर, स्टार एजेन्सी म्यानेजरसम्म बनाउने गरेका छन् । कम्पनीअनुसार अभिकर्ताको तहको नाम भने फरक-फरक राखेको पाइन्छ ।
पहिलो चरणको अभिकर्ताले औसतमा ५ लाखसम्मको कारोबार गरेपछि माथिल्लो तह अभिकर्ता एजेन्सी म्यानेजर बन्न सक्छन् । एजेन्सी म्यानेजरले औसतमा १ करोडको व्यवसाय गरेपछि सिनियर एजेन्सी म्यानेजर बन्न सक्छन् । सिनियर एजेन्सी म्यानेजरले ५ करोडसम्मको व्यवसाय गरेपछि अर्को तह स्टार एजेन्सी म्यानेजर बन्न सक्छन् ।
कम्पनीअनुसार व्यवसाय रकम भने फरक-फरक तोकिएको छ । यस्ता अभिकर्ताले आफूले गरेको व्यवसायको कमिसन र इन्सेन्टिभ पाउँछन् । माथिको प्रत्येक तहका एजेन्सी म्यानेजरहरूले पहिलो अभिकर्ताले गरेको व्यवसायबाट ४ प्रतिशत कमिसन पाउँछन् भने इन्सेन्टिभबापत कम्पनीबाट मासिक रूपमा तलब र विभिन्न स्किम समेत पाउँछन् ।
बिमा कम्पनीहरूअनुसार एजेन्सी म्यानेजरहरूको मासिक तलब फरक-फरक छ । त्यस्तै, कम्पनीहरूले अभिकर्तालाई विभिन्न खालका पुरस्कार, नगद र विदेश भ्रमणसमेत गराउँछन् । बिमा नियमावली २०४९ मा बिमा अभिकर्ताले पाउने कमिसन तोकिएको छ ।
ऐनअनुसार औसतमा २० वर्ष वा सोभन्दा बढी अवधिको बिमा पोलिसीमा अभिकर्ताले पहिलो, दोस्रो र तेस्रो वर्ष २५ प्रतिशत कमिसन पाउने व्यवस्था छ । त्यस्तै, चौथो वर्ष २० प्रतिशत र पाँचौँ वर्ष ५ प्रतिशत पाउँछ ।
१५ देखि १९ वर्षको अवधिमा पोलिसीमा पहिलो वर्ष २५, दोस्रो वर्ष २०, तेस्रो वर्ष १५, चौथो वर्ष १५ र पाँचौँ वर्ष ५ प्रतिशत कमिसनको व्यवस्था छ । १० देखि १४ वर्षसम्मको बिमा अवधिमा पहिलो, दोस्रो, तेस्रो र चौथो वर्ष नै १५ प्रतिशत कमिसन पाउँछ र पाँचौँ वर्षमा ५ प्रतिशत कमिसन अभिकर्ता पाउँछ ।
८ देखि ९ वर्षको अवधिमा पहिलो, दोस्रो, तेस्रो र चौथो वर्ष १० प्रतिशत र पाँचौँ वर्षमा ५ प्रतिशत कमिसन पाउने व्यवस्था छ । ५ देखि ७ वर्षे अवधिमा पहिलो र दोस्रो वर्ष १० प्रतिशत कमिसन, तेस्रो, चौथो, पाँचौँ वर्षमा ५ प्रतिशत कमिसनको व्यवस्था गरेको छ ।
बिमा समितिले कम्पनीहरूले पहिलो बिमाशुल्कको १८ प्रतिशत रकम व्यवसाय प्रवद्र्धनमा खर्च गर्न पाउने व्यवस्था गरेको छ । जसमा प्रचारप्रसार, विज्ञापन तथा इन्सेन्टिभ पनि समावेश गरेको छ । तर, अधिकांश कम्पनीहरूले व्यवसाय प्रवद्र्धनका लागि अन्य खर्च नगरी १८ प्रतिशत पूरै रकम अभिकर्ता इन्सेन्टिभ खर्च गर्ने गरेको पाइएको छ ।
बिमा समितिको तथ्यांकअनुसार गत आव ०७६र७७ मा जीवन बिमा कम्पनीहरूले प्रथम बिमाशुल्कबापत २४ करोड ७२ लाख ८९ हजार रुपैयाँ संकलन गरेका छन् । यसको १८ प्रतिशत अर्थात् ४ करोड ४५ लाख १२ हजार रुपैयाँ हुन आउँछ ।
जीवन बिमा कम्पनीहरूमा बनेका अभिकर्ताहरूको पिरामिड शैलीले बिमितहरूले पाउने प्रतिफलमा प्रत्यक्ष असर परेको छ । बिमा कम्पनीहरूले बिमितबाट संकलन गरेको रकम विभिन्न क्षेत्रमा लगानी गर्छन् । लगानी गरिएको रकमबाट प्राप्त प्रतिफलका आधारमा नै बिमितलाई बोनस निर्धारण गरिन्छ ।
तर, कम्पनीले संकलन गरेको बिमाशुल्कबाट नै अभिकर्तालाई थप इन्सेन्टिभ र विभिन्न उपहार दिइन्छ, जसले गर्दा अभिकर्ताले पाउनु पर्ने भन्दा कम प्रतिफल प्राप्त गर्ने बिमा समितिका पूर्वअध्यक्ष डा. फत्तबहादुर केसीले बताए ।
प्रतिकृया लेख्नुहोस्: