Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

'म राष्ट्रपतिमा निर्वाचित भए शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन्'

खबरडबली संवाददाता

काठमाडौ । आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् ।

यही फागुन २५ गते हुने राज्य प्रमुखको उम्मेदवारीका सन्दर्भमा कुराकानी गर्दै उनले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गरे ।

पूर्वसभामुख पौडेलले भने, “संविधान र लोकतन्त्रसहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुन्छ । राष्ट्रपतिको उम्मेदवारीका लागि भएका छलफलमा सबै दल र साथीहरूको सहमतिपछि म उम्मेदवार भएँ, जनताले अपेक्षा गरेअनुसारको यदि मैले आचरण र संविधानको परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् ।”

पूर्वउपप्रधानमन्त्री पौडेलले अर्को प्रसङ्गमा लोकतन्त्रप्रतिको निष्ठा र विगतका जिम्मेवारीले आफ्नो निष्ठा र तटस्थताको परीक्षण भइसकेको जिकिर गर्दै राष्ट्रपति पद संविधान र लोकतन्त्रको रक्षा गर्ने महत्वपूर्ण ठाउँ भएको स्पष्ट गरे ।

 प्रस्तुत छ, मुलुकको संसदीय अभ्यास र प्रक्रियामा अनुभवी र परिपक्व राजनीतिकर्मीको छवि बनाएका पौडेलसँग राष्ट्रपति निर्वाचन, उम्मेदवारी र राष्ट्राध्यक्षको भूमिकालगायत विषयमा लिइएको अन्तर्वार्ताको सम्पादित अंश :

आगामी नयाँ राष्ट्रपतिको उम्मेदवार भइरहँदा यहाँको तयारी के छ, मतदातासमक्ष कसरी जाँदै हुनुहुन्छ ?

राष्ट्रपतिका लागि यही फागुन २५ गते हुने निर्वाचनमा कांग्रेससहित आठदलीय गठनबन्धनका तर्फबाट म सर्वसम्मत उम्मेदवार बनेको छु । मेरो उम्मेदवारीले मुलुकमा राष्ट्रिय एकताको सन्देश प्रवाह भएको छ । निर्वाचनको तयारीका क्रममा जनताबाट निर्वाचित भएका प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यसँग निर्वाचन केन्द्रित भेटघाट, छलफल र कुराकानी भइरहेको छ । पत्र तथा एसएमएसका माध्यमद्वारा पनि उहाँहरूसँग भोटका लागि अनुरोध गरेको छु । विभिन्न दलका नेतृत्वसँग भेटेरै कुराकानी भएको छ । मतदाता सबैसँग सम्पर्कमा पुग्ने र विश्वास दिलाउने काम भइरहेको छ ।

आठदलीय गठबन्धन र नेपाली कांग्रेसका तर्फबाट यहाँलाई नै किन राष्ट्रपति पदको उम्मेदवार छानियो भन्ने लाग्छ ?
राष्ट्रपति निर्वाचनका सन्दर्भमा सबै दलहरूबीच भएको छलफलमा मलाई नै उम्मेदवार बनाउने ठहर भएर सहमति जुट्यो । नेपालको अहिलेको राजनीतिमा संयोग नै भन्नुपर्छ सबै किसिमले अरुभन्दा वरिष्ठ भएको र सबैको सहमति मेरै नाममा जुटेकाले यो अवसर प्राप्त भएको छ । अहिलेको व्यवस्था र लोकतन्त्र प्राप्तिका क्रममा सबैभन्दा बढी सङ्घर्ष र मेहनत गरेको छु । लोकतन्त्र स्थापना, संविधान निर्माणमा पनि मेरो भूमिका र योगदान देखेर सबै साथीहरूले मलाई नै उययुक्त ठान्नुभयो ।
 
राष्ट्रपति संंवैधानिक पद हो, यहाँ कांगसेको क्रियाशील र वरिष्ठ नेता हुनुहुन्छ, निर्वाचित भएमा पदको गरिमा जोगाउन कसरी सन्तुलन कायम गर्नुहुन्छ ?

मेरो जीवन दर्शन र जीवनभरको क्रियाशीलता तथा सङ्घर्ष भनेको लोकतन्त्र, देशको उन्नति र जनताको अधिकार प्राप्तिका लागि हो । यसका लागि जीवन बिताएर म यहाँसम्म आइपुगेको छु । मेरो सबैभन्दा ठूलो प्राथमिकता भनेको लोकतन्त्र र जनताको अधिकार हो । अहिलेको संविधान र व्यवस्था ७० वर्षसम्म लडेर ल्याइएको हो । त्यसैले संविधानको रक्षा नै पहिलो कर्तव्य हो । लोकतन्त्रका लागि मैदानबाटै लड्दै आएको मान्छे हुँ । परिवर्तनका यी उपलब्धिको रक्षा राष्ट्रपति पदबाट हुन्छ भन्ने मलाई लाग्छ । संविधान र लोकतन्त्रको रक्षा गर्न यो ठाउँ पनि महत्वपूर्ण छ । दल र अरु साथीहरूका बीच यही कुरामा सहमति भएर नै म उम्मेदवार बनेको छु । जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा तथा परिपालनाको विषयलाई मैले महत्वपूर्ण ठानेको छु ।

राष्ट्रपतिमा यहाँको निर्वाचन जित्ने आधार के–के हुन् ?

कांग्रेससहित आठ दलको तर्फबाट म साझा उम्मेदवार भएपछि देशभर मेरो पक्षमा जनलहर पनि छ । मेरो सङ्घर्षको इतिहास देखेका, मेरा बारेमा थाहा पाएका जनतामा मप्रति अपेक्षा र भरोसा छ । राष्ट्र र प्रजातन्त्रप्रतिको सङ्घर्षमा भएको योगदानका कारण मलाई यो जिम्मेवारी दिँदा संविधान र परिवर्तनका उपलब्धि सुरक्षित रहन्छ भन्ने जनमत पाएको छु । अर्को कुरा दलको पनि समर्थन मलाई मिलेको छ । नेकपा ९एमाले०बाट मेरो साथी सुवासजी उम्मेदवार हुनुहुन्छ, त्यही दलबाट पनि मप्रतिको सद्भाव र विश्वासको अनुभव गरेको छु । यो चुनावमा मलाई विजयी हुनका लागि त्यो जनमत नै सहयोगी हुन्छ भन्ने मेरो विश्वास छ ।

यहाँलाई आगामी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो भने विगतभन्दा फरक अनुभूति र सन्देश जनताले के प्राप्त गर्लान् ?

समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन् । अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती र विचलनको अवस्थाप्रति सजग रही कुनै पनि तलमाथि हुन नदिई प्रभावकारी ढङ्गबाट काम गर्नुपर्छ । अहिले हामीसँग संविधान र गणतन्त्रलाई संस्थागत गर्ने अभिभारा र चुनौती छ । गणतन्त्रको राष्ट्रपति र हिजोको राजतन्त्रको राष्ट्रध्यक्षको चरित्रमा मौलिक भिन्नता हुन्छ । त्यो पृथकता देखाउने प्रयास मबाट हुन्छ । हिजो र आजको राष्ट्राध्यक्षका व्यवहार र आचरणमा के–के भिन्नता हुनुपर्छ भन्नेमा प्रष्ट छु ।

राष्ट्रपति वा प्रधानमन्त्री भनेको मुलुकको भिन्नै विशिष्ट नभई सबै जनताका बीचमा पदीय जिम्मेवारीका कारण अग्रज मात्र हो । यो विषयलाई म यही रूपमा नै लिन्छु । असली अनि पूर्ण लोकतन्त्र र गणतन्त्र यही हो । समाजका सबै मानिस समान र स्वतन्त्र हुन् । हामी त्यही खोजीमा छौँ । त्यही आचरण गर्नुपर्छ ।

राष्ट्रपतिमा निर्वाचित भएमा संविधानको संरक्षण, पालना र प्रवद्र्धनमा यहाँको भूमिका के रहन्छ ?

मेरो एउटै कुरा हो, मैले जीवनमा जुन ‘मिसन’लाई अगाडि राखेर सङ्घर्ष गरेँ, त्यो मिसनलाई पूरा गर्न संविधानसभाबाट संविधान जारी गर्न र लोकतन्त्रलाई स्थापित गर्न पूर्णरूपमा क्रियाशील भएँ । त्यसमा भिजेको तथा संविधानको सम्पूर्ण अक्षर, मर्म एवं भावनासँग जानकार र परिचित भएको तथा आत्मसात गरेको व्यक्तिका नाताले आउनसक्ने कुनै पनि चुनौतीबाट जोगाएर लैजान सक्छु भन्ने मेरो अठोट छ ।

राष्ट्रपतिमा राजनीतिक दलहरूको आकर्षण बढेको देखिन्छ, यसलाई यहाँले कसरी नियाल्नुभएको छ ?

राष्ट्रपति संविधानको पालक र संरक्षक तथा संवैधानिक सर्वोच्च र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने पद हो । यो पदको विशेष महत्व छ । तर यसका आफ्नै मर्यादा छन् । संसदीय प्रणालीको मान्यताअनुसारको पद हो । यसको अर्थ राष्ट्रप्रमुखबाट गल्ती हुँदैन भन्ने मान्यता राखिन्छ । हाम्रो राजनीतिक प्रणालीमा कार्यकारी अधिकार प्रधानमन्त्रीमा हुन्छ, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले काम गर्ने हो । राष्ट्रपतिको काम, कर्तव्य र अधिकार र संविधानले तोकेको छ । तर, राष्ट्रपतिको भूमिका राष्ट्राध्यक्ष, संविधानको संरक्षकको नाताले सजग भएर राष्ट्रहितबारे सोचिरहेको हुनुपर्छ ।

नेपाल संवेदनशील भू–राजनीतिक अवस्थामा छ, दुवै छिमेकी र वैदेशिक सम्बन्धलाई ठीक ढङ्गबाट अघि लैजान राष्ट्रपतिको के–कस्तो भूमिका हुनसक्छ ?
 
नेपाल एकीकरणका बेला तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेका थिए । यसले कसरी जोगिएर र सन्तुलन मिलाएर अघि बढ्नुपर्छ भन्ने कुरालाई इङ्गित गर्छ । हामीले असंग्लनताको परराष्ट्र नीति र तटस्थताको महत्व बुझेर अघि बढ्नु पर्छ । नेपालले त्यही कूटनीति अवलम्बन गर्नुपर्छ । राष्ट्राध्यक्षले त्यसैका लागि आवश्यक वातावरण बनाउने र राय–सुझाव दिने काम गर्न सक्छ ।

अन्त्यमा, राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनतालाई यहाँ त्यो पदमा पुग्ने भएको खण्डमा शीतलनिवासबाट कस्तो शीतलता प्रदान होला ?

आठदलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार भएपछि नेपालको राजनीतिक वायुमण्डलमा सन्तोष र न्यायको अनुभूतिजस्तो मैले देखिरहेको छु । मलाई लाग्छ, त्यो पदमा पुगेपछि जनताले अपेक्षा गरेअनुसार यदि मैले आचरण परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउँनेछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाजुराको रिलामा भाइरल ज्वरोका बिरामी बढ्दै

बाजुरा। बाजुराको बडीमालिका नगरपालिका –४ रिलामा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । यहाँका झण्डै १८० घरपरिवारमा भाइरल ज्वरोका बिरामीहरु रहेका छन् । पछि...

हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

मुस्ताङ। यहाँको मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । विसं २०२२ मा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यहाँको साङ्...

सप्तरीबाट हराएका १११ जना अझै बेपत्ता

सप्तरी। सप्तरीबाट हराएका एक सयभन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ । साढे तीन वर्षको अवधीमा...

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ ।  कुनै पनि कानुनी प्रक्रिया पूर...

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending