Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

अर्थतन्त्र सुधार्न दलका घोषणापत्रमा के छन् ? के छैनन् ?

खबरडबली संवाददाता

काठमाडौँ । सरकार र सरोकारवाला निकायले नै भनिरहेका छन्, “अहिले नेपालको वित्तीय स्वास्थ्य सहज अवस्थामा छैन ।” 

चर्को मूल्यवृद्धि, विदेशी मुद्रा सञ्चितिमा चाप, बढ्दो आयातका कारण सिर्जित उच्च वैदेशिक व्यापारघाटा, न्यून विकास खर्च, तरलता अभाव, उत्पादनशील क्षेत्रमा घट्दो आन्तरिक तथा बाह्य लगानीलगायतका समस्या अहिले अर्थतन्त्रमा छन् । कोभिड महामारी र रुस–युक्रेन युद्धको प्रभावले विश्व अर्थतन्त्र खस्कँदो छ । त्यसका बाछिटाबाट नेपाल पनि अछुतो छैन ।

आगामी मङ्सिर ४ गते हुन लागेको सङ्घ र प्रदेशसभा चुनावका लागि लक्षित गरेर अघिकांश राजनीतिक दलले आफ्ना घोषणापत्र जारी गरिसकेका छन् । तर उनीहरूका घोषणापत्रमा विश्व अर्थतन्त्र र नेपालको विद्यमान अवस्थालाई उपेक्षा गरेर वितरणमुखी र लोकरिझ्याइँका कार्यक्रमले बढी स्थान पाएको अर्थतन्त्रका जानकारहरूले बताएका छन् । 

नेपालको आर्थिक अवस्था र वित्तीय धरातललाई बिर्सिएर मतदाता रिझाउने योजना प्राथमिकतामा राख्दा अर्थतन्त्र थप सङ्कटको दिशामा जान सक्नेतर्फ अर्थविद्हरूको चिन्ता छ । यद्यपि अघिल्ला चुनावको तुलनामा यसपटक केही यथार्थपरक घोषणा आएको प्रतिक्रिया पनि उहाँहरूबाट आएको छ ।

अहिले अर्थतन्त्रमा देखिइरहेका आन्तरिक र बाह्य चुनौतीलाई दलहरूले उपेक्षा गरेको अर्थविद् डा डिल्लीराज खनाल बताउनुहुन्छ । सुस्ताउँदो विश्व अर्थतन्त्र र नेपालले भोगिरहेका समस्या कस्ता छन् भन्ने विश्लेषण नगरी योजनामात्रै सुनाइएको तर्क खनालको छ । त्यस्तै योजनामात्रै सुनाउने तर त्यसलाई पूरा गर्ने स्पष्ट मार्गचित्र नसमेटिँदा चुनावी घोषणापत्र कार्यान्वयनको पक्षमाथि स्वाभाविकरूपमा प्रश्न उठ्ने उहाँ बताउनुहुन्छ । 

“आमरूपमा दलहरूबीच विकास र समृद्धिका लागि फरक योजना ल्याउने प्रतिस्पर्धा देखियो, त्यो आफँैमा सकारात्मक पनि हो”, खनालले भन्नुभयो, “तर ती योजना कार्यान्वयन गर्न स्रोत कहाँबाट जुटाउने भन्ने उनीहरूले बोलेका छैनन् । चुनावलक्षित घोषणापत्रमा वित्तीय अनुशासन उल्लङ्घन हुने गरी समेत योजना राखिएका छन् ।” 

लोकप्रिय नारासहितका योजना ल्याएका दलले तिनको कार्यान्वयनका लागि स्रोत कहाँबाट जुटाउँछन् र अर्थतन्त्रले त्यसलाई कसरी धान्छ भन्ने विश्लेषण गर्न नसकेको उहाँको भनाइ छ । यद्यपि घोषणापत्रमा सबै वितरणमुखी कार्यक्रममात्रै आएको भनेर सङ्कुचितरूपमा विश्लेषण गर्न नहुने र गरिब, विपन्न तथा आर्थिकरूपले जोखिममा रहेका परिवारलाई त्यो आवश्यक रहेको पनि खनालले औँल्याउनुभयो ।

दलका घोषणापत्र सैद्धान्तिक तथा अवधारणागत हिसाबले राम्रा देखिए पनि कार्यान्वयनका पक्षबाट भने अमूर्त र धरातलीय दृष्टिकोणबाट निकै टाढा रहेको अर्का अर्थविद् डा चन्द्रमणि अधिकारी बताउनुहुन्छ । अर्थ–राजनीतिक भाष्य प्रयोग गरेर घोषणापत्र सुन्दर देखाउन खोजिए पनि त्यहाँ राखिएका योजनाको लक्ष्य प्राप्त गर्न नसकिने खालका रहेको उहाँको भनाइ छ ।

“सबै दलले घोषणापत्रमा राजनीतिक, आर्थिक, सामाजिकलगायत विभिन्न क्षेत्रमा सुधारका लागि लिएका सोच र प्राथमिकताका क्षेत्र लगभग उस्तै छन् । हाम्रा राष्ट्रिय दस्तावेजले पनि तिनै कुरालाई प्राथमिकतामा राखेको छ”, अधिकारी भन्नुहुन्छ, “तर ती प्राथमिकताको कार्यान्वयन पक्ष यथार्थवादी देखिँदैन । कस्ता कार्यक्रम आवश्यक छन्, त्यसका लागि कस्तो स्रोत र साधन चाहिन्छ, त्यो स्रोत हामीकहाँ छ कि छैन रु जस्ता कुरालाई उपेक्षा गरिएको छ ।”

विश्व अर्थतन्त्र र नेपालको वस्तुस्थितिको मूल्याङ्कन गर्न नसकेको मात्र नभई जनजीविकाका सवालमा पनि घोषणापत्र चुकेको अर्थविद् अधिकारीको बुझाइ छ । “अहिले विश्व आर्थिक मन्दीको अवस्थामा छ । केन्द्रीय बैंकले मौद्रिक समस्या भोगिरहेको छ । यस्तो अवस्थामा नेपालले के गर्न सक्छ र के गर्नुपर्छ भन्ने कुरामा दलहरूको ध्यान पुगेको देखिएन”, उहाँले भन्नुभयो, “अर्कोतर्फ जनताका चासो र सवाल के हुन् भन्ने कुरालाई पनि उनीहरूले बुझेनन् ।” मूल्यवृद्धि नियन्त्रण, सहज रोजगारी, जनजीविकासँग जोडिएका विषय र आधारभूत पूर्वाधार विकासमा ध्यान दिइनुपर्नेमा त्यसो हुन नसकेको उहाँको बुझाइ छ ।

चुनावी एजेन्डा यथार्थपरक नहुने र कार्यान्वयन गर्न नसकिने कुरा यसअघिका चुनावमा ल्याइएका घोषणापत्रबाट पनि बुझ्न सकिन्छ । विसं २०७४ को घोषणापत्रमा राखिएका लक्ष्य अहिले फेरि दोहोरिएको अवस्थाबाट पनि दलहरूले मनलाग्दी योजना बनाउँछन् भन्ने स्पष्ट हुने अधिकारी बताउनुहुन्छ । “योजना भनेको वैज्ञानिक, तथ्यगत, क्षमताको आकलन गरिएको र स्रोत, साधनले भ्याउने हुनुपर्ने हो”, उहाँले भन्नुभयो, “अर्कोतर्फ उनीहरू वितरणमा केन्द्रित छन् । रोजगारी सिर्जना, सीप तथा दक्षता विकासभन्दा पनि नगद वितरणलाई प्रोत्साहन गरिएको छ ।”

निर्वाचनमा होमिएका दल तथा उम्मेदवारले आफ्नो विधायिकी भूमिकालाई गौण बनाएर आर्थिक कुरालाई प्रचारको माध्यम बनाउने गरेको काठमाडौँ विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक अच्युत वाग्ले बताउनुहुन्छ । “घोषणापत्रमा दुईवटा स्पष्ट पक्ष हुनुपथ्र्यो । पहिलो, विधायिकी पक्ष अर्थात् विद्यमान कानूनी पक्षलाई सम्बन्धित दलले कसरी हेरेको छ भन्ने कुरा । र दोस्रो आर्थिक विकासका कुरा”, वाग्लेले भन्नुभयो, “विधायकी पक्ष निःशर्त हो । दलका घोषणापत्रमा त्यो भूमिका गौण देखिन्छ । यसलाई सबै दलले अनदेखा गरेर आर्थिक एजेण्डालाई मात्रै जोड दिएका छन् ।

मुलुकको अर्थतन्त्रको आकार बढाउन स्पष्ट मार्गचित्र दिन नसक्ने दलहरूले वितरणमुखी योजनाको फेहरिस्त घोषणापत्रमा राखेर प्रतिस्पर्धा गरिरहेको पनि वाग्लेको बुझाइ छ । “वितरणमुखी कार्यक्रममा प्रतिस्पर्धा भयो । यति धेरै वितरणमुखी कार्यक्रम ल्याउँदा त्यसको स्रोत के हो भनेर पनि खोजिएन । अर्कोतर्फ संस्थागत क्षमता नहुँदा कार्यान्वयन हुन सकेनन्”, उहाँले भन्नुभयो ।

पछिल्लो तीन दशकयताका सबैजसो चुनावमा ल्याइएका घोषणापत्रमा समान खालका योजना र कार्यक्रम दलहरूले राख्ने गरेका छन् । प्राध्यापक वाग्ले पनि यसमा सहमत हुनुहुन्छ । “विसं २०५१ र अहिलेका घोषणापत्रमा अधिकांश विषय समान छन् । केही प्राविधिक क्षेत्रमा बाहेक सबै उही योजना दोहोरिने हो”, उहाँले भन्नुभयो । त्यस्तै मुलुक सङ्घीयतामा गइसकेपछि पनि केन्द्रीकृत मानसिकताबाटै काम भइरहेको र प्रदेश तथा स्थानीय तहका आवश्यकतालाई पनि केन्द्रबाटै परिभाषित गर्ने गरिएको वाग्लेको तर्क छ । “हाम्रो मानसिकता मै केन्द्रीकृत भयो र यसले विधायिकी भूमिका तल जान दिएन । यही मानसिकताका कारण प्रदेशस्तरको चुनावका लागि दलहरूले त्यहाँ छुट्टै घोषणापत्र ल्याउन सकेनन्”, वाग्लेले भन्नुभयो ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा रमेश पौडेल दलका घोषणापत्र अनुसन्धान र अनुभवमा केन्द्रित हुन नसकेको बताउनुहुन्छ । आर्थिक ढाँचा र सार्वजनिक नीतिबारे अध्यापन गराइरहनुभएका पौडेल राजनीतिक दलले कुन हदसम्म सपना बाँड्न सक्छन् भन्ने उदाहरण घोषणापत्रमा देखिने बताउनुहुन्छ । “अनुसन्धानमा आधारित भई देशको वास्तविक समस्या बुझेर घोषणापत्र लेखिएका देखिँदैनन् । विगतका घोषणापत्रको समीक्षा गर्दा पनि उनीहरू सत्यको नजिक पुगेर योजना ल्याउँदैनन् भन्ने स्पष्ट हुन्छ”, उहाँले भन्नुभयो । 

दलहरू आफूले चुनावमा जनाएका प्रतिबद्धता पूरा गर्नमा असफल छन् । तर यसपटकको चुनावमा केही फरकपना देखिएको पौडेलको बुझाइ छ । “अघिल्लो निर्वाचनभन्दा यो निर्वाचनमा मतदाता जागरुक छन् । तर पनि सबै मतदाताले राजनीतिक दल र उम्मेदवारको राम्रा–नराम्रा पक्षको समीक्षा गरेर भोट हाल्ने आधार मैले देख्दिनँ”, प्राध्यापक पौडेल भन्नुहुन्छ ।

अहिले कमजोर अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ र वित्तीय सूचकहरूमा सुधार ल्याउन सकिन्छ भन्ने विषयलाई घोषणापत्रमा मिहीन ढङ्गले केलाइनुपथ्र्यो । तर कुनै तथ्य र स्रोतबिनै सबै कुरा पूरा गरिदिने प्रतिबद्धता दलहरूले जनाइरहेका छन् । विश्वबजारमा प्रतिस्पर्धी हुने गरी शिक्षा, स्वास्थ्य र गुणस्तरीय पूर्वाधारका विषय अहिलेको आवश्यकता भए पनि घोषणापत्रका प्राथमिकतामा भने पर्न नसकेको पौडेलको बुझाइ छ ।

विगतमा जनाएका प्रतिबद्धता पूरा हुन नसक्नुमा एक दलले अर्कोलाई आक्षेप लगाउने गरेको प्रवृत्ति अझै रहे पनि फरक कार्ययोजना र कार्यशैली नहुँदासम्म सुधार हुन नसक्नेबारे दलहरूले विस्तारै बुझ्दै गएको अर्थविद् खनालको भनाइ छ ।

“आरोप र दोषारोपणको बेथिति अझै छ तर संरचनागत, नीतिगत र कार्यान्वयनमा देखिएका समस्या यो वा त्यो ढङ्गले सम्बोधन नगरीकन हामी काम गर्न सक्दैनौँ भन्ने सबैले एक हदसम्म बुझेको देखिन्छ”, खनाल भन्न् । राजनीतिक दल तथा उम्मेदवार आफ्नो घोषणापत्रमा भएका कार्यक्रम कार्यान्वयनबारे जवाफदेही हुनुपर्ने र मतदाताले पनि घोषणापत्र कार्यान्वयन हुने सुनिश्चितता खोज्नुपर्ने उनको सुझाव छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट क...

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु

काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...

डे ब्रुएनाको गोलमा बेल्जियम न्युजिल्यान्डविरुद्ध ३–० ले अगाडि

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को सहज अग्रता बनाएको छ। बेल्जियमका लागि पहि...

सार्वजनिक बिदामा पनि खुल्ने मोदी गाउँपालिका कार्यालय

पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...

भारतबाट अवैध कुखुरा आयातले बाँकेमा बर्डफ्लुको जोखिम बढ्यो

नेपालगन्ज। सरकारले भारतबाट कुखुरा, चल्ला र अण्डा आयातमा प्रतिबन्ध लगाए पनि अवैध रूपमा तस्करी जारी रहेकाले बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा परेको स...

मनसुन कमजोर हुँदा औसतभन्दा कम वर्षा

काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...

रास्वपाको अधिवेशनका लागि संसद् बन्धक बनाउन पाइँदैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending