काठमाडौं । कांग्रेसको महिला विभागले पार्टीमा सभापति वा उपसभापतिमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने माग गरेको छ । काठमाडौंमा भएको बागमती प्रदेशस्तरीय महिला भेलाले वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गर्न माग गरेको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - शनिबारदेखि सुरु भएको भेला तथा प्रशिक्षण कार्यक्रम आइतबार पाँचबुँदे घोषणापत्र जारी गर्दै सकिएको हो । ‘महिलालाई सहानुभूतिका लागि मात्रै होइन, अब हिस्सेदारीको पनि समय भयो । हरेक ठाउँमा महिला विभागले हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ, पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने जोडदार माग गर्दछ,’ भेलापछि जारी घोषणापत्रमा छ । त्यस्तै, वडादेखि केन्द्रसम्मको सबै तहका समिति एवं संसदीय समितिमा एकतिहाइ महिला पदाधिकारी अनिवार्य हुनुपर्ने भेलाले माग गरेको छ ।
भेलाले बालिकालाई उच्च माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको सुनिश्चितताका लागि विभागले जोडदार माग गरेको विभागकी सचिव लक्ष्मी खतिवडाले जानकारी दिइन् । ‘बढ्दो महिला हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधमा संलग्न अपराधीलाई कानुनको कठघरामा उभ्याउन नसक्नुले यस्ता अपराधीहरू राज्यबाट नै संरक्षित भएको स्पष्ट हुन आउँछ । यो सन्दर्भमा दण्डहीनताको अन्त्यका लागि मौजुदा दण्ड व्यवस्थाको पुनरावलोकनका साथै मौजुदा कानुनको कठोर कार्यान्वयनका लागि यो भेला जोडदार माग गर्दछ,’ घोषणापत्रमा छ ।
भेलाले महिलाको प्रजनन र प्रसूति स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्क भनिए तापनि पूर्ण रूपले हालसम्म कार्यान्वयन हुन नसकेको अवस्थामा तत्काल यसको सुनिश्चितता गर्न तथा बर्थिङ सेन्टरलाई व्यवस्थित गरी मातृ शिशु मृत्युदर कम गर्नका लागि माग गरेको छ । भेलामा बागमती प्रदेश क्षेत्रका महिला महासमिति सदस्य, महिला महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका महिला पदाधिकारी, भ्रातृ संस्थाका महिला पदाधिकारी, महिला सांसद, स्थानीय तहका महिला प्रमुख–उपप्रमुख र ती पदका उम्मेदवार सहभागी थिए ।
प्रतिकृया लेख्नुहोस्: