Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको मृत्यु बाघको आक्रमणबाट कि रोग ?

खबरडबली संवाददाता

काठमाडौं । आधुनिक नेपालका निर्माता मानिएका पृथ्वीनारायण शाहको जीवनीका केही पक्षबारे केही विवाद विद्यमान छन्।

तात्कालिक गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने। साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाण्डू उपत्यकाका तीन राज्यसहित धेरै राज्यलाई एकीकरण गरेका थिए।

उनको मृत्यु ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भयो। तर उनको मृत्युको कारणबारे इतिहासकारहरू एकमत छैनन्।

बडामहाराजधिराज उपाधिले परिचित पृथ्वीनारायण शाहको मृत्युबारे कस्ता धारणा देखिएका छन् र प्रामाणिक तथ्यहरूले के भन्छन्?

इतिहासकार दिनेशराज पन्तको विश्लेषण

नेपाल एकीकरणको उद्देश्य लिएर राज्य विस्तारमा लागेका पृथ्वीनारायण शाहले विसं १८०१ आश्विन १५ गते नुवाकोट विजय गरेर उपत्यका प्रवेशको बाटो खोलेका थिए।

उनले त्यसपछि क्रमश: काठमाण्डू खाल्डोमा रहेका मल्ल राजाहरूद्वारा शासित तीनवटा राज्यलाई आफ्नो राज्यमा मिलाउन सफलता पाए।

त्यसअघि उनले आफ्नो ससुराली राज्य मकवानपुरलाई समेत आफ्नो राज्यमा मिलाइसकेका थिए।

उपत्यका विजयको केही समयपछि नै शाहले आफ्ना पूर्वज द्रव्य शाहले विसं १६१६ सालमा गोर्खा राज्य स्थापना गर्दा कायम गरेको पश्चिमपट्टिको सीमा चेपे-मर्स्याङ्दीपारि रहेका चौबीसे राज्यहरूमा आक्रमण गरे।

केही समयमा उनले ती राज्यमाथि विजय पनि प्राप्त गरे। तर चौबीसे राज्यको संयुक्त सेनासँग टिक्न सकेनन्।केयरसिंह बस्न्यातजस्ता भारदार मारिए र वंशराज पाँडेजस्ता भारदार शत्रुराज्यद्वारा समातिए।

गोर्खाली सेना आफ्नो राज्यमा फर्कन बाध्य भयो। चौबीसे राज्यसँग पराजय खेपेपछि उनले पूर्वतिर एकीकरण अभियान थाले।

अभियान

पूर्वतिरको अभियान भने केही सहज देखियो। पृथ्वीनारायणको सेना सजिलै अहिले नेपालको सीमा रहेको मेची नदीपारि परैसम्म पुग्यो।

यो सफलताले उत्साहित बनेका उनी फेरि पश्चिमतर्फ आक्रमण गर्नुपर्‍यो भनी नुवाकोट पुगेका बेला अकस्मात् बिरामी परेको ऐतिहासिक लिखतहरूले देखाउँछन्।

उनको मृत्यु विसं १८३१ माघ १ गते भएको थियो।

प्रमाण

उनको मृत्युबारे पर्वतका राजाले भारदारलाई लेखेको पत्रमा 'गोर्खाका राजा हामी माथि दागा राखी दगा गर्न नुवाकोट आयाथ्या भगवत् इच्छा त आफैँ हेलिया' अर्थात् 'गोर्खाका राजा हामीलाई सिध्याउन आएका थिए तर भगवान्‌को इच्छाले आफैँ सिध्यिए' भन्ने उल्लेख छ।

अरू लिखतमा पनि उनी बितेको कुरा पाइन्छ। तर कुन रोग वा के कारणले उनको मृत्यु भएको भन्ने स्पष्ट पाइँदैन।

विसं १९९२ मा भारतको दार्जेलिङबाट सूर्यविक्रम ज्ञवालीले निकालेको 'पृथ्वीनारायण शाह' नामक कृतिमा तत्कालीन सिक्किम र तिब्बततिरका मानिसहरूले सुने अनुसार 'पृथ्वीनारायण शाहको जीउमा फोकैफोका आएको थियो र त्यही घाउका कारण उनी बिते' भन्ने विवरण दिइएको छ।

विसं २००७ सालमा भारतकै बनारसबाट छापिएको रामजी उपाध्यायको 'नेपालको इतिहास अर्थात् दिग्दर्शन' भन्ने पुस्तकमा 'पृथ्वीनारायण शाहले सिकार खेल्न जाँदा उनलाई बाघले झम्टियो र उनी त्यसलाई मार्न समर्थ भएनन् र त्यसैबाट उनको मृत्यु भयो' भन्ने उल्लेख छ।

उपन्यास

सम्भवत: त्यसैकै आधारमा विराज भन्ने एक भारतीय लेखकले हिन्दीमा 'नेपालेश्वर' भन्ने उपन्यास लेखेका छन्।

त्यहाँ पनि रामजीप्रसाद उपाध्यायले लेखेकै कुरा लेखिएको छ। विराजले लेखेको उपन्यास त उपन्यास नै भयो। त्यसमा काल्पनिक कुरा धेरै हुनु अन्यथा भएन।

तर ऐतिहासिक उपन्यास भनिएपछि त्यसमा प्रामाणिक कुरा लेख्ने र जुन कुरामा इतिहास बोलेको छैन त्यसमा थप गर्नुपर्ने हो। नेपाल र दक्षिण एशिया क्षेत्रमा त्यस्तो खालको अभ्यास कमै देखिन्छ।

त्यसले गर्दा विराजको उपन्यासको उक्त वर्णन कल्पित हो कि भन्न सकिन्छ। रामजीप्रसाद उपाध्यायले लेखेको चाहिँ इतिहास नै हो र त्यसबेला पनि त्यस्तो चर्चा रहेछ भन्ने त्यसबाट देखिन्छ।

अविश्वास

यहाँनिर विचार गर्नुपर्ने मुख्य कुरा के हो भने विसं १९३८ सालमा भएको '३८ साल पर्व'मा धपाइएर बनारसमा पुगेर पुस्तकको व्यवसाय गरेर बस्न बाध्य पारिएका परिवारका सदस्य भएकाले रामजीप्रसाद उपाध्यायका पुस्तकमा राणाहरूप्रति अत्यन्त द्वेष व्यक्त गरिएको छ।

उनले राणाहरूप्रति पूर्वाग्रह राखेर लेखेको स्पष्ट देखिन्छ।राणाहरूबारे उनले, प्रमाणित होस् वा अप्रमाणित, द्वेष व्यक्त गर्नकै लागि कतिपय कुराहरू लेखेका छन्।

तात्कालिक परिस्थिति हेर्दा पृथ्वीनारायण शाह राजा भएकाले उनले कहिल्यै सिकार खेलेनन् होला भन्न त सकिँदैन।

तर उनी राज्य विस्तारमा दत्तचित्त भएर लागेकाले र उनकै दिव्योपदेशमा नाचगान इत्यादिलाई निन्दा गरिएकाले पनि उनले जीवनको उत्तरार्धमा सिकार खेले होलान् भनेर पत्याउन सकिँदैन।

आधार

सिकार गर्नु, जुवा खेल्नु, दिउँसो सुत्नु र बढी स्त्री सम्भोग गर्नुलाई राजनीतिशास्त्रका विद्वानहरूले राजाको दोषकै रूपमा मानेकाले र पृथ्वीनारायण शाहले यस्ता कुरामा परहेज गर्ने भएकाले पनि सिकार खेलेको र त्यसैबाट उनको मृत्यु भएको भन्ने विश्वास गर्न निक्कै गाह्रो हुन्छ।

सिकार खेल्दा उनी साँच्चिकै घाइते भएका भए उनले दिव्योपदेश दिन समर्थ हुन्थे होलान् र? उनले त 'अब म बाँच्दिनँ' भन्ने लागेर रोग लागेपछि बल्ल त्यस्तो उपदेश दिएको देखिन्छ।

उपलब्ध सामग्रीहरूका आधारमा भन्नुपर्दा बाघले उनलाई आक्रमण गरेको भन्ने विश्वास गर्न सक्ने आधार देखिँदैन। तसर्थ उनको मृत्यु सामान्य ढङ्गले नै भएको हुनसक्छ।

उनको शरीरमा खटिरा आएको भन्ने कुरा चाहिँ हल्लै भए पनि विश्वास गर्न सकिने कुरा हो। अन्य कुरामा खासै विश्वास गर्न सकिँदैन।

लिखत

उनले जीवनको अन्तिम समय कसरी बिताए भन्नेबारे खासै लिखत भेटिएका छैनन्। तर उनी बित्नुभन्दा एकदुई महिनाअघि उनले भगवन्तनाथ योगीलाई लेखेको चिठी भेटिएको छ।

यो प्रामाणिक कुरा हो। त्यसमा उनलाई आफ्ना उत्तराधिकारीको चिन्ता भएको देखिन्छ। चिन्ताको विषय चाहिँ आफ्ना जेठा छोरा प्रतापसिंह शाह उचित बाटोमा नहिँडेको र नातिको मृत्यु भएको कुरा हो।

पृथ्वीनारायणका जेठा छोरा प्रतापसिंहको विवाहिता रानीबाट एउटा छोरा जन्मिएका थिए। तर उनको सानैमा मृत्यु भयो। त्यसबारे पृथ्वीनारायणले 'गुरु गोरखनाथले जन्माउनु भएको थियो फेरि आफैँले लिनुभयो' भनेको भनी लेखिएका लिखतहरू भेटिन्छन्।

पृथ्वीनारायण शाहको मृत्युपछि विसं १८३२ साल असारमा उनका नाति रणबहादुर शाहको जन्म भएको हो।

मृत्युको मिति र काट्टोको प्रसङ्ग

पृथ्वीनारायण शाहको मृत्यु भएको मितिबारे खासै विवाद छैन। तर झन्डै पाँच दशकअघि अनुसन्धाता मोहनप्रसाद खनालले शाहको मृत्युको मितिबारे प्रश्न उठाएका थिए।

उनले शाहको मृत्यु विसं १८३१ माघ १ गते भएको होइन भनेर लेखेका थिए। तर त्यसको पनि खण्डन भइसक्यो।

उनले लक्ष्मण खनाल भन्ने एक व्यक्तिले पृथ्वीनारायण शाहको काट्टो खाएको पत्र छापेर यस्तो दाबी गरेका थिए।

त्यो पत्रले पृथ्वीनारायण शाहको काट्टो खाने ब्राह्मण खनाल थरका नेपाली थिए भन्ने नयाँ कुरा पत्ता लगाए पनि मृत्युको दिन फरक परेको कुरा भने असत्य प्रमाणित भइसकेको छ।

पछिल्लो समयमा नेपाली राजाहरूको काट्टो 'भट्ट' ब्राह्मणलाई ख्वाउने चलन थियो। पृथ्वीनारायण शाहका बेला नेपालकै खनाल ब्राह्मणले त्यस्तो काट्टो खाएको उनले प्रकाशित गरेको पत्रले पुष्टि गर्छ।

शाहको मृत्युको मितिमा भने मोहनप्रसाद खनालको त्यो दाबी प्रमाणबाट सिद्ध हुन सकेन। 'पूर्णिमा'को २५ पूर्णाङ्कमा हामीले निकालेको वक्तव्यमा सप्रमाण त्यसको खण्डन भयो र हाल उक्त दाबी निरस्त भइसकेको छ।

योगदान

हामीले अध्ययनका क्रममा भेटेका पृथ्वीनारायण शाहका पालाका र त्यसपछिका पनि पद्य, वंशावली, ठ्यासफु, ज्योतिषका वर्णन आदिले उनको मृत्य विसं १८३१ माघ १ गते नै भएको देखाउँछन्।

अहिले पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता वा नेपालको एकीकरणकर्ता मान्ने कि नमान्ने विषयमा पनि विवाद हुने गरेको छ। उनको जन्मजयन्तीमा बिदा दिने कि नदिने भन्ने विषयमा पनि बहस भइरहेको छ।

तर पृथ्वीनारायण शाहलाई हेर्दा हामीले कुनै व्यवस्थासँग दाँजेर हेर्नु हुँदैन। टुक्रिँदैटुक्रिँदै ५२ वटा भन्दा बढी राज्यमा खण्डित भएको नेपाललाई उनको साटो अर्को कसैले एकीकरण गरेको भए उसैले त्यसको जस पाउँथ्यो।

अहिलेको जस्तो नेपाल त उनकै कारणले भएको हो। नेपाल नै चाहिँदैन, यो देश बनेर नराम्रो भयो भन्ने हो भने मात्र फरक कुरा हो। नत्र त उनलाई गाली गर्नुपर्ने कुनै कारण छैन।

आवश्यकता

पृथ्वी जयन्तीमा बिदा दिने वा नदिने भन्ने कुराचाहिँ गौण हो। अहिले बरु उनीमाथि थप अध्ययन र अनुसन्धान हुनुपर्ने हो।

विसं १८२४ मा इस्ट इन्डिया कम्पनीले किन्लकको नेतृत्वमा पठाएको फौजलाई उनले सिन्धुलीगढीमा कसरी हराए र विसं १८१९ मा मिर कासिमको फौजलाई हराउन कसरी सफल भए भन्नेबारे अध्ययन हुनै सकेको छैन।

उनले ती दुवै फौजलाई हराउन नसकेको भए नेपाल अहिलेको अवस्थामा हुने थिएन। ती युद्ध जित्न उनी कुन कारणले सफल भए भन्ने अध्ययन गर्नेतर्फ हामी लाग्नुपर्ने हो।

विसं १८७१/७२ मा नेपाल ठूलो राज्य हुँदा समेत हामीले अङ्ग्रेजसँगको युद्धमा तीन खण्डमा एक खण्ड मुलुक गुमाउनुपर्‍यो।

तर त्यसभन्दा धेरै अघि नै पृथ्वीनारायण शाह कसरी सफल भए भन्ने अध्ययन गर्नतर्फ लाग्नुपर्छ। त्यसो भन्दैमा उनको स्तुतिगान गर्नुपर्छ भन्ने होइन। सत्यतथ्यको खोजी गरेर आगामी दिनलाई समेत शिक्षा दिनेगरी अध्ययन हुनुपर्छ भनेको हो। बीबीसीबाट

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...

माछा मार्न गएका २१ वर्षीय युवकको खोलामा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...

गण्डकीमा रास्वपाको लहर चल्दा एमाले र नेकपा बढारियो

पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै आयो परिणाम, समानुपातिकबाट कुन दलले कति सीट पाउँछन् ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...

यी हुन् ५ भन्दा कम भोट ल्याउने २७५ उम्मेदवार

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...

नयाँ सरकार कहिले ?

काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...

समानुपातिकतर्फ एक करोड दुई लाख मत गन्दा कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...

मौसम पूर्वानुमान : आज दिनभर बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...

ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE