Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

वर्षमान पुनलाई भएको दुर्लभ जन्डिस के हो ?

खबरडबली संवाददाता

काठमाडाैं । दुर्लभ 'क्रिग्लर नज्जार सिन्ड्रोम' भनिने वंशाणुगत जन्डिसबाट पीडित माओवादी नेता वर्षमान पुन झन्डै चार महिना विदेशमा उपचार गराएर नेपाल फर्किएका छन्।

नेपालमा भएको उपचारबाट रोग निको नभएपछि उनले सुरुमा थाइल्यान्ड र त्यसपछि चीन पुगेर उपचार गराएका थिए। यो आनुवंशिक जन्डिसका कारण मानिसहरूको आँखा र छाला पहेँलो हुने र खानामा अरुचि हुने तथा पाचन प्रणालीको समस्या हुने चिकित्सकहरू बताउँछन्। तर यस्तो लक्षण जन्डिस भएका सबैलाई नदेखिन पनि सक्छ।

पित्तमा हुने बिलिरुबिन नामक पहेँलो द्रव्यको मात्रा धेरै भएपछि कसैकसैको शरीरमा दागहरू पनि देखिने गर्छ।

‘विसं २०५२ तिर जाँच गराउँदा वंशाणुगत भन्ने थाहा भयो। परिवारमा कसलाई थियो त्योभन्दा अगाडि थाहा थिएन तर मलाई थाहा भयो अनि मैले त्यहि अनुसारको उपचार गरेँ,’ पुनले गतसाता ईमेज टेलिभिजनसँगको अन्तर्वार्तामा भनेका छन्।

एक दशकदेखि माओवादी नेता पुनको उपचार गरिरहेका पेट तथा कलेजो रोग विशेषज्ञ डा. युवराज शर्मा पुनको जन्डिस आनुवंशिक र जन्मजात रहेको बताउँछन्।

पुनको परिवारका अन्य केही सदस्यमा पनि यही प्रकारको जन्डिस देखिएको छ। तर उनीहरूमा गम्भीर समस्या छैन। ‘कलेजोमा जीडीपी भनिने एक प्रकारको एन्जाइम हुन्छ। त्यो प्रशस्त मात्रामा हुनुपर्नेमा कमी भइदियो भने यो प्रकारको जन्डिस देखिन्छ,’ डा. शर्मा भन्छन्।

साधारणयता स्वस्थ मानिसमा बिलिरुबिनको मात्रा एकभन्दा तल हुने गर्छ। तर आनुवंशिक जन्डिस भएका मानिसहरूमा सधैँ जन्डिसको मात्रा ६ वा त्योभन्दा बढी हुनसक्छ।

दुर्लभ समस्या

पुनलाई भएजस्तो दुर्लभ समस्या भएका मानिसमा बिलिरुबिनको मात्रा अत्यधिक हुने र अन्य समस्या समेत देखा पर्ने चिकित्सकहरू बताउँछन्। उनमा जन्डिसको मात्रा सधैँ १२ देखि १८ को बीचमा रहने गरेको उनका चिकित्सक शर्माले जानकारी दिए।

पुनलाई यसअघि अन्य रोगको सङ्क्रमण भएपछि जन्डिसको मात्रा एक्कासि बढेको थियो। थाइल्यान्डमा उपचार गराएपछि उनको जन्डिसको मात्रा फेरि पुरानै अवस्थामा फर्किएको थियो।

केही महिनाअघि उनमा बिलिरुबिनको मात्रा एक्कासि बढेर ३२ सम्म पुगेको डा. शर्मा बताउँछन्। नेपालमा भएका उपचार प्रयासबाट जन्डिसको मात्रा नघटेपछि उनलाई उपचारका लागि फेरि थाइल्यान्ड लगियो।

पुनलाई किन यस्तो भयो?

उनले जडीबुटी प्रयोग गरेका कारण शरीरले त्यसप्रति प्रतिक्रिया जनाउँदा जन्डिसको मात्रा अझ बढेको आशङ्का चिकित्सकहरूले गरेका थिए।

‘उहाँको जन्डिस जसरी कम हुनुपर्थ्यो त्यो भएन, अनि उहाँलाई खानामा रुचि नहुने र पेटमा अलि समस्या हुने जस्ता लक्षण पनि देखियो,’ डा. शर्माले भने।

काठमाण्डूमा उपचारपछि पनि जन्डिसको मात्रा नघटेपछि पहिलेजस्तै समस्या हुने डरले पुन थाइल्यान्ड गए। थाइल्यान्डमा विभिन्न उपकरणको सहायताले उनको रगतबाट बिलिरुबिनको मात्रा घटाउने प्रयास गरिए पनि उनको रगतबाट जन्डिसको मात्रा नघटेपछि उनलाई चीन जान सिफारिस गरिएको थियो।

चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा एक हप्ताको उपचारपछि मात्रै आफू होसमा आएर चीनमा रहेको थाहा पाएको काठमाण्डू फर्किएपछि पुनले पत्रकारहरूसँग बताएका थिए।

कति दुर्लभ रोग?

चिकित्सकहरूका अनुसार वंशाणुगत जन्डिस धेरै दुर्लभ नभए पनि पुनमा देखिएको जन्डिसको प्रकार चाहिँ निकै दुर्लभ मानिन्छ। यस्तो प्रकारको जन्डिस भएका अधिकांशको बालबालिकामै मृत्यु हुने र कमै मात्र मानिसहरू पछिसम्म बाँच्ने सम्भावना रहने डा. शर्मा बताउँछन्।

कतिपय मानिसहरू जन्मँदै जन्डिसको मात्रा अत्यधिक भएका कारण त्यसले दिमागमा पुर्‍याउने असरका कारण शिशु अवस्थामै मृत्यु हुने चिकित्सकहरू बताउँछन्। ‍

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. राकेश हमालले वयस्कहरूमा यस्तो रोग धेरै दुर्लभ हुने बताए। ‘यो संसारभरि नै दुर्लभ हो। वर्ष वा दुई वर्षमा एक जनाजस्तो मात्रै मेरोमा यस्तो बिरामी आउनुहुन्छ,’ उनले भने।

तर, साधारण वंशाणुगत जन्डिस भने धेरै मानिसहरूमा हुनसक्ने चिकित्सकहरूको अनुमान छ। नेपालमा कुल जनसङ्ख्याको करिब पाँच देखि सात प्रतिशत मानिसहरूमा आनुवंशिक जन्डिस हुनसक्ने अनुमान डा. शर्माले गरे पनि यो दाबी पुष्टि हुने आधिकारिक तथ्याङ्क उपलब्ध छैन।

इन्जाइमको मात्रा थोरै मात्र कम भएका मानिसहरूलाई यसको खासै लक्षण नदेखिए पनि जन्डिस जाँच्दा देखिने विशेषज्ञहरू बताउँछन्।

उपचार के हो?

विशेषज्ञ शर्माका अनुसार धेरैजसोलाई उपचार नगरे पनि साधारण वंशाणुगत जन्डिसले समस्या निम्त्याउँदैन।

तर त्यसका लागि खानेकुरा र आराममा भने ध्यान पुर्‍याउनुपर्छ। आफूलाई भएको समस्या पहिचानका लागि यसको परीक्षण हुन जरुरी रहेको डा. शर्मा बताउँछन्।

‘आराम गर्नुभयो, प्रशस्त पानी खानु भयो भने अधिकांश समस्या आफै कम हुँदै जान्छ। हामीले रोग पहिचान गरेर उपचार गर्ने खालको हो वा नपर्ने जन्डिस हो भनेर मानिसहरूलाई परामर्श दिने गरेका छौँ,’ शर्मा भन्छन्।

तर जन्डिसको मात्रा अत्यधिक धेरै देखिएका बालबालिकाहरू र वयस्कहरूले भने उपचार गराउनुपर्ने अर्का विशेषज्ञ हमाल बताउँछन्।

‘नवजात शिशुमै देखा पर्ने जन्डिसले दिमागमा असर गरेर ज्यानकै जोखिम पनि हुनसक्ने भएकाले त्यसको उपचार दुई किसिमले गर्न सकिन्छ,’ हमाल भन्छन्।

उपचारका दुई विधि

नवजात शिशुहरूमा देखिने जण्डिको उपचारमा फोटोथेरापी प्रविधिको पनि प्रयोग हुन थालेको छ। नवजात शिशुहरूमा देखिने जण्डिको उपचारमा फोटोथेरापी प्रविधिको पनि प्रयोग हुन थालेको छ।

‘रगत झिकेर अर्को त्यस्तै किसिमको रगत हाल्ने विधि र अर्को चाहिँ विशेष किसिमको प्रकाशमुनि राखेर जन्डिसको मात्रा घटाउने फोटो थेरापी हुन्छ,’ डा. हमाल भन्छन्।

वयस्कहरूलाई हुने यस्तो समस्यामा भने चिकित्सकहरूले अवस्था हेरी औषधी पनि खान सुझाव दिने गरेका छन्। जटिल समस्या भएका मानिसहरूमा कलेजो प्रत्यारोपण जरुरी हुने विशेषज्ञहरू बताउँछन्। हाल नेपालमै कलेजो प्रत्यारोपण सेवा सुरु भएको छ।

‘विश्वमा पाइने अधिकांश उपचार नेपालमै पनि उपलब्ध छ। अहिले यसमा जीन थेरापी भनेर नयाँ परीक्षण भइरहेको छ, त्यो थेरापी चाहिँ नेपालमा उपलब्ध छैन’ हमालले भने।

सामान्य रगतको परीक्षणबाटै जन्डिसको मात्रा थाहा हुने र कलेजोमा हुने इन्जाइम मात्राको विश्लेषण, आनुवंशिक इतिहासको अध्ययनबाट साधारण वा वंशाणुगत जन्डिस छुट्टाउन सकिने चिकित्सकहरू बताउँछन्।

के-के खान हुँदैन?

यो समस्या देखिएका मानिसहरूले नियमित खानेकुरा बार्न नपर्ने चिकित्सकहरू बताउँछन्।

तर कलेजोलाई असर गर्ने तत्त्वहरू सेवन गर्दा यसको इन्जाइम तत्त्वलाई घटबढ गर्न सक्ने भएकाले नशालु पदार्थ सेवन गर्न नहुने शर्मा बताउँछन्।

‘जाँडरक्सी र चिल्लो धेरै भएका खाने कुरा र दुखाइ कम गर्ने औषधि सकेसम्म खान हुँदैन’ डा. शर्मा भन्छन्, ‘कतिपय मानिसहरू जन्डिस भयो भनेर मुख बारेर धेरै तौल घटाएर पनि आउनुहुन्छ। त्यो गरिरहन जरुरी छैन।’

समाजमा जन्डिस भएका मानिसहरूलाई माछामासु र बेसार खान नहुने बताउने गरिए पनि ती खानेकुरा बार्न जरुरी नभएको विशेषज्ञहरूको भनाइ छ। तर, चिल्लो धेरै खाँदा पित्तको पत्थरी हुने जोखिम भएकाले चिल्लो कम गर्नुपर्ने उनीहरू बताउँछन्।

धेरै जसो चिकित्सकहरूले प्रमाणित नभएका आयुर्वेदिक औषधि पनि सेवन नगर्न सुझाव दिने गरेका छन्। ‘चिकित्सकसँग परामर्श नगरी एन्टीबायोटिकहरू सेवन गर्दा पनि जन्डिसको मात्रा बढ्छ। जडीबुटीहरू सेवन गर्दा पनि डर हुन्छ र यी कुराको लागि सतर्क हुनुपर्छ’ डा. हमाल भन्छन्।

बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending