काठमाडौं । १३ पुसको साँझ काठमाडौं र यस वरपरका क्षेत्रको विद्युत् माग तीन सय ७७ मेगावाट थियो । त्यो गत सालको सोही दिनको तुलनामा ६६ मेगावाट कम हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - आपूर्तिका हिसाबले पनि सो दिन विद्युत् अभाव थिएन । गत वर्षको सोही दिनको तुलनामा भारतबाट करिब डेढ सय मेगावाट विद्युत् बढी आयात भइरहेको थियो । तैपनि काठमाडौंमा पटक पटक लामो समय विद्युत् आपूर्ति रोकियो । सो दिन मात्रै होइन, विगत केही महिनादेखि यसरी नै विद्युत् आपूर्ति अकारण अवरुद्ध हुने गरेको छ । चार वर्षअघि मुलुकमा लोडसेडिङ अन्त्य भएपछि पहिलो पटक जनताले यसरी पनि लोडसेडिङ अनुभव गरिरहेका छन् ।
चार वर्षअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएसँग सोही वर्षको लक्ष्मीपूजाको दिनदेखि मुलुकमा लोडसेडिङ अन्त्य गर्ने काम सुरु भएको थियो । सुरुमा काठमाडौं उपत्यकामा लोडसेडिङ हटाइएकोमा बिस्तारै घिसिङले मुलुकलाई नै लोडसेडिङमुक्त बनाए । तर, गत भदौमा घिसिङले अवकाश पाए, ओली सरकारले उनको कार्यकाल थप गरेन । यससँगै फेरि पनि लोडसेडिङ सुरु भएको छ ।
विगतमा प्राधिकरणले लोड व्यवस्थापनका लागि छोटो समयका लागि विद्युत् कटौती हुने गरेको (फोर्स लोडसेडिङ) अनौपचारिक रूपमा बताउने गरे पनि बिहीबार भने यससम्बन्धी सूचना नै जारी ग¥यो । सूचनामा ‘बानेश्वर सबस्टेसनको लोड व्यवस्थापनका लागि लगनखेल वितरण केन्द्रअन्तर्गतको चापागाउँ फिडर बिहान ९ बजेदेखि १० बजेसम्म, हरिसिद्धि फिडर दिउँसो १२ देखि २ बजेसम्म र रेडियो नेपाल फिडर १२ देखि ३ बजेसम्म सटडाउनमा राख्नुपर्ने भएकाले सो क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ’ उल्लेख थियो ।
अघिल्ला दिनहरूमा बानेश्वर सबस्टेसनअन्तर्गत पटक पटक बिजुली गएपछि प्राधिकरणले ती फिडर बन्द गराएको थियो । प्राधिकरणले ललितपुरका तीन फिडरबाट एक घन्टादेखि तीन घन्टासम्म विद्युत् अवरुद्ध हुने सूचना निकाले पनि दिनभर विद्युत् अवरुद्ध थियो ।
काठमाडौं उपत्यकामा होटेल, सिनेमा हल, रात्रिकालीन व्यवसायलगायत बन्द हुँदा अहिले विद्युतको माग नै करिब एक सय मेगावाट कम भएको वेला विद्युत् कटौती भइरहनु आश्चर्यको विषय भएको प्राधिकरणकै एक अधिकारीले बताए । गत साल उपत्यकामा हिउँदमा औसत विद्युत् माग साढे चार सय मेगावाटभन्दा बढी हुने गरेकोमा अहिले पौने चार सयभन्दा कम छ । मुलुकभरको माग तथा आपूर्ति भने गत साल १३ सय मेगावाट हाराहारीमा भएकोमा अहिले साढे १४ सय मेगावाट पुगेको छ ।
‘विगतमा काठमाडौंमा माग बढी हुन्थ्यो, तराईमा कम हुन्थ्यो, तर यस पटक कोरोनाका कारण काठमाडौंमा माग घटेको छ, तर तराईमा बढेको छ,’ उनले भने, ‘विगतमा चोरी नियन्त्रणमा रहेकोमा तराईमा अहिले तीव्र रूपमा चोरी बढेको देखिन्छ ।’
अहिले विद्युत् प्राधिकरणका आयोजनाबाट औसत दैनिक पाँच सय मेगावाट र निजी क्षेत्रबाट तीन सय मेगावाट गरी आठ सय मेगावाट हाराहारी नेपालमै उत्पादन भइरहेको छ । त्यस्तै, औसत साढे ६ सयदेखि सात सय मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ ।
नेपालमा पिक डिमान्ड १४ सय ६० मेगावाट हाराहारी छ । मुलुकभित्र पर्याप्त आपूर्ति भए पनि व्यवस्थापन गर्न नसकेको प्राधिकरणले थप ५० देखि एक सय मेगावाट विद्युत् भारतबाट आयात गरेर समस्या समाधानको पहल गरेको छ । थप एक सय मेगावाट आयात भएमा गत वर्षको तुलनामा साढे तीन सय मेगावाट बढी बिजुली भारतबाट मात्रै आयात हुनेछ ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य गत वर्षभन्दा डिमान्ड बढेकाले आयात धेरै गर्नुपरेको बताउँछन् । ‘गत वर्षभन्दा सय मेगावाट बढी आयात गरिएको छ, नपुगेपछि पुनः ५० देखि सय मेगावाट आयात गरेर व्यवस्थापन गर्न लागिरहेका छौँ,’ कार्यकारी निर्देशक शाक्यले भने । कहिलेकाहीँ समस्या भएको विषयलाई लोडसेडिङ भएको भनेर हल्ला गरिएको शाक्यको आरोप छ ।
तर, विगत केही महिनादेखि निरन्तर बत्ती जाने–आउने समस्याचाहिँ किन भएको त भन्ने प्रश्नमा उनले भने, ‘लोडसडिङ हँुदैन, व्यवस्थापन गर्न लागिरहेका छौँ, केही दिनमै समस्या समाधान हुन्छ ।’ सबैभन्दा बढी डिमान्ड उपत्यकामा हुने गरेकाले यहाँ विद्युत् जाने–आउने समस्या बढी रहेको शाक्यको तर्क छ । तर, प्राधिकरणकै तथ्यांकअनुसार उपत्यकामा गत वर्षको तुलनामा करिब ७० मेगावाट विद्युत् माग घटेको देखिन्छ ।
निजी क्षेत्रसहित प्राधिकरणको उत्पादन क्षमता साढे १३ सय मेगावाट पुगे पनि हिउँदमा करिब एकतिहाइ मात्र उत्पादन हुने कारण आन्तरिक उत्पादन अपुग हुन्छ । यसका लागि भारतबाट विद्युत् आयात गरेर व्यवस्थापन गरिँदै आएको छ । जनवरीमा निर्माणाधीन माथिल्लो तामाकोसीको पहिलो युनिट अर्थात् ७६ मेगावाट, त्यसैगरी फेबु्रअरीमा सोही क्षमताको दोस्रो युनिट, अप्रिलमा तेस्रो युनिटसहित क्रमशः आउने दाबी गरिएको थियो, तर आउने सम्भावना टर्दै गएको छ ।
प्राधिकरणको अहिलेको व्यवस्थापनले चुहावट नियन्त्रणमा ध्यान नदिनुका साथै प्राविधिक समस्या आएको अवस्थामा तत्कालै समाधानमा तदारुकता नदेखाउँदा लोडसेडिङको सम्भावना देखिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।
‘घिसिङको कार्यकालमा सुरु गरिएका चुहावट नियन्त्रणका काम ठप्प भएका छन्, चुहावट नियन्त्रणको लक्ष्यसमेत राखेर प्राधिकरणका उच्च कर्मचारीसँग कार्य सम्पादन सम्झौता हुने गरेको थियो, त्योसमेत रोकिएको छ,’ प्राधिकरण स्रोतले भन्यो । नियमित रूपमा हुने गरेका मर्मतका कामसमेत हुन नसकेको उनले बताए । ‘पहिला कार्यकारी निर्देशक आफैले शाखा प्रमुख, ग्रिड प्रमुखलगायतलाई फोन गरेर माग र आपूर्तिको अवस्था र चुहावट नियन्त्रणलगायत विषय अपडेट लिने गरेकोमा त्यो समेत रोकिएको छ,’ उनले भने ।
प्राधिकरणकै कारण भारतबाट आउने बिजुलीको पैसा महँगो तिर्दै
प्राधिकरणले हाल भारतबाट ६ सय ५० मेगावाट हाराहारीमा बिजुली आयात गरिरहेको छ । थप सय मेगावाट विद्युत् आयातको तयारी गरिएको छ । विद्युत् प्राधिकरणका अनुसार ढल्केबरबाट आयात हुँदा बिजुलीको भाउ हालै ४.३५ भारतीय रुपियाँबाट सस्तिएर ४.१८ भारतीय अर्थात् प्रतियुनिट ६.६८ नेपाली रुपैयाँमा झरेको छ ।
सो प्रसारण लाइनबाट बिजुली ल्याउन नसके १३२ केभीको प्रसारण लाइनबाट प्रतियुनिट दुई रुपैयाँ बढी ६.१८ भारतीय रुपियाँ अर्थात् ९.८८ नेपाली रुपैयाँमा बिजुली किन्नुपर्छ । चार वर्षअघि सम्पन्न गर्नुपर्ने सबस्टेसनसहित ट्रान्सफर्मरको काम समयमै गर्न नसक्दा प्रतियुनिट ३.२० रुपैयाँ महँगो तिर्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।
प्राधिकरणका अनुसार टनकपुरबाट आयात हुने बिजुली ढल्केबरभन्दा प्रतियुनिट चार पैसा सस्तो छ, तर यो लाइनबाट ७० मेगावाटसम्म मात्र लिन सकिन्छ । प्राधिकरणको यो तथ्यांकले के देखाउँछ भने पाँच सय मेगावाटमध्ये दुई सय ७० मेगावाट ढल्केबरबाट र ७० मेगावाट टनकपुरबाट तथा महाकाली सम्झौताअनुसारको १६ मेगावाटको टनकपुरबाट निःशुल्क ल्याउन पाइन्छ ।
३१५ केभीको ट्रान्सफर्मर समयमै नबनाउँदा प्राधिकरणले ८० मेगावाट बिजुली प्रतियुनिट ३.२० महँगोमा किन्नुपर्ने अवस्था सिर्जना भएको छ । ठेकेदारसँगको ठेक्का व्यवस्थापन र भेरियसन विवादका कारण १५–२० दिनमा चार्ज हुन सक्ने अवस्थामा रहेको ट्रान्सफर्मरको काम अझै हुन सकेको छैन ।
अहिले भइरहेको विद्युत् अवरोध प्राविधिक समस्या हो, लोडसेडिङ होइन : प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले १३ र १४ पुसमा राष्ट्रिय विद्युत् प्रणालीमा आएको अवरोध लोडसेडिङ नभएर प्राविधिक समस्या मात्रै भएको दाबी गरेको छ । राष्ट्रिय विद्युत् प्रणालीको भारवहन क्षमताभन्दा बढी विद्युत् प्रवाह हुँदा केहीबेर विद्युत् प्रसारण र आपूर्तिमा अवरोध आएको र त्यो लोडसेडिङ नभएको प्राधिकरणले बताएको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले भनेको छ, ‘हाल मुलुकमा विद्युत्को माग जति छ, सोबराबर प्राधिकरण तथा निजी ऊर्जा उत्पादकको उत्पादन तथा भारतबाट आयात भएको बिजुलीबाट पूर्ति भइरहेको छ, मागबराबर विद्युत् आपूर्ति भइरहेको कारणले लोडसेडिङ भएको छैन र भविष्यमा पनि गरिनेछैन ।’
आपूर्तिमा भएको समस्या निराकरणका लागि प्राधिकरण प्रयासरत रहेको पनि उसले जनाएको छ । हाल प्रसारण र आपूर्तिमा आएको समस्या समाधान भइसकेको पनि प्राधिकरणले जनाएको छ । ‘नेपालमा कुनै पनि प्रकारको लोडसेडिङ हदैन,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
चार वर्षअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएसँग सोही वर्षको लक्ष्मीपूजाको दिनदेखि मुलुकमा लोडसेडिङ अन्त्य गर्ने काम सुरु भएको थियो । सुरुमा काठमाडौं उपत्यकामा लोडसेडिङ हटाइएकोमा बिस्तारै घिसिङले मुलुकलाई नै लोडसेडिङमुक्त बनाए । तर, गत भदौमा घिसिङले अवकाश पाए, ओली सरकारले उनको कार्यकाल थप गरेन । यससँगै फेरि पनि लोडसेडिङ सुरु भएको छ । विगतमा प्राधिकरणले लोड व्यवस्थापनका लागि छोटो समयका लागि विद्युत् कटौती हुने गरेको (फोर्स लोडसेडिङ) अनौपचारिक रूपमा बताउने गरे पनि बिहीबार भने यससम्बन्धी सूचना नै जारी गर्यो ।
सूचनामा ‘बानेश्वर सबस्टेसनको लोड व्यवस्थापनका लागि लगनखेल वितरण केन्द्रअन्तर्गतको चापागाउँ फिडर बिहान ९ बजेदेखि १० बजेसम्म, हरिसिद्धि फिडर दिउँसो १२ देखि २ बजेसम्म र रेडियो नेपाल फिडर १२ देखि ३ बजेसम्म सटडाउनमा राख्नुपर्ने भएकाले सो क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ’ उल्लेख थियो । अघिल्ला दिनहरूमा बानेश्वर सबस्टेसनअन्तर्गत पटक पटक बिजुली गएपछि प्राधिकरणले ती फिडर बन्द गराएको थियो । प्राधिकरणले ललितपुरका तीन फिडरबाट एक घन्टादेखि तीन घन्टासम्म विद्युत् अवरुद्ध हुने सूचना निकाले पनि दिनभर विद्युत् अवरुद्ध थियो ।
प्रतिकृया लेख्नुहोस्: