काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले दासढुंगा दुर्घटनाको छानबीन गर्न माग गरेका छन् ।
दासढुंगा दुर्घटनामा परि एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।
भण्डारी–आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै २०५० साल जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनाको यथार्थ पत्ता लगाउन अपील गरेका हुन । “जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।”
नेकपा एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुने नेपालको भनाइ छ । देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तिहरुलाई सच्चाएर हिंड्ने प्रण गरेमा मात्र मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ ।
प्रतिकृया लेख्नुहोस्: