श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता हुन् । उनकै परिकल्पना, योजना र साहसको परिणामस्वरुप आज हामीले नेपाली नाम, पहिचान र स्वतन्त्र देश प्राप्त गरेका छौ । यद्यपि, पछिल्लो कालखण्डमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदानलाई अवमुल्यन गर्ने, अपमान गर्ने र ईतिहासको गलत व्याख्या गर्ने प्रवृत्ति देखापरेको छ ।
२०६२/६३ को जनआन्दोलन पश्चात परिवर्तनलाई संस्थागत गर्ने क्रममा परम्परादेखि नेपालको अस्तित्व र स्थायित्वको आधारस्तम्भको रुपमा रहेको हिन्दुराष्ट्र, राजसंस्था र एकात्मक राज्यव्यवस्थालाई हटाएर धर्मनिरपेक्षता, गणतन्त्र र संघियतालाई स्थापित गर्ने प्रयास भयो । मुलतः नेपालमा आफ्नो प्रभाव बिस्तार गर्न चाहने तथा नेपाललाई नवसांस्कृतिक उपनिवेश बनाउने उदेश्यबाट पश्चिमा मुलुकहरुबाट अभिप्रेरित र प्रायोजितरुपमा आएका हुन यी मान्यताहरु । यी मान्यताहरु स्थापित गर्न र संस्थागत गर्न राज्यव्यवस्थाको महत्वपूर्ण धरोहर राजसंस्थालाई समाप्त पार्नु नितान्त आबश्यक थियो ।
राजसंस्था समाप्त पार्न राजसंस्थालाई राक्षसीकरण गर्नु, नेपालको गौरवपूर्ण ईतिहासलाई अपव्याख्या गर्नु तथा राजासंस्थाको योगदानलाई न्युनीकरण गर्नु आबश्यक ठानियो । त्यसैको फलस्वरुप राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदान र ईतिहासलाई समेत गलत ढंगबाट व्याख्या बिश्लेषण गर्ने तथा कलंकित गर्ने प्रयासहरु भए । यस कार्यमा कतिपय राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजिविवर्ग र आमसंचार माध्यमहरुलाई समेत प्रयोग गरियो । नेपाली जनताको मनमस्तिष्कलाई बौद्धिकरुपमा प्रदुषित गर्न योजनाबद्ध र संगठित अभियान नै चलाईयो ।
श्री ५ पृथ्वीनारायण शाहले राष्ट्रको एकिकरण गरेका होईनन् केवल निहित स्वार्थपुर्ति गर्न नरसंहार गरेर गोरखा राज्यको बिस्तार गरेका हुन्, उनको अभिायन र कार्यशैली निरंकुश र अधिनायकवादी थिए तथा बिजित राज्यका जनताको संस्कृति र सम्पतिमाथी शोषण गरे, भन्ने जस्ता तथ्यहिन र भ्रामक प्रचारहरु गरियो । प्रत्येक बर्ष पौष २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने परम्परा समेत २०६२/६३ को परिवर्तन लगत्तै तत्कालिन सरकारले अन्त गर्यो ।
सरकारीस्तरबाट उपेक्षा गरिएता पनि जनस्तरबाट भने पृथ्वी जयन्ति र राष्ट्रिय एकता दिवस मनाउने चलनमा कहिल्यै कमि आएन । बरु त्यो अझ व्यापक हुंदै गएको छ । राष्ट्रनिर्माताका वारेमा फैलाईएका भ्रमहरु समेत क्रमशः हटदै गएका छन् ।
वास्तवमा २५० बर्ष अघिको नेपालको सामाजिक, राजनीतिक र आर्थिक अवस्थालाई वर्तमान समयको मापदण्डबाट मुल्यांकन गरेर निस्कर्ष निकाल्नु सर्वथा अतिशयोक्ति ठहर्दछ । एकिकरण अभियानको क्रममा केहि ज्यादति भए होलान् वा केही कमिजोरी भए होलान् तर, जेभएता पनि श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदानको परिणामस्वरुप आज हामी स्वतन्त्र राष्ट्र नेपालको नागरिक हुने गौरव प्राप्त गरेका छौ । उक्त समयमा नेपालको एकिकरण हुन नसकेको भए वर्तमान नेपालको भूभाग तत्कालिन ब्रिटिश साम्राज्यको एक अगं हुन पुग्ने थियो ।
दक्षिण एशियाली भूभागमा त्यसबेला रहेका सयौं ससाना राज्यहरुको नियति नेपालले समेत भोग्नु पर्ने हुनसक्थ्यो । भारतमा शुरुमा व्यापारको बहानामा पसेको ईस्ट ईण्डिया कम्पनीले कालान्तारमा सिंगो भारतलाई आफ्नो कब्जामा लिएर उपनिवेश बनाएको थियो । यहि नीति नेपालमा समेत अबलम्बन गर्न अंगे्रजहरुले प्रयास गरेका थिए । नेपाली जनतामा शिक्षा बिस्तार र स्वास्थ्य सेवा पु¥याउने बहानामा "केपुचिन" पादरीहरु नेपाल पसेका थिए, उनीहरु नेपाललाई कमजोर बनाएर ब्यापारिक सम्बन्ध बढाउने तथा बिस्तारै राजनीतिक कब्जा जमाउन चाहन्थे । दूरदर्शी राजा श्री ५ पृथ्वीनारायण शाहले अंग्रेजहरुको यो षडयन्त्रलाई समय मै बुझेर असफल बनाई दिएका थिए । साथै, ई.सं १७६७ मा सिंधुलीको लडाईमा अंग्रेजहरुलाई पराजित गरि नेपालको अस्तित्व जोगाएका थिए ।
त्यसबेला नेपाल एकिकृत नभएको भए तत्कालिन बाईसी चौबिसी राज्यहरुमा आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सक्ने सैन्य र सामरिक शक्ति एवं क्षमता थिएन । यस्तो घाम झै टडकारो सत्यलाई उपेक्षागर्दै राष्ट्रनिर्माता प्रति नकरात्मक र अनर्गल ब्याख्या बिश्लेषण गर्नु तथा राष्ट्रनिर्मातालाई सम्मान गर्न नचाहनु सर्वथा अतिशयोक्तिपुर्ण देखिन्छ । आधुनिक नेपालको निर्माणसंगै प्रशासन व्यवस्था, न्याय व्यवस्था, अर्थनीति, परराष्ट्र व्यवस्था, सैन्य संगठन एवं राज्य व्यवस्थाको जग हाल्ने तथा पद्दति स्थापित गर्ने क्रममा पनि श्री ५ पृथ्वीनारायण शाहको महत्वपूर्ण योगदान रहेको छ ।
आफ्नो जीवनको उत्तरार्द्ध तिर उनले दिव्यउपदेश मार्फत भावि पिंढीलाई राज्यसंचालनको निमित्त सर्वकालिक महत्व रहेको मागदर्शन दिएका छन् । दिव्यउपदेशमा उल्लेख भएका कतिपय बिचारहरु अहिले पनि सान्दर्भिक रहेको पाईन्छ । ‘यो नेपाल चार वर्ण छत्तिस जातको साझा फुलबारी हो र सबै मिलिजुली यसको रक्षा गर्नुपर्दछ’ भन्ने दिव्यउपदेशमा उल्लेखित महाबाणीको औचित्य र महत्व अद्यापि कायम नै छ । नेपाल अधिराज्य आफ्नो मात्र आर्जन होईन, यो राजाको व्यक्तिगत सम्पति पनि होईन, यो सबै नेपालीको साझा सम्पति हो भन्ने मान्यतालाई त्यसैबखत श्री ५ पृथ्वीनारायण शाहले स्थापित गरेका थिए । एकिकरण मार्फत राज्यको सिमा बिस्तार गर्नुका साथै एकिकृत र बिजित क्षेत्रका धार्मिक सांस्कृतिक सम्पदा र परम्पराको संरक्षणमा समेत उनले ध्यान दिएका थिए ।
यहि नीतिको परिणामस्वरुप नै एकिकरण अभियानमा व्यापक सहयोग र सहभागिता जुटन संभव भयो । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको गुण र चरित्रका वारेमा बिद्वान राजनीतिज्ञ डा. डिल्लीरमण रेग्मीले सटिक ढंगबाट चित्रण गरेका छन् । डा.रेग्मीको भनाईमा “श्री ५ पृथ्वीनारायण शाहको हृदय देशभक्तिमा चुर्लुम्म डुबेको थियो । विजय उनको जीवनको ध्येय थियो, त्यस लक्ष्यको नियामक शक्ति उनको हृदयमा रहेको देशभक्ति थियो ।
देशभक्त, साहसी योद्धा, संगठनकर्ता र सेनापति सबै गुणहरु एकसाथ उनमा बिद्यमान थिए । त्यसैले नंया अधिकार गरेको विस्तृत भूभाग एक संगठित केन्द्रिय शासनको अधिन होस् र तिनमा बसोवास गर्ने विभिन्न संप्रदाय र जातिका जनसाधारणले निर्भय भएर सुरक्षाको उपभोग गर्न पाउन् र उनीहरुको दमन नहोस् भन्ने कुरामा उनी सदा प्रयत्नशील रहन्थे“ ।
श्री ५ पृथ्वीनारायण शाहको योगादनलाई कुनै निश्चित राजनीतिक व्यवस्था वा संस्थासंग जोडेर हेर्नु अतिशयोक्तिपूर्ण हुने छ । तत्कालिन राजनीतिक प्रणालीलाई वर्तमान व्यवस्थाको औचित्यताको कसिमा बिश्लेषण गर्नु पनि गलत हुनेछ । श्री ५ पृथ्वीनाराष्ण शाहप्रतिको सम्मानबाट राजसंस्थालााई समर्थन गरेको निस्कर्ष निकाल्नु वा त्यस कार्यबाट गणतन्त्र कमजोर हुन्छ भन्ने मानसिकता सर्वथा अनुपयुक्त छ । त्यो केवल हिन मनस्थितिको उपज मात्र हो । बास्तवमा राष्ट्रनिर्माताको सम्मान हामी नेपाली हुनुको गौरवको अभिव्यक्ति हो ।
नेपालमा राजसंस्था आबश्यक छ वा गण्नतन्त्र भन्ने बहस अलग राजनीतिक बिषय हो ।
श्री ५ पृथ्वीनारायण शाहले राष्ट्र एकिकरण गरेका हुन वा गोरखा राज्यको बिस्तार गरेका हुन् भन्ने विवाद पनि निरर्थक छ । जसरी व्याख्या गरेपनि परिणाम एउटै हो– नेपाल राज्यको निर्माण । उनकै योगदानको कारणबाट नेपाल दक्षीण एशियाली भूभागको सबैभन्दा जेठो राष्ट्र, सगरमाथाको देश अनि बुद्ध र सिताको जन्मभूमी भन्ने शौभाग्य हामी नेपालीले प्राप्त गरेका छौ ।
विगतमा जेजस्ता त्रुटि भएता पनि अब राष्ट्रनिर्मातालाई सम्मान गर्ने र राष्ट्रिय एकता दिवस मनाउने वारे राष्ट्रिय सहमति हुनु आबश्यक छ । राष्ट्रनिर्माताको योगदानको अवमुल्यन गर्ने पिंढीले राष्ट्र बचाउन र बनाउन सक्दैन । श्री ५ पृथ्वीनारायण शाहको नेपालीको मनमस्तिष्कमा सदैव जीवन्त रहन्छ । नेपाल रहेसम्म श्री ५ पृथ्वीनारायण अमर रहने छन् ।
प्रतिकृया लेख्नुहोस्: