पार्टीभित्र व्यक्तिलाई कति कर्म्फटेबल हुन्छ, त्यो मुख्य कुरा होइन । मुख्य कुरा पार्टीको योजना, विचार, राजनीति र कार्यक्रमलाई कसरी हामीले विधि र विचार संगत ढंगले लैजान्छौँ भन्ने कुरा महत्वपूर्ण कुरा हो । त्यसमा हामी काफि मात्रामा प्रयत्न गरिरहेका छौँ । विचार र बहसलाई लिपिबद्ध र लयबद्ध बनाउन पार्टीले विधान सम्मेलन आयोजना गरेको छ । त्यसमा हामी सम्पूर्ण तयारीमा जुटिरहेका छौँ ।
हामी पार्टीभित्र चुनौतिसित सामना गरेर जाने पक्षमा छौँ । राजनीतिक जीवन वा कम्युनिस्ट आन्दोलनमा यो सधैंभरी रहिरहने कुरा हो । हामी एमालेको मात्र एकता होइन, छरिएर रहेका नेपालका सबै कम्युनिष्टहरूसँग एकता गरी शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन चाहिरहेका छौँ । त्यसलाई एकताबद्ध बनाउन हामी कोशिस गर्छौँ ।
अहिले एमालेभित्र जुनखालको विवाद र दरार उत्पन्न भएको छ । हामी त्यसको अन्त्य चाहन्छौँ । माधव समूह पनि एकतामा आउनुपर्छ । पूर्व एमाले एकताबद्ध हुनु जरुरी छ । त्यसपछि पूर्व एमालेमात्र नभइ सम्पूर्ण वामपन्थी शक्तिहरू एकजुट र एकताबद्ध भएर लाग्नुपर्छ । विभाजित कम्युनिष्टहरूलाई एकीकृत र ध्रुबिकृत गरेर एउटा शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने अभियानमा छौँ । यसलाई तत्कालिन पार्टी एकतालाई मात्र नभइ काम कारबाहीमा पनि चुस्त दुरुस्त बनाउनुपर्छ । पार्टी एकतालाई वैचारिक ढंगले एकताबद्ध बनाइ, कम्युनिस्ट आन्दोलनलाई ध्रुबिकृत बनाउँदै लैजाने हाम्रो निरन्तर प्रयास हुन्छ ।
आफ्नो लागि चुनौति हुन्छ कि खतरा हुन्छ कि भन्ने कुरामा हामीलाई कुनै प्रवाह छैन । यी सबै कुरा राष्ट्र, जनता, पार्टी, विचार र सिद्धान्तका अगाडि गौण कुरा हुन् । देश र जनतालाई केन्द्रविन्दुमा राखिसकेपछि, त्यो आफै सुरक्षित हुन्छ । एमालेभित्र हामी पूर्वमाओवादी नेताहरू सुरक्षित छैनौँ भन्ने बाहिर जुन किसिमको भ्रम छ । त्यो हामीलाई होइन बाहिरकाहरूको अड्कलवाजी मात्र हो । पार्टीभित्र हामीले कही कतै पश्चाताप 'फिल' भएको छैन ।
हामी मावोवादी पृष्ठभूमिबाट आन्दोलनको नेतृत्व गरेर आएका हौँ । हामीले माओवादी र एमालेबीच एकता गरेर नेकपा बनाइसक्यौँ । त्यसबाट हामी पछि हट्न नचाहेको मात्रै हो । हामीले हाम्रो लेगेसीलाई लिएर पार्टीभित्र सँगसँगै अगाडि बढिरहेका छौँ । हाम्रो लेगेसी छाड्ने कुरा आउँदैन । राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि अधिकतम मात्रामा हामीले संविधानमा संस्थागत गर्यौँ । त्यस उपलक्धिलाई रक्षा गर्न फेरि हामी अगाडि बढ्छौँ । माओवादी लेगेसी हामीसँग छ, जुन अरुसँग छैन । त्यो प्रचण्डसँग छैन । माओवादी पार्टी खोलेर मात्रै हुँदैन । दोकानमा पार्टी खोलेर माओवादी लेखेसी कायम हुने भए नेपालमा कति वटा पार्टी खोलेका छन् ? त्यो खोल्दैमा हुने कुरा होइन । वास्तवमा भन्ने हो भने त्यसले उठाएका मुद्दाहरूलाई हामीले रक्षा र विकास गर्न सक्छौँ कि सक्दैनौँ ?
जहाँसम्म पार्टी अध्यक्षले ल्याएको राजनीतिक प्रतिवेदनमा समाहित भएर जाने कि फरक धार निर्माण गर्ने सवाल छ त्यसमा प्रतिवेदन हेरेर बहस गरौँला । मेरो विचारमा जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनका सबै विचारहरूको प्रतिनिधित्व भइसकेपछि छुट्टै विचारमा लानु जरुरत छैन । विचार, राजनीति, योजना र कार्यक्रमलाई समेटेर सबैलाई 'वीन वीन' हुने हिसाबले राजनीतिक प्रतिवेदन, संगठात्मक संरचना, विचार र सकार्यक्रमा झल्किने अवस्था आए छुट्टै प्रतिवेदन लैजानु आवश्यक छैन ।
हामी भोलि महाधिवेशनको समयमा राजनीतिक प्रतिवेदन, योजना, सिद्धान्तमा हाम्रो विचार र एजेण्डालाई लिपिबद्ध गर्न लागि परेका छौँ । सबैले जितेको हिसाबले प्रतिवेदन आउनुपर्छ । राजनीतिमा धेरै उतारचढाव हुन्छन् । राजनीति त्यति सजिलो विषय होइन । संकट र सम्भावनाकोबीचबाट गुज्रिएर हामी निर्धक्कसँग इच्छाशक्तिका साथ विचारमा अडिग रहेर हामीले ती विचारलाई पार्टी एकताको पक्ष, विचारको समायोजन, विचारको प्रतिबिम्बको पक्षमा हामी निरन्तर संघर्ष गर्छौँ । त्यसमा हामी सफल हुन्छौँ । विधान सम्मेलनमा पार्टी अध्यक्षलगायत पदाधिकारीले ल्याएको प्रतिवेदनमा गम्भीर छलफल गर्छौँ । हाम्रो विचारलाई हामी मर्न दिदैनौँ । त्यसमा हामी सफल हुन्छौं ।
(रायमाझी माओवादीबाट एमाले प्रवेश गरेका नेता हुन्)
प्रतिकृया लेख्नुहोस्: