आगामी मंसिर ४ गते हुन थालेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि देशभर निर्वाचन माहोल शुरु भइसकेको छ । ७७ ओटै जिल्लाका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको पक्ष र विपक्षमा छलफल तथा बहस शुरु भइरहेको छ । त्यसमध्ये केही राष्ट्रिय रूपमै प्रभाव पार्ने निर्वाचन क्षेत्रहरूको बारेमा देशव्यापी बहस शुरु भएको छ ।
त्यसमध्ये एउटा निर्वाचन क्षेत्र हो दाङ २ । यो निर्वाचन क्षेत्रमा केपी ओलीका विश्वास पात्र शंकर पोखरेल र प्रचण्डकी विश्वास पात्र रेखा शर्मा निर्वाचनमा होमिएका छन् । प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली र माधवकुमार नेपाल तुलनात्मक रुपमा सुरक्षित देखिएका छन् । त्यसपछि सिंगो पार्टीको ध्यान दोस्रो तहका केही प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्रमा केन्द्रित भएको छ । दाङ निर्वाचन क्षेत्र नं २ को निर्वाचनलाई विशेष गरेर केपी ओली र प्रचण्डले प्रतिष्ठानको विषय बनाएका छन् । यस अघि पूर्वसभामुख कृष्णबहादुर महरा यो निर्वाचन क्षेत्रबाट भिड्ने चर्चा चलेको थियो । तर, पछि उनले आफूले लामो समय राजकीय भूमिकामा बसेकाले नलड्ने घोषणा गरे ।
त्यसपछि माओवादीले शंकरसँग रेखा शर्मालाई भिडाउने निर्णय ग¥यो । पूर्वमन्त्री समेत रहेकी घोराही–१८ निवासी रेखा शर्मा दाङबाटै राजनीति शुरु गरेर राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सफल भएकी रेखाले नै शंकरलाई पराजित गर्न सक्ने माओवादीले निष्कर्ष निकाल्यो । यस विषयमा माओवादीको हेडक्वार्टरमै विशेष छलफल समेत भयो । दुई पटक संसद् र एक पटक मन्त्री भइसकेकी रेखालाई अगाडि बढाउँदा शंकरलाई रोक्न सकिने माओवादीको रणनीति देखिन्छ । माओवादीका शीर्ष महिला नेताहरूमध्ये प्रचण्डसँग सिधै निकट भएर काम गर्ने सक्ने पात्र हुन् रेखा ।
२०२६ साल असोज ९ गते घोराहीमा जन्मेकी रेखाले २०४३ साल देखि अखिल क्रान्तिकारीबाट राजनीति शुरु गरेकी थिइन् । महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातक तह उत्र्तिण गरेकी रेखा अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष समेत भइन् । त्यसपछि उनी २०४८ सालमा अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्ष भइन् । २०५० सालमा भएको राष्ट्रिय भेलाबाट उनी महिलाको केन्द्रीय सदस्य भएकी थिइन् । त्यतिबेला उनी माओवादीको सहायक संगठन वाइसिएलको केन्द्रीय सदस्य समेत भएकी थिइन् । उनी २०५३ साल देखि २०५८ सालसम्म अनेमसंघ अक्रान्तिकारी को केन्द्रीय अध्यक्ष भइन्।
२०५७ सालमा भएको माओवादीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र काठमाडौं उपत्यका उप ब्युरोको प्रमुख भएर काम गरिन् । उनले महिला संगठनको केन्द्रीय अध्यक्ष हुँदा रक्सी विरोधी, दाइजो विरोधी लगायतका विभिन्न अभियानहरू सञ्चालन गरेर पार्टी अध्यक्ष प्रचण्डको मन जित्न सफल भएकी थिइन् । युद्धकाल देखि नै प्रचण्डले रेखालाई विश्वास पात्रको रुपमा लिन थालेका थिए ।
२०५८ साद चैत्रमा उनी काठमाडौंको चाहविलबाट पक्राउन परिन् । उनका श्रीमान हाल लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्रि कृष्णध्वज खड्का सहित उनी पक्राउ परेकी थिइन् । सेनाले ०५८ साल चैतमा दुबैलाई एकैसाथ पक्राउ ग¥यो । आफूहरु लुकेर बसेको कोठाबाटै उनीहरु पक्राउ परेका थिए । आफूले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीदेखि राजसंस्थासम्मको सम्पर्कमा रहेर वार्ताका लागि समन्वय गरिरहेको अवस्थामा सेनाले पक्राउ गरेको कृष्णध्वजको दावी छ ।
काठमाडौं उपत्यकामा माओवादीको विशेष क्षेत्रीय ब्यूरो मातहत दुई उपब्यूरो थिए । केन्द्रीय राजनीतिक परिचालन उपब्यूरोका इन्चार्ज कृष्णध्वज थिए भने रेखा संगठन तथा संघर्ष उपब्यूरोकी इञ्चार्ज थिइन् । उनीहरुले बादलको दिशानिर्देशमा काम गर्नुपर्थ्यो । पक्राउ पर्नुअघि बादलको निर्देशनअनुसार पार्टीको संघर्षका आगामी कार्यक्रमका विषयमा बुढाबुढी चाबहिलमा रहेका एक सहयोगीका कोठामा छलफल गर्दै थिए । बिहान नौ बजे कोठामा श्रीमान–श्रीमती मात्रै रहेको अवस्थामा सेनाले ढोका ढक्ढक्याएको थियो । गोरखाको बर्दबहादुर गणबाट आएका सेना थिए । उनीहरुले दुबैलाई अनुहारमा कालो मुखुण्डो लगाइदिए, हात पछाडि लगेर हत्कडी लगाइदिए । अनि त्यहीँ सुरु भयो पिट्ने क्रम ।
रेखा भन्छिन्, ‘कोठाभित्रै मलाई खुट्टामा समाएर उँधोमन्टो झुन्ड्याए र अरुले अनुहार र शरीरमा बुट बजार्न थाले । झ¥यामझुरुम एकैचोटी कति बुट हाने कति ।’ सेनाले माथिल्लो तहका नेताहरु कहाँ छन् भनेर सोधेका थिए । भन्न इन्कार गरेपछि भकुरे ।
त्यहाँबाट दुबैलाई गाडीमा हालेर ललितपुरको राजदल गणमा लगियो । त्यहाँ पुगेको धेरै समयपछि मात्रै उनीहरुले थाहा पाएका थिए, त्यो गोरखाको बर्दबहादुर गण रहेछ । जहाँ नित्यकर्म जस्तै थियो, यातना । राजदल गणमा पुग्दा त्यहाँ सैनिक अधिकृतहरु सुर्रिएर बसेका थिए । नभन्दै रेखा र कृष्णध्वजमाथि उनीहरुले यातनाका विभिन्न ‘प्रयोग’ हरु गरे । नाक बन्द गरेर मुखमा पानीको पाइप हालिदिनेदेखि शरीरलाई चक्कुले चरचरी चिर्नेसम्म । चक्कुले चिरेका दागहरु अहिले पनि रेखाका शरीरमा छन् । ‘नाक बन्द गरेर मुखमा पानीको फोहोरा हाल्दा सबैभन्दा असैह्य महसुस भयो,’ रेखा सम्भिन्छन्, ‘म कयौंपटक यातनाका क्रममा बेहोस भएँ । बेहोसीबाट ब्युँझदा शरीरमा अर्कै कपडा हुन्थ्यो ।’
जति चर्को यातना दिँदा पनि नेताहरूको पोल खोल्न दुबैले इन्कार गरे । त्यसपछि राजदल गणमा उनीहरुलाई लामो समय राखिएन । १० दिनको यातनापछि उनीहरुलाई फेरि गाडीमा हालेर कतै लगियो, जहाँ त्योभन्दा बर्बर यातनाको अभ्यास सैनिक अधिकृतहरुले गरे । उक्त गणमा यो जोडीले एकवर्ष नर्कतूल्य जीवन भोग्यो । २४ सै घण्टाजस्तो उनीहरुको अनुहारमा कालो मुखुण्डो र हात पछाडि लगेर बाँधिएको हुन्थ्यो । रात हो कि दिन हो, उनीहरुलाई थाहा हुँदैनथ्यो । जीवन हो कि मृत्यु हो, उनीहरुलाई थाहा हुँदैनथ्यो ।
‘सुरुका महिनामा सुत्नलाई ओछ्यानका नाममा सुकुल पनि दिइएन । चिसो सिमेन्टमा घुँडा टेकेरै रात काटिन्थ्यो । कहिले रातभरि बाहिरै लडाइदिन्थे, र उज्यालो भएपछि यातना दिन थाल्थे । यातनाले गर्दा चैतको गर्मीमा पनि थरथरि जाडो हुन्थ्यो । कहिलेकाहीँ खानेकुरा ल्याएर लौ खा, भन्थे । गाँस हाल्न लाग्दा मुखमा बुटले हान्थे । कहिले पानी माग्दा ट्वाइलेटको फोहोर पानी ल्याएर पिउन लगाउँथे । एक महिनासम्म केही नखाइकन गुज्रियो ।
२०५९ सा चैत्र ३१ गते सरकार र माओवादीको वार्ता शुरु भएपछि उनीहरु रिहाई भए । त्यसपछि पार्टीको नियमित काममा उनीहरु जोडिए । २०७० सालमा संविधानसभामा समानुपातिक कोटाबाट सांसद बनेकी रेखा त्यतिबेला डा। बावुराम भट्टराईको नेतृत्वमा शीर्ष नेताहरु सम्मिलित राजनीतिक संवाद तथा सहमति समितिको सदस्य भएर काम गरिन् । प्रचण्डले विश्वास गरेर उनलाई माओवादीको तर्फबाट संसद्मा प्रमुख सचेतको जिम्मेवारी समेत दिएका थिए ।
२०७२ सालमा सामान्य प्रशासन मन्त्री बनेकी रेखा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत भएर काम गरेकी थिइन् । संविधान निर्माणको घरमा स्थानीय तहमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउनका लागि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । २०७४ सालमा पुनः समानुपातिकबाट संसद् बनेकी रेखाले दाङको विकास निर्माणमा समेत महत्वपूर्ण भूमिका रहेको छ ।
मिजाशिली र जनशैली भएकी रेखालाई नेपाली कांग्रेसका नेताहरुले पनि रुचाइएकी पात्र हुन् ।
प्रतिकृया लेख्नुहोस्: